Thursday, March 24, 2016

Sushil Koirala/GOPA

अविश्रान्त सुशीलको महाप्रस्थान

धर्मेन्द्र झा

२०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै नेपाली कांग्रेसका तात्कालीन सभापति सुशील कोइराला एकाएक विश्वव्यापीरुपमा चर्चामा आउनुभयो । चर्चामा आउनुपर्ने कारण थियो, प्रधानमन्त्रीका रुपमा सार्वजनिक भएको उहाँको निजी सम्पत्ति—जम्मा तीनवटा मोवाइल । त्यो पनि अत्यन्तै न्यून मूल्यका, कमसल । यही सम्पत्ति विवरणका आधारमा विदेशी सञ्चारमाध्यमहरुले कोइरालालाई विश्वकै गरिव प्रधानमन्त्रीका रुपमा समेत चित्रित गरे । निजी लाभ, विलासी जीवन र सम्पत्तिप्रति पटक्कै आशक्ति नराख्ने सादगीका प्रतिमूर्तिको जीवनको अवसान भएको छ, माघ २६ गते । कोइरालाको जीवनमा माघ महिनाको निकै महत्वपूर्ण संयोग रह्यो । वि.सं. १९९४ को माघ २१ गते उहाँको जन्म भएको हो । २०७० को माघ २७ गते उहाँ आफ्नो राजनीतिक जीवनको उत्कर्षमा पुग्नुभयो र देशको ३७ औं प्रधानमन्त्री बन्नुभयो । त्यसको ठीक दुई वर्षपछिको माघ २६मा उहाँ जीवनको उत्कर्षमा पुग्नुभयो अर्थात महाप्रस्थान गर्नुभयो ।  


नेपाली कांग्रेसमा आवद्ध भई २००७ सालदेखि नै राजनीतिमा सक्रिय रहनुभएका कोइराला त्यसपछिका दिनमा देश, जनता र लोकतान्त्रिक आन्दोलनको पक्षमा निरन्तर सक्रिय रहेको सर्वविदीत छ । यो सक्रियता कोइरालाको जीवनपर्यन्त रह्यो । बढीभन्दा बढी समय कार्यकताबीच बिताउन रुची राख्नुहुने कोइरालाले महाप्रस्थान गर्नुअघि पनि दिउँसोभरि टेलिफोन तथा प्रत्यक्षरुपमा विभिन्न व्यक्ति र कार्यकर्तासँग पार्टीको आसन्न माहधिवेशनका सन्दर्भमा मन्त्रणा गर्नुभएको थियो । जीवनमा कहिल्यै पनि विश्राम नलिई क्रियाशील रहनुहुने कोइरालाको जीवनको ध्येय नै नेपाल र नेपाली समाजको वृहत्तर कल्याण र हीत थियो । यही ध्येयप्राप्तिमा अहोरात्र खटिनुहुने कोइरालाले न त घरजम गर्ने समय प्राप्त गर्नुभयो न त त्यसको आवश्यकता नै ठान्नुभयो । आफ्नो सम्पूर्ण सम्पत्ति पार्टीलाई समर्पित गर्नुहुने कोइरालाका लागि देश र पार्टी नै घर थियो र नेपाली जनता र कार्यकर्ता नै परिवार ।  साँचो अर्थमा  ‘फकिर’ नेताका रुपमा स्थापित कोइरालाले अहं र घमण्डलाई आफ्नो जीवनमा कहिल्यै प्रवेश गर्न दिनुभएन । बाहिर झट्ट हेर्दा कोइराला जति कडा स्वभावका देखिनुहुन्थ्यो भित्र त्यतिकै नरम स्वभाव र हास्य—व्यग्ंय चेतका धनी हुनुहुन्थ्यो । यी यस्ता आधार थिए जसका भरमा जस्तोसुकै पीडा समन गर्न सक्ने महारथप्राप्त थियो उहाँलाई ।  
  १२औं महाधिवेशनबाट पार्टीको सर्वोच्च पद सभापतिमा निर्वाचित कोइरालाले ०७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पटकपटक गरी नेपाल र भारतमा जेल जीवन बिताउनुभएको थियो । कोइरालाकै नायकत्वमा मुलुकले छ दशकदेखिको बहुप्रतिक्षित जनताका प्रतिनिधिले लेखेको र जारी गरेको संविधान पायो । कुनैबेला सिनेमाको कोरियोग्राफी र अभिनयको रंगीचंगी दुनियाप्रति आशक्त भई त्यसै क्षेत्रमा आफ्नो भविष्य देखेका शालीन व्यक्तित्वका धनी कोइरालाको एक प्रतिवद्ध लोकतान्त्रिक समाजवादीका रुपमा अविश्रान्त राजनीतिक यात्राको सन्दर्भ स्वयंमा कुनै सिनेमाको रीलभन्दा कम छैन । रजतपटको नायकको सपना देख्ने एक सामान्य राजनीतिकर्मीको देशको नायक बन्नेसम्मको यात्रा जो कोहीका लागि पनि प्रेरणास्रोत बन्न सक्छ ।
 आजीवन अविवाहित कोइराला अब हामीबीच हुनुहुन्न तर नेपाली राजनीतिमा उहाँको योगदानको चर्चा सँधै नै हुनेछ । जबजब राजनीतिमा इमानदारी र सदाचारको सन्दर्भ उठ्नेछ कोइरालाको नाम सदासर्वदा सम्मानका साथ लिइनेछ । नेपालीले गौरव गर्न सक्ने राजनेताको सूचीमा आफनो नाम अभिलीखित गराउन सफल कोइरालालाई भावी पुस्ताले राजनीतिको ‘दधिचि’का रुपमा स्मरण गर्ने कुरामा दुई मत हुन सक्दैन । कोइराला नेपाली राजनीतिमा आफ्नो एक विशिष्ट छवि निर्माण गर्न सफल राजनेताका रुपमा चिनिनुहुन्छ । नैतिकवान, इमान्दार र स्वच्छ छविका नेताको पर्याय बन्न सफल कोइरालाको ‘मिस्टर क्लिन’ व्यक्तित्वका सामु नेपालका कुनै पनि नेताको कद पुडको हुने स्थिति निर्माण भएको छ । यो स्थिति भनेको एककिसिमले उहाँले राजनीतिमा कायम गरेको मानक स्थिति हो । यो मानक व्यक्तित्वको निर्माण एकदिनमै सम्भव भएको होइन । यो व्यक्तित्व निर्माणमा छ दशकभन्दा लामो समयको राजनीतिक यज्ञमा उनको समर्पण र त्यागरुपी चरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अन्य कुनै कारणले कोइरालाको आलोचना गर्ने व्यक्ति पनि कोइरालासामु पुगेपछि उनको विराट निष्कलंक छविका सामु ओझेल पथर््यो । इमान्दारीको पर्याय कोइरालाले राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति जीवनभर नैतिकता र इमान्दारीलाई नै ठान्नुभयो । समकालीन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतीत गर्दै उच्च विचार राख्नेमध्ये कोइराला पहिलो पंक्तिमा हुनुहुन्थ्यो । 
गान्धीवादी अवधारणालाई आफ्नो जीवनशैली बनाएका कोइराला राममनोहर लोहिया र जयप्रकाश नारायजस्ता समाजवादी नेताहरुबाट निकै प्रभावित हुनुहुन्थ्यो । कोइरालाको सम्पूर्ण राजनीतिक जीवनको वैचारिक उतार—चढावको विश्लेषण गर्ने हो भने उहाँले सँधै नै आफू र समग्र कांग्रेस पार्टीलाई गान्धी र समाजवादी धारमा डोर्याउने प्रयत्न गर्नुभयो । सम्पूर्ण जीवन गान्धी—आदर्शकै अनुशरण गरी बिताउनुहुने सुशीलले आफ्ना यिनै विचार—दर्शनको प्रभावका आधारमा कम्तिमा तीसको दशकपछिको प्रत्येक क्षण पार्टीको वैचारिक ‘थिंक ट्यांक’ का रुपमा भूमिका निर्वाह गर्नुभयो । आजको पुस्ताले उहाँबाट सिक्ने सक्ने यो ठूलो पाठ हो ।  व्यक्तिगत जीवनमा कुनै पनि प्रकारको लोभ र आशक्तिबाट निकै दुरी राख्नुहुने कोइराला सदाचार र अहींसाबाट नै सबै प्रकारको समस्या समाधान गरी देशलाई प्रगतिपथमा डोर्याउन सक्ने विश्वासका आधारमा आफूलाई निर्देशित गर्नुहुन्थ्यो । यस आधारमा कोइराला साँचो अर्थमा समाजवादी सिद्धान्त र व्यवहारको संगम हुनुहुुन्थ्यो । आजको दिनमा निष्पक्ष मूल्यांकन गर्ने हो भने गान्धीवादी दर्शनका आधारमा राजनीति डोर्याउने शृंखलाको अन्तिम कडी उहाँ हुनुहुन्थ्यो भनेर भनियो भने असान्दर्भिक हुने छैन । कोइरालाको अवसानपछि विद्यमान नेपाली राजनीतिक नेतृत्वमा गान्धी, जेपी र लेहियाको समाजवादी मूल्य—मान्यतमा आधारित राजनीति गर्नेहरुको लामो खडेरी पर्न सक्ने स्पष्ट संकेत अनुभव गरिएको छ । यतिमात्र होइन सुशीलको अवसानको अर्थ विपि, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद, महेन्द्रनारायणजस्ता नेताले देश बनाउन देखेको सपनाको प्रत्यक्ष साक्षीको अवसान पनि हो ।  
दृढ निश्चयी, हकी, स्पष्ट दृष्टिकोण, निडर, सरल र स्वाभिमानी स्वभावका कोइराला निष्ठायुक्त राजनीतिका लागि चिनिनुहुन्थ्यो । लोकतान्त्रिक समाजवादी मूल्य—मान्यताप्रति समर्पित कोइरालाले लोकतन्त्रविरुद्ध आजीवन सम्झौता गर्नुभएन । आज उहाँलाई चिन्ने धेरै कारणमध्ये सिद्धान्तप्रतिको अविचलित अडान एक मुख्य कारण हो । कोइरालामा यस्ता थुप्रै गुण थिए जो आमव्यक्तिले ग्रहण गर्न योग्य छन् । उहाँ पनि त मानिस नै हुनुहुन्थ्यो । मानव भएका नाताले उहाँमा पनि गुणसँगै केही अवगुण स्वाभाविकरुपमा रहेको हुन सक्छ । तर उहाँको अवगुण केलाउने यो उपयुक्तसमय होइन । यस सन्दर्भमा एउटा अर्को कुरा पनि महत्वपूर्ण छ त्यो के भने, उहाँमा पनि केही अवगुण थिए यो निश्चित हो तर ती सबै अवगुणमाथि उहाँको गुणले विजयप्राप्त गरेको थियो ।  सहमति र सहकार्यमा विश्वास गर्ने कोइरालाले आफ्नो यही दृष्टिकोणका आधारमा प्रधानमन्त्रीका रुपमा देशको सफल नेतृत्वमात्र गर्नु भएन सबै दललाई विश्वासमा लिएर जनतालाई जनताको संविधान सुिम्पने अभिभारा पनि पूरा गर्नुभयो । कालान्तरमा उहाँलाई अन्य कुनै कारणले कसैले नसम्झिए पनि संविधानका कारण भने मुलुकले सँधै स्मरण गर्नेछ । यो विश्लेषणको अर्को पाटो हुन सक्छ कि, आफ्नै क्रियाशीलतामा जारी भएको संविधानको प्रक्रिया (जारी प्रक्रिया) र अन्तरवस्तुका सम्बन्धमा उहाँ खासै सन्तुष्ट हुन सक्नुभएको थिएन । छिटो संविधान जारी गर्ने नाममा केही अनपेक्षित विषयमा सम्भौता गर्न बाध्य हुनुपरेको बोध उहाँमा थियो । यति हुँदाहुँदै पनि एकातिर संविधान जारी हुन सकेकोमा सन्तुष्टि र त्यही संविधानमार्फत् सबैलाई सन्तुष्ट गर्न नसकेकोमा असन्तुष्टि—कोइरालाको जीवनको पछिल्लो अन्तद्र्वन्द्व शायद यो पनि थियो । संविधान निर्माणका सन्दर्भमा उहाँ केही समय थप लिई असन्तुष्ट मधेश पक्षलाई सँगै लिई अगाडी बढने पक्षमा हुनुहुन्थ्यो तर एमालेलगायतका अन्य शक्तिको ‘फास्ट ट्रयाक’ अवधारणाका कारण अपेक्षित सफलता प्राप्त गर्न नसकिएको बुझाई उहाँमा थियो । राष्ट्र र राष्ट्रियताको पक्षमा जस्तोसुकै मूल्य चुकाएर भए पनि मधेशको भावनाको सम्मान गर्ने पक्षमा अडीग कोइरालाको सपनालाई सम्पूर्णता प्रदान गर्ने अभिभारा १३औं माहिवेशनको प्रक्रियामा रहेको पार्टीको उहाँपछिको नेतृत्त्वको काँधमा आइपरेको छ ।
भनिन्छ, मृत्युले आफूमाथि कहिल्यै पनि दोष लिँदैन । कोइरालाको मृत्यु—सन्दर्भमा पनि यस्तै भयो । दुईदुई पटकसम्म क्यान्सरलाई पराजित गर्ने दृढ इच्छाशक्तिका धनी कोइरालाको पछिल्लो स्वास्थ्य अवस्था र मृत्युलई लिएर निकै चासोहरु सार्वजनिक भएका छन् । अस्पताल नलिगिएको, चिकित्सा सेवा समय छँदै उपलब्ध नगराइएको, हेरचाहमा तदारुकता नअपनाइकोजस्ता अनुमानहरुले यतिखेर महत्वपूर्ण स्थान प्राप्त गरेका छन् । जनता र कार्यकर्तालाई नै परिवार ठान्ने कोइरालाका लागि स्वयंको परिवार नहुनुलाई पनि यतिखेर उहाँको मृत्युको कारणसँग जोडेर हेरिँदैछ । सुशीलले कहिल्यै पनि व्यवस्थित सचिवालयको अवधारणामाथि विश्वास गर्नुभएन । उहाँ प्रायः सबै कार्य औपचारिकभन्दा अनौपचारिक शैलीमा गर्न रुचाउनुहुन्थ्यो । औपचारिकताको आवरणले नेता र कार्यकर्ताबीचको दुरी बढाउँछ भन्ने मान्यता राख्नुहुने सुशीलको सचिवालय पनि अनौपचारिक स्वरुपकै थियो । शायद उनको मृत्युले यिनै सबै अवस्थामाथि दोष पन्छाउँदै आफू ओभानो हुने क्रुर प्रयत्न गरेको छ भन्दा असंगत ठहर्दैन । खयर जे नहुनु थियो भइसक्यो अब देशलाई विकसित, समृद्ध र एकतावद्ध बनाउने कोइरालाको सपनालाई साकार बनाउनु नै उहाँप्रतिको सच्चा श्रद्धान्जलि हुनेछ ।  



No comments:

Post a Comment