देउवा ः हिजो, आज र भोली
धर्मेन्द्र झा
तात्कालीन सभापति सुशील कोइरालाको दैहिक अवसानको एक महिना नबित्दै शोकलाई विर्साएर नेपाली कांगे्रसले आफ्नो तेह्रो महाधिवेशन सम्पन्न गरेको छ । निकै तडकभडक र तामझामपूणर््ा शैलीमा सम्पन्न महाधिवेशनले पार्टीको सर्वोच्च पद सभापतिमा शेरवहादुर देउवा निर्वाचित गरेको छ । सभापतिमा निर्वाचित भएसँगै लामो समयदेखिको देउवाको चीरप्रतिक्षित मनोकांक्षाले आकार ग्रहण गरेको छ । दशों महाधिवेशनमा आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवाको सभापति हुने इच्छा पुरा नभएपछि कांग्रेसको एघारौं महाधिवेशन अलगअलग रुपमा सम्पन्न भएको थियो । त्यसवेला देउवालाई पार्टी फूटाएको आरोप पनि लगाइएको थियो । बाह्रौं महाधिवेशनमा पुनः सभापतिका लागि प्रतिस्पर्धी हुँदा देउवाले सुशील कोइरालासँग पराजय बेहोर्नु परेको थियो । तर देउवाले हरेश खाएनन् र संगठनमा सक्रिय भई नै रहे । अन्ततः तेह्रौ महाधिवेशनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको रुवा खोलाको एक सामान्य विद्यार्थी देउवाको कांग्रेसको सभापति बन्नेसम्म्को राजनीतिक यात्रा कम रोमाञ्चक छैन । तीनपटक देशको प्रधानमन्त्रीको कार्यभार समालिसकेका देउवा विविध कारणले राजनीतिक—चर्चामा रहे । वैचारिक र सैद्धान्तिक आधारका लागिभन्दा पनि आक्रामक व्यक्तित्व, सत्ता—चातुर्य, सागठनिक चुस्तता तथा कार्यकता संरक्षणका दृष्टिले प्रायः चर्चामा रहने देउवा सभापतिमा निर्वाचित भएसँगै नेपाली कांग्रेस नयाँ धारको राजनीतिमा प्रवेश गरेको विश्वास गरिएको छ ।देउवालगायत नयाँ पदाधिकारी र सदस्य निर्वाचित गर्नुका अतिरिक्त अन्य कुनै विषयमा खासै विमर्श गर्न नसकेको कांग्रेसको तेहौं महाधिवेशनबाट लामो समयको अन्तरालपछि कोइराला परिवारबाहिर पार्टीको सर्वोच्च नेतृत्व हस्तान्तरण भएको एकथरि दावी छ । तर यो दावीमा एक प्रकारको दम्भको अनुभूती पनि छ । देउवाको प्रतिस्पर्धी पौडेल विजयी भएको भए पनि नेतृत्व कोइराला परिवारबाहिर नै हस्तान्तरित हुने थियो । हो, पौडेल विजयी भएको भए उनीसँग कोइराला परिवारको वैचारिक निकटता र धारको निरन्तरता रहेको मानिन्थ्यो भने देउवा—नेतृत्व त्यो निकटता र धार स्वीकार गर्न तयार छैन । यस मनोदशाका आधारमा कांग्रेसको भावी दिशा प्रभावित हुने निश्चित छ । सभापतिमा विजयी भएलगत्तै देउवाले सबैलाई मिलाएर एक ढिक्का बनाएर पार्टी सञ्चालन गर्ने उद्घोष गरेका छन् । यो उद्घोष स्वागतयोग्य छ । उनीसँग संयुक्त सरकार सञ्चालनको अनुभव छ । यो अनुभवलाई उनले पार्टी सञ्चालनमा पनि प्रयोग गर्न सक्छन् । तर योसँगै अर्को पक्ष विचारणीय छ । संयुक्त सरकार सञ्चालनका सन्दर्भमा संसदीय पद्धतिमै केही विकृति भित्र्याएको भनी देउवाको आलोचना गर्ने गरिएको छ । यो आलोचना ठीक वा बेठीक आफ्नो ठाउँमा होला, तर पार्टी सञ्चालनका सन्दर्भमा यो आलोचनालाई पृष्ठपोषण्का रुपमा स्वीकार गरी देउवाले भावी कार्यदिशा र नीति तय गर्नु वाञ्छनीय छ । यो आलोचना पूर्णतः असत्यमा आधारित छ भनेर अगाडी बढने प्रयत्न हुने हो भने यसले झन अप्ठ्यारो थप्ने निश्चित छ ।
नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो पार्टी हो, जो लोकतन्त्र र समाजवादमा विश्वास गर्दछ । हाल संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको यो लोकतान्त्रिक दलको तेह्रौ महाधिवेशनले एकपटक फेरि दलभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई मूर्त रुप प्रदान गरेर अरुका सामु उदाहरण प्रस्तुत् गरेको छ । वडा, गाउँ, नगर, निर्वाचन क्षेत्र, जिल्ला हुँदै केन्द्र्रसम्मको नेतृत्व—निर्वाचनको प्रक्रियाले जो कोहीलाई पनि आकर्षित गरेको छ । यी सबै प्रकारका अधिवेशनमा कम्तिमा पाँच लाख व्यक्तिको सहभागितालाई सामान्य ठानिनु हुँदैन । अहिलेलाई सबै प्रकारका अधिवेशन (केही अपवादबाहेक) सम्पन्न भएका छन् । यसलाई अत्यन्तै स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रुपमा स्वीकार गरिनुपर्छ र प्रतिस्पर्धालाई लोकतन्त्रको अवयव मानिनुपर्दछ । प्रतिस्पर्धाका समयमा कार्यकर्ताहरु समूहमा विभाजित भएको पक्कै पनि हो तर यो विभाजनलाई क्षणिक मानेर अब सिंगो कांग्रेस देश निर्माणमा जुट्नुको विकल्प छैन । प्रतिस्पर्धाकालीन तुसहरुको उचित व्यवस्थापनका माध्यमबाट सबैलाई समायोजन गरी पार्टीमा समान सहभागिताको अनुभव गराउने दायित्व अब देउवाको काँधमा छ । हिजोको दिनमा देउवाले एक गुटको नेतृत्व गरेको आरोप लागेको हो । तर अब सर्वोच्च नेतृत्वप्राप्तिपछि पनि स्वयं देउवा र हिजोका दिनमा उनलाई सघाउनेबाट पुरानै मनोविज्ञान प्रदर्शित हुने हो भने सिंगो कांग्रेसको भविष्य संकटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । देउवाले सभापतिका हैसियतले लिने पहिलो निर्णयबाट नै यो मनोविज्ञानको अन्त्यको अनुभूती अपेक्षित छ ।
देउवाको विजयसँगै कांग्रेसमा हिजोको चालीस र साठीको मनोदशा र कार्यदिशा पनि अन्त्य भएको मान्न सकिन्छ । यस आधारमा हिजोको दिनमा संस्थापन र प्रजातान्त्रिक भनी कोरिएको विभाजन—रेखा मेट्ने दायित्व देउवाकै हो । हिजोको संस्थापन आज पार्टीभित्र प्रतिपक्षीको भूमिकामा पुगेको छ भनेर भनियो भने त्यो असंगत हुने छैन । देउवाको हिजोको हैसियत (वरिष्ठ नेता)मा पौडेल पुगेका छन् । देउवाको सफल कार्यकालका लागि पौडेलको सहयोग अपरिहार्य छ । पार्टीभित्र वैचारिक र सैद्धान्तिक नेताका रुपमा स्वीकार्य पौडेलको सहयोग उनले कसरी र कुन आधारमा प्राप्त गर्नेछन् त्यो हेर्ने प्रतीक्षा सबैलाई हुनेछ । विगतमा उपसभापतिका हैसियतमा पौडेलले नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसलाई गति प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सबै कांगे्रसजनले स्वीकार गरेका छन् । कुनै गुटको निर्माण नगरी मध्यमार्गी नेताको छवी बनाएका पौडेललाइ उचित संयोजन र सम्बोधन गरी उनको अनुभव पार्टी हीतका लागि प्रयोग गर्ने विषय देउवाको सफलताका लागि निर्णायक सावित हुन सक्छ । शायद सभापति देउवाले यस तथ्यलाई अस्वीकार गरेका छैनन् होला ।
सांगठनिक चातुर्यताका दृष्टिले देउवाको छवी कांग्रेसभित्र चामात्कारिक नेताका रुपमा निर्माण भएको छ । उनको यो छवी भोलीका दिनमा पार्टीभित्र, बाहिर र सरकारका सन्दर्भमा कसरी प्रयुक्त हुनेछ, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासोको विषय बनेको छ । धेरैको अनुमान छ, कांग्रेसको नयाँ नेतृत्वसँगै सरकार परिवर्तनको सन्दर्भले श्वर प्राप्त गर्नेछ । यस सन्दर्भमा कांग्रेसइतर दल र नेताहरुबाट केही अभिव्यक्ति पनि सार्वजनिक भएका छन् । सरकार परिवर्तन तत्काल सम्भव होला नहोला तर सरकारबारेको कांग्रेसको दृष्टिकोण भने तत्काल सार्वजनिक हुने अपेक्षा गरिएको छ । सुशील कोइरालाको अवसान र कांग्रेसको नयाँ नेतृत्वको चयनपछि, विपक्षी दलले हिजोका दिनमा कांग्रेसबारे विकसित गरेको दृष्टिकोण अर्थहीन बन्न पुगेको सन्दर्भमा, कांग्रेसको नयाँ दृष्टिकोणले निकै अर्थ राख्ने कुरालाई अस्वीकार गर्न मिल्दैन ।
सभापतिका रुपमा देउवाका सामु अन्य केही मुद्दा पनि महत्वपूर्ण रुपमा अस्तित्वमा छन् । काग्रेसको विधान संशोधन त्यस्तै एक महत्वपूर्ण मुद्दा हो । विगतमा विधान संशोधनमार्फत् नयाँ पद सिर्जनाको विपक्षमा रहेका देउवाले अब महासमितिमार्फत् विधान संशोधनको मुद्दालाई टुग्याउनु पर्नेछ । यस्तै मधेश मुद्दाको सम्बोधन उनका लागि अर्को चुनौतीको विषय बन्नेछ । मधेशलाई उनले हेर्ने र मधेशले उनलाई हेर्ने दुवैथरि दृष्टिकोण आरोपित छन् । यस्तोमा सबैलाई स्वीकार्य हुने गरी समस्याको समाधान पहिल्याउनु र हिजोजस्तै मधेशमा कांग्रेसको संगठन विस्तार गर्ने विषय नेतृत्वका लागि कम चुनौतीपूर्ण हुनेछैन । यसैसँग जोडिएको छ, नाकावन्दी, नाकावन्दीले सिर्जना गरेको असामान्य अवस्था र भारतसँगको सम्बन्ध । यी विषयमा पनि देउवाले नेतृत्वका हैसियतले कांग्रेसको दृष्टिकोण विकसित गर्नुपर्नेछ । यसैगरी सभापति देउवाका सामु अर्को चुनौती उपस्थित छ, भूकम्पपछिको पुनर्निर्माणको । पछिल्ला दिनमा कांग्रेसले पुनर्निर्माणका सन्दर्भमा स्पष्ट दृष्टिकोण विकसित गर्न नसकेको र राहत तथा पुनसर््थापनामा शिथिल देखिएको आरोप खेप्दै आएको छ । देउवाले यस सन्दर्भमा पनि चातुर्य र कुशलता प्रदर्शन गर्नु अपेक्षित छ ।
देउवाका सामु उपस्थित सबैभन्दा ठूलो चुनौती हो संविधान कार्यान्वयनको । संविधान निर्माणमा हिजोका दिनमा देउवाको सहभागिता कांग्रेसका नेताका रुपमा मात्र थियो । तर अहिले भूमिका परिवर्तित भएको छ । कांग्रेसको नेतृत्वमा आएको संविधानको कार्यान्वयनको जिम्मेबारी अहिले पार्टी सभापतिका दृष्टिले देउवाको काँधमा थपिएको छ । हिजो पार्टी नेतृत्वको आलोचनामात्र गरे पनि शायद पुग्थ्यो तर अब देउवाले आलोचनाहरुको सम्बोधन गर्नुपर्नेछ । संविधानप्रति मधेशलगायत विभिन्न पक्षका असन्तुष्टि छन् । संविधान सर्वस्वीकार्य हुन सकेको छैन । यस्तोमा संविधानलाई सबैको दृष्टिमा स्वीकारयोग्य बनाई कार्यान्वयनमा लैजानु निश्चय पनि सहज छैन । तर आँटु गर्नु अपरिहार्य छ । आँट गरे नयाँ इतिहास रच्न सफल हुनेछन् देउवा । गिरिजाप्रसाद कोइरालाले देशमा शान्ति स्थापनाका सन्दर्भमा इतिहास रचे । सुशील कोइरालाले संविधान निर्माण सम्भव बनाएर इतिहास रचे । देउवाका सामु संविधान कार्यान्वयन्को अवसर छ । उनी यस सन्दर्भमा इतिहास रच्न सक्छन् । तर यो कार्य उनी एक्लै र उनको हिजोको गुटबाटमात्र सम्भव हुने छैन भन्ने जानकारी उनलाई भएकै हुनुपर्छ । यसका लागि उनले सबै कांग्रेसजनलाई विश्वासमा लिई वास्तविक अर्थमा पार्टीलाई एक ढिक्का बनाउन सक्नुपर्छ । सभापतिका रुपमा उनले सार्वजनिक गरेको पहिलो अभिव्यक्तिबाट उनी यस कार्यमा कति सफल हुनेछन् भन्ने कुराको आँकलनको प्रारम्भ भइसकेको छ ।
Phagun 28th, 2072, Gorkhapatra
No comments:
Post a Comment