Thursday, August 3, 2017

Congress in Current/GOPA

वर्तमानमा कांग्रेसको भूमिका

धर्मेन्द्र झा

नेपाली कांग्रेस देशको सबैभन्दा जेठो लोकतान्त्रिक पार्टी हो । कतिपय सन्दर्भमा कांग्रेस र लोकतन्त्रलाई एक अर्काको पर्यायका रुपमा पनि व्याख्या गर्ने गरिन्छ । हालका दिनमा यो व्याख्या कति ठीक हो भन्ने सन्दर्भमा वहस गर्न सकिएला तर यस पार्टीको इतिहास अध्ययन् गरेका खण्डमा माथिको व्याख्यालाई ठाडै अनुचित भन्न मिल्दैन । पछिल्लो दिनमा वैचारिक दृष्टिले नेपाली कांग्रेसमा युगान्तकारी रुपान्तरणको अनुभव गरिएको छ । राजनीतिको उद्देश्य र मुद्दा क्रमशः परिवर्तन भइरहेको वर्तमानमा यस्तो रुपान्तरणलाई स्वाभाविक नै मान्नु पर्दछ । पछिल्लो दशकमा नेपालमा संसदीय पद्धति र जातीय तथा साम्प्रदायिक दृष्टिले अनेकथरि मुद्दा स्थापित भए वा गराइए । नेपाली कांग्रेस पनि त्यसबाट प्रभावित नभई रहन सकेन । वितेको दशकमा वैचारिक दृष्टिले नेपाली कांग्रेसले निकै आरोह—अवरोहको सामना गर्नुपरेको यथार्थ कसैबाट लुकेको छैन । विगतमा यस्तै आरोह—अवरोहको एक पडाव बन्न पुग्यो त्रिवेणी बैठक । हालको नेपाली राजनीतिको अवस्थालाई दृष्टिगत गर्ने हो भने त्रिवेणी वैठकको महत्व कालजयी छ, जसको प्रभाव अहिले पनि नेपाली राजनीतिमा अनुभूत गर्ने गरिन्छ । वास्तवमा राष्ट्रियताको नयाँ मान्यता स्थापनासँग सम्बद्ध यो वैठकको सन्देश, दोस्रो चरणको स्थानीय निर्वाचनका सन्दर्भमा अनेकथरि प्रश्न उठ्न थालेको वर्तमानमा नेपाली राजनीतिका लागि निकै सामयिक बन्न पुगेको छ ।

नेपाली कांग्रेसको इतिहासमा अत्यन्त महत्वपूर्ण मानिने त्रिवेणीको महासमिति बैठकपछि नेपाली कांग्रेस संसदीय पद्धतिको पक्षमा र जातीय विभाजनको विपक्षमा बलियो तथा प्रष्टसँग उभियो । महासमितिको बैठकको सबैभन्दा ठूलो उपलब्धि नै यही थियो । त्यसबेला राजनीतिक प्रस्तावलाई पुनर्लेखन गरी केन्द्रीय समितिमा पेश गर्नका लागि एउटा समिति बनाइएको थियो । तर यस समितिले के पुनर्लेखन गर्यो र त्यसपछिको केन्द्रिय समितिको बैठकले त्यससम्बन्धमा के निर्णय गर्यो भन्ने कुरा स्पष्टसँग जानकारीमा नआए पनि एउटा कुरा भने बडो महत्वपूर्णरुपमा स्थापित भयो, कांग्रेसले समावेशीकरणको अवधारणालाई सिद्धान्ततः स्वीकार गर्यो । बैठकमा प्रस्तुत धारणा र सहभागी सदस्यहरुको चाहनालाई सूचिकृत गरिएको सूची  हेर्ने हो भने कांग्रेस माथि उल्लिखित दुइ कुरामा स्पष्ट भएर आएको छ ।
संसदीय व्यवस्था असफल भयो भन्ने तर्क गर्नेहरु र जातीय विभाजनमा आफ्नो फाइदा देख्नेहरुको हालीमुहाली हुन थालेपछि कांग्रेसले यी दुइ कुरामा संझौता गर्छ की भन्ने आशंका धेरैको थियो । लोकतन्त्रका आधारभूत सिद्धान्तहरुमा सम्झौता गर्दैनौ भन्ने कांग्रेस नेताहरुको भनाई कार्यान्वयन हुदैन की भन्ने चिन्ता व्यक्त भइरहेको सन्दर्भमा त्रिवेणी बैठक र त्यसपछिको कार्यदिशाले एक सकारात्मक संकेत दिएको थियो । वास्तवमा भन्ने हो भने कांग्रेस अहिले त्यसैमा टेकेर आफ्नो गति निर्देशित गर्ने प्रयत्न गर्दैछ । अहिले जातीय विभाजनको तुसलाई समायोजन गरी नयाँ ढंगले राट्रियता प्रवद्र्धन गर्ने कांग्रेसको रणनीतिलाई त्रिवेणी बैठककै परिणामका रुपमा बुझ्नुपर्दछ ।
देशको संक्रमणकाल र ‘जोरजबरजस्त’ संग उपस्थित भएको मधेशकेन्द्रित दलको प्रभावलाई प्रतिबाद गर्दै आफ्नो मौलिक पहिचान र चिन्तनबाट कांग्रेस चुक्छ की भन्ने चिन्ताका साथ यसबीचमा कांग्रेसका सन्दर्भमा धेरै आलोचनात्मक सुझाव सार्वजनिक भए । राजनीतिमा दीर्घकालीन चिन्तनको ह्रास देखिदै गर्दा कांग्रेसले पनि तात्कालीन राजनीतिमा मात्र आफूलाई केन्द्रीत गर्छ की भन्ने चिन्ता अत्यधिक मात्रामा प्रकट भएको थियो । तर पछिल्लो समयमा जातीय राजनीति गर्नेहरुको प्रभाव निस्तेज गर्ने रणनीति कांग्रेसले अख्तियार गर्यो । संसदमा पहिलो पार्टीको हैसियत बोकेको कांग्रेसले तेस्रो पार्टीसँग सहकार्य गर्दै सरकार गठन गरी संविधान कार्यान्वयन्को महाअभियानमा जुट्यो । निश्चय पनि यसको उद्देश्य अतिवादलाई परास्त गरी संसदीय पद्धति सुदृढ गर्ने कुरासँग सम्बन्धित छ । सारमा यसको निर्देश त्रिवेणी बैठकले गरेको हो भनेर बुझियो भने असंगत हुने छैन ।
समावेशीको नारा अत्यधिक उठाउने तर, संसदीय व्यवस्थाको विरोध गर्नेहरुको दुइजिब्रे चरित्रको पर्दाफास गर्न पनि कांग्रेसले नसकिरहेको अवस्था थियो र छ । राजनीतिमा जातीय कुरा गर्नेहरु लोकतन्त्रबादी हुन सक्दैनन् भन्ने आफ्नै नेता बीपी कोइरालाको चिन्तनको प्रचार गर्न र यो कुराको पक्षमा बलियो जनमत बनाउन पनि कांग्रेसले नसकेको हो । विश्वमा सबैभन्दा बढी समाबेशी रुपमा राजनीतिक तथा सामाजिक, सांस्कृतिक अभ्यास गर्ने दर्शन भनेको समाजवाद हो । आफूले अंगिकार गरेको समाजवादी दर्शनले सबै बर्ग र क्षेत्रलाई सही, न्यायिक र सन्तुलित ढंगले सम्बोधन गर्न सक्छ भन्ने कुराको वलियो वकालत गर्न पनि कांग्रेसले सकिरहेको छैन । यो अवस्थामा कांग्रेस आफ्नो मौलिक चिन्तनको पक्षमा वलियोसँग उभिनु भन्दा बहकिदो राजनीतिक तरलतामा डुब्दै जाने सम्भावनाको विकास नभएको होइन । शेरवहादुर देउवा कांग्रेसको सभापति र देशको प्रधानमन्त्री दुवै भएको वर्तमान अवस्थामा यो तरलतातर्फ उहाँ संवेदनशील हुनु जरुरी छ । त्रिवेणी बैठकको एकजना महत्वपूर्ण अभियन्ता वर्तमान सभापति देउवाले त्रिवेणीको सन्देशलाई कार्यान्वयन् गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने अपेक्षा गरिनु अनुचित होइन ।  
विगतमा समावेशी अवधारणाको कार्यान्वयन्, संसदीय पद्धतिको सुदृढीकरण, जातीय तथा साम्प्रदायिक असन्तुष्टिको व्यवस्थापनजस्ता सवालहरुका साथ जनतामा जाने कुरामा कांग्रेस चुकेकै हो । राष्ट्रिय राजनीतिमा मधेश र माओवादीलगायतका दलहरुलाई लोकतान्त्रिक धारमा प्रवेश गराउने दायित्वबोधका साथ संवादको टेबुलमा बसिरहेको कांग्रेसले आफ्नो चिन्तन र दर्शनका साथै समकालीन राजनीतिका प्रवृत्तिहरुका बारेमा आफ्नो दृष्टिकोणका साथ जनतामा जाने कार्यक्रम कांग्रेसले बनाउन सकेन । अब दोस्रो चरणको स्थानीय निर्वाचन आसन्न छ । लगत्तै प्रदेश सभा र संघीय संसदको निर्वाचन पनि आउँदै छ । यो निर्वाचनलाई कांग्रेसले भोट माग्ने अवसरका रुपमा त प्रयोग गर्नु पर्छ नै साथै आफ्नो चिन्तन र दर्शन बोकेर समकालीन राजनीतिका पवृत्तिहरुका बारेमा आफ्नो दृष्टिकोणका साथ जनतामा जाने अबसरका रुपमा पनि लिनु पर्दछ । अब बन्ने चुनावी कार्यक्रमले यो चरित्र बोक्न सक्नु पर्दछ ।
आफ्नो दर्शनको पक्षमा जनमत बनाउने र त्यसमा सबैलाई गोलबद्ध गर्दै अगाडी बढ्ने चरित्र नै लोकतान्त्रिक चरित्र हो । कांग्रेसको इतिहासमा यो चरित्र देखिएको छ । ०४६को आन्दोलनका क्रममा कांग्रेसले आन्दोलनको औपचारिक घोषणा गरिसकेपछि आन्दोलनमा सहभागी हुन आउने कम्युनिष्टहरुलाई कमाण्डर गणेशमान सिंहले भन्नु भएको थियो ‘तपाईहरु मिलेर आउनुस, सबै कम्यूनिष्टहरुसंग अलग अलग एकता गर्न सम्भव हँुदैन ।’ सिंहको यो आग्रहपछि नै संयुक्त बाममोर्चा बनेको थियो । त्यो मोर्चा कांग्रेसले लिएको तात्कालिक लक्षलाई स्वीकार्दै आन्दोलनमा सहभागि भएको थियो । आन्दोलनमा बाममोर्चा सहभागी हुँदा उनिहरुको कुनै छुट्टै एजेण्डा थपिएको होइन । कांग्रेसले आफ्नो यो बिशिष्ट चरित्रलाई जोगाउने मात्र होइन, अझ प्रखररुपमा विकसित गर्न सक्नुपर्दछ ।  गणतन्त्र नेपालमा लामो समयसम्म सत्ताको बागडोर वामपन्थीहरुले समालेको पृष्ठभूमीमा देशको पुनर्संरचना गर्ने दायित्वका साथ सत्तमा आसिन देउवा सरकारका सामु अत्यन्त महत्वपूर्ण अवसर छ, देशलाई भावनात्मकरुपमा जोड्ने र समृद्धिको मार्गमा डोर्याउने । मधेशका असन्तुष्टिलाई सम्बोधन गर्न देउवाले नयाँ गोलवन्दी गर्न सक्नुपर्दछ । पहिलो चरणको स्थानीय निर्वाचनपछि पुनः  दोस्रो चरणको निर्वाचनमा तालमेलको कुरा उठिरहेको छ । कांग्रेसले विगतबाट सिक्न सक्नुपर्दछ र संसदीय व्यवस्थाको पक्षपाती र जातीय विभाजनका बिपक्षीहरुसँगको सहकार्यबारे सोच्नुपर्दछ । सम्भवतः कुनै न कुनै रुपमा विगतको त्रिवेणी बैठकको सन्देश यही हो । कुनै खास पक्षलाई  हराउने नाममा आफ्ना एजेण्डासँग अन्तिम समयसम्म साथमा नरहनेसँग तालमेल गरियो भने त्यो संकिर्ण राजनीतिक सोच हुनेछ । कांग्रेस नेतृत्वले त्रिवेणीको म्याण्डेटको सम्मान गर्दै संसदीय व्यवस्थाको पक्षपाती र जातीय विभाजनका बिपक्षीहरुलाई खुलारुपमा कांग्रेसलाई साथ दिन आह्वान गर्नसक्नु पर्दछ ।
देशमा लोकतन्त्र सुदृढ भएको देख्न चाहने, वीपी कोइरालाको समाजवादी दर्शनका आधारमा नेपालको समृद्धिको अभियान सम्भव छ भन्ने कुरामा विश्वास गर्ने र दीर्घकालीन लक्ष्यका साथ विश्वाशिलो र भरपर्दो राजनीतिक अभ्यासमा गतिशील हुने पार्टी कांग्रेस नै हो भन्ने विश्वास गर्नेहरुको सख्या अझै व्यापक छ । बिभिन्न पटक गरिएका सर्बेक्षणहरुले पनि यो तथ्य प्रमाणित गरेको छ । यस्तो विश्वास कांग्रेसको पूँजी हो जसको सम्मान कांग्रेस नेतृत्वले गर्न सक्नुपर्दछ ।
गोरखापत्र ः २ असार २०७४

No comments:

Post a Comment