Wednesday, September 7, 2016

Tikapur Trasadi.../GP

टीकापूर्ण त्रासदीको अन्त्येष्टि

धर्मेन्द्र झा

 महाभूकम्पको पीडाबाट देश तंग्रिनै पाएको थिएन, ठीक एक वर्षपहिले देशसामु अर्को त्रासदी तेर्सिन पुग्यो । यो त्राशदीपूर्ण घट्ना थियो पश्चिम नेपालस्थित टीकापुरको ।  नावालकसहित आठ सुरक्षकर्मीको नृशंस हत्या गरिएको टीकापुर घट्नाको जति निन्दा गरे पनि कमै हुन्छ । यो अमानवीय हो । हत्याको घट्नापछि टीकपुरमा अर्को ताण्डव मच्चिइयो, जो थप दुःखद थियो । एक किसिमले अराजकता निम्तिइयो यहाँ । घरहरु तोडफेड गरिए । आगजनी भए । सम्पूर्ण टीकपुर स्तब्ध बन्यो । त्रसित जनजीवन घरभित्र खुम्चिन बाध्य भयो । सडकहरु खाली देखिए । विविध आग्रहबाट आरोपित प्रशासन लचर सावित भइरहेको थियो । यस्तोमा स्थानीय नागरिक समाज नै थियो जसले टीकपुरको शान्ति वहालीमा भरमगदुर भूमिका निर्वाह गर्यो । अहिले टीकापुर क्रमशः शान्त बनेजस्तो अनुभूत गरिँदैछ । यो सन्तोषको विषय हो । तर स्वीकार्नै पर्छ, शान्तिको यो गति निकै ढीला छ ।

टीकापुरको त्यो भयानक त्राशदीपूर्ण घट्नाको एक वर्ष वितिसकेको छ । गत वर्षको भदौ सात÷आठ गतेको उक्त दुर्दान्त घट्नाको वार्षिकीका सन्दर्भमा केही प्रश्नको उत्तरको खोजी गर्दै सामाजिक सद्भाव अभिवृद्धिका दृष्टिले केही प्रण गर्नु जरुरी छ ।  प्रश्न उठ्छ,  किन भयो टीकापुर घटना ? यसका दोषी को हुन ? यस्ता सबै प्रश्नको उत्तर आधिकारिकरुपमा देशको प्रशासन संयन्त्रले अहिलेसम्म दिन सकेको छैन । यस एक वर्षको अवधीमा टीकापुरका सन्दर्भमा तेर्सिएका प्रश्नका केही उत्तर ‘रेडिमेड’ स्वरुपमा उपलब्ध छन् ।  अहिलेलाई विश्लेषणको प्रयत्न गर्ने हो भने यसको पहिलो उत्तरका रुपमा सुरक्षा संयन्त्रको परिवर्तित रणनीति र सुरक्षा निकायबीचको समन्वय अभावलाई लिन सकिन्छ । यो प्रत्यक्ष देखिएको सुरक्षा अवस्थाको तस्वीर थियो । नदेखिएको सुरक्षाचुकको अवस्था नेपालको गुप्तचरीसँग सम्बन्धित छ । टीकापुर घटनाको सन्दर्भमा नेपाली गुप्तचरी खोक्रो सावित हुन पुगेको त्यतिवेलै निष्कर्ष निकालिएको थियो । उक्त घटनामा ठूलो संख्यमा प्रदर्शनकारी उपस्थित हुने, त्यस्तो समूहसँग हथियार पनि हुने र हथियारसहितको त्यो समूह कुनै पनि नेतृत्वको अभावमा अनियन्त्रित हुन सक्ने अनुमानसमेत गर्न नसक्नुलाई नेपाली गुप्तचरीको नालायकीपन नभनी के भन्ने ? सबैभन्दा महत्वपूर्ण कुरा, घटनामा को सामेल थिए भन्ने हो । प्रत्यक्षतः टीकापुर प्रदर्शनमा राजनीतिक आकांक्षायुक्त असन्तुष्ट नै सहभागी थिए, जो अधिकारप्राप्तिको संघर्षमा होमिएका थिए । यिनको भावनालाई कम मूल्यांकन गरिनु हुँदैन । तर घटनाले जस्तो रुप लियो त्यस आधारमा भीडमा गलत तत्वको घुसपैठको सम्भावनालाई नकार्न सकिन्न । त्यसो त घटनापछि सरकारी संयन्त्रले केहीलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको छ । जानकारका अनुसार टीकापुरको घटनामा प्रहरीलाई विगतको माओवादी छापामार शैलीको युद्धको जस्तै घेरावन्दीमा पारिएको थियो । तर अहिलेलाई यी सबै कुराको स्मरणको कुनै अर्थ र तुक छैन । हो, यस घट्नापछि प्रशासनलाई कति सुरक्षा चेत भयो र उसले कति सिक्यो भन्ने विषय पृथक हो ।
यसै पृष्ठभूमीमा गत साउन ३० गते नेपाल पत्रकार महासंघको आयोजनमा पत्रकार सुरक्षा मिशनले कैलालीको अध्ययन गर्ने सन्दर्भमा टीकपुरको भ्रमण गरेको थियो । महासंघको केन्द्रीय मिशन टोलीले पत्रकार, नागरिक समाज, स्थानीय वुद्धिजीवीको उपस्थितिमा एक अन्तरक्रियाको आयोजना गरेको थियो । मिशन टोलीको एक सदस्यका हैसियतले मूल्यांकन गर्दा, अन्तरक्रियाका क्रममा उठान भएका धारणाले टीकपुरका सम्बन्धमा एकपटक पुनः गम्भीरतापूर्वक सोच्न घचघच्याएको छ भन्दा अस्वाभाविक हुँदैन । उचित समयमा पुगेको अनुभव गरिएको पत्रकार महासंघको मिशनले सामाजिक सद्भाव अभिवृद्धिका दिशामा उपयुक्त वातावरण निर्माण गर्न सकेको छ । यस्ता मिशन र वाह्य सरोकारीले त वातावरण निर्माणमा मात्र भूमिका निर्वाह गर्ने हुन् । समाजलाई पुरानै अवस्थामा ल्याउन स्थानीय समाजकै भूमिका निर्णायक र महत्वपूर्ण हुन्छ । स्थानीय समाजलाई मिशनको सन्देश पनि यही थियो ।
टीकापुरका वासिन्दाबीच अझै पनि एक प्रकारको अज्ञात त्रासको वास छ । उनीहरु यसबाट जतिसक्दो चाँडो मुक्ति चाहन्छन् । टीकापुरमा दुई समुदायका मानिस मिलेर बसेको निकै वर्ष भइसक्यो । उनीहरुबीच नङ र मासुको सम्बन्ध छ । तर गत वर्षको भदौमा अचानक यो सम्बन्धमा अविश्वासको वातावरण सिर्जना भयो । विश्लेषण गर्ने हो भने अविश्वासको यस्तो वातावरण सिर्जना गर्ने कार्य सुनियोजित थियो भन्न सकिने अनेकौं आधार छन् । यसको खोजी जरुरी छ ।  गत वर्षको त्रासदीपूर्ण घट्नापछि वास्तवमै टीकापुरवासीको मन फाटेको छ । उनीहरु फाटेको मनमा मलम लेपनका आकांक्षी छन् । रोगको दीर्घ उपचार चाहन्छन् । पीडाको समन चाहन्छन् । उनको गुनासो छ, यस्तो भरपर्दो उपचार उनले कहीँ कतैबाट प्राप्त गर्न सकेनन् । उनको अर्को गुनासो पनि छ, त्रासदीपूर्ण घट्नापछि टीकापुरको भ्रमण थुप्रैले गरे । थुप्रैले घाऊ निर्को पार्ने आश्वासन् दिए, तर सबैले आफ्नोमात्र स्वार्थ पुरा गरे । धेरै भ्रमणकारीले प्रतिवेदन तयार गरेर चाङ थुपारे । त्यति हुँदा पनि टीकापुरको आर्तनादमा कमी आएन । उनीहरुको प्रश्न छ, हामीले के विराएका थियौ ? संघीयताको पुुनर्सीमाङ्कनको कुरा गर्नु, समानुपातिक समावेशीको कुरा गर्नु र अधिकारको कुरा गर्नु के गलत थियो ? उनीहरु पनि स्वीकार्छन्, गत वर्ष यहाँ जे भयो दुखदायी थियो । उनीहरुको भनाई छ, यहाँँ घट्ना हुनुका पछाडी त्यस्तो षडयन्त्रकारीको निर्णायक भूमिका थियो जो कुनै वहानामा सद्भाव विथोलेर स्थानीय आवाज बन्द गर्न चाहनथ्यो । उनको बुझाई छ, अन्ततः विजय तिनकै भयो । आपसी संवाद टुट्यो, जसको तन्तु वास्तविक अर्थमा पुनः जोडिन सकिरहेको छैन ।
वर्षौदेखि मिलेर बसेको टीकापुरको समाजको मानसिकता अहिले समस्यामा छ । अहिले यो विस्तारै पुरानै अवस्थामा फर्कने प्रयत्न त गर्दैछ, तर गति निकै ढिला छ । यस प्रवृत्तिलाई गतिवान बनाउन समाजिक सद्भावका प्रक्रियाहरुलाई तीव्रता प्रदान गर्नु जरुरी छ । पत्रकार महासंघको मिशनले यस्तै एक प्रक्रियालाई निरन्तरता प्रदान गर्ने प्रयत्न गरेको छ भन्दा अस्वाभाविक हुँदैन । भीडको आवेशमा जलेर नष्ट भएको फूलवारी एफ एम सञ्चालन हुन सकेको छैन । स्थानीय पत्रपत्रिकालगायतका अन्य सञ्चारमाध्यमहरु स्वनियन्त्रणको डरलाग्दो पञ्जाभित्र छटपटाइरहेका छन् । विवेक प्रयोग गर्ने नाममा पत्रकारहरु सूचनाको खेती गर्न असमर्थ प्रमाणित हुँदैछन् । नागरिक समाजको पनि धेरथोर यस्तै अवस्था छ । बुद्धिजीवीहरु ब्ुद्धिको प्रयोग गर्न सशंकित रहनुपर्ने अवस्था छ । टीकापुरको आमअवस्था जिम्मेबार राजनीति गर्नेहरुको नियन्त्रणमा छैनभन्दा असंगत ठहर्दैन । यस्तो परिस्थितिमा अवस्थाको विश्लेषण र मूल्यांकन सहजै गर्न सकिन्छ ।  अहिले आएर भन्नुपर्दा घट्नाका समयमा माथि उल्लेख गरिएका सबै पक्षको केही न केही कमजोरी अवश्य पनि रह्यो । अब यो कमजोरी सच्यानुपर्छ र भविष्यमा कमजोरी नदोहरिने सर्वपक्षीय प्रतिबद्धता अपरिहार्य छ । माथि उल्लेख गरिएका सबै पक्ष स्थानीय जनताका चेतनाका आधार हुन् । यहाँको समस्या समाधानमा यिनै पक्षको संवेदनशील क्रियाशीलता अपेक्षित छ । यिनीहरुले स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्न सक्ने वातावरण जति छिटो निर्माण हुन्छ यहाँको अवस्थामा त्यति नै चाँडो सुधार आउँछ । यस दिशामा प्रशासनले जिम्मेबार भूमिका निर्वाह गर्नु अपरिहार्य छ । घाइतेहरुको उपचारमा अहिले पनि समस्या छ । पीडितहरु अहिले पनि सम्पूर्ण राहतको प्रतीक्षामा छन् । मुद्दा चलाइएकाहरुको मुद्दा फिर्ता लिइनुपर्ने आवाज कायम नै छ ।
यो सबै परिस्थितिको उपस्थितिमा यहाँको अवस्था सामान्य भइसकेको छ भन्ने निष्कर्ष निकाल्न निश्चय पनि कठीन छ । तर राज्यले साँच्चै चाह्यो भने अवस्थामा तत्काल सुधार आउन सक्छ । अहिले टीकापुरलाई सर्वाधिक आवश्यकता समाजिक सद्भाव सुनिश्चित गर्ने गतिविधि सञ्चालन् हुनु, संवादको तन्तु जोडिनु र सुरक्षाको प्रत्यभूतिको छ । राज्यले स्थानीय सरोकारवालाको सहयोगमा घनीभूत कार्यक्रम सञ्चालन गरी यी सबै कुरा सुनिश्चित गर्न सक्दछ । यति भए टीकापुर त्राशदीको अनत्येष्टि सहजै हुनै सक्ने अपेक्षा गर्न सकिन्छ ।
गा्रखापत्र १० भदौ २०७३

No comments:

Post a Comment