Thursday, August 3, 2017

Truth in crisis/AT

संकटमा सत्य

धर्मेन्द्र झा

ड्ड प्रधानमन्त्री शेरवहादुर देउवाले विविसिको साझा सवाललाई अन्तर्वार्ता दिएपछिका दिनमा उनीप्रति लक्षित रहेर विविध स्तरबाट विविधखाले अभिव्यक्तिहरु सार्वजनिक भए । यी अभिव्यक्ति गालीगलौच, आग्रह, तिरस्कार र कुण्ठामिश्रित थिए । देशको कार्यकारी प्रमुखका सम्बन्धमा अभिव्यक्त यस्ता धारणा पक्ष–विपक्षमा विभाजित थिए । यी सबैखाले अभिव्यक्तिका भाषा समग्रमा अशोभनीय थिए ।
ड्ड राष्ट्रपतिका लागि १६ करोड मूल्य पर्ने गाडी खरीद गरिने आशयको समाचार सार्वजनिक भयो । विना कुनै पुष्टि सार्वजनिक भएको यो समाचारको खण्डन राष्ट्रपतिको कार्यालयले गरेपछिका दिनमा पनि विभिन्न स्तरबाट अनेकौंथरि धारणा सार्वजनिक भए । यस्ता अभिव्यक्तिमध्ये अधिकांशका भाषा हदैसम्मको तल्लो दर्जाका थिए । सम्माननीय राष्ट्रपतिका सम्बन्ध यस्ता धारणामध्ये कतिपय त स्पष्ट शव्दमा गाली नै थिए ।
ड्ड दोस्रो चरणको निर्वाचनका क्रममा एकजना हवल्दारले हाथले बम समाती हुत्याउँदा सम्भावित ठूलो दूर्घटना हुनबाट जोगिएको थियो । यस घटनासँग सम्बन्धित हवल्दारलाई गृहमन्त्रीले एक हजार पाँच सय रुपैयाँ दिएको भन्दै ठूलो कोकोहोलो मच्चाइयो र गृहमन्त्रीको आलोचनामा निकैले निकै शव्द खर्चिए । स्मरणीय छ, यस्ता आलोचनाका भाषा पनि शोभनीय थिएनन् ।
ड्ड एकजना पत्रकारले समाचारका विषयमा एकजनासँग रु एक लाखको मोलमोलाई गरेको दावी गर्दै केही सामग्री सार्वजनिक गरियो र अनेकथरि व्यक्तिबाट अनेकौ प्रकारका अपशव्दयुक्त अभिव्यक्ति सार्वजनिक भयो । पत्रकारिताको आडमा व्यक्त यस्ता अभिव्यक्तिको भाषा अत्यन्तै क्षुद्र प्रवृत्तिको थियो ।

मथि उल्लिखित चारवटै दृष्टान्त वितेको असार महिनाका हुन् । यी सन्दर्भले नेपाली समाजलाई निकै तरंगित बनायो । यी सन्दर्भबारे रचनात्मक वहस त जरुरी थियो तर वहसका नाममा गालीगलौच र असभ्य वक्तव्यले जुन स्थान ग्रहण गर्यो त्यसलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन । पत्रकारिता–वहसका दृष्टिले अत्यन्त महत्वपूर्ण सन्दर्भका रुपमा स्थापित माथि उल्लेखित दृष्टान्तका बारेमा एक सामूहिक दृष्टिकोण विकसित गरिनु आवश्यक छ– अभिव्यक्ति स्वतन्त्रताका नाममा विनाकुनै आधार जथाभावी धारणा सार्वजनिक गरिनु हुँदैन । यस्तो प्रवृत्तिले समग्रमा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोगका दिशामा वल त पुर्याउँछ नै सत्य संकटमा पर्ने खतरा हुन्छ ।
प्रायः कुनै पनि मूलधार सञ्चार माध्यमका उपभोग्य सामग्री बन्न नसकेका माथिका दृष्टान्तहरुले अनलाइन र सामाजिक सञ्जालमा निकै फराकिलो स्थान प्राप्त गरी हंगामा मच्चाएउन सफल भए । माथिका सन्दर्भबारेको ‘वहस’मा प्रायःजसो पत्रकारहरु नै संलग्न थिए जसले आफू कार्यरत सञ्चार माध्यममा यी ‘विषय’बारे समाचार बनाएनन् । प्रश्न उठ्छ, किन ? उत्तरका सम्भावना विभिन्न दृष्टिकोणमा निहीत हुन सक्छन् । एक धारणा के हुन सक्छ भने, पत्रकारलाई थाहा छ, पुष्टि नगरेर कुनै पनि विषयलाई समाचार बनाउन सकिँदैन । र, सत्य हो, माथि उल्लेखित विषयमा सामाजिक सञ्जालमार्फत् चलाइएका वहस र भए गरेका टीका–टिप्पणी विना कुनै पुष्टि मनोगतरुपका थिए । यसले एउटा गलत मान्यता स्थापित गर्न खोजेको प्रतीत हुन्छ–औपचारिक सञ्चार माध्यममा समाचार लेख्न पुष्टि गर्ने तत्वको आवश्यकता भए पनि सामाजिक सञ्जालमा यस्ता तत्व आवश्यक हुँदैनन् । यो मान्यता सत्य स्थापित गर्न बाधक त छँदैछ  सत्यको सेवा गर्ने दृष्टिले अत्यन्त घातक र अनुचित पनि छ । अर्को कुरा पनि महत्वपूर्ण छ, यस्ता वहसमा सरिकमध्ये अधिकांशले राजनीतिक दृष्टिकोण र महत्वाकांक्षा राखेको पाइन्छ भनियो भने त्यो असंगत हुने छैन । ज्ञातव्य छ, आजको सन्दर्भमा सामाजिक सञ्जाल पत्रकारिताको अत्यन्त ठूलो निर्णायक अंगका रुपमा विकसित भएको छ र हुँदैछ । यसलाई परम्परागत सञ्चार माध्यमको सूचना प्रवाहको मूल प्रवृतिबाट पृथक रहेको मान्न सकिँदैन । माध्यम मात्र पृथक हो ।
पछिल्ला दिनमा ‘विश्वसनीयता’को संकट खेप्न बाध्य नेपाली पत्रकारिताका ठूलो सरोकारवाला पत्रकार स्वयंले यो कुरा बुझेका छैनन् भन्न सकिने आधार छैन । वास्तवमा पत्रकारको दुईथरि व्यक्तित्व छ, पहिलो पत्रकारको र दोस्रो व्यक्तिको । यी दुवै व्यक्तित्वबीच समन्वय र सन्तुलन कायम गर्न नसकिएको अवस्थामा सूचना प्रवाहको ‘गेट किपिङ’ दोषपूर्ण हुन जान्छ । व्यक्तिको हैसियतमा आफ्नो वैयक्तिक धारणा निर्माण गर्न छूट छ भन्ने आधारमा पत्रकारहरु समाजिक सञ्जाललगायतका अन्य वैकल्पिक सञ्चार माध्यमबाट निजात्मक धारणा व्यक्त गर्दछन् जो उनको पत्रकारिता व्यक्तित्वभन्दा सर्वथा भिन्न हुन्छ । तर यस्ता पत्रकार–व्यक्तिलाई समाजले स्मृतिमा लिइरहेको हुन्छ र उनका विविधखाले अभिव्यक्तिका आधारमा मूल्यांकन गरिरहेको हुन्छ । पत्रकारले यस यथार्थलाई विस्मृतिमा राखेर व्यवहार गर्दा पत्रकारिताले वर्तमानमा विश्वसनीयताको संकट भोग्न बाध्य भइरहेको छ । सञ्चार उपभोक्तका दृष्टिले यो अवस्था अत्यन्त चिन्ताजनक हो । वहसले सार्थक आकार ग्रहण गर्नु अपेक्षित छ ।
माथि उल्लेखित चारवटै सन्दर्भ विना पुष्टि र सत्य प्रमाणित नगरी सामाजिक सञ्जालमा पोष्टिएका सामग्री हुन् । समाचारका उपभोक्तले यी कुरा विस्तारै बुझ्छन् र एक धारणा विकसित गर्छन् । तर समाजिक सञ्जालका आम प्रयोक्तले झट्ट हेरेरै एकथरि विचार निर्माण गर्छन । उनको विचार निर्माणलाई वल पुर्याउँछ– पत्रकारले पोष्टिएका सामग्री गलत नै त होइन होला नि, भन्ने अवधारणाले । पत्रकारले राजनीतिक महत्वाकांक्षा पूरा गर्ने अभिप्रायले कुनै सामग्री सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्छ भने उसले आफू विस्वसनीयताको संवाहक रहेको अवधारणालाई अस्वीकार गर्न मिल्दैन ।
पत्रकार आचारसंहिता उल्लंघनका दृष्टिले वहसयोग्य माथि उल्लेखित चारवटै सन्दर्भमा केही समानता छन् । यी सबै राजनीतिक प्रकृतिका छन् । वहस लम्बिएका स्थितिमा यी सबै विषय गालीगलौच र मानहानीका दृष्टिले दण्डनीय ठहरिन सक्छन् । यी सबै विषय साइवर क्राइमका दृष्टिले अनुसन्धानयोग्य पनि ठहरिन सक्छन् । यतिमात्र होइन, सबैभन्दा महत्वपूर्ण कुरा सत्यलाई संकटमा पार्ने यी सामग्रीले आमजनतामा पत्रकारिताप्रति वितृष्णा उत्पन्न गर्न सक्छन् । पत्रकारिताका संवाहक पत्रकारहरुले यो तथ्य गम्भीरतापूर्वक बुझ्नु जरुरी छ ।
अन्नपूर्ण टूडे ः ६ साउन २०७४
     
 

No comments:

Post a Comment