Thursday, May 9, 2013

Foreign Employment and Nepali Media


वैदेशिक रोजगारी, चुनौती र मिडियाको भूमिका

धर्मेन्द्र झा
विषय प्रवेश
भारतीय बजारमा काम गर्न जाने परम्परालाई छाड्ने हो भने गोर्खा सैनिकमा भर्ना हुनु नै वैदेशीक रोजगारीको प्रारम्भ विन्दु मान्न सकिन्छ । इतिहास लामै भइसक्यो । २०४८ सालपछि विधिवत रुपमा कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्छ भन्ने सोच विकास भयो । कानुन बन्यो । सरकारले वैदेशिक रोजगारीलाई वैदेशिक मुद्रा आर्जनको स्रोतका रुपमा स्वीकार ग¥यो र कामदार विदेश पठाउन निजीक्षेत्रलाई प्रोत्साहित पनि गर्न थाल्यो ।
परिणामस्वरुप अहिले दैनिक एक हजार चार सयको हाराहारीमा  नेपाली कामदार वैदेशिक रोजगारीमा गइरहेका छन् । यसबाहेक विद्यार्थी र पर्यटक भिसामा जानेहरुको संख्या पनि निकै छ । आन्तरिक श्रम बजारमा वार्षिक चार लाखभन्दा बढी रोजगारीको खोजीमा पस्ने अनुमान छ । अवसर सिर्जना नहँुदा अधिकांस कामदार विदेशिने गरेका छन् । यसरी विदेशिनेहरु अधिकांस अदक्ष कामदार हुन । अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने भएकै कारण आम्दानी पनि निकै थोरै हुने गरेको छ । सरकारले पनि वैदेशिक रोजगारीलाई निकै उच्च प्राथमिकतमा राखेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड नै स्थापना गरेर सरकारले यसलाई महत्व दिएको देखाएको छ । तर, तालिम दिने, कामदारलाई दक्ष बनाउने, गरिवलाई वैदेशिक रोजगारीमा जान लाग्ने खर्चको व्यवस्थापनका लागि कर्जाको व्यवस्था गरिदिने काम चाही गरेको छैन ।
अनौपचारिक तथ्यांकअनुसार करीब ५० लाखभन्दा बढीको संख्यामा नेपाली वैदेिशक रोजगारीका सिलसिलामा विश्वका विभिन्न मुलुकमा पुगेका छन् । यो संख्यमा भारतमा रहेका नेपाली कामदारको संख्या समावेश छैन । पछिल्लो नौ महिनाको तथ्यांकअनुसार यस अवधिमा तीन लाख १७ हजारभन्दा बढी नेपाली कामदार विेदेश गएका छन । यो क्रम जारी छ ।
आर्थिक र सामाजिक पाटो 
नेपालको अर्थतन्त्रमा विदेशमा रहेका नेपाली श्रमिकले पठाएको रकम अर्थात रेमिटयान्सको मुख्य भूमिका छ । मुलुकको अविकास, गरीबी, राजनीतिक अस्थिरता, बाह« वर्षसम्मको माओवादी हिंशात्मक विद्रोह, नयाँ सम्भावनाको खोजी र अन्य धेरै कारणले नेपालीहरु विदेशमा रोजगारीका सिलसिलामा गएका हुन । हाम्रा आन्तरिक कारण अनेक हुन सक्छन, तर विश्वव्यापीकरणको यो युगमा वैदेशिक रोजगारी वाहय प्रभाव पनि हो । र यो एउटा आर्थिक उन्नतिको सकारात्मक आयाम पनि बनिसकेको छ । त्यसैले सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीका लागि बातावरण बनाउनु आजको टडकारो आवश्यकता हो । यसका लागि मिडियाको भूमिका प्रभावकारी हुनसक्छ ।
मुलुकको समग्र अर्थ व्यवस्थादेखि एउटा सामान्य परिवारमा समेत अहिले रेमिटेन्सको प्रभाव प्रत्यक्ष रुपमा देखिन्छ । मुलुकका हरेक आर्थिक पक्षमा रेमिटेन्सको योगदान प्रस्ट देखिदैछ । त्यस्तै रेमिटेन्स प्राप्त गर्ने घरपरिवारमा बालवालिकाको शिक्षा, स्वास्थ्य उपचार, खानपिनको शैलीमा आएको परिवर्तन, ग्रामीण भेगबाट विस्तारै शहरतिर हुने बसाई सराईले परिवारमा परेको प्रभावलाई देखाउँछ । रेमिटेन्स प्राप्त गर्ने घरपरिवारका बालवालिका निजी विद्यालयमा भर्ना हुने, उनिहरुको लवाई खवाईमा केही भिन्न हुने देखिएको छ ।
हाल नेपाल सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमध्ये प्रमुख छैटौ मुलुकमा पर्छ । विश्व बैंकको अध्ययनअनुसार सन् २०१२मा नेपालमा ४ खर्ब ३० अर्ब रुपैया बराबरको रेमिटेन्स भित्रियो । यो रकम मुलुकको कुल ग्रार्हस्थ उत्पादनको २२ प्रतिसत बराबर हो । यो तथ्यांकले मुलुकको अर्थतन्त्रमा रेमिटेन्सको प्रभाव प्रस्ट रुपमा देखिन्छ ।
रेमिटेन्स बढ्दा बैंक तथा वित्तीय सस्थामा निक्षेप पनि निकै बढ्ने र रेमिटेन्सको बृद्धिदर सुस्त हुदा बैंकिङ क्षेत्र पनि खुम्चिदै जाने गरेको पाईन्छ । गत आर्थिक वर्षमा करिब ४० प्रतिसतले रेमिटेन्स बढ्रयो भने यस वर्ष यस्तो बृद्धिदर २० प्रतिसत भन्दा कम हुने संकेत देखिएको छ । यसको असर बैकिङ क्षेत्रमा पनि देखिएको छ ।
मुलुकको व्यापार घाटा चार खर्ब नाघ्न लागेको छ । यो व्यापार घाटा थेग्ने प्रमुख स्रोत रेमिटेन्स हो । रेमिटेन्सका कारण बदलिएको उपभोग शैलीका कारण पनि आयात बेपत्ता बढेको हो ।
उपभोग शैलीमा आएको परिवर्तनले सामाजमा केही नकारात्मक प्रभाव पनि देखिएका छन् । रेमिटेन्स निकै धेरै आउने घरपरिवारका बालवालिकामा केही भड्किलोपन देखिन्छ । कुलतमा लाग्ने र सामाजिक मान्यताविपरितका काम गर्ने जस्ता समस्या पनि बढेका छन् ।
रेमिटेन्सको सदुपयोग
विदेशमा पसीना बगाएर कमाएको पैसाको स्वदेशमा अपेक्षित सदुपयोग हुन सकिरहेको छैन । त्यो पैसा घर–जगा खरीद, मोजमस्ती, भौतिक सम्पन्नताका बस्तुको खरीद र बैंक डिपोजिटमै सीमित रहेको पाइन्छ । वैदेशिक रोजगारीमार्फत स्वदेश भित्रिएको रकमको सही सदुपयोग गर्ने हो भने त्यो पैसा उत्पादनमुलक काममा लगाउनैपर्छ । उद्योग, कलकारखाना, कृषि फार्म, अर्गानिक खेती, पशुपालन, माछा पालनलगायत धेरै उत्पादनमुलक काममा लगाउन सकिन्छ् । यसले मुलुकको अर्थतन्त्रमा पनि साकारात्मक योगदान मात्र दिदैन, विदेशमा बस्ने नेपालीका स्वदेशमा रहेको परिवारको आर्थिक अवस्थामा पनि सुधार आउँछ । यसतर्फ सरकारले विशेष नीति र कार्यक्रम ल्याउनुपर्छ । विदेशबाट कमाएर पठाएको पैसालाई उत्पादनमुलक काममा लगानी गर्नतर्फ जागरण ल्याउन मिडियाको भूमिका प्रभावकारी हुन्छ ।
सुरक्षाको प्रश्न 
वैदेशिक रोजगारीमा जाने कामदारहरुको सुरक्षा अहिलेको मुख्य चिन्ता हो । दलालको फन्दामा पर्नु, तेस्रो मुलुकको बाटो हुँदै वैदेशिक रोजगारीमा जानु, आफु जान लागेको मुलुक र कामको प्रकृतिका बारेमा विस्तृत अध्ययन नगरी हचुवाका भरमा विदेश हान्निनु आदि प्रबृत्तिका कारण धेरै नेपाली कामदार विदेशमा दुःख पाईरहेका छन् । कोही मारिएका छन त कोही विदेशी जेलमा छन् । उनीहरु मानसिक, शारिरीक र अन्य धेरै शोषणमा परेका घटना दिनहुँ सुनिन्छन । खासगरी तेस्रो मुलुकको बाटो हुँदै खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने महिला चर्को शोषणमा पर्ने गरेका छन् । कतिपय त शरणार्थीका रुपमा नारकीय जीवन पनि बिताइरहेका छन् । कति रित्तो हात स्वदेश फिर्ता पठाइएका छन् ।
सुरक्षित बैदेिशक रोजगारीका लागि मिडियाले वैदेशिक रोजगारीमा जान चाहनेलाई सचेत बनाउन सक्छ । वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित कम्पनीको आधिकारिकता, त्यसबाट प्राप्त हुने पारिश्रमिक, कामको प्रकृति, स्थान र अन्य धेरै पक्षका बारेमा कामदारले स्वदेशमै विस्तृत जानकारी लिनुपर्छ र यसबारेमा विभिन्न संघसंस्थाको सहयोग आवश्यक पर्न सक्छ । यसका लागि मिडियाले उनीहरुलाई ‘गाइड’ गर्नुपर्छ । मिडियाले वैदेशिक रोजगारीका समस्यालाई जोडदार रुपमा उठाउँदै त्यसको समाधानका लागि सरकारमाथि दबाब सिर्जना गर्न सक्छ । सुरक्षाको प्रश्न मिडियाले मुख्य प्राथमिकतामा राख्नुपर्छ । यस क्षेत्रमा सरकार र विभिन्न गैर सरकारी पक्षको भूमिकाको पनि गुण दोष केलाएर मिडियाले शसक्त आवाज उठाउन सक्छ ।
विद्यमान ऐनको कार्यान्वयन र थप नयाँ ऐनको आवश्यकता
वैदेशिक रोजगारीमा जाने कामदारको पारिश्रमिक, सुविधा र सुरक्षाबारे जब कुरा गरिन्छ ऐन कानुनको आवश्यकता र त्यसको कार्यान्वयनको कुरा महत्वपूर्ण ढंगले उठ्दछ । एकातिर भएकै ऐन कानुनको कार्यान्वयनमा समस्या देखिएको छ । अर्कोतिर नयाँ आवश्यकतालाई सम्बबोधन गर्न सक्ने गरी नयाँ कानुनको तर्जुमा पनि उत्तिकै आवश्यक छ । हाम्रा ऐन कानुनहरु पूराना भएकाले कतिपय सन्दर्भमा तिनले नयाँ सन्दर्भलाई सम्बोधन गर्न नसकेको आभास पनि भएको छ । सरकारले प्रभावकारी ऐन बनाइ त्यसको कडाइका साथ लागू गर्नुपर्ने खाँचो छ । विदेशमा रहेका श्रमिकहरुको पक्षमा सरकारले राज्यस्तरबाटै सम्बन्धित मुुलुकहरुसँग जुन ढंगले ‘डिल’ गर्नुपथ्र्यो, त्यो हुन सकिरहेको छैन । यस विषयमा मिडियाले कामदारको पक्षमा प्रभावकारी ऐन निर्माणका लागि दबाब सिर्जना गर्नुपर्छ । यसै सन्दर्भमा प्रभावकारी वैदेशिक कूटनीतिबारे सोचिनु पनि आवश्यक छ । विदेशी मुलुकहरुसँगको सौहार्दपूर्ण सम्बन्ध र ती मुलुकको कानुनसँग पनि नेपालले तालमेल मिलाउनु वाञ्छनीय हुन आउँछ । कतिपय अवस्थामा नेपाली कामदारहरुले आफू कार्यरत मुलुकको कानुनका कारण पनि समस्या भोगिरहेको  पाइएको छ । मिडियाले यी सबैका बारेमा खोजपूर्ण सामग्री सार्वजनिक गरेर चेतना प्रसारका दिशामा भूमिका निर्वाह गर्न सक्छ । यसैगरी वैदेशिक रोजगारीमा जानेले विद्यमान ऐन कानुनका बारेमा पूर्ण जानकार हुनु जरुरी छ । यस दिशामा पनि मिडियाले मार्गदर्शकको भूमिका निर्वाह गर्न सक्छ ।  यस्तो जानकारीको अभावमा सम्वद्ध व्यक्तिले विमा, क्षतिपूर्ति, पारिश्रमिक, सेवा–सुविधा आदीका बारेमा समस्या बेहोर्नु पर्ने हुन सक्छ ।
भाषा र संस्कृति 
   वैदेशिक रोजगारीमा जानेका लागि भाषा र संस्कृति अर्को समस्या बन्ने गरेको पाइएको छ । रोजगारीका सन्दर्भमा जुन देशमा जाने हो त्यहाँको भाषा र संस्कृतिबारे सामान्य बुझाई विकसित गर्नु आवश्यक छ । यसो हुन नसकेको कारण पनि कतिपयले समस्या बेहोर्नुपरेका सन्दर्भहरु समाचारका रुपमा सार्वजनिक भइरहेको हामी सबैलाई थाहा नै छ । भाषा र संस्कृतिप्रति कुनै पनि व्यक्ति अत्यन्त सम्वेदनशील हुन्छ । यसको बुझाइबारे समस्या उत्पन्न भएको खण्डमा अनपेक्षित संकटको शिकार हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । विशेषतः कानुनी प्रक्रिया पूरा गर्नुपर्ने सन्दर्भमा भाषाको अत्यन्त बढी महत्व हुन्छ । विदेशी अदालत र कानुन कार्यान्वयनकर्तासमक्ष प्रस्तुत हुँदा भाष नजान्दा अप्रीय अवस्थाको सिर्जना हुने गरेको कयौं उदाहरण छन । मिडियाले यस्ता सन्दर्भहरुलाई उदाहरणसहित प्रस्तुत गर्न सके यससँग सम्बन्धित थुप्रै समस्या न्यून हुन सक्छन ।    
तालीम र दक्षता
वैदेशिक रोजगारीबाट कमाइएको ठुलो हिस्सा रेमिटेन्सका रुपमा स्वदेश आइरहेको अवस्थामा राज्यको दायित्व हुन्छ, आफना नागरिकको श्रमको पुर्ण प्रतिफल प्राप्त गराउन उनीहरुलाई दक्ष बनाउनु । अहिले पुर्व तयारी, विषयगत तालीम र दक्षताबिना नै विदेश हान्निने प्रवृत्ति छ । विदेशिने नेपालीलाई विभिन्न शीपमुलक र प्राविधिक तालीम दिई दक्ष बनाएर पठाएमा उनीहरुको श्रमको प्रतिफल बढन सक्छ । यसतर्फ सरकारको प्रभावकारी पहल भइरहेको पाइँदैन । मिडियाले यो विषयमा जोड दिनुपर्छ । किनकि, तालिमको अभावमा विदेशमा रहेका कामदारले ‘डेन्जर एन्ड डर्टी’ काम गर्नु परिरहेको पाईन्छ । यहाँबाट ठुलो सपना देखेर जानेहरु सम्बन्धित विषयमा दक्ष नहुँदा मालिकको आक्रोशको शिकार हुनु परेका घटना पनि छन् । यसबारेमा मिडियाले सरकारलाई घचघच्याइरहनुपर्छ ।
यसका लागि संचारकर्मीहरुलाई पनि बैदेशिक रोजगारी पत्रकारीता तालिम दिनु आवश्यक छ । मुलुकका विभिन्न दुर्गम र अतिबिकट ठाउँबाट मानिसहरु वैदेिशक रोजगारीमा जाने भएकाले उनीहरुलाई स्थानीय स्तरमै सचेत बनाउन मोफसलमा रहेका संचारकर्मीको भूमिका रहन्छ । त्यसैले मुलुकका विभिन्न भागमा रहेका पत्रकारलाई पनि बैदेशिक रोजगारीसम्बन्धी तालीम आवश्यक छ ।
सिघ्र सूचना संयन्त्र
विदेशमा बस्ने नेपालीका बारेमा सम्बन्धित मुलुकमा रहेको नेपाली दुताबासले सूचनाको द्रुत संयन्त्र बनाउनु आवश्यक छ । सम्बन्धित मुलुकमा नेपाली कामदारमाथि कुनै घटना÷दुर्घटना र अन्य संकट उत्पन्न भएमा स्वदेशमा रहेका उनका आफन्तमा चिन्ता बढछ । वैदेशिक रोजगारीमा गएका आफन्तको अवस्थाबारे सत्य÷तथ्य थाहा पाउनु उनीहरुको मौलिक हक हो । तर सम्बन्धित मुलुकका नेपाली दुतावासमा सूचनाको प्रभावकारी संयन्त्र नै छैन । घटनाका बारेमा स्वयं राजदूत र अन्य अधिकारी नै अनभिज्ञ रहेको पाइन्छ । विदेशमा रहेका नेपालीको अवस्थाबारे सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगले सूचना संकलन गरिरहनुपर्छ, अपडेट भइरहनुपर्छ । अनी मात्र उनीहरुका समस्याबारे समयमै समाधानका उपाय अपनाउन सकिन्छ । अहिले पनि नेपाली मिडियामा विदेशमा रहेको नेपालीको अवस्थाबारे फरक फरक खालका सूचना आउनुको खास कारण यही हो । सम्बन्धित मुलुकको आधिकारिक निकायले नै सत्य तथ्य सिघ्र जनसमक्ष ल्याउन नसक्दा भ्रमपुर्ण सूचना फैलने गरेको छ । सूचना प्रविधिको यो युगमा सूचना सम्प्रेषणको माध्यम त सहज छ, तर सही र भरपर्दो सूचनाको श्रोत भनेका आधिकारिक निकाय नै हुन । उनीहरुबाट सही सूचना नआएसम्म फेसबुकलगायतका सामाजिक संजाल र अन्य माध्यमबाट आउने खबरले भ्रम सिर्जना गरेको पाईन्छ । त्यसैले विदेशस्थित नेपाली निकायहरुमै भरपर्दो सूचना संयन्त्र स्थापना गर्नु अपरिहार्य छ ।
स्वदेशमै संभावना
वैदेशिक रोजगारी आजको विश्वव्यापीकरणको एउटा अंग भए पनि कुनै पनि मुलुकका लागि आफना कर्मशील नागरिक विदेशमा गएर श्रम गर्नु शोभनीय विषय भने हैन ।  लाखौ नेपाली विदेशमा आफनो श्रम, शीप र योग्यता समर्पित गरिरहेका छन् । अनी दिनहँु बैदेशिक रोजगारीमा जानेको ताँती छ । त्यसैले स्वदेशमै स्वरोजगारका सम्भावनातर्फ अब युवालाई अभिप्िरेरत गर्न मिडियाले विशेष भूमिका निर्वाह गर्नुपर्छ । युवालाई स्वदेशमै माछापालन, बंगुर पालन, तरकारी खेती, दुग्ध उत्पादनलगायतका धेरै घरेलु उद्योगमा लगाउन सकिन्छ । विदेशमा जोखिमपूर्ण काम गर्नुको साटो स्वदेशमै घरको मानो खाएर श्रमलाई नगदीकरण गर्न सकिन्छ । यसतर्फ मिडियाले नयाँ जागरण ल्याउनुपर्छ ।
शान्ति र स्थिरता
यी सबैका लागि फेरी पनि अनिवार्य शर्त हो, राजनीतिक स्थिरता र शान्ति । स्थिरता र शान्तिका पक्षमा मिडियाका भुमिका अपेक्षित छ । स्थिरता र शान्ति भएमा समृध्दी सहज हुन्छ । स्वदेशमै अवसर सिर्जना भएमा वैदेशिक रोजगारीको लहर घटछ र यसका चुनौती पनि कम हुन्छन् । त्यसैले मिडियाले समग्र मुलुकलाइ दिर्घकालीन रुपमा शान्ति, स्थिरता र समृध्दितर्फ लैजाने खालको भूमिका निर्वाह गर्नुपर्छ ।
सञ्चारमाध्यम र वैदेशिक रोजगारी
सरकारले वैदेशिक रोजगारीलाई रोजगारको रामवाण समाधान रुपी विकल्पका रुपमा प्रस्तुत गरिरहेको छ । यो दीर्घकालिनि समाधान विल्कुल होइन । सञ्चारमाध्यमले यो पक्षमा घच्घच्याउन पुगेन । स्वस्थ्य आलोचना नगर्दा मुलुकभित्र रोजगारी सिजर्नाका लागि कुनै पहल नै नहुने र सबै पक्ष कामदार बाहिर पठाएर ढुक्कसँग बस्ने प्रबृत्ति हावी हुनथाल्यो । यसको निकै ठूलो मुल्य समाजले नै चुकाउनुपर्ने हुनसक्छ । अहिले नै धेरै स्थानमा खेतियोग्य जमिन बाँझै रहन थाल्यो, साना तिना थोरै मात्र ज्याला दिन सक्ने, मौसमी काम दिनेजस्ता उद्योग धन्दाले कामदार नै पाउन छाडेका छन । सञ्चारमाध्यमले वैदेशिक रोजगारीका नाममा हुने ठगीदेखि आन्तरिक बजारमै रोजगारीका अवसर सिर्जना गर्न दवाव दिनुपर्ने अवस्था छ ।
  वैदेशिक रोजगारलाई मर्यादित बनाउने पक्षमा पनि कम मात्रै पहल भयो । अहिलेसम्म पनि वैदेशिक रोजगारीका नाममा स्वदेशभित्रै ठगिने, लुटिने, अलपत्र पर्ने जस्ता घट्ना भइरहेका छन । तर, सञ्चारमाध्यमले यी विषयमा निकै थोरै चासो दिएको देखिन्छ । वैदेशिक रोजगार व्यवसायीलाई  पनि मर्यादित पेशाका लागि घच्घच्याउने काम प्रभावकारी हुन सकेन ।
रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने वातावरण बनाउनु आवश्यक छ । तर यसलाई राज्य पक्षले वेवास्ता गर्दै आएको छ । सरकारले बैदेशिक रोजगार ऋणपत्र बेच्ने प्रयास त ग¥यो । तर यसमा पनि पर्याप्त गृहकार्य भएन र असफल भयो । आवाज  बलियोसँग उठाउन नसक्दा रेमिटेन्सको सदुपयोगमा राज्य पक्षको ध्यान जान सकेन र ठूलो हिस्सा उपभोगमा सकिएको छ । यी सबै विषयमा मिडियाले मार्गदर्शकको भूमिका निर्वाह गरेर वैदेशिक रोजगारीलाई मर्यादित र प्रभावकारी बनाउन कोशशे ढुंगा थप्न सक्छ ।
मिडियालाई केही सुमmाव
० वैदेशिक रोजगारीमा जानेका लायि सहयोगी भूमिका निर्वाह गरिदिनुपर्छ ।
० मिडिया सहजकर्ताको भूमिकामा प्रस्तुत हुनुपर्छ ।
० मिडियाले समस्यामात्र देखाउने होइन समाधान पनि पहिल्याउन पनि भूमिका निर्वाह गर्नुपर्छ ।
० मिडियाले तथ्यमा आधारित खोजी समाचार समप्रेषण गर्नुपर्छ ।
० मिडियाबाट वेदेशिक रोजगारीमा जानेको आत्मसम्मानमा ठेस पुग्ने कार्य हुनु हुँदैन । पीडा थप्ने कार्यमा सहायक बन्नु हुँदेन ।
० वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्य खोजीमा पनि मिडिया सहयोगी हुन सक्नुपर्छ ।
० खवरदारीको सशक्त भूमिका निर्वाह हुनु अपेक्षित छ ।
० चेतना जागरण कार्यमा सक्रिय भइदिनुपर्छ ।
० कानुनी बाधा अडचनको अन्त्य गरी आवश्यक नयाँ कानुन निर्माणमा भूमिका ।
० कामदार, रोगारदाता, व्यवशायी र सरकारका बीच पूलको भूमिका निर्वाह ।
० रेमिटेन्सको सही सदुपयोगबारे सल्लाहकारको भूमिका ।
० वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र प्रभावकारी बनाउन भूमिका ।
० कमदारको शिक्षा, तालिम र शिप वृद्धिका पक्षमा भूमिका । ..............................................................................
प्रस्तोता झा अन्तर्राष्ट्रिय पत्रकार महासंघका वैकल्पिक सल्लाहकार र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन ।
 युएन वुमन र पिपुल्स फोरमद्वारा २०७० वैशाख १७ मा काठमाडौमा आयोजित सुरक्षित वेदेशिक रोजगारीबारे संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत





No comments:

Post a Comment