महासंकटको त्यो शनिवार
धर्मेन्द्र झा
नेपाली कांग्रेसको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेपालको विकास नीतिबारे एक गोष्ठिको आयोजना गरेको थियो । गोष्ठिमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा, कांग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेललगायत नेताहरुको सहभागिता थियो ।
नयाँ वर्ष २०७२ को १२ औं दिन शनिवार । ११ वजेर ५६ मिनेट, कार्यक्रम संचालक मधु आचार्य पौडेललाई आमन्त्रण गर्न ड्यासमा चढेका मात्र के थिए सभाकक्ष हल्लिन थाल्यो । धेरैको मुखबाट समवेत् श्वर सुनियो—भुईँचालो भूकम्प । सभाकक्षबाट हतारहतारमा बहिरिनेमध्ये म पहिलो पंक्तिमा थिएँ । बाहिर भुइँमा थचक्कै बसेँ । त्यो दिन कार्यक्रमको र्यापोर्टिंग (प्रतिवेदक)को जिम्मेबारी हामी (म, विनोद न्यौपाने, अनिरुद्र न्यौपाने, सुरज भट्टराई र नारायण अर्याल)ले लिएका थियौं । पुरै ५८ सेकेण्डको पहिलो धक्का थियो । यो धक्का रोकिएको मात्र के थियो दोस्रो धक्का पनि अनुभव गरियो । मैले प्रतिवेदक साथीहरुको खोजी गर्न थालँे । नारायणको खुट्टामा चोट लागेको रहेछ । त्यसपछि उठेर चारैतिर हेरेँ नेतालगायत कार्यक्रमका सबै सहभागी सुरक्षित रहेको पाएँ । त्यसैबेला मनजिकै आई उपसभापति पौडेलले कार्यक्रम स्थगनको जानकारी गराए ।
खवरहरु आउन थाले, धरहरा ढलेछ । भक्तपुर क्षेत्र तवाह । वसन्तपुर पनि ध्वस्त । साँखु खोकना ढलेको, लोकन्थली कौशलटार सडकमा धाँजा फाटेको र काठमाडौको न्वारन गृह—काष्ठमण्डप भुर्इँमा झरेको पनि थाहा भयो । काठमाडौ, ललितपुर, भक्तपुर, गोरखा, धादिगं, लमजुगं र सिन्धुपाल्चोक सर्वाधिक प्रभावित हुने सम्भावना रहेको जानकारी पनि त्यहीँ प्रशारित भयो । जतिजति समय वित्दै गयो विध्वंशका समाचारहरु थपिन थाले । शक्तिशाली भूकम्प गएको र यसले वितण्डा मच्चाएको अनुमान त प्रारम्भमै भइसकेको थियो तर यसको आगमन प्रलयकै रुपमा अझ महाप्रलयका रुपमा भएको भान भने अलि पछिमात्र हुन सक्यो । मन्त्रीहरु पनि त्यहीँ भएकाले त्यहाँ आउने जानकारी एक किसिमले आधिकारिक नै हुन्थे । खवर आयो, सात दशमलव नौ रिक्टेर स्केलको (चिनको सिसिटिभिले भने आठ दशमलव एक भनेको छ) भूइँचालो गएको रहेछ । कसैको मुखबाट पनि तत्काल वाक्य फुटेन । त्यहीँ अनुमान गरियो मृत्यु हुनेको संख्या पाँच हजार नाघ्न सक्छ । घाइते दश हजार बढी हुन सक्छन् । सबैले मोवाइलबाट आप्नो घरपरिवारबारे जानकारी लिनेदिने काम भइरहेको थियो । टेलिफोन सेवा अवरुद्ध थिएन तर सेवा प्रभावित भने भइसकेको थियो । निकै पटकको प्रयासपछि मैले जनकपुर र बाल्कोटमा सम्पर्क गर्न सकेँ । सबै ठीकै थियो तर छोरी कृतिका परीक्षाका लागि बुद्धनगरस्थित क्याम्पस गएकी थिइन् । बाल्कोट घरमा सम्पर्क गर्दा मैले झुठ बोलेँ— कृतिकासँग मेरो सम्पर्क छ । तर खासमा उनीसँग सम्पर्क थिएन । निकै बेरपछि थाहा भयो, चौंथो तलाको परीक्षा कक्षबाट बाहिरिँदा उनको खुट्टामा चोट लागेछ र तल भुइँमा झरेपछि वेहोस भइछन् । उनलाई ह्याम्स हस्पिटल लगिएको रहेछ । मलाई औडाहा हुन थाल्यो । मैले हस्पिटल पुग्नु जरुरी थियो । तर जाने कसरी ? केहीलाई गाडीका लागि भने तर तिनले असमर्थता व्यक्त गरे । सहयोग गर्नेको कमी हुँदैन भन्ने सत्य चरितार्थ गरे डेमोक्रेटिक लयर्स एशासिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले । संकटको घडीमा प्राप्त सहयोगका लागि उनीप्रति आभार व्यक्त गर्न चाहन्छु । उनको गाडीमा म र नारायण अर्याल कायंक्रमस्थलबाट ह्याम्सका लागि प्रस्थान गर्यौं । बल्ल भूकम्पको विध्वंशकारी प्रभावको अनुभूति भयो । बसुन्धरा, महाराजगन्ज, लाजिम्पाट, लैनचौर, केशरमहल, दरवारमार्ग, वागवजार, भृकुटीमण्डप, थापाथली, बबरमहल हुँदै बुद्धनगर पुगुन्जेल सबैतिर दृष्टिगोचर भएका महाप्रलयको महाताण्डवका भिषण पदचापका अनुभूति कष्टकर थिए । सडकमा मानिसको भीड, मानव आवाजको कोलाहल अनि चिच्यिाहट पीडादायी थिए । धुलधुसरित हुन पुगेका भौतिक संरचनाले अनिश्चित भविष्य निर्माणको दायित्व थपिरहेका थिए । पीडाहरु सम्हालिनसक्नुका थिए । गाडीमा हामी यिनै विषयका बारेमा कुरा गरिरहेका थियौं । नब्बेको भूकम्प त हामीले सुनेका मात्र थियौं । तर ८२ वर्षपछिको बहत्तरको यो भूकम्पका हामी साक्षी बन्न पुग्यौं । साँच्चै सभ्यताहरु कसरी धुलाम्मे हुँदा रहेछन ? कसरी प्रकृतिका सामु विश्वविजयी मानव निरीह बन्दो रहेछ ? र कसरी संकटमा नेपाली समाज एकाकार हुन सक्दो रहेछ ?
म र नारायण ह्याम्स पुग्यौं । छोरीलाई हेर्यौं । नारायण त्यहाँबाट प्रस्थान गरे । म त्यहाँ निकैबेर बसेँ । एउटा ट्याक्सी बडो मुश्किलले पाइयो । तर ट्याक्सी जडिबुटीभन्दा अगाडी बढेन—ट्राफिकले रोक्यो । त्यहाँबाट विरामी छोरीलाई लिई पैदलै बालकोटसम्म आइयो । बाटमा परेका नयाँ बानेश्वर, शान्तिनगर चोक, तिनकुने, कोटेश्वर, लोकन्थली र कौशलटारका दृश्य उदेकलाग्दा । घरहरु ढल्न नसकेर क्ष्तिग्रस्त अवस्थामा ठडिएका थिए । नयाँ ६लेन सडक ठाउँठाउँमा धाँजा फाटेर आवागमनका लागि अनुपयुक्त । यस्तै कहालीलाग्दा दृश्य हेर्दै वर्तमान र भविष्यबारे सोच्दै घर पुगियो । घर पुग्दा करिव चार बजिसकेको थियो । मेरा घरपरिवारसँगै सबै टोलवासी टोलकै खाली ठाउँमा शिविर खडा गरी बसिसकेका रहेछन । त्यसबेलासम्म मेरो टोललगायत उपत्यकामा हजारौंको संख्यामा टेन्ट, त्रिपाल र प्लास्टिकका हजारौं शिविर ठडिइसकेका थिए । हामी बाबु छोरी सोझै मेरो घर पछाडीको शिविरमा गएर मिसियौं । मैले सहर र कृतिकाको वेलिविस्तार लगाएँ । यतिन्जेल म आफ्नै समस्यामा रुमल्लिइरहेकोले समाचारबारे खासै अद्यावधिक हुन सकेको थिइनँ । अहिले समाचारबारे बुझ्न खोज्दा त हृदयविदारक दृश्य पो सामुन्ने आयो । यो भुइँचालोले त महाप्रलय, महाविपत्ति, महाशंकट अनि महाविनाशकारी स्वरुप पो ग्रहण गरिसकेको रहेछ । मृत्यु र घाइतेहरुको संख्या निमिषमै अनपेक्षितरुपमा बढिरहेको थियो । भुकम्पका सानासाना धक्काको अनुभव लगातार भइरहेको थियो र छ । अधिकारीहरुका अनुसार भुकम्पका हजारभन्दा बढी साना ठूला धक्काका अनुभव भइसकेका छन् । शनिवारदेखि आइतवार अपरान्हसम्म ठूला धक्का अनुभव नगरिएपछि मानिस एक किसिमले ढुक्क भएकैबेला आइतवार दिउँसो १२ वजेर ५६मिनेटमा आएको ६दशमलव नौ रिक्टर स्केलको भूकम्पले ढाड भाँचिदियो । २०४५ सालको भूकम्पभन्दा ठूलो रिक्टरको यो भूकम्पले शनिवार हुन बाँकी रहेको जनधनको क्षति पुर्यायो । भूकम्पको यो धक्काले आमव्यक्तिको मनोवल तोडिदियो । मानिस मानसिक रुपमा पराजित भएको अनुभव गरियो ।
अहिलेसम्म यस प्रलयमा परी पाँच हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन । दशौ हजार घाइते छन् । घरवारविहीन भई विस्थापित हुनेको संख्या लाखौं छ । अहिलेसम्म तथ्यांकहरु यकिन हुन सकिरहेका छैनन् । खर्वौंको भौतिक संरचना ध्वस्त भएका छन् । यो पीडादायी उपद्रोले नेपाललाई कम्तिमा तीन दशक पछाडी धकेलेको छ । सुखद संयोग मान्नुपर्छ नेपालमा एकपटक मानवता जागेको छ । मानिसबीचका सबैखाले भेदभावको अन्त्य भएको छ । नेपालका लागि यो पुँजी हो । देशको पुर्नसंरचनामा यो पुँजीको सदुपयोग गर्न सक्नुपर्छ । जनता लोककल्याणमा अगाडी सरेका छन् । सरकारले सशक्त नीति बनाई सफल नेतृत्व गर्न सक्नुपर्छ । यतिमात्र होइन छिमेकीलगयातका मित्र राष्ट्रले उदार हृदयसाथ सहयोगको हात बढाएका छन् । यो स्वागतयोग्य छ । मित्र राष्ट्रबाट पीडितको उद्धार र राहतका लागि ठूलो मात्रामा तन, मन र धनको सहयोग प्राप्त भएको छ । सरकारसामु चुनौती छ उद्धार र राहत व्यवस्थापनको । विदेशीबाट प्राप्त सहयोगको उपयोग नेपालमा कसरी हुन्छ भन्नेमा यतिखेर सबैको चासो छ । केहीले सरकारको व्यवस्थापन प्रक्रियाबारे चोर औंला उठाइ पनि सकेका छन् । सहयोगीले पनि यस विषयप्रति चासो राख्नेछन् । यो सहयोग व्यवस्थापन कुशलतामा नेपालले भविष्यमा दाताबाट प्राप्त गर्ने सबैखाले सहयोग आधारित हुनेछ । सरकारले आगामी दिनमा अब आफूलाई मृतकको सदगत, मृतक परिवारको दीर्घकालीन कल्याण, पीडितहरुको उद्धार र भविषयको सम्बोधन तथा भौतिक संरचनाको पुर्निर्माणमा त केन्द्रित गर्नुपर्ने नै छ यसका अतिरिक्त महामारी फैलिन सक्ने संक्रमणको व्यवस्थापन, शीघ्र उपचार सेवा र सबैभन्दा ठूलो मानसिकरुपमा कमजोर हुन पुगेका नेपाली जनतालाई हौसला र उत्साह थप्न आवश्यक कार्यक्रम कार्यान्वयन गनुपर्ने छ । यस कार्यमा सरकार जति छिटो सफल हुन्छ नेपाल र नेपालीलाई लागेको घाऊ त्यति नै निको हुनेछ ।
No comments:
Post a Comment