Tuesday, August 15, 2017

Garuda Incident/Khabarera

गरुडा घट्ना ः मृत चार वालिकाको वकपत्र

हामी बाँच्न चाहन्थ्यौ

धर्मेन्द्र झा

हाम्रो घर रौतहट जिल्लाको गरुडामा थियो । हामी हाम्रो परिवारको तीनजना गरी चार दिदी वहिनीमध्ये संगीताकुमारी(१२ वर्ष) र सुनिताकुमारी (९ वर्ष) रामएकवाल साहका छोरी हौं भने सुस्मिताकुमारी (९ वर्ष) प्रेमनारायण साह र सुनैनाकुमारी (९ वर्ष) योगेन्द्र साहका छोरी हौं । गरुडा नगरपालिका वडा नम्बर चारमा सडक बनाउने क्रममा खनिएको खाल्डोमा भरिएको पानीमा डुवेर साउन २१ गते शनिवार हाम्रो मृत्यु भएको हो । गरुडाको इलाका प्रहरी कार्यालयबाट करिव दुई सय मिटर उत्तरमा रहेको चन्द्रनिगाहपुर—गौर सडकसँग जोडिएर रहेको खानेपानी कार्यालय पुग्न नयाँ खनिएको कच्ची बाटो निर्माणका क्रममा खेतमा उक्त खाल्डो खनिएको थियो । मानिसहरु भन्ने गर्दछन्, उक्त खाल्डो डिभिजन सडक कार्यालयका ठेकेदारले सडक निर्माणका क्रममा खनेर त्यतिकै छाडिदिएका हुन् । त्यो त लापर्वाही हो नि है ? ती ठेकेदार र डिभिजन सडक कार्यालयले त्यस्तो लापर्वाही नगरेर खाल्डो पुरिदिएको भए हामी मर्ने थिएनौ नि है ? तर खै, अर्काको लापर्वाहीको मूल्य हामीले हाम्रो ज्यान दिएर चुकाउनुपर्यो ।
००                ००                 ००                 ००

हामी चारजना सम्भवतः यस सृष्टिकै सबभन्दा दुखी छोरीहरु थियौं । हामी बाँच्न चाहन्थ्यौं । बाँचेर यस रमाइलो दुनियामा रमाउन चाहन्थ्यौं । अरु केटाकेटीजस्तै हाम्रा पनि अनेक वालशुलभ रहर थिए, पूरा गर्न चाहन्थ्यौं । उन्मुक्त वाल्यजीवन विताउन चाहन्थ्यौ । धेरै पढन लेख्न चाहन्थ्यौ र राष्ट्रसेवाको अनुपम दायित्व पूरा गर्न चाहन्थ्यौं । शायद हामी यो देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश वा सभामुख हुन सक्थ्यौं । के थाहा कलाकार, अनुसन्धाता, वैज्ञानिक, प्राध्यापक वा अन्य केही बन्थ्यौ । तर त्यस्तो केही पनि हुन सकेन । हाम्रो वालापन खोसिएको छ । बाँच्ने अधिकार खोसिएको छ । फूलेर सुन्दर फूल हुनुभन्दा पहिला नै हामी कोपिलालाई बोटबाट निमोठिएको छ । हामीलाई कसैले भन्छ, हाम्रो दोष के थियो ? हामीले कसको के विगारेका थियौं ? आखिर हामीलाई बाँच्नबाट कसले रोकेको हो ? यी प्रश्नका उत्तरबारे हामीलाई के थाहा ? कसैलाई थाहा छ भने कृपया हामीलाई बताइ दिनुहोस । हामी त अबोध थियौं । दुनियाको लप्पन—छप्पन हामी जान्दैनथ्यौ । बस, हामी त उन्मुक्त भावमा खेल्न अनि खेल्न चाहन्थ्यौ । हामी त हातको थालमा खाना लिएर हामीलाई खुवाउन हाम्री आमाहरुलाई हाम्रापछि दगुराइरहन चाहन्थ्यौ । बडो मजा आउँथ्यो । आमाले गाली पनि गर्नुहुन्थ्यो र एकैछिनमा काखमा लिएर माया पनि गर्नुहुन्थ्यो । आमा तपाई कहाँ हुनुहुन्छ ? आउनुस न हामी यहाँ पर छौ । किन तपाई हामीलाई समातेर खुवाउन दगुर्नु हुन्न ? हामी त यहाँ खाल्डोमुनि डुवेर लुकेका छौं ।  हामी त खेतबाट काम गरेर थकित अवस्थामा घर फर्केका हाम्रा बाबुको अनुहारमा हाँसो ल्याउन हरदम प्रयत्न गरिरहन चाहन्थ्यौ । यस क्रममा सानातिना बदमासी, तोते बोली, मुस्कान, जिस्किने बानी आदी हामीसँग हाम्रा हतियार हुने गर्दथे । बुवा हामीसँग कहिल्यै रिसाउनु हुन्नथ्यो । हामी प्रत्येक साँझ बुवालाई पर्खेर बस्थ्यौ । हाम्रो प्रतीक्षाको केन्द्र बुवाभन्दा पनि चकलेट हुने गर्दथ्यो । बुवा सँधै बाहिरबाट घर फर्किँदा चकलेट लिएर आउनुहुन्थ्यो । हामी दिदी बहिनी चकलेटका लागि आपसमा झगडा गर्दथ्यौ । खोई बुवा पनि किन रिसाउनुभएको हो ? कति दिन भइसक्यो चकलेट ल्याउनुभएको छैन ।
००                ००                 ००                 ००
कस्तो दुर्भाग्य पर्सीपल्टको रक्षवन्धनका दिनमा हामीले दाजु भाईलाई राखी पनि बाँध्न पाएनौ । हामी चारै दिदी वहिनीले आउँदै गरेको राखीका बारेमा कति धेरै कुरा गरेका थियौं । मिठो मिठो खाने कुरा, मिठाई अनि दक्षीणा.... आहा कति रमाइलो हुने थियो त्यो दिन । हामीले दाजु भाईलाई पहिर्याउने माला उन्न फूलको जोहो पनि गरिसकेका थियौं । तर ती सबै कुरा, कुरा मात्रै त रहे नि । हामी नै रहेनौ अरु सबै त छँदैछन् । हामी संगीता, सुनिता र सुस्मिता एकै परिवारका हौ र सुनैना अलि परकी नातेदार हौं । हामी नातामा दिदी वहिनी, फुफु भदै थियौ तर त्यो भन्दा पनि हामी निकै मिल्ने साथी थियौं । हामीले त्यस दिन पनि राखीकै कुरा गरेका थियौ । सनोज पनि त हामीसँगै थियो नि त्यस दिन । तर त्यो बाँच्यो, धन्य भगवान ।
००                ००                 ००                 ००
त्यस दिन हामी संगीता र सुनिता विहान ११ वजेतिर घाँस काट्न निस्किएका थियौ । पछि सुस्मिता र सुनैना भेटेका थियौ । साथमा हामीभन्दा सानो आठ वर्षको सनोज पनि भेटिएको थियो । सबैजना मिलेर खेलेका थियौं । अलि पर हाम्रा अभिभावकहरु खेतमा रोपाइँ गर्दै हुनुहुन्थ्यो । त्यस्तै करिव एक वजिरहेको होला, उहाँहरु घर फर्कनुभयो । हामी त्यहीँ खेलिरहेका थियौं । त्यस दिन उखरमाउलो गर्मी थियो । करिव दुई वजिरहेको होला, हामीलाई निकै गर्मी लागिरहेको थियो । हामीलाई नुहाउन मन लाग्यो । हामीले पानीले भरिएको खाल्डो देख्यौ । पहिला त हामीले त्यस खाल्डोको छेउमै बसेर नुहायौ । विस्तारै हामी चारै दिदी वहिनी एकअर्काको हात समाएर खाल्डोमा अघि बढ्न थाल्यौ । हामीले पत्तै पाएनौ, खाल्डो त निकै गहिरो पो रहेछ । हामीमध्ये सुस्मिता अगाडी थिई र ऊ डुव्न लागेपछि हामीले उसलाई बचाउने प्रयास गर्यौ । हामी सबै डुव्न लागेको थाहा पाएपछि सनोज वाहिर निस्किसकेको थियो । सनोज साक्षी छ । सबैले निकै प्रयास गर्यौ र अन्ततः हामी सबै नै डुव्यौ अनि मर्यौ । हामी डुबेको थाहा पाएपछि सनोज निकै चिच्याएको थियो । मानिसहरुलाई बोलाएको थियो । कसैले सुनेन । त्यसपछि करिव डेढ किलोमिटर पर गरुडा वजार पुगेर सनोजले जानकारी गराएपछि मात्र मानिसहरु घट्नास्थलतर्फ आएका थिए । पुलिसलाई पनि जानकारी गराइएको थियो । उनीहरु अलि ढिलो गरी मात्र आएका थिए । समयमै मानिसहरु र पुलिस आउन सकेको भए शायद हामी बाँच्थ्यौ । तर त्यसो हुन सकेन । के हाम्रो कर्ममै त्यस्तो थियो ? के अकाल मृत्यु हाम्रो नियति थियो ? यसको जवाफ कसले दिने ?
००                ००                 ००                 ००
हाम्रो बाँच्ने अधिकार खोसिएको छ । के यस देशमा हामीजस्तालाई बाँच्ने अधिकार छैन ? के हामीजस्ताले यसरी नै मृत्युवरण गर्नुपर्ने हो ? हामीलाई थाहा छ, हाम्रो मृत्युको खवरपछि केही समय केही दिन कोकोहोलो मच्चिने छ । छानविन समिति गठन हुनेछ । प्रहरी प्रशासन पनि एकछिन सक्रिय हुनेछ । ठेकेदार र उनका मतियारहरु पक्राउ पर्नेछन् र लगत्तै छुट्ने पनि छन् । तर त्यस सबले के हुन्छ ? हामी फेरि फर्केर आउन सक्ने छैनौ । हामी आफ्नो आमाको काखमा लुटपुटिन पाउने छैनौ । बुवाको स्नेहाशीष हातका स्पर्शको अनुभूति हामीलाई हुने छैन ।  हाम्रा कपालमा काला, राता, नीला, सेता रीवनहरु सजिने छैनन् । हामीलाई खुवाउन हातमा थाल लिएर आमाहरु हाम्रा पछिपछि दगुर्नु हुने छैन । कोही खाने नै नभए पछि बुवाले शायद अब चकलेट पनि ल्याउनु हुने छैन । हामी रुँदा, कराउँदा, वदमासी गर्दा हामीलाई सम्झाउन र हाम्रा आँखाका आँशु पुछ्न हजुरआमाका हातहरु अब हावामा मात्र सलबलाउने छन् । हाम्रा बदमासीमाथि हामीसँग रिसाउने हाम्रा काका र दाईका आवाजले अब अर्थ खोज्ने प्रयत्न गर्नेछन् । तर के यी सबले हामी फेरि फर्कन सम्भव हुनेछ ? बाबु आमा र हाम्रा आफ्नै सपनाको अपहरण भएको छ । दोषीको खोजी गर्ने कि नगर्ने ?
००                ००                 ००                 ००
वास्तवमा हाम्रो मृत्यु स्वाभाविक होइन । यो त एक प्रकारको हत्या हो । खाल्डोलाई हतियारमा रुपान्तरण गरेर गरिएको हत्या । हत्याराको औपचारिक खोजी गरिनुपर्छ । हाम्रा हत्याराहरु को हुन, सबैलाई थाहा छ । के तिनलाई पक्रेर आजन्म कारावासको सजाय दिने फैसला कुनै अदालतले गर्नेछ ? के यस देशमा विधिको शासन छ ? हो हामीलाई अनुमान छ, कालान्तरमा सबैले हाम्रो मृत्युको घटना विर्सने छन् । हाम्रो मृत्युलाई ठेकेदार, सडक डिभिजन, स्थानीय प्रशासन र प्रहरीले एक दुर्घटनामा परिवर्तन गर्नेछन् । शायद केही कागजी नोटसँग हाम्रो मृत्युलाई साट्ने प्रयत्न हुनेछ । सम्भव छ, केही दिनपछि हाम्रो मृत्युलाई राजनीतिक कलेवरमा रंग्ने प्रयास पनि हुनेछ । तर यो सबै यत्नहरु रोकिनुपर्छ । हाम्रो त जे भयो भयो । अब प्रयास हुनुपर्छ, अन्य कसैले हाम्रो नियति नदोहोर्याउनुपरोस । यसका लागि, दोषीलाई सजायको दायरामा ल्याउनैपर्छ । देशमा विधिको शासन छ भन्ने आभाष सबैलाई गराउनैपर्छ । न्यायको अनुभूति हुनैपर्छ । तपाई यस प्रयासमा लाग्नु हुन्छ नि ? हामीलाई न्याय दिलाउन तपाईको सहयोग प्राप्त हुने हामीलाई विश्वास छ । के हामी यो अपेक्षा गर्न सक्छौ ?
खवरइरा डट कम ः २४ साउन २०७४
 


     

No comments:

Post a Comment