भंग पूजाहरू ः अनिष्टको संकेत
धर्मेन्द्र झा
तातो मधेश यतिखेर अर्को वज्रपातका कारण झन तातिएको छ । बाराकी छ वर्षकी बालिका पूजा साहले बलात्कारपछि ज्यान गुमाइन् । छ वर्षीया बालिका बलत्कृत भएर अचेत अवस्थामा फागुन ९ गते कलैया –६ मा फेला परेकी थिइन् । सृष्टिकी नया“ सदस्य, पुरानो हुनै नपाई देह त्याग्न बाध्य भइन् । यो घटनाले नेपाली समाजलाई एकपटक फेरि झस्काएको छ । बलात्कार रोक्ने उपाय अवलम्वन गर्न सरकारलाई जनस्तरबाट दवाव परेको छ । बलात्कारीलाई दिइने सजाय थप कडा बनाउन बारामा र्याली र प्रदर्शन भए । काठमाडौमा पनि केही सचेत नागरिकले प्रदर्शन गरे ।
कलैयाको घटना हुनुभन्दा केही महिना पहिले राजधानीछेवैको काभ्रेमा आफनै हजुरवुवा र वावुबाट बलात्कृत काभ्रेकी पूजा कार्कीको चित्कार सार्वजनिक भएको थियो । यो घटनाका माध्यमबाट नेपाली समाजको कुरुप, विक्षीप्त अनुहार एकपटक फेरि उदांगियो । घटना सार्वजनिक भएपछि अपमान र तिरष्कारबाट जोगिन हजुवुवाले पासो लगाएर आफनै ज्यान लिए । पूजाका बावु अहिले पुर्पक्षका लागि थुनामा छन् ।
अहिले एसएलसी परीक्षा जारी छ । गत वर्षको एसएलसी परीक्षाताकाको कुरा हो । प्रवेशिका परीक्षा दिन आएकी पूजाको अस्मिता बैतडीको पाटनमा लुटिएको थियो । पूजा बोहोराले कानुनमन्त्रीलाई पत्र लेखेपछि न्यायालय र न्यायप्रणालीको वर्तमान अवस्थामा प्रश्न चिन्ह लाग्यो । पूजा बोहोरालाई सामूहिक बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने आवाज पनि उठ्यो ।
नेपालको विविध भूगोलमा तीन पूजा भंग भएका छन् । पूजा खण्डित बनेको छ, विथोलिएको छ र अस्मिता धूलधुसरित भएको छ । हिन्दू परम्परामा पूजाको विशेष महत्व छ । देवदेवीको आराधनासँग सम्बन्धित पूजा शव्द आध्यात्मका दृष्टिले स्वयंमा बडो महत्वपूर्ण छ । हिन्दूधर्मले नै नारीलाई पूजनीयरुपमा स्थापित गरेको छ । अझ बालबालिकालाई त देवदेवीका अवतारका रुपमा स्वीकारिन्छ । यस्तो पूजा गरिनुपर्नेहरू दानवबाट पराजित भइरहनुपर्ने वर्तमान निश्चय नै कहालीलाग्दो छ ।
हिन्दू धर्मशास्त्रअनुसार पूजा खण्डित हुनु अनिष्टको संकेत हो । के यहाँ ठूलै अनिष्ट निम्तिँदै छ त ? नेपाली समाज हिन्दूवहुल समाज हो । यहाँ पूजाको विशेष महत्व छ । यहाँ बलात्कृत भएका माथिका तीनै पूजालाई सांकेतिक रुपमा स्थापित गर्न खोजिएको मात्र हो । वलात्कारलाई कुनै पनि धर्ममा कुनै पनि समाजमा निन्दनीय घटनाकै रुपमा स्वीकार गरिएको छ । नेपाली समाज सारमा सहिष्णु समाज हो, तर दूर्भाग्य यही समाजमा लगातारजसो वलात्कारका घटना सार्वजनिक भइरहेका छन् । यसले नेपाली समाज निरन्तर असहिष्णु बनिरहेको प्रमाणित हुन्छ । वलात्कारका बढदो घटनाले राज्य यसप्रति सम्बेदनशील नभएको पनि पुष्टि भएको छ । समाधानका दिशामा राज्यले ठोस कार्यक्रम सञ्चालन गर्नैपर्ने देखिए पनि हालसम्म त्यसो हुन नसक्नु दुखद छ । राज्यले बलात्कार गर्नेलाई हेर्ने दृष्टिकोणमा स्पष्ट फरकपन समाजले महशुस गर्नुपर्छ । राज्यको दायित्वको कुरामात्र गरेर पुग्दैन । यस्ता घटना नियन्त्रणमा समाजको दायित्व पनि महत्वपूर्ण हुन्छ । नेपाली समाज पुरुषवादी समाज हो । पुरुषले विभिन्न वहानामा पुरुषत्व प्रदर्शन गर्ने सोच राख्दछ र आफ्ना सबै गतिविधि वैध बनाउने प्रयास गर्दछ । वलात्कार त्यस्तै नमुना हो । तर यो सोच विकृत मानसिकताको उपज हो जसलाई कुनै पनि हालतमा जायज ठहर्याउन सकिँदैन । यसलाई रोक्न राज्यले कडा कानुन बनाएर कार्यान्वयन गर्नु जरुरी छ । राज्य अभिभावक संस्था भएकाले सबैले न्यायको आश उसैबाट गर्ने हो तर राज्यले आफ्नो अभिभावकीय दायित्व निर्वाह गर्न नस्कदा राज्यमा अराजकता र असुरक्षा निम्तिन्छ । अहिलेको अवस्था यही नै हो भन्दा अस्वाभाविक हुँदैन ।
पछिल्लो घटना कलैयाको हो । छ वर्षीया वालिकाको वलात्कारपछिको मृत्यु प्रकरणमा संलग्न कन्हैया गुप्तालाई दोषी ठहर गर्दै स्थानीय अदालतले चैत ३ गते ३५ वर्षको जेल सजायको फैसला गरेको छ । यस्तो घटनामा सम्भवतः यो फैसला हालसम्मकै कडा हो । फैसलाबाट पीडितका परिवार र सरोकारवाला सन्तुष्ट छैनन् । उनीहरू दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गरिरहेका छन् । नेपालमा मृत्युदण्डको कानुन छैन । सरोकारवालाहरू कानुनमा संशोधन गरेर भए पनि वलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गर्दैछन् । मानव अधिकारसम्बन्धी सयुक्त राष्ट्र संघीयलगायत विभिन्न अन्तर्राष्टिय अभिसन्धि, सम्मेलन, सम्झौताको पक्ष राष्ट्र भएकाले कानुन संशोधन गरी मृत्युदण्डको व्यवस्था गर्नु नेपाललाई त्यति सहज छैन । एकातिर मृत्युदण्ड नहुने अवस्था त छँदैछ अर्कोतिर स्थानीय अदालतको हालको फैसला नै पूर्णरुपमा कार्यान्वयन हुन्छ भन्ने पनि निश्चित छैन । दवाव र प्रभावको आधारमा यो फैसलामा पनि भविष्यमा संशेधनको अवस्थालाई नकार्न सकिदैन । नेपालमा विगतमा आममाफी पाएका र सरकारवादी मुद्दा फिर्ता लिइएकाको सुची अध्ययन गर्ने हो भने यो सम्भावनाले थप वल पाउँछ । यस्तोमा वलात्कारजस्ता जघन्य अपराधको न्यूनीकरणको विषयलाई कसरी प्रत्याभूत गर्ने भन्ने विषय स्वयंमा गम्भीर चुनौतीपूर्ण छ ।
कानुन बन्नु र फैसला हुनु एउटा पक्ष हो भने कार्यान्वयन अर्को पक्ष । कार्यान्वयनका लागि सरकार कठोर हुनुपर्छ । बलात्कार, महिलाविरुद्धको हिंसाबारे बेलाबखत प्रदर्शन, टीकाटिप्पणी, विश्लेषण हुने गर्छन् । बलात्कार रोक्नुपर्छ भन्ने आवाज बुलन्द हुने गर्दछ । तर प्रहरीको तथ्यांकले बलात्कारका घटना निरन्तर बढिरहेको देखाउँछ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०६३÷०६४मा वलात्कारका तीन सय १७ घटना अभिलेखित छन भने आठ वर्षमै यो संख्या करिव एक हजारको अंकले बढेर आर्थिक वर्ष ०७०÷०७१मा एक हजार तीन सय २६ पुगेको छ । महिला हिंसाका अन्य स्वरुपका सन्दर्भमा पनि यस्तै कठोर तथ्यांक अस्तित्वमा छ । बलात्कार र यौन दूव्र्यवहार रोक्न देशमा कानुन छ भनिन्छ तर ती कानुन अर्पाप्तमात्र होइन समस्याग्रस्त पनि छन् । पीडित महिलाले न्याय पाउन त्यति सजिलो छैन । न्याय पाउन कानुनी प्रक्रिया लामो र झन्झटिलो छ । पीडितको गोपनियताको प्रत्याभूति पनि राज्यले गर्न सकिरहेको छैन । मुद्दा अदालतमा पुगेपछि लगातार सुनवाईको व्यवस्था पनि छैन । क्षतिपूर्तिको प्रक्रिया लामो र क्षतिपूर्ति पाउन गा¥हो छ । धेरैजसो प्रहरी कार्यालयमा महिला प्रहरीको अभाव छ । त्यस्तै धेरै अवस्थामा पीडित नै असुरक्षित भइरहेका हुन्छन् । उनीहरू को सुरक्षाको व्यवस्था गर्न सुरक्षा संयन्त्र गम्भीर रहुन सक्नुपर्छ । पीडितको मात्रै होइन मुद्दाका साक्षीको पनि असुरक्षा हुन सक्छ । यस्ता विषयमा सरकारले तत्काल तदारुकता देखाए सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ । महिलाविरुद्धका अनेकन घटना सार्वजनिक भइरह“दा यस्ता विकृति रोक्न सरकारले के कार्यक्रम ल्याउँदैछ,? यो जनचासोको विषय हो । सचेत नागरिकका आ“खा सरकारको कदमतर्फ सोझिएका छन् ।
बलात्कारलाई कानुनले जघन्य अपराध मान्छ । यस्तो अपराधबारे हरेक समाज, हरेक व्यक्तिलाई कसरी बुझाउने ? मूल विषय यही हो । राज्यको भूमिकाले धेरै किसिमका असान्दर्भिक मूल्य मान्यता परिवर्तन गर्न, संशोधन गर्न, बन्देज गर्न सक्छ । समाजले सामान्य ढंगबाट बुझिरहेको विषयलाई राज्यले गम्भीर बनाइदिन सक्छ । बलात्कारको सवालमा पनि यही नियम लागू हुन्छ । कानुनले यसलाई गम्भीर अपराध त मानेको छ तर महिला तथा बालबालिकाको अधिकार र सुरक्षाबारेको आमधारणा हल्का छ । बहस सुरु भएको छ, तर, पर्याप्त छैन ।
समाजको ठूलो तप्कामा अहिले पनि महिलालाई निजी सम्पतिका रुपमा प्रयोग गर्ने सोच विद्यमान छ र महिला मात्र प्रयोगका सामग्री हुन भन्ने बुझाई छ । माथि उल्लेखित खण्डित भएका तीनवटै पूजा यस्तै बुझाईको परिणाम हो भन्दा फरक पर्दैन । सोचमा परिवर्तन आवश्यक छ । महिलाविरुद्धको हिंसालाई समाजले जबसम्म पुरै समाजको अपराधका रुपमा स्वीकार गर्दैन तबसम्म समस्याको यथोचित समाधान सम्भव छैन । महिलालाई दुखेको घाउ जबसम्म पुरुषलाई पनि दुख्दैन तबसम्म समाज सकसमा परिरहन्छ । माथि उल्लेखित तीनवटै घटनामा एक सामिप्य छ । त्यो के भने यी तीनवटै घटना काठमाडौ खाल्डाका होइनन् । दूरदराज क्षेत्रका हुन । यसै आधारमा एक प्रश्न सोध्न सकिन्छ, यी तीनवटै घाउको दुखाई राजधानीका वासिन्दालाई किन चहर्याएन ? ती तिनै वालिकाको अस्मिता लुटिँदा र कलैयाकी पूजाले देह त्याग्दा पनि राजधानीका वासिन्दा खासै संवेदनशील हुन सकेनन । यस्तै घटना राजधानीमा भएको भए के यहाँका वासिन्दा यसरी नै चूप लागेर बस्थे ? बाहिरका जनताले पटकपटक आरोप लागाउने गर्छन, राजधानीले हाम्रो आवाज सुन्दैन । राजधानीलाई हाम्रो दूख पीडामा छटपटी हुँदैन । राजधानीले के जवाफ दिने ? कलैयामा बेटी बचाउ आभियान जारी रहँदा एक स्थानीय महिलाले टेलिफोनमा सोधेकी थिइन, सरकारले हाम्रो कुरा सुन्दैन नै, हामीहरू को बेटी बचाउन काठमाडौका कसैले किन बोलिरहेका छैनन ? किन मिडिया पनि हाम्रो पीडालाई श्वर दिइरहेको छैन ? यो पंक्तिकारसँग कुनै जवाफ थिएन ।
No comments:
Post a Comment