मधेश : राजनीतिको दाउ—पेच
धर्मेन्द्र झा
मधेश अहिले नेपाली राजनीतिक वृत्तमा ‘हट केक’ को अवस्थामा छ । नेपालका राजनीतिक दल मधेश, मधेशको विकास, मधेशका जनताको हकहीतप्रति कति सरोकार राख्दछन् त्यो विश्लेषणको अर्को पाटो हुनसक्छ । इमानदार र प्रतिबद्ध मतदाताका रुपमा मधेशका जनता भने सबै दललाई चाहिएको छ, यो यथार्थ हो । नेपालको कूल मतदाताको आधाभन्दा बढी ओगट्ने मधेश आफ्नो यही रणनीतिक महत्वका कारण सबै राजनीतिक दलका लागि आधारभूत रुपमा प्रयुक्त हुने अवस्थामा छ । नेपाली कांग्रेस, एमाले र सद्भावना पार्टीलगायतका परम्परावादी शक्तिका साथै विगतको ६२÷६३ जनआन्दोलन र मधेश आन्दोनपछि मूलधारमा आएका तात्कालीन नेकपा माओवादी र मधेशकेन्द्रित दल, जो राजनीतिका नयाँ शक्ति हुन्, सबैका लागि मधेश यतिखेर क्रिडाभूमी बनिरहेको छ । तर सत्य के हो भने मधेशका आकांक्षा अहिले पनि अपुरै छन् । विकास ओरालो लागेकोलाग्यै छ । मानवाधिकारको अवस्था टीठलाग्दो छ ।
काठमाडौकेन्द्रित राज्यले रोजगारी उपलब्ध गराउन सकेको छैन । खाडीका देशमा रोजगारीका नाममा पलायन हुनेमा सबैभन्दा बढी मधेशकै वासिन्दा छन् । समावेशीका नाममा केही नाम त प्रयोग हुने अवस्था छ तर अधिकांश भने अझै सम्मानको खोजीमा छन् । राज्यका निकायमा उपस्थिति न्यून छ । यस स्थितिलाई केहीले मधेस राजनीतिको लाचारीको संज्ञा दिने गरेका छन् भने केहीले यसलाई किंकर्तव्यविमूढताको जामा पहिर्याउने गरेका छन् । मधेशमा यस्ता थुप्रै मुद्दा अस्तित्वमा छन् । जे होस, मधेश यतिखेर राजनीतिक संक्रमणमा छ, यो सत्य हो ।
मधेशका अधिकांश जनता लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्दछन् । विगतका निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गर्ने गरेको मत प्रतिशतले पनि यो प्रमाणित गर्दछ । मधेशकेन्द्रित दल पनि केही अपवादबाहेक प्रायः लोकतान्त्रिक मूल्यमा विश्वास गर्दछन । संविधानसभाको दुवै निर्वाचनमा का्रग्रेस र मधेशकेन्द्रित दलले प्राप्त गरेको मतलाई आधार मान्ने होे भने पनि मधेशको मतरुझानको आँकलन गर्न सकिन्छ । यस आधारमा निष्कर्ष निकाल्ने हो भने मधेश, कांग्रेस र मधेशकेन्द्रित दल सँगै मिलेर मधेशका मुद्दा समाधान गरुन भन्ने चाहन्छ । केन्द्रको सत्ता राजनीतिक समीकरण विश्लेषण गर्ने हो भने यी दुवै शक्तिले मधेशको मतको सम्मान गर्न खोजेको देखिँदैन । गत निर्वाचनमा मधेशमा सबैभन्दा बढी मत प्राप्त गर्ने शक्ति नेपाली कांग्रेस हो भने मत प्रतिशतका आधारमा मधेशकेन्द्रित दलले दोस्रो मत प्राप्त गरेका छन् । तर केन्द्रमा यी दुवैबीच विगतमा समीकरण बन्न सकेन । यसको उल्टो मधेशकेन्द्रित दल र हिजोको मधेश आन्दोलनको तात्कालिक कारण एमाओवादीबीच समीकरण विकसित हुन पुग्यो । यो अप्राकृतिक थियो । वैचारिक, सैद्धान्तिक र मतदाताको मनशायविपरितको समीकरण विविध कारणले रहस्यमयी प्रतीत हुनु स्वाभाविक थियो ।
अहिले अवस्थामा परिवर्तन आएको छ । विगतको ओली सरकारको विरोधमा रहेको मधेशकेन्द्रित दल अहिलेको नयाँ सत्ता समीकरणको नजिक रहेको छ । एक किसिमले भन्ने हो भने नयाँ सत्ता समीकरणमा मधेश पनि सहभागी छ । मधेश शक्ति सरकारमा अहिलेसम्म सहभागी भएको छैन । उसका केही शर्त छन् । विगतको मधेश आन्दोलनका सन्दर्भमा शहादत प्राप्त गरेकालाई शहीद घोषणा गर्ने, घाइतेको उपचार र संविधानको संशोधनजस्ता सन्दर्भसँग जोडिएको शर्तहरुको विश्लेषण गर्ने हो भने कुनै न कुनै रुपमा यसलाई ‘फेस सेभिग’ को खोजी मान्न सकिन्छ । तर अन्तर्य पृथक छ । भोलीका दिनमा हुने निर्वाचनमा मधेशको उपस्थिति कस्तो हुने भन्ने अहिलेको मुख्य सवाल हो । कांग्रेस र अधिकांश मधेशकेन्द्रित दल लोकतान्त्रिक अवधारणामा विश्वास गर्दछन् । यस्तोमा प्रश्न उठ्छ, भोलीका दिनमा मधेशमा कसको कोसँग प्रतिस्पर्धा हुन्छ ? मधेशले यसको आँकलन सम्भवतः गरेको छ । यसैले मधेशले भोलीको निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेसभन्दा माओवादीसँग आफूलाई सहज अवस्थामा पाउने मूल्यांकन गरेको हुन सक्छ ।
यस्तोमा मधेश शक्ति सोझै सत्तासीन नहुने र विपक्षमा बसेर दवावको राजनीति गरिरहन चाहेको देखिएको छ । विपक्षमा बसिरहँदा जनताबीच लोकप्रिय बनिरहन सकिन्छ भनेर पनि उनीहरुले यो रणनीति अख्तियार गरेको हुनसक्छ । हो, विपक्षमा रहेर यो पक्ष शक्ति संचय गर्न चाहन्छ । अहिले आएर पुनः माओवादी केन्द्र र मधेशीहरु नजिक देखिएका छन् । मधेशमा अहिले पनि जनाधार मधेशकेन्द्रित दलसँगै छ । यही यस्तो तत्व हो जसले दुवैलाई नजिक्याएको छ । अर्को कुरा दुवै पक्ष एकअर्काको नजिक आउनु बाध्याताको उपज पनि हो । तर प्रश्न उठ्छ, कसको बाध्यता बढी ? यसको उत्तर सहज छ, एमाओवादीको बाध्यता बढी । उसलाई थाहा छ मधेशमा उसको जनाधार छैन । मधेशका जनताको वल प्राप्त गर्न उसले मधेशको वैशाखी प्रयोग गर्नु अनिवार्य छ । आफ्नो कुरा नमानिने अनुभव भएपछि धम्क्याउनेखाले एमाओवादी प्रवृत्ति छ । विगतमा उसले यस्तै हतकण्डा प्रयोग गर्दा सफलता पनि प्राप्त गरेको हो । तर यो अश्त्र प्रयोगका लागि जनता निर्णायक अवस्थामा हुनु आवश्यक छ । विडम्वना, माओवादीको जनाधार खस्केका कारण ऊ एक्लैको भरमा आन्दोलन उठ्न नसक्ने चेत उसमा छ । मधेशमात्र होइन पहाड र हिमालमा समेत माओवादी जनाधार खस्केको जो कोहीले पनि स्वीकार्छन् । अर्कोतर्फ तुलनात्मक रुपमा मधेशकेन्द्रित दलसँग अहिले पनि जनाधार छ । विगतको निर्वाचनको आँकडाले पनि यो तथ्य पुष्टि गर्दछ । माओवादीले सोचेजस्तो आन्दोलन उठाउने हो भने मधेशले सहयोग नगरेसम्म यो प्रयास सम्भव हुने छैन ।
विकास टाइम्स ः २०७३ भदौ ७
No comments:
Post a Comment