Wednesday, August 7, 2013

Society

सामाजिक रुपान्तरणको सवाल र संचार

धर्मेन्द्र झा
विषय प्रवेश
लोकतन्त्र र स्वतन्त्र प्रेसबीच गहिरो सम्बन्ध छ । वास्तवमा भन्ने हो भने दुवै एक अर्काका पूरक हुन । लोकतान्त्रिक शासनविना स्वतन्त्र प्रेसको कल्पना गर्न सकिँदैन भने स्वतन्त्र प्रेसको उपस्थितिविना लोकतन्त्रको कल्पना पनि गर्न सकिँदैन । पत्रकारिताको परम्पराले नेपालमा पनि सय वर्ष नाघिसकेको छ । नेपालमा स्वतन्त्र पत्रकारिताको थालनीको प्रयास १५ सालको निर्वाचित सरकारको समयमा भएको हो तर वास्तविक अर्थमा स्वतन्त्र पत्रकारिताको विकास यात्रा वि स ं२०४६ को परिवर्तनपछि मात्र सम्भव हुन सकेको हो भन्दा अत्युक्ति हुने छैन । २०४६ सालको परिवर्तनअघि साप्ताहिक अखबारहरूले पत्रकारिता र राजनीतिक चेतना वृद्धिका निम्ति पु¥याएको योगदान बिर्सन मिल्दैन ।
वर्तमानमा नेपाली मिडियाको आयाममा व्यापक परिवर्तन आएको छ । छापा संचारमाध्यमसँगै विद्युतीय संचारमाध्यमको यथेष्ट विकास भएको छ । नेपालमा अहिले करिब चार सय २५ रेडियोले संचालन स्वीकृत प्राप्त गरेका छन जसमा तीन सय सत्तरीभन्दा बढी संचालनमा छन । यस्तै डेढ दर्जन बढी टेलिभिजन संचालनमा छन । अनलाइनको विकाससँगै मिडिया थप वहुआयामिक भएको छ । नेपालको राजनीतिक र सामाजिक आन्दोलनको विश्लेषण गर्ने हो भने, २०४६ को जन आन्दोलनमा साप्ताहिक समाचारपत्रहरुको भूमिका महत्वपूर्ण रहेको पाउन सकिन्छ भने २०६२–०६३ को आन्दोलनमा रेडियोको भूमिका महत्वपूर्ण थियो । अब हुने कुनै पनि आन्दोलनको नेतृत्व अनलाइनले गर्ने विश्वास गर्न सकिन्छ । सामाजिक रुपान्तरणका दृष्टिले यो विश्लेषणलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । मिडियाले कसरी आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ र आमजनताका बीच कसरी मिडियाले आफूलाई स्थापित गरिरहेको छ भन्ने कुराको प्रमाण पनि हो यो विश्लेषण । 
जस्तोसुकै प्रविधि आए पनि आखिर पत्रकारिताको आधारभूत गुण एउटै हो । महत्वपूर्ण पक्ष माध्यम होइन, त्यसमा हामीले कस्तो सामग्रीलाई प्रस्तुत गर्छौं, त्यो हो । सिर्जनशिलता महत्वपूर्ण हो । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता र शर्त दुवै हो । यसको सम्बन्ध जनताको सूचनाको हकको प्रत्याभूतिसँग छ । स्वतन्त्र पत्रकारिताको अभावमा जनताले निर्वाध रुपले सूसुचित हुने अवसर पाउँदैनन र सूचनाको हकको अनुपस्थितिमा लोकतन्त्र छ भनेर कहीँ दावी गरिन्छ भने त्यो फगत दावी मात्र हुनेछ । यस परिदृश्यमा लोकतन्त्रको यो महत्वपूर्ण औजारलाई जोगाइरहने अभिभारा संचारकर्मीहरुको काँधमा जान्छ । यस्तोमा पत्रकार बलियो नभई पत्रकारिता र लोकतन्त्र बलियो हुन नसक्ने यथार्थ हामी सबैले बुझ्नु जरुरी छ ।
सामाजिक रुपान्तरण र संचार
नेपाली समाज वहुलवादी समाज हो । यो यस्तो समाज जहाँ कुनै पनि जातको वहुमत छैन । सबै अल्पमतमा छन । सबैले मिलेर सबैको मुद्दा सम्बोधन गर्नुपर्ने बाध्यात्मक अवस्था हाम्रो समाजले नै सिर्जना गरेको छ । यो तथ्य सबैले आत्मसात गर्नु आवश्यक छ । नेपाली समाजको संरचना अहिले पनि परम्परावादी अवधारणाबाट नै निर्देशित छ । जात–पात, छुवाछुत, विविध नाममा भेदभाव आदी नेपाली समाजका यथार्थ हुन । यो यथार्थले परम्परावादी सोचको अस्तित्वलाई स्पष्ट गर्दछ । तर आधुनिक मान्यता यो यथार्थभन्दा नितान्त भिन्न छ । समाजले पुरातन मान्यताबाट मुक्त भई नयाँ धरातल खोज्नुपर्छ । यसका लागि समाजमा व्याप्त सबैखाले विभेदको अन्त्य गरी समताको अवधारणा स्वीकारिनु जरुरी छ । सारमा यही अवधारणा नै सामाजिक रुपान्तरणको अवधारणा हो । समाजमा बस्ने सबैको अस्तित्व समताका आधारमा परिभाषित गरिनुपर्छ र सबैको भूमिका पनि त्यही आधारमा खोजिनुपर्छ । यति हुन सकेमात्र समाज अग्रदिशामा बढन सक्छ । निश्चित रुपमा समाजलाई सकारात्मक दिशामा रुपान्तरित गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आजको विश्वमा मिडियालाई समजको साझा मंचका रुपमा स्वीकारिन्छ । साँच्चै मिडिया साझा मंच हो भने यसले समाजका सबै वर्ग, समुदाय र व्यक्तिलाई सम्बोधन गरेर सन्तुलनकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ । समावेशी एउटा माध्यम हो । समाज रुपान्तरणका दिशामा मिडियाले हिजोको तुलनामा आज गर्न त धेरै गरेको छ तर पर्याप्त  छैन । अझै गर्न धेरै बाँकी छ । यस विषयमा तलका बुँदामार्फत थप स्पष्ट गर्न सकिन्छ । 
 मिडियामा समोशीकरणको मुद्दा
सामान्यतः मिडियाले दैनिक सयौं विषयलाई समेट्छ । तथापि, मिडियाले केही विषयवस्तुलाई आफ्नो एजेण्डाका रुपमा अघि सार्छ । सार्वजनिक धारणालाई एउटा आकार दिन यसले भूमिका निर्वाह गर्छ । त्यसअर्थमा ‘आवाजविहीनलाई आवाज’ दिनु यसको भूमिका हुन जान्छ । यसै सन्दर्भमा आजको मिडियाले विषय वस्तुको उपयुक्त चयन गरेर सामूहिकताका आधारमा एजेण्डालाई उठाउनु अपेक्षित ठानिन्छ । यसलाई एजेण्डा सेटिगंका रुपमा पनि बुझिन्छ । मिडियाको व्यापक विकासअनुसार नै सम्भावना पनि व्यापक भएको छ । मिडियाको यस्तै एउटा एजेण्डा हो–समाज रुपान्तरणसम्बन्धी विषय । अहिले विश्वव्यापी रुपमा समावेशीकरणको मुद्दाले प्रश्रय पाइरहेको छ । मिडियामा पनि यसले यथेष्ट महत्व पाउन थालेको छ । पछिल्लो एक दशकको नेपाली पत्रकारिताका विषय–वस्तुको विशलेषण गर्ने हो भने कुनै न कुनै रुपमा समावेशीकरण शव्दले निकै ठाउँ पाएको देख्न सकिन्छ तर त्यो शब्दले समावेशीपनको वास्तविक भावनालाई आत्मसात गर्न सकेको छ वा छैन भन्ने कुरा अध्ययनको अर्को विषय हुन सक्छ ।  हामीले यस सन्दर्भमा मिडियामा, समाजका सबै वर्गको खासगरी वहिष्करणमा परेका वर्गको, समावेशीको प्रसंगलाई बुझ्नुपर्ने हुन्छ । मिडियामा समावेशीकरणको चर्चा गर्दा यसलाई दुई स्तरमा बुझ्नुपर्ने हुन्छ । पहिलो, मिडियामा वहिष्करणमा परेकाको संख्यात्मक र परिणात्मक सहभागिता र दोस्रो, सम्बन्धित विषय–वस्तुको उपस्थिति ।  परम्परागत र आधुनिक सबै मिडियामा वहिष्करणमा परेकाको सहभागिता कस्तो छ ? त्यस्ता वर्गको व्यक्तिको सहभागिता मिडिया संस्थाभित्र मात्रै हो कि विषयको प्रवेश पनि हो ? मिडियामा तिनको के कसरी सहभागिता बढाउन र सबाललाई घनीभूत तुल्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनु आवश्यक छ ।
वास्तवमा परम्परागत मिडियाको पर्खाल भत्किइसकेको छ । अर्थात् मिडियाको व्यापक लोकतान्त्रीकरण भएको छ । हरेक व्यक्ति अहिले मिडियाका साधनबाट सुसज्जित छन । कुनै मिडियाले तपाईंको समाचार वा विचार छापेन भनेर चिन्ता गर्ने बेला छैन । अनलाइन र ब्लग बनाउन सकिन्छ । यसमार्फत आफ्ना भावना र सूचना प्रस्तुत गर्न सकिन्छ ।  ती सामग्रीको विश्वसनियता कायम राख्ने काम सम्वद्ध सूचना सम्प्रेषणकर्ताको हो ।  हामीकहाँ सामाजिक असमानताका असंख्य मुद्दा छन् । तिनलाई हेर्ने संवेदनशील दृष्टिकोण भए धेरै समस्या हामीले मिडियाकै माध्यमले समाधान गर्न सक्छौं । आज ‘बोक्सी’को आरोपका मुद्दाले पाइरहेको स्थान र त्यसलाई गम्भीर अपराधका रुपमा हेर्ने प्रवृत्तिको विकास भएको छ । आखिर मरनीदेवीलाई एउटा अभियन्ताका रुपमा मिडियाले प्रस्तुत गरेको हो । तर, समस्या कति गहिरो छ भने मुलुकको राजधानी काठमाडौंमा समेत ‘बोक्सी’ मान्ने रुढीग्रस्त स्थिति देखिएको छ । हामीले समाचार कक्षमा यस्ता यावत् मुद्दाहरूलाई सुन्छौं । तर, ती विषयवस्तुलाई संवेदनशीलरुपमा उठाउने र टुंगोमा पु¥याउने अझै कमी कमजोरी छ । भएकै जनशक्ति पनि अन्य विषयमै अलमलिइरहेको छ ।
मिडियामा सहभागिता
कुनै पनि मिडियाले के कति आधारमा के कस्ता समाचार सम्प्रेषण गर्छन भन्ने विषयको बुझाइ अत्यन्त महत्वपूर्ण छ । निश्चय पनि यससन्दर्भमा निकटताको सिद्धान्तले ठूलो भूमिका निर्वाह गर्दछ । यसै आधारमा कुन समाचार कक्ष कति वस्तुगत र सन्तुलित छ भन्ने कुराको पनि निकर््यौल हुन्छ । यसैले मिडियामा संख्यात्मक समावेशीको अवधारणाले महत्व राख्दछ । यस आधारमा हेर्ने हो भने नेपालका अधिकांश मिडियाका समाचार कक्ष समावेशी र सन्तुलित छैनन भन्न सकिने पर्याप्त आधार छन । नेपाली मिडियाको समावेशीपन अत्यन्त विपन्न अवस्थामा रहेको छ भन्दा असान्दर्भिक हुँदैन । मिडियामा दक्ष जनशक्तिको आवश्यकता छ । त्यो ठाउँमा पुग्न आफूलाई तयार पार्नु अहिलेको मुख्य चुनौती हो । यो कुरा सत्य हो तर यति हुँदाहुँदै पनि केही विषयमा हाम्रो ध्यानाकर्षण हुनु आवश्यक छ  । समाचार कक्षमा समाजका सबै पक्षको मर्म नबुझ्ने जनशक्तिको उपस्थितिमा सबैका विषय वस्तुले समान रुपमा अपेक्षित स्थान पाइरहेका छैनन । सामान्यतया कुटिनु, पिटिनु र छुवाछुतको शिकारजस्ता विषय मात्र मिडियाको विषय वस्तु बन्न सक्दैन । तर यिनै विषय–वस्तुले जब हिंसा निम्त्याउँछन र समाजका उपल्लो भनाउँदो समुदाय कुनै न कुनै रुपमा प्रभावित हुन्छन तब त्यस्तो विषयले मिडियामा कभरेज पाउँछ । यसो हुनुको मूल कारण के हो भने समाचार सम्प्रेषण गर्ने र चयन गर्ने स्थानमा सम्बन्धित वर्गका व्यक्तिको उपयुक्त सहभागिता हुँदैन । कुनै पनि निजी संस्थाले मिडियाकर्मी छनौट गर्दा सकेसम्म योग्य व्यक्तिलाई स्थान दिन चाहन्छन् । यसो नगर्दा संस्थालाई आर्थिकरुपमा भारमात्र हुने होइन काम गर्न पनि गाह्रो हुन्छ । तर यसो भनिरहँदा के विर्सन मिल्दैन भने यो चिन्तनका आधारमा समाज एकांगी बनिरहेको हुन्छ । समाजका एक वर्ग उपेक्षित भइरहेका हुन्छन । यो नीतिका नाममा जहिल्यै समावेशीकरणको मुद्दा ओझेल पर्ने सम्भावना रहन्छ । यस स्थितिमा समाचार कक्ष सदैव आग्रही भइरहने सम्भावनालाई नकार्न सकिँदैन । निश्चय नै सकारात्मक विभेदको नीति अख्तियार गर्दा केही विषयमा छुट दिन सकिन्छ । तर, मिडियाकर्मीकै रुपमा काम गर्ने भएपछि त्यसका निम्ति आवश्यक आधारभूत विषयमा जानकारी हुनु आवश्यक हुन्छ, याो अर्को सत्य हो । हामीले यस विषयमा पनि गम्भीर भएर दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्याउनु जरुरी छ । हालसम्मको विश्लेषणका आधारमा नेपाली मिडिया आग्रही छ । जनताको करबाट संचालित सरकारी लगानीको मिडियाले आफूलाई वास्तविक रुपमा राष्ट्रिय बनाउन सकेको छैन । यस्ता मिडिया उपत्यकाकै वरिपरि मात्र रुमल्लिएको अवस्था छ । यो मिडियाले पनि आफूलाई कथित ठालुको चंगुलबाट निकाल्न सकेको छैन । अर्कोतिर निजी लगानकिो ठूला मिडिया पूर्णतः व्यवशायकेन्द्रित छन । यस्ता मिडियालाई नाफा चाहिएको छ । यस्ता मिडियालाई विकाउ सामग्री चाहिन्छ । सामाजिक उत्तरदायित्वको कुरा कतिपय सन्दर्भमा नारामा मात्र सीमित हुन्छन । यसैले प्रायः ग्ल्यामरले मनग्गै स्थान प्राप्त गर्दछन । बहुलवादी स्थिति नेपाली समाजको यथार्थ हो । यसलाई स्वीकार गर्न सकिएमात्र नेपाली मिडिया सबैको बन्न सक्दछ । नेपालको हालसम्मको मिडियाको नीति भनेको केन्द्रीकृत नीतिलाई प्रश्रय दिने नीति हो । अधिकांश मिडिया राजधानी केन्द्रीत छन र हामी यिनै मिडियासँग आफ्ना आकांक्षा पूर्तिको अपेक्षा गर्दछौं जुन उपयुक्त होइन ।
समान सहभागिता कसरी
प्रत्येक समुदायलाई समाजको मूलधारमा नल्याई समतामूलक समाज स्थापना गर्न सकिँदैन । यस मुद्दालाई राष्ट्रिय आवश्यकताकै रुपमा स्वीकार गर्दै अघि बढाउन सक्नुपर्छ । निश्चय नै हाम्रा मिडियाले धेरै विषयलाई महत्व दिएका छन् । तर पर्याप्त छैनन । समाचार कक्षले आम समाजसँग समान रुपमा निकटताका आधारमा सम्बन्धको विकास गर्न सकेको छैन । समग्र समाजको उत्थान नभई मुलुकको उत्थान हुँदैन भन्ने बुझेरै मिडियाले व्यवहार गर्नासाथ स्थिति फरक हुनेछ ।  अबको संघीय नेपालमा समाजका सबै पक्षका मुद्दालाई राम्ररी संवोधन गर्न सकिएन भने अपेक्षित सामाजिक परिवर्तन हासिल गर्न सकिँदैन । वहिष्करणमा परेका वर्गको मिडियामा व्यापक सहभागिता आवश्यक छ । यो सामाजिक समस्या समाधान नगरी अन्य समस्याको हल सम्भव छैन । मिडियामा समान सहभागिता र सबालका निम्ति तथा वास्तविक अर्थमा मिडियामार्फत समाजिक रुपान्तरणको मुद्दा अघि सार्न निम्न कार्य गर्नु आवश्यक छ ः
क) मुद्दाको विशिष्ट कभरेज
ख) मिडियामा व्यापक सहभागिता
ग) तालिम र शिक्षा
घ) मिडिया अध्ययनका निम्ति छात्रवृत्ति
ङ) मिडियामा प्रवेश वा अवसरको सुनिश्चितता
च) सन्तुलित समाचार कक्ष
छ) समतामूलक आन्दोलनमै समर्पित पृथक संचारमाध्यमको उपस्थिति
ज) समावेशी नीतिको निर्माण तथा कार्यान्वयन
झ) उदार सरकारी मिडिया
ञ) वहुलवादी अवधारणाको कार्यान्वयन
ट) सरकारी एर्व निजी क्षेत्रका मिडियाको संरचनागत सुधार
ठ) राजनीतिक दलहरुको स्पष्ट धारणा र नीति

सन्दर्भ सामग्री
१) लुइँटेल गुणराज ः मिडियामा दलित सहभागिता र सबाल, कार्यपत्र
२) झा  धर्मेन्द्र ः नेपाली पत्रकारका चुनौती र प्रेस युनियनको भूमिका, कार्यपत्र
३. झा धर्मेन्द्र, पत्रकारिता, पुस २०६३, नेपाल पत्रकार महासंघ
४. दाहाल तारानाथ, नेपाली मिडिया जगतमा श्रमिकका सरोकार, कार्यपत्र
५ चन्द्रकिशोर, पत्रपत्रिकामा प्रकाशित विविध रचना र कार्यपत्र
६. जागरण मिडिया सेन्टरका विविध प्रकाशन प्रतिवेदन
७. पहाडी विनोद ः विविध कार्यपत्र

No comments:

Post a Comment