Friday, April 3, 2015

AUDIT/Political Management

अडीट

कांग्रेसको कमजोर दलीय व्यवस्थापन 

धर्मेन्द्र झा

हिजोआज सबै राजनीतिक दलभित्र अनिवार्य तत्वका रुपमा गुटको उपस्थिति रहेको देखिन्छ । यस्ता गुटको व्यवस्थापन गर्दै दल सञ्चालन गर्नु कुशल नेतृत्वबाट मात्र सम्भव हुन सक्छ । राजनीतिलाई विद्वानहरुले कला पनि भनेका छन् । दलभित्रका यस्ता समूहबीचको सन्तुलन राख्ने कुरा त्यही कलाभित्र पर्दछ । नेपालका राजनीतिक दलमध्ये नेपाली कांग्रेसभित्रको एउटा प्रमुख समस्या भनेको गुटको व्यवस्थापन क्षमताको अभाव हो । नेपाली कांग्रेस देशकै ठूलो र पुरानो लोकतन्त्रवादी राजनीतिक दल हो । समग्रमा यो दल कुनै पनि खाले समस्याबाट आक्रान्त हुनुको अर्थ देशकै लोकतान्त्रिक प्रणाली प्रभावित हुनु हो । कांग्रेसभित्रको समस्याप्रति चिन्ताको कारण यही नै हो । आन्तरिक व्यवस्थापनको अभावमा कांग्रेस व्यवहारमा जति ठूलो शक्ति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यो यथार्थ हो । जतिसुकै राम्रो लक्ष्य लिइएको भएपनि त्यसलाई कार्यान्वयन गर्ने संगठन सवल, व्यवस्थित, आफ्नो लक्ष्य प्राप्तिको रणनीतिमा स्पष्ट र कार्यकर्ताहरुले सँधै स्वाभिमानको अनुभूति गर्ने परिस्थिति निर्माण हुन सकेन भने आफूले लिएको लक्ष्य प्राप्तिका लागि निस्काम कर्म गर्न त्यो संगठन असफल हुन्छ । पछिल्लो अवस्था हेर्ने हो भने नेपाली कांग्रेसले यो महत्वपूर्ण सवाललाई दृष्टिगत गरेर आफूलाई व्यवस्थित गर्ने सवालमा गम्भीरतापूर्वक प्रस्तुत हुनुपर्ने जरुरी देखिएको छ ।

 कांग्रेस अहिले १३ औं महाधिबेशनको मुखमा उभिएको छ । गुटगत प्रतिष्पर्धालाई दलमा उर्जा थप्ने अवसरको रुपमा स्थापित गर्दै दल व्यवस्थापन र सन्तुलनमा बिशेष योगदान पु¥याउन सक्ने नीति बनाउने काम महाधिबेशनले नै गर्ने हो । यो महाधिबेशनले दलमा गुटले पारेको प्रभावको सीमक्षा गर्दै त्यसलाई सन्तुलित गराउने रणनीति निर्माण गर्ने एजेण्डा बोक्न सक्नुपर्दछ । कांग्रेस ‘मास वेस’ दल हो । यस्तो प्रकृतिको दललाई सम्पूर्ण रुपमा एकताबद्ध गराएर कम्यूनिष्ट दलझै ‘चेन अफ कमाण्ड’को शैलीमा संचालन गर्न सकिँदैन । तर पनि ‘मास वेस’ दलका केही मूल्य र मान्यता हुन्छन् । ती दलका कार्यकर्ताका पनि नैतिकता र कार्यक्षेत्रका बारेमा केही आधार हुन्छन् र नेतृत्वले कार्यकर्तालाई कसरी अनुशासित राख्ने र उनीहरुको मूल्यांकन कसरी गर्ने भन्ने कुराका निश्चित आधार हुन्छन् । यी आधारहरु कुनै सूत्रका रुपमा नभए पनि कस्तो सामाजिक अवस्थितिमा त्यो दल संचालन हुने हो भन्ने कुराका सन्दर्भमा आधारहरु निर्माण गरिनुपर्दछ । यो दायित्व नेतृत्वको हुन्छ । दलको संरचनाभित्र रहेर दलको अहित गर्नेलाई अनुशासनको कारबाही गर्ने सामथ्र्यसहितको नेतृत्व र कार्यकर्ताको सही मुल्यांकन हुने ढंगको संरचना निर्माणको अभावमा कांग्रेसजस्तो ‘मास वेस’ दललाई व्यवस्थित गर्न सकिँदैन । दल व्यवस्थित हुन सकेन भने आफ्नो लक्ष्यप्राप्तिको साधनका रुपमा रहनुपर्ने दल केही टाठाबाठा व्यक्तिको स्वार्थ सिद्ध गर्ने संरचनामा सीमित रहन सक्ने खतरालाई नजरअन्दाज गर्न सकिँदैन ।  
दलका प्रचारसामग्रीको उपलब्धता, प्रचारसामग्रीमा नवीनता, सूचना प्रविधिको अत्यधिक उपयोग, प्रत्येक तहको दल संरचनाको कार्यालयमा सकेसम्म पुस्तकालय, तत्कालका लागि त्यो असम्भव देखिए वाचनालय, संचारमाध्यमसँगको सम्बन्धमा नयाँपन, सामाजिक र सांस्कृतिक कर्ममा समेत योजनाबद्ध रुपमा संलग्नता जनाउने बानीको विकास, कार्यकर्ताका लागि नियमित प्रशिक्षणजस्ता कुराहरु दलको व्यवस्थापनसँग जोडिएका हुन्छन् । दलको व्यवस्थापन पक्षमा यी विषयप्रति ध्यान नदिने हो भने दल क्रमशः चियापसलमा इतिहास र समाजवादका ठूलाठूला गफ हाँक्दै हिड्नेहरुको जमातमा सीमित हुने खतरा उत्पन्न हुन्छ । नेपालको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कंग्रेस यतिखेर यस्तै खतराको सँघारमा ठडिएको छ भन्दा अतिशयोक्ति ठहरिँदैन । व्यवस्थापनको अभावमा जनताको आकर्षण टिकाउ हुन सक्दैन भन्ने कुरा कांग्रेसका नेतृत्वले बुझ्नैपर्दछ । ।
आफूलाई व्यवस्थित राख्न र समयसापेक्ष बनाउन नसकेका कारण धेरै शक्तिशाली र लोकतन्त्रप्रति विश्वास गर्ने संस्था तथा संगठनहरु इतिहासमा सीमित हुन पुगेका छन् । नेपालको राजसंस्था, कुनैबेलाको शक्तिशाली मानिने चिनिया दल कोमिन्ताङदेखि नेपालकै प्रजा परिषद तथा भारतमा राममनोहर लोहिया र जयप्रकाश नारायनका दलहरुको अबस्थालाई यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । यि सन्दर्भबाट नेपाली कांग्रेसले पाठ सिक्नु पर्दछ । पाठ सिक्नुको अर्थ त्यस्तो गल्ति दोहोरिन नदिनु हो । यसदिशामा कांग्रेसले आफूलाई अग्रसर गराउने उपयुक्त मौका अहिले आएको छ । मुलुक संबिधान निर्माणको मुखमा उभिएको विद्यमान अवस्था एकातिर छ भने अर्कोतिर यो दल आफ्नो १३औ महाधिवेशनको संघारमा पनि छ । यो अवसरलाई छोपेर कांग्रेसले आफूलाई व्यवस्थित गर्ने विशेष अभियान चाल्न सक्नुपर्दछ । ‘अनुशासित कार्यकर्ता र मूल्यांकनको सुनिश्चितता भएको दल’का रुपमा उभ्याउन कांग्रेसले केही महत्वपूर्ण निर्णय लिन सक्नुपर्ने समय आएको छ । अब पनि आफ्नो सिद्धान्त र इतिहासको बलमा मात्र दललाई संञ्चालन गर्छु भन्नु कांग्रेसका लागि दुर्भाग्य हुनेछ । नेपालको इतिहासले सिद्ध गरेको छ की, कांग्रेस कमजोर हुँदा सधै मुलुकको लोकतान्त्रिकीकरणको अभियान कमजोर हुन पुगेको छ । जसका कारण नेपाल सवल राष्ट्र बन्न सकेको छैन ।
कांग्रेसले स्थापना कालदेखि नै भोग्दै आएको एउटा समस्या भनेको स्वार्थी र अनुशासनहीनहरुको समस्या हो । तर, उसले त्यस्ता व्यक्तिलाई कारबाही गर्न सकेको छैन । इतिहासको कुनै कालखण्डमा कसैलाई कारबाही भए पनि ‘आममाफी’का नाममा सहजै कारबाही फुकुवा हुने गरेका थुप्रै दृष्टान्त छन् । जसले गर्दा अनुशासन उल्लंघन गर्दा आफ्नो भविष्यका बारेमा दोहोरिएर सोच्नका लागि कोही कार्यकर्ता बाध्य छैनन् । अझ गहिरिएर हेर्ने हो भने प्रत्येक निर्वाचनमा १५ देखि २५ सिट कांग्रेसले यस्तै कार्यकर्ताका कारण गुमाउँदै आएको छ । ०१५ सालको निर्वाचनमा यो संख्या कम होला तर, प्रजातन्त्र पुनर्वाहालीपछीका सबै चुनावलाई हेर्ने हो भने यो तथ्यांक पाउन सकिन्छ । २०१३ सालमा बीपी कोइरालाले आफ्ना एक कार्यकर्तालाई लेखेको पत्रमा ‘दलले चुनाव लड्ने अनुमती नदिए स्वतन्त्र लड्ने कुरा गर्ने कार्यकर्तालाई दलबाट निस्कासन गर्नुपर्ने’ आशय लेखेका थिए । यसबाट त्यतिबेला पनि बिद्रोहको धम्की दिएर टिकट माग्नेहरु थिए भन्ने बुझ्न सकिन्छ । प्रजातन्त्र बहालीपश्चात त जसले बिद्रोहको धम्की दियो, त्यसैले टिकट पाउँछ भन्ने मान्यता नै स्थापित हुने अबस्थासमेत देखिएको हो । यो प्रवृत्ति दलका लागि मात्रै घातक छैन बरु समग्रमा लोकतन्त्रकै लागि पीडादायी छ । यो प्रवृत्तिविरुद्ध समाधान खोज्न दलको आसन्न महधिवेशनमा पनि वहस चलाइनुपर्दछ र संविधानमा पनि कुनै न कुनैरुपमा समावेश गरिनुपर्दछ ।  दललाई अराजकहरुको भीडभन्दा पनि अनुशासित सिपाहीहरुको चुस्त संगठन बनाउने कुरामा नेतृत्व प्रतिबद्ध हुनुपर्दछ ।
कांग्रेसको अर्को समस्या भनेको कार्यकर्ताको मुल्यांकनको कुनै आधार तयार नहुनु हो । कांग्रेसले कसैलाई कुनै जिम्मेवारी दियो वा कुनै भूमिकामा पठायो भने किन उसलाई पठाएको भन्ने जिज्ञासा कसैले उठाउदाँ त्यसको चित्तबुझ्दो जवाफ पाँइदैन । त्यसैगरी त्यो कार्यकर्ताले आफ्नो जिम्मेवारी वा भूमिका कुन रुपमा निर्वाह ग¥यो भन्ने कुराको लेखाजोखा कहीँ कतै राखिएको पनि पाइँदैन । पुरानो दल भएका कारण पुराना मान्छेहरु यसमा स्वाभाविक रुपमा छन् । ‘पहिलेदेखि काम गरेको मान्छे भएकाले’ भन्ने रेडिमेड जवाफबाहेक व्यक्तिचयनको अर्को आधार कसैले प्रस्तुत गर्न सक्दैन । पुस्तान्तरणबारे कांग्रेस नेतृत्वले बुझ्न नचाहेको प्रतीत हुन्छ । वास्तवमा विश्लेषण गर्ने हो भने कांग्रेसमा आवद्ध भएर राजनीति गर्न खोज्ने पहिलो पुस्ताको कार्यकर्ताले (अपवादबाहेक) सहज स्वीकृति प्राप्त गर्न सकेको पाइँदैन । यो भनेको योग्यता र क्षमतालाई स्वीकार गर्नेभन्दा पनि दिन गन्तीका रुपमा र कपाल फूलेको वा नफुलेकोरुपमा कार्यकर्ताको मूल्यांकन गर्ने परिपाटी हो । दलभित्र विज्ञ र योग्यको अनुपस्थितिमा सापेक्षित रणनीति निर्माण गर्न कठीन हुन्छ भन्ने कुरा पनि कांग्रेस नेतृत्वले बुझ्न सकेको छैन । यी कुरालाई दृष्टिगत गर्दै मूल्यांकनको नयाँ आधार निर्माण गर्दै पुस्ता, वर्ग समुदाय, क्षमता र बिशेषज्ञता एबम् दल तथा समाजलाई सापेक्षित रुपमा जोड्ने चातुर्यताजस्ता विशेषतालाई ध्यान दिनु आवश्यक छ ।
उल्लिखित दुईवटा कुरामा कांग्रेस कमजोर मात्र होइन, निकै कमजोर देखिएको छ । दललाई अस्तव्यस्त पार्ने र गुटहरुको माहासंघ बनाउने कुराको जग भनेको दलमा देखिएको यही कमजोरी हो । जहाँ अनुशासन हँुदैन र मूल्यांकनको पद्धती हँुदैन, त्यहाँ संस्था कमजोर हुन्छ र व्यक्ति हावी हुन्छन् । गुटका नाममा अयोग्यलाई स्थापित गर्ने र ‘यस म्यान’को खोजी गर्दै दलको निष्ठाप्रति प्रतिबद्ध कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्तिले कांग्रेस कमजोर भैरहेको छ । जे गर्दा पनि कारबाही नहुने र पदमा पुग्न काम हैन चाकडी गररेर कसैको ‘यस म्यान’ बन्ने प्रवृत्तिले गाँजिएको दललाई यो प्रवृत्तिबाट मुक्त राख्ने चुनौती कांग्रेसको बर्तमान नेतृत्वको काँधमा छ ।
यी दुई बिषयमा तत्काल कार्यान्वयन गर्ने गरी कांग्रेसले निर्णय लिन सक्नुपर्दछ । यसको सम्बन्ध लोकतान्त्रिक संविधान निर्माणसँग पनि छ । जनताले आशा गर्दागर्दै पनि आन्तरिक व्यवस्थापनमा देखिएको कमजोरीका कारण कांग्रेस कमजोर हुन पुग्यो भने त्यो कांग्रेस स्वयंको दोष हुनेछ । जनताले अझै कांग्रेसप्रति आशा र विश्वास कायम राखेर देशमा एक सशक्त लोकतान्त्रिक दलको सक्रियता चाहेका छन्, जसले लोकतान्त्रिक संविधान प्रदान गरेर मुलुकको लोकतन्त्र सुनिश्चित गर्न सकोस । कांग्रेसले जनताको यो विश्वास र आशालाई कायम राख्ने की नराख्ने ? यो प्रश्नको जवाफ आफैलाई दिएर कांग्रेस नेतृत्वले सर्वप्रथम दल व्यवस्थापनका पक्षमा ध्यान दिन जरुरी छ ।
published in Annapurna Post- 3rd April 2015

No comments:

Post a Comment