तिलाठीको लाठी
धर्मेन्द्र झा
पूर्वी नेपालको दक्षीणी सीमामा अवस्थित तिलाठीका जनताले केही दिनअघि टाउकोमा गम्छा बाँध्दै हातले लाठी नचाउनुुपर्ने अवस्थाको सिर्जनाभएसँगै राष्ट्रवादको वहसले देशव्यापीरुपमा चर्चा पाएको छ । सीमामा लाठी नचाइएसँगै ‘उग्र राष्ट्रवादी’का दृष्टिमा मधेशले एकपटक पुनः राष्ट्रियता संरक्षणका सन्दर्भमा परीक्षा दिएको छ । इतिहासको खोजविन र विश्लेषण गर्दे गएका खण्डमा सीमामा बसेका मधेशीले यसरी परीक्षा दिएको र उतीर्ण भएको थुप्रै उदाहरण पाउन सकिन्छ । विडम्बना, यति हुँदाहुँदै पनि आपसी विश्वासको अवस्थाको निर्माण हुन सकेको छैन, जो दुखद छ । सत्तामा रहेकाहरु र जातीय—क्षेत्रीय भावनाका आधारमा विभिन्न राजनीतिक दल सञ्चालन गर्नेहरुले जनताको भावनाको कदर नगर्ने सन्दर्भको पछिल्लो उदाहरण बनेको छ— तिलाठीको घट्ना ।
सप्तरीको विविध भूगोल भएर दक्षीणतर्फ बग्ने खाँडो, महुली र त्रियुगा खोलामा बढेको पानीको स्तरसँगै तिलाठी र आसपासका लौनिया, सकरपुरा, विसहरिया, रमपुरा, वेल्ही, मलहनियाँ, कोइलाडीलगायतका गाउँको जनजीवन प्रत्येक वर्ष अस्त—व्यस्त बन्न पुग्दछ । घर, आँगन, खेत, सडक सबै डुबानको प्रभावमा पर्दछ । सर्वस्वीकृत सिद्धान्त हो, पानीको बाटो छेकेर छेक्न सकिँदैन । तिलाठीका सन्दर्भमा पनि यही कुरा प्रमाणित भएको छ । माथि उल्लेख गरिएका गाउँमध्ये तिलाठी नेपालको अन्तिम सीमावर्ती गाउँ हो । सीमाञ्तमा रहेकाले होला बाढीजन्य पीडाको अन्तिम भारी यसै गाउँले थेग्नुपर्ने हुन्छ । वर्षातमा यहाँको जनजीवन आक्रान्त बन्न पुग्दछ । घरवास भएर पनि आमजनताको उठिवास हुन्छ । वृद्ध—वृद्धा र केटाकेटी नमरिकनै मृत्युबोध गर्न बाध्य हुन्छन् । यस्ता समस्याप्रति कोही जिम्मेबारीपूर्वक प्रस्तुत् हुँदैनन् । समस्या समाधानको प्रयास कहीँ कतैबाट हुँदैन । सीमाञ्तबारे राज्य मुक भएर बस्दछ । कहाँसम्म भने नेपाली भूगोलमा मधेशका नाममा हुने अनेकथरि राजनीतिले पनि यस्ता पीडा सम्बोधनको प्रयास गर्दैन । राजधानी त यहाँबाट निकै टाढा छ, काठमाडौले न त यस्ता कुरा सुन्दछ न त अनुभूत गर्दछ । यसपटक पनि तिलाठीमा बाढी पस्यो । जनजीवन प्रतिकूलरुपमा प्रभावित हुन पुग्यो । अरुवर्षजस्तै यो परिदृश्य यहाँका लागि सामान्य थियो । तर यसपटकको प्रतिक्रिया भने असामान्यरुपमा व्यक्त भयो । यो प्रतिक्रिया अहिले देशको राजनीति, कूटनीति, भूनीति द्विदेशीय सम्बन्धको नीतिजस्ता थुप्रै नीतिमाथि गह्रौ सावित हुन पुगेको छ । सारमा यो घट्नाका माध्यमबाट नेपालको राष्ट्रियता त उचालिएको मूल्यांकन गरिएला तर मानवता पराजित हुन पुगेको भान हुन्छ । यस सन्दर्भमा मधेशी राजनीति लाटो बन्न पुग्यो, कुनै अभिव्यक्ति सार्वजनिक गरेन भने काठमाडौ बहीरो बन्न पुग्यो, कुनै प्रतिक्रिया व्यक्त भएन ।
दुई साताअघिको सोमबार÷मंगलबारको कुरो हो । तिलाठीमा बाढीको कहर थियो । विभिन्न खोलामा बढेको पानी, जो दक्षीणी ढलान हुँदै तिलाठीसम्म त पुगिरहेको थियो तर यहाँबाट अझै दक्षीणतर्फको स्वाभाविक यात्रा गर्न सकिरहेको थिएन । कारण थियो, तिलाठीछेवैको नेपाल—भारत सीमास्थित दशगजामा भारतीय जनसामान्यबाट निर्माण गरिएको बाँघ । तिलाठीको भूमीमा फनफनी नाचिरहेको पानी बहाव खोज्दै अगाडी बढ्थ्यो र त्यही बाँधमा ठोक्किएर पुनः तिलाठीका घरहरुतर्फ नै फर्कन्थ्यो । यो क्रम निकैबेर चल्यो र अचानक पानीको वहावले बाँधको केही हिस्सा भत्काएर आफ्नो स्वाभाविक यात्रालाई मूर्तरुप प्रदान गर्यो । यो वहावसँगै तिलाठी प्रसन्न देखियो भने केही क्षणअघिसम्म ढुक्क देखिएका बाँधपारी भारतीय गाउँ कुनौलीका वासिन्दा चिन्तित् देखिए । विहिवार विहानसम्म अवस्था सामान्य नै देखिएको थियो । तर अचानक सोही दिन विहान भारतीय भूमिबाट दशगजामा जनभीड देखियो । भीड बाँध निर्माणमा जुटेको देखिन्थ्यो । बाँध निर्माण वा मर्मत हुनुको अर्थ थियो, पुनः नेपाली भूमी डुबानमा पर्नु । तिलाठीका जनता पनि यो दृश्य हेरिरहेका थिए । प्रतीकार गर्न अगाडी बढे । प्रतिकारको नेतृत्व गरिरहेका थिए, नेपाली कांग्रेसका स्थानीय कार्यकता देवनारायण यादव (क्षेत्रपाल) र यादवलाई सहयोग गर्दै थिए, दुर्गानन्द झा । यादव सांघातिक आक्रमणका शिकार भए । टाउकोमा वज्रेको अर्कोतर्फको लाठीले रक्ताम्य बनेका यादवले हरेश खाएनन् । उनीलगायतहरुसँग रहेको तिलाठीको लाठीले अन्तिम क्षणसम्म प्रतिकार गरिरह्यो । लाठी दुवैतर्फबाट नचाइयो । दुवैतर्फका जनताको मनोविज्ञानको विश्लेषण गरेका खण्डमा सतहमा देखिएको यस प्रवृत्तिलाई कुनै पनि अर्थमा अन्यथा मान्न मिल्दैन । आफ्नो सुरक्षाको उपायको अवलम्बन सबैले गर्छन् नै । यहाँ पनि यतिमात्र भएको हो । यस विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत् गरियो, जो अनुचित थियो । यहाँको समस्या दुई देशका जनताबीचको समस्या होइन । पानीले स्वाभाविकरुपमा वहावको पथ ग्रहण गर्न पाउनुपर्दछ । पानीको वहावका कारण उत्पन्न हुने समस्याको यथोचित समाधान खोजिनुपर्छ । यसमा दुवै देशका सरकार, जनताका नाममा राजनीति गर्ने दल र तिनका नेता, वौद्धिक वर्ग, नागरिक समाजहरुको सकारात्मक भूमिका अपेक्षित हुन्छ । तर यहाँको समस्या नै यही हो । समस्या समाधानका दिशामा स्थानीय जनता जति सकारात्मक छन्, माथि चर्चा गरिएका विविध पक्ष त्यतिकै नकारात्मक देखिन्छन् ।
त्यसदिन दशगजामा नाचेको दुबैतर्फकोे लाठीले अनेक प्रश्न र सन्दर्भहरुलाई जन्म दिएको छ । तिलाठीको यो घट्ना स्वयंमा नयाँ होइन । सीमाञ्चलमा यस्ता अनेकौं घट्ना दिनहुँ अस्तित्वमा आउँछन्, तर ती सबैले अभिव्यक्ति—श्वर प्राप्त गर्दैनन् । तिलाठीको उक्त घट्ना विशिष्ट छ, यसले श्वरमात्र प्राप्त गरेन चर्चा पनि बटुल्यो । देश—विदेशसम्म प्रसार हुन पुगेको उक्त घट्नापछि नेपाल पक्षका लागि सबैभन्दा महत्वपूर्ण विचारणीय सन्दर्भ एक हजार किलोमिटरभन्दा लामो दशगजाको आवश्यक निगरानीको विषय बन्न पुगेको छ । दशगजाको उपयोग र व्यवस्थापन हाल कसरी भइरहेको छ र भविष्यमा कसरी हुनुपर्छ भन्ने महत्वपूर्ण पक्षमा नेपाल र भारत दुबैको समग्र ध्यानाकर्षण हुनु जरुरी छ । डुवानलगायतका विषयको लेखाजोखा गरी समाधानको द्विपक्षीय उपायको खोजीका दिशामा तत्परता देखाउनु नेपालका लागि त आवश्यक छ नै भारतीय पक्ष पनि यसतर्फ गम्भीर हुनु जरुरी छ ।
तिलाठी र कुनौलीबीचको सम्बन्ध नेपाल—भारत सम्बन्धको प्रतीकात्मक प्रकटीकरण हो । तिलाठीका थुप्रै परिवारको रक्त सम्बन्ध कुनौलीका परिवारसँग र कुनौलीका थुप्रै परिवारको भावनात्मक सम्बन्ध तिलाठीका परिवारसँग छ । उनीहरुको राजनीति अलग छ । सीमा विभाजित छ । राष्ट्रिय भाषा अलग छ । सुरक्षाको प्रवन्ध र संयन्त्र अलग छ । अर्थको एकाई र मुद्रा अलग छ । तर सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरुको भावना एउटै छ । सुगौली सन्धिभन्दा पहिलेदेखिको यहाँको समाज एउटै छ । भाषा र संस्कृति एउटै छ । तिलाठी र कुनौलीका जनताको सम्बन्ध शताव्दियौंदेखि एकाकाररुपमा अस्तित्वमा रहिआएको छ । दुवै गाउँका जनताबीच रगतको जनस्तरीय सम्बन्ध छ । दुवै गाउँका कुनै आँगनमा जब विवाह, जन्म, व्रतवन्ध, पूजालगायतका आनुष्ठानिक कार्य हुन्छन् तब त्यहाँ राजनीतिक सीमा खुम्चिन्छ र खुसीमा दुवै गाउँका जनसामान्य समानरुपले सहभागी हुन्छन् । यस्तै जब यी दुवै गाउँमध्येको कुनै पनि घरमा कसैको निधन वा अन्य दुखदायी घटनाले आकार ग्रहण गर्दछ तब पनि राजनीतिक सम्बन्ध र सीमा खुम्चिन्छ र यी दुवै गाउँका जनता एकअर्काको पीडामा सहभागी हुन्छन् । यस्तोमा कुनौली र तिलाठीको लाठी एकअर्कासँग जुधेको कुरालाई कुनै पनि हालतमा उचित ठहर्याउन मिल्दैन । यसरी उचालिएको लाठीले कसको राजनीतिको सरक्षण गर्यो ? कसलाई कति लाभ पुग्यो वा कति हानी पुग्यो ? यसको लेखाजोखा भविष्यमा हुने नै छ । केही विषय सोचनीय छन्, यसरी उचालिने लाठीको प्रहार एकअर्काको भावनामाथि नै हुनेछ । यस्तो लाठीको प्रहारले आपसी रक्त—सम्बन्धलाई नै रगतपाच्छे बनाइरहनेछ । एकअर्काविरुद्ध उठेका यस्तो लाठीले एकीकृत समाजलाई खण्डीकरण गर्न भूमिका निर्वाह गर्नेछ । दुवै देशको राजनीतिले यो कुरा बुभ्नु अत्यन्त जरुरी छ । राजनीतिको काम तोड्नेमात्र होइन जोडने पनि हो भन्ने कुरा नबुझेसम्म दशगजामा लाठीहरु उठिरहनेछन् र सम्बन्धहरु रगतपाच्छे भइरहनेछन् । समस्याहरु ज्यूँका त्यूँ रहनेछन् र खुसियालीमा केही व्यक्ति ताली बजाइ रहनेछन् ।
गोरखापत्र ः साउन २८, २०७३
No comments:
Post a Comment