Saturday, May 2, 2015

Earthquqke and WPFD


   

विश्व प्रेस स्वतन्त्रता दिवस

नेपालको नव निर्माणमा प्रेसको भूमिका

धर्मेन्द्र झा

वर्तमान विश्व पत्रकारिता जगत प्रेस स्वतन्त्रता दिवस मनाउने तयारीमा छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि विश्वभरि मे ३ अर्थात आजका दिन एक्काइसौं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालमा पनि मे ३ का दिन यो दिवस मनाउने चलन सुरु भएको डेढ दशक वितिसकेको छ ।  यसै दिनको अवसर पारेर संचार र पत्रकारितासँग सम्बन्धित विभिन्न संघ संस्थाले विविध कार्यक्रमको आयोजना गर्दैछन ।  संयुक्त राष्ट्र संघको आव्हानमा यो दिवस विश्वभरि नै मनाउने गरिन्छ । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्दछ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ र अन्य राज्य तथा नागरिक संघ संस्थालाई वहसमा आधारित गतिविधि संचालन गर्न प्रोत्साहित गर्दछ । तर नेपालका सन्दर्भम यसपटकको अवस्था पृथक छ । आज ठीक नौ दिन भयो नेपाल एक किसिमले राष्ट्रिय शोकको अवस्थामा छ । महाविपत्तिसँग जुधिरहेको छ । आजको ठीक नौ दिनपहिले अर्थात नयाँ वर्षको १२औं दिन वर्षको दोस्रो शनिवार नेपालमा भूकम्पका रुपमा महाविपत्ति महाप्रलय भित्रियो । सात दशमलव नौ रिक्टेरको यो भूकम्पको झट्का यति शक्तिशाली थियो कि यसबाट हुने क्षतिको पूर्वानुमान गर्नसमेत सम्भव थिएन । लमजुंग र गोरखाको सीमा क्षेत्रमा केन्द्र रहेको यो भूकम्पले निम्त्याएको क्षतिको अनुमानसम्म पनि गर्न असहज छ । भूकम्पका धक्काहरु लगातार अझैसम्म अनुभव भइरहेका छन् । यो आलेख तयार गर्दाको समयसम्म पनि धक्काहरु अनुभव भई नै रहेका छन् । यस भूकम्पमा परी करिव सात हजारको संख्यामा मृत्यु भइसकेको छ भने दशौं हजारको संख्यमा घाइते छन् । तीसभन्दा बढी जिल्ला प्रभावित यस भूकम्पका कारण अठार जिल्ला अतिपीडित जिल्लाका रुपमा पहिचान भएका छन् । युनेस्कोद्वारा सुचीकृत उपत्यकाका प्रायःजसो विश्वसम्पदाहरु ध्वस्त भएका छन् । खर्वौंको सम्पति नष्ट हुन पुगेको छ ।


यस भूकम्पमा परी पत्रकारिता जगत् पनि प्रभावित हुन पुगेको छ । गोरखापत्रका पत्रकार सुमन बोम्जनले हामीबाट विदा लिएका छन् । एक अनौपचारिक सर्वेक्षणअनुसार पाँच सयभन्दा बढी पत्रकारका घर ढलेका छन्÷क्षतिग्रस्त हुन पुगेका छन् । डेढ दर्जनभन्दा बढी रेडियो स्टेशनमा क्षति पुगेको बताइएको छ । यसैगरी थुप्रैको संख्यामा छापाखाना, पत्रपत्रिका, टेलिभिजन र केवलहरु पनि क्षतिग्रस्त हुन पुगेका छन्् । र, यस विपत्तिबीच उभिएको छ विश्व प्रेस स्वतन्त्रता दिवस । देश र देशवासीलाई परेको यो महाविपत्तिको अवस्थामा पत्रकारले कसरी आफ्नो स्वतन्त्रताको कुरा गर्न सक्छन् ? खासमा देश र समाजप्रति हदैसम्म जिम्मेबार हुनुपर्ने वेलामा आफ्नो समस्यामात्रको कुरा गरेर प्रेस कसरी राज्यको चौंथो अंग बन्न सक्छ ? सबभन्दा महत्वपूर्ण कुरा राष्ट्र शोकमा डुबेको वेला स्वतन्त्राकै अर्थ के हुन्छ र ? यी सबै कुरालाई दृष्टिगत गरेर नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवसका कुनै औपचारिक कार्यक्रम हुने छैनन् । हुनु सान्दर्भिक पनि छैन । नब्बेको भूकम्पका बारेमा सुनेर अध्ययन गरेर मात्र थाहा पाएको नेपाली पत्रकारिताको वर्तमान पुस्ता यसपटकको महाविनाशकारी भूकमपको साक्षी बनेको छ । निश्चय पनि यस दृष्टिले भूकम्पको जोखिममा परेका र चहर्याइरहेका भूकम्पका घाउमा मलम लगाउनु नेपाली प्रेसका लागि स्वतन्त्रता दिवसभन्दा बढी महत्वपूर्ण छ । युनेस्कोको आव्हानमा विश्वभरि मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा युनेस्कोले औपचारिकरुपमा नमनाउने भएको छ । यसअघि मे १ का दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि नेपालमा औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएन ।

 युनेस्कोले यस वर्ष—२०१५ का लागि, स्वतन्त्र पत्रकारिता, लैंगिक र मिडिया तथा पत्रकार सुरक्षा  भन्ने नारा तय गरेको छ । यो नारा स्वयंमा निकै महत्वपूूर्ण मात्र छैन विगतको तुलनामा अर्थपूर्ण पनि छ । वर्ष २०१४ पत्रकार सुरक्षाका दृष्टिले निकै जोखिमको वषर््ा रह्यो । यो वर्ष निकै पत्रकार मारिए । यतिमात्र होइन, वर्ष २०१५ को जनवरीको सातमा फ्रान्सको व्यग्य पत्रिका चार्ली हेब्दोको कार्यालयमा आतंककारी हमला भयो । आक्रमणमा परी ११ संचारकर्मी र एकजना सुरक्षाकर्मीको हत्या भयो । अन्य पाँचजना सर्वसाधारणको बाहिर हत्या गरियो । पत्रकारितामा लैंगिक संवेशनशीलताको विषय निकै चर्चाको सन्दर्भ बन्यो गत वषर््ा । यी सबै कुरालाई दृष्टिगत गररे नै होला युनेस्कोले वर्ष २०१५ का लागि उक्त नारा तय गरेको हो । युनेस्कोले नारा तय गरुन्जेलसम्म नेपालमा भूकम्प गइसकेको थिएन । शायद गइसकेको भए, विपद् व्यवस्थापनमा पत्रकारको दायित्व सम्झाउने गरी नारा तय गर्न सक्ने सम्भावना बढ्थ्यो होला । तर अहिले जुन नारा तय गरिएको छ त्यही नाराको सारमा पनि नेपाली पत्रकारले नेपालको महाविपद् व्यवस्थापनमा आफ्नो भूमिकाको खोजी गर्न सक्छन् । भूकम्पपछिका समाचार विना कुनै भेद्भाव संकलन गर्न र सम्प्रेषण गर्ने सन्दर्भमा निश्चय पनि माथिको नाराले उत्प्रेरकको कार्य गर्न सक्छ । विश्वमा यस्ता थुप्रै उदाहरण छन, जब यस्ता विपत्ति आउँछन् समाजमा अवान्छित तत्व सलबलाउन थाल्छन् । सरकारका काम कार्यवाही ढिलासुस्तीपूर्ण हुन्छन् । विभिन्न आधारमा राहत र उद्धारका कार्य भेदभावपूर्ण हुन्छन् । यी सबै विषय समाचारका विषय हुन् । जहाँ पत्रकारका आँखा पुग्छन् र पुग्नु पनि पर्छ । तर यस्ता समाचार सम्प्रेषण गर्दा कसैलाई आफूहरुविरुद्ध मिडिया प्रयोग भएको लाग्न सक्छ र यसै आशंकामा पत्रकारको स्वतन्त्रता खोसिन सक्छ । संचारकर्मी असुरक्षित हुन सक्छन् । सरकार, संचारकर्मी र अन्य सरोकारवाला यस अवस्थाप्रति सजग र सचेत हुनु आवश्यक छ । 

पत्रकारिता (मिडिया)लाई समाजको ऐना भनिन्छ । निश्चित रुपमा यो मान्यताले पत्रकारिता वा मिडियाको वर्तमानसँग जोडिएको महत्वको व्याख्या गर्दछ । युनेस्कोको यस वर्षको नाराको विश्लेषण गर्ने हो भने वर्तमानमा स्वतन्त्र मिडियाको समुचित प्रयोग गरेर भविष्यलाई आश्वस्त गर्न खोजेको अर्थमा बुझ्न सकिन्छ । नेपालको वर्तमानको सकसपूर्ण अवस्था हेर्ने हो भने पनि नेपाली मिडियाले यसै आधारमा आफ्नो भूमिका खोज्नु र निर्वाह गर्नु अपेक्षित छ । प्रेस स्वतन्त्रता अपरिहार्य छ । युनेस्कोले आफ्नो स्थापनाकालदेखि नै यस तथ्यलाई स्वीकार गरेको छ र यसैअनुकूल आफ्ना गतिविधि   संचालन गर्दै आएको छ । आजको विश्वमा युनेस्को प्रेस स्वतन्त्रता र प्रेस र पत्रकार सुरक्षाका क्षेत्रमा चिन्ता गर्ने र तदनुरुप क्रियाशील रहने सबैभन्दा महत्वपूर्ण संस्था हो भन्दा फरक पर्दैन । यसपटकको नाराबाट पनि यो कुरा बुझ्न कठीन हुँदैन । प्रेस स्वतन्त्रताको अभावमा प्रेस न त व्यवशायिक हुन सक्छ न त नैतिक नै न त जिम्मेबार नै । सुरक्षा महत्वपूर्ण कुरा हो । सुरक्षाको अभावमा प्रेस स्वतन्त्र हुन सक्दैन, यो सत्य हो ।  यसपटकको नाराका माध्यमले पनि यो यथार्थ आत्मसात गरिएको छ । सत्यको उद्घाट्नका लागि स्वतन्त्र प्रेसको प्रत्याभूति खोजिएको छ । नेपालको सन्दर्भमा त यतिखेर यो अझै सान्दर्भिक बन्न पुगेको छ ।

नेपाल र नेपालीको अबको दायित्व भनेको नव नेपाल निर्माणको हो । अबको समय पुनर्निर्माणको हो । विकासको नयाँ यात्रा गर्ने हो ।  यसमा प्रेस र पत्रकारको दायित्व निकै महत्वपूर्ण हुन्छ । भावी नेपालको नक्सा कोर्न र निर्माण कार्यको अनुगमनका दिशामा नेपाली मिडियाको निर्णायक भूमिकाको खोजी हुनुपर्छ । यस सन्दर्भमा पनि युनेस्कोको नारा विश्लेषण गर्न सकिन्छ । नाराले प्रत्येक प्रकारका विकास कार्यलाई सार्थक र अर्थपूर्ण आकार प्रदान गर्न पनि स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण छ भन्ने तथ्य औल्याएको छ । यस सन्दर्भमा हामीले एउटा कुरा के विर्सन मिल्दैन भने विकासको सम्बन्ध भौतिक संरचनाको निर्माणसँग मात्र छैन यो मानवको जीवनस्तरको वृद्धिसँग पनि जोडिएको छ । जबजब स्वतन्त्र प्रेसको सन्दर्भको उठान हुन्छ सँगसँगै अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भ जोडिएर आउने गर्दछ । सिद्धान्ततः विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति भएको लोकतान्त्रिक वातावरणको अभावमा प्रेस स्वतन्त्रताको कल्पना गर्न सकिदैन । यसैले यहाँनिर हामीले प्रेस स्वतन्त्रताको सुनिश्चितताको चर्चा गरिरहँदा विचार तथा अभिव्यक्ति स्वतन्त्रता स्वतः प्रत्याभूत छ भन्ने बुझ्नु जरुरी छ । निश्चित पनि हो, सुन्दर र समृद्ध भविष्यका लागि वर्तमानमा सुन्दर र सुदृढ विकास सुनिश्चित हुनुपर्दछ । यसका लागि आवश्यक छ, प्रेस स्वतन्त्रता  । विचार तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रता कतिसम्म आवश्यक छ भने यसको अभावमा विकासका कार्यहरुले सार्थक आकार ग्रहण गर्न तथा सार्थक लक्ष्य हासिल गर्न सक्दैन । किनकि अहिलेको विश्वमा विकासको प्रमुख बाधक भनेकै अपारदर्शिता, सूचनामा नागरिक पहुँचको अभाव, जनसहभागिताको कमी, भ्रष्टाचार र सरकारी क्षमतामा कमी हो । भूकम्पका रुपमा देखा परेको महाविपत्तिका सन्दर्भमा भावी नेपालमा यस्तै समस्या उत्पन्न हुन सक्छ् । नेपाली प्रेस खवरदार गर्ने भूमिकामा सशक्तरुपले उभिनु जरुरी छ । 

निश्चय नै माथिको नाराको सम्बन्ध भूकम्पपछिका दिनमा सुशासन प्रवद्र्धन गर्ने र जनताको जीवनस्तर सुधार्ने कुरासँग पनि छ । मिडियाले विकासलाई दीगो बनाउँछ भन्ने मान्यता नयाँ होइन । मिडियाले प्रभावकारी र दीगो विकास र सुशासन प्रवद्र्धनका लागि पारदर्शिता, जवाफदेहिता र उत्तरायित्वजस्ता अवयवको अनिवार्यतामा जोड दिन्छ । वास्तवमा यी सबै सुशासनका तत्व हुन जसको प्रवद्र्धनमा मिडियाको निर्णायक भूमिका रहन्छ । र, यसका माध्यमले भ्रष्टाचार न्यूनीकरण, जनताको उल्लेखनीय सहभागिताको वृद्धि र प्रभावकारी एवं जवाफदेही सरकारको अभ्यासलाई सवल बनाउँछ । लोकतन्त्रको लक्ष्य पनि यही हो, व्यक्ति र समुदायको सर्वोत्तम विकास एवं शान्तिको प्रत्याभूति ।

युनेस्कोको नारा नेपाली संचारकर्मी र पत्रकारिताका लागि मननीय छ । नेपालको राजनीति यतिखेर संक्रमणको अवस्थामा छ । यसमा थपिएको छ भूकम्पको महाप्रलय । यस अवस्थामा भावी दिनमा आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय चाहनाको परिपूर्तिका लागि नेपाली प्रेसको भूमिका कालजयी बन्न सकोस । यो नारा सुरक्षित भविष्यका लागि महत्वपूर्ण मार्ग निर्देशन पनि हो । नेपालको नव निर्माणमा हामी सबै होमिन सकौं, यस दिवसका अवसरमा यही नै शुभकामना ।
(लेखक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन । उनी आइएफजे र आइपिआइसँग पनि सम्वद्ध छन् । )



No comments:

Post a Comment