Wednesday, October 12, 2016

Dashain/GOPA

 

दशैं ः देश जोड्ने अपेक्षा

धर्मेन्द्र झा

वर्तमान सत्ता गठवन्धन अस्तित्वमा आएको दुई महिना बितिसकेको छ । सरकार गठन हुँदा मधेशी दलसँग गरिएको सम्झौताको कार्यान्वयन् सरकारका लागि अहिले पहिलो प्राथमिकताको विषय हो । यही सम्झौताअनुसार सरकार अहिले दुई कार्यमा खटिएको छ तर यथोचितरुपमा सफल हुन सकेको संकेत मिलेको छैन । ती दुई कार्यमध्ये पहिलो हो, मधेश आन्दोलनका सन्दर्भमा आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता र दोस्रो, संविधानमा आवश्यक संशोधन । संविधान संशोधनका सन्दर्भमा मधेशी दलले सरकारलाई लामो सुची बुझाएको कुरा प्रकाशमा आएको छ । अरु कुरा त सामान्य विचार—विमर्शपछि समाधान होला नै तर सबभन्दा ठूलो समस्या प्रदेश सीमांकन हेरफेरको हो । यो विषय अहिले जटील बनेको छ । खासमा मुद्दा फिर्ता र सीमांकन हेरफेरको विषय संविधान संशोधनसँग प्रत्यक्ष जोडिएको छ । यस विषयमा सम्बोधनका लागि सम्बद्ध सबैको सहमति आवश्यक छ तर सहमतिको वातावरण तयार हुन नसक्नु दुखद छ । सरकार अहिले यस विषयमा उचित वातावरण निर्माणका लागि आन्तरिकरुपमा क्रियाशील रहेको बुझिए पनि उल्लेख्य परिणाम सार्वजनिक हुन सकेको छैन । यसका अतिरिक्त सरकारसामु तेर्सिएको अर्को जटील कार्यभार हो, निर्वाचनको उपयुक्त वातावरणको निर्माण । यस दिशामा पनि अहिलेसम्म केही विशेष अनुभूति हुन सकेको छैन । निर्वाचन आयोगसँग सम्बन्धित विधेयक संसद्मा प्रस्तुत् हुनु र स्थानीय निकाय पुनर्संरचना आयोगलाई नयाँ निर्देशन दिइनु भने सकारात्मक हो । यस्तै सरकारको अर्को चुनौती हो, परराष्ट्र, विशेष गरी छिमेक, सम्बन्धमा सन्तुलन निर्माण ।

देशका सामु उपस्थित यी यस्ता ज्वलन्त समस्या हुन् जसको शीघ्र समाधान आवश्यक छ । यी यस्ता समस्या हुन् जसले देशवासीमा मनोवैज्ञानिकरुपमा विभाजनको रेखा कोरेको छ । अहिले स्वीकार्नैपर्छ, आमजनता मानसिकरुपमा विभाजित छन् र यसका लागि माथि उल्लेखित अवस्थाले कारक तत्वको भूमिका निर्वाह गरिरहेका छन् ।  
सरकार गठनलगत्तै दुईजना उपप्रधानमन्त्रीले प्रधानमन्त्रीको विशेष दूतका रुपमा दक्षीण र उत्तरको भ्रमण गरे । शायद माथि उल्लेखित मधेशलगायतका विविध समस्या समाधानका लागि आवश्यक साँचो खोज्नु त्यस्तो भ्रमणको उद्देश्य थियो । धेरैलाई लाग्न सक्छ मधेश समस्याको समाधानको सन्दर्भमा उत्तरको के चासो छ ? तर उत्तरलाई विश्वासमा नलिएसम्म मधेश समस्या समाधानको प्रयासले सार्थकता प्राप्त गर्न नसक्ने एकथरि विज्ञको धारणा छ, जो निकै विचारणीय छ । छिमेकीलाई  विश्वासमा लिने रणनीतिअनुरुप नै प्रधानमन्त्रीका दूतले उत्तर र दक्षीणको भ्रमण गरेका हुन् भन्नेमा शंका छैन । धेरै विश्लेषकको मत छ, मधेशमा दक्षीणको सरोकार बढी छ त्यसैले मधेशका दलहरुसँग दक्षीण राम्रो सम्बन्ध कायम गरेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छ । गहिरिएर विश्लेषण गरेका खण्डमा भन्न सकिन्छ, यो आंशिक सत्यमात्र हो । सीमा जोडिएको भूभागमा सुरक्षा सरोकारलाई अस्वााविक मान्न सकिँदैन । यो यथार्थ उत्तर र दक्षीण दुवैतिर लागू हुन्छ । यो अलग कुरा हो कि नेपालले आफ्नो भूमीमा कुन खेलाडीलाई कति र कसरी खेल्न दिन्छ ? यसको विश्लेषण आवश्यक छ । अर्काथरि विश्लेषकका अनुसार मधेशमा उत्तरको चासो पनि कम छैन । उत्तर र दक्षीणको विश्व परिवेशको प्रतिस्पर्धी राजनीतिको उपस्थितिमा मधेशमा उत्तरको चासो छैन वा गौण छ भनेर मानियो भने नेपाली राजनीतिका लागि प्रत्युत्पादक ठहरिन सक्छ । यही प्रतिस्पर्धी राजनीतिका कारण उत्तर दक्षीणी सीमासम्म र दक्षीण उत्तरी सीमासम्म आफ्नो उपस्थिति चाहन्छ । निश्चय पनि यस अवस्थामा नेपालको भूराजनीति प्रभावित हुन पुगेको छ । यस्तोमा छिमेकीबीच सन्तुलनको सम्बन्ध निर्माण अपरिहार्य छ । शायद छिमेकीलाई विश्वासमा लिन सकिए नेपालको तत्कालका समस्या सम्बोधन हुन असहज हुने छैन ।
नेपालका आमजनता शान्तिकामी हुन् । शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको भूमीका जनता अशान्तिका विरोधी हुन् । तर दुर्भाग्य, यस भूमीको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको छ । यसैको परिणाम हो वर्तमानको अराजक अवस्था । माथि उल्लेखित सबैखाले समस्याको कारण राजनीतिकर्मीको कमजोरी हो भनेर भनियो भने त्यो अस्वाभाविक हुने छैन । नेपाली राजनीतिकर्मीको अदूरदर्शिता र क्षणिक स्वार्थका कारण नेपाल र नेपाली प्रताडित बन्न पुगेकोमा शंका छैन । नेपालको पछिल्लो समयको अवस्था मूल्यांकन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ भन्न सकिन्छ । राजनीतिक दलबीच दूरी बढेको छ । जनस्तरको सम्बन्धको धाँजा फाटेको छ । जनता एकअर्कासँग टाढिएका छन् । यसो नहुँदो हो त माथि उल्लेखित समस्याग्रस्त अवस्थाहरुको सिर्जना हुँदैनथ्यो । फलतः राष्ट्रिय एकता कमजोर बन्न पुगेको छ र ‘खेल्न’ खोज्नेहरु आफ्नालागि अनुकूल भूमीको निर्माण गर्न तल्लीन छन् भनेर मूल्यांकन गरियो भने त्यो अनर्गल हुने छैन । यस प्रतिकूल अवस्थामा आफ्ना समस्याको समाधान नेपाल र नेपाली स्वयंले गर्न सक्नुपर्दछ । यसको विकल्प छैन ।  शान्तिका पक्षमा हामी स्वयंबाटै अग्रसरता लिइनुपर्छ । पछिल्लो समयमा यहाँका वासिन्दालाई आमनेपालीभन्दा हिमाली, पहाडी र मधेशीका रुपमा बढी चिन्न थालिएको छ र दूर्भाग्य आमनेपालीलाई यही उपाधीहरु प्रियकर बन्न थालेका छन् । परिचय र पहिचानका सीमा खुम्चिँदै छन् । नेपालको राजनीति अहिले यही धारबाट निर्देशित छ ।  सत्तासमीकरणको निर्माण र राष्ट्रिय राजनीतिको सञ्चालनको आधार यस्तै विचार र दृष्टिकोणहरु बन्न पुगेका छन् । मुलुकका सामु देखिएको अहिलेको जटील समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ विन्दू संविधान संशोधन हुन सक्छ । तर यसका लागि दलबीच समन्वय हुन नसक्नु दुखद छ । प्रश्न उठ्छ, आखिर दलहरु किन एक ठाउँमा आउन सकिरहेका छैनन ? देशको समस्या समाधान गर्न किन सबै एकमत छैनन ? किन सबै आफ्नै मूल्यमा मात्रै समस्याको सम्बोधन चाहन्छन् ? सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन । यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीतिक शक्तिहरु असाध्य समाधान खोज्ने नौटंकीमा किन व्यस्त छन् ? यी सबै प्रश्नका उत्तर देशवासीले चाहेका छन् । यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकुन ।
यो समय नवरथाको हो । नेपालीको महान पर्व दशैं जारी छ । विजया दशमीअन्तर्गतका पाँचवटा पूजा सम्पन्न भइसकेका छन् । आज षष्ठी हो । देवीको पूजा क्रमशः विस्तारित बन्दै मूल दशैंतफ प्रवेश गर्दैछ । दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजयपर्वका रुपमा स्वीकारिन्छ । तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन । व्यवहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्व परिवार जोड्नेसँग पनि छ । दशैंको अवसरमा प्रत्येक नेपाली आफ्नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुने प्रयत्न गर्छन् । टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग—द्वेष विर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै नयाँ भविष्यको निर्माणमा सक्रिय हुन्छन् । परिवारका सदस्यको कल्याण र उन्नती सबैको अभीष्ट हन्छ । वास्तवमा यो पर्वले पारिवारिक सम्वादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन् । दशैं पर्वले हामीलाई वर्षौदेखि पारम्परिकरुपमा यही पाठ पढाउँदै आएको छ । निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता वृहद् परिवारका सदस्य । तर दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ? के दशैंले आफ्नो पारम्परिक महत्व गुमाउँदैछ ? यसपटकको दशैंले परिवार जोड्ने आफ्नो पारम्परिक महत्व कायम गर्न सकोस । दलबीचको बढदो दुरी कम हुन सकोस । जनस्तरको खाडल पुर्न सकोस । आपसमा सम्वादको वातावरण निर्माण गर्न सकोस । दशैंका अवसरमा आमनेपाली एकअर्कामा समाहित हुन सकुन । यति हुन सके माथि उल्ल्ेख गरिएका स्वरुपको जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ । यसपटकको दशैंले राष्ट्रिय एकता प्रवद्र्धन गरी देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस । सबैलाई शुभकामना ।
गोरखापत्र ः २१ असोज २०७३    
 

No comments:

Post a Comment