Thursday, August 3, 2017

RTI-Role of Journo/JT


सूचनाको हक कार्यान्वयन् ः पत्रकारको भूमिका

धर्मेन्द्र झा


नेपालको लोकतन्त्र तथा स्वतन्त्रताको आन्दोलनमा नेपाली पत्रकारको भूमिका महत्वपूर्ण रहिआएको छ । आमनेपालीको अधिकारवहालीको आन्दोलनका पक्षमा पनि नेपाली प्रेसको भूमिका कसैबाट लुकेको छैन । राजन्नति तथा कानुनी संघर्षको माभ्यमबाट नेपाली प्रेसले सदैव सैद्धान्तिक वहस चलाउँदै आएको स्मरणीय छ । नेपाली प्रेसले विगतदेखि लोकतान्त्रिक समाज निर्माण, प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन र जनतालाई सुसूचित बनाउने दिशामा निर्वाह गर्दै आएको भूमिका त निर्वाह गर्दै आएको छ नै सँगै आफ्ना बिशिष्ट मान्यताका कारण नेपाली समाजमा वहुआयामिक  प्रभाव पनि पार्दै आएको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रताको बलियो पक्षपाती भएका कारण लोकतान्त्रिक आन्दोलनहरुमा नेपाली प्रेसको अग्रणी भूमिका रहँदै आएको छ । नेपालका पत्रकारले आफूलाई लोकतन्त्र, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, विधिको शासनको पक्षमा उभ्याउँदै आएको छ । यस्तै एक आयाम हो, सूचनाको हक ।
सूचनाको हकलाई संविधानमै व्यवस्था गरी मौलिक हकका रुपमा स्थापना गर्न नेपाली पत्रकारले  विगतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । नेपाली पत्रकारले ऐन तर्जुमाका सन्दर्भमा अभियान नै सञ्चालन गरेको स्मरणीय छ । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले सूचनाको हकसम्बन्धी कानुनको मस्यौदा निर्माण गर्न पनि भूमिका निर्वाह गरेको ज्ञातव्य छ । यस आधारमा यहाँका पत्रकारले नै तयार गरेको पहिलो गैरसरकारी मस्यौदालाई नै टेकेर अहिलेको सूचनाको हकसम्बन्धी ऐन २०६४ आएको हो । यसैगरी सूचनाको हकसम्बन्धी नियमावली २०६५ को मस्यौदा तयार गर्न पनि नेपाली पत्रकारले निर्णायक भूमिका निर्वाह गरेका हुन् ।
यही कारणले पनि हुन सक्छ सूचनाको हकसम्बन्धी ऐनमै पत्रकार महासंघको भूमिका निर्दिष्ट गरिएको छ । सूचनाको हकसम्बन्धी कानु्नको कार्यान्वयन गर्न गठन भएको स्वतन्त्र निकाय राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तहरु चुन्ने संरचनामा पनि ऐनअनुसार पत्रकार महासंघ सदस्यका रुपमा सहभागी हुँदै आएको छ ।

सारमा पत्रकार जगत सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयको सवालमा एक बलियो हिस्सेदार संस्था हो । अझ, यो संस्थनको संरचना हेर्दा देशभर यसका शाखाहरु रहेका छन् । आफ्ना शाखाहरु मार्फत सूचनाका हकको कार्यान्वयनका सन्दर्भमा यो संस्थाले महत्वपूर्ण  भूमिका निर्वाह गर्न सक्दछ । यही महत्वलाई दृष्टिगत गरी सूचना आयोगले महासंघसँग सहकार्य गर्दै आएको छ । यस आधारमा महासंघ सूचना आयोगको विशिष्ट सहयोगी संस्था हो भन्न सकिन्छ । पत्रकार महासंघमा आवद्ध नभएर पनि एक पत्रकारले यो हकको कार्यान्वयन्मा निर्णायक भूमिका निर्वाह गर्न सक्दछ ।

पत्रकारले निर्वाह गर्न सक्ने भूमिकाहरु निम्न हुन सक्छन् ः
१ प्रचारात्मक ः सूचनाको हकसम्बन्धी कानुन जारी भई लागू भएको एक दशक पुग्दा पनि अपेक्षित रुपमा त्यसको व्यवहारिक प्रयोग हुन सकेको छैन । त्यसको एउटा कारण भनेको यो कानुनका बारेमा नागरिक तहमा पर्याप्त जानकारी नहुनु हो । त्यसकारण पत्रकारले नागरिक संवादका माध्यमबाट यो कानुनका बारेमा प्रचारात्मक अभियान थाल्न सक्छन् ।

२ प्रयोग प्रक्रियामाथि छलफल ः कानुनको प्रयोग कसरी गर्ने ? भन्ने बिषयमा पनि पर्याप्त छलफल आवश्यक छ । यो कानुनको प्रयोग नागरिकले आफै गर्नुपर्ने हो । यो कानुनको प्रयोग गर्दा कोहीसँग अनुमती वा ठूलो सहयोग लिनु पर्दैन र पैसा लाग्दैन भन्ने बिषयमा पनि छलफल चलाउन पत्रकारको सहयोग आवश्यक छ । यो कानुनको प्रयोग गर्दा हुने लाभबारे जनतालाई जानकारी गराई जनताबीच संवाद चलाउन नेपाली प्रेसको भूमिका महत्वपूर्ण हुन्छ ।

३ समन्वयकर्ताको भूमिका ः नागरिकलाई सार्वजनिक निकायबाट सूचना माग गर्दा लेखिने निवेदनको ढाँचा उपलब्ध गराउने र सूचनादातालाई सूचना उपलब्ध गराउनका लागि प्रेरित गर्ने खालको भूमिका पत्रकारले खेल्न सक्छन् । सूचना दिँदा कानुनको सम्मान गरेको हुन्छ भने लुकाउँदा समस्या आउँछ भन्ने जानकारी पत्रकारले प्रभावकारी ढंगले प्रसार गर्न सक्दछ । प्रेसले सूचना उपलब्ध गराउन सार्वजनिक निकायलाई पनि घचघच्याएर समग्रमा समन्वयकारी भूमिका निर्वाह गर्न सक्दछ ।

४ अनुगमनकर्ताको भूमिका ः सूचनाको हकसम्बन्धी ऐन र त्यसअन्तरगतका नियमावली, कार्यविधिहरुले गरेका व्यवस्थाहरुको सार्वजनिक निकायमा कार्यान्वयनको अवस्था, सूचना अधिकारी तोकिए नतोकिएको, तिन तिन महिनामा सूचना स्वतः सार्वजनिक गरे नगरेकोजस्ता कुराहरुका बारे पत्रकारले अनुगमन गर्न सक्दछ ।

५ आफै मागकर्ताको भूमिकामा ः पत्रकारले आमजनतालाई सूचनाको हकको प्रयोग गर्दै सूचना माग गर्ने संस्कृतिको विकासका दिशामा अभिपे्ररित गरी ऐन कार्यान्वयनमा टेवा पुराउन त सक्दछ नै सँगै यसै आधारमा समाचार लेखेर पनि सुशासन स्थापना अभियानलाई हौस्याउन सक्छ ।

६ अनुसन्धानात्मक रिपोर्टिङमा सूचनाको हक ः पत्रकारले आफूले सञ्चालन गर्ने तालिमहरुमा अनुसन्धानात्मक रिपोर्टिङका क्रममा सूचनको हकको प्रयोगको महत्वलाई बिशेष महत्व दिएर यसको प्रयोगको दायरालाई अझ व्यापक बनाउन सक्दछ ।

७ः हेल्प डेस्क सञ्चालन ः पत्रकार र पत्रकारितासँग आवद्ध संघ संस्थाका प्राय सबै जिल्लामा आफ्नै कार्यालय छन् । सूचना लिने दिने प्रक्रियामा सघाउन र यो बिषयमा जानकारी लिन चाहनेहरुलाई सहयोग पुर्याउनका लागि यस्ता संघ संस्थाले आफ्नै कार्यालयमा  हेल्प डेस्क समेत सञ्चालन गर्न सक्छ ।

८. विधिकोे शासनसम्बन्धी अवधारणा कार्यान्वयन् गरेर ः पत्रकारले पत्रकारिता गर्दा उसले एक विशिष्ट  उद्देश्य राखेको हुन्छ, विधिको शासनको स्थापना । निश्चय पनि यो मान्यता कार्यान्वयन्का दिशामा सूचनाको हक भूमिका अत्यन्त महत्वपूर्ण हुन आउँछ । यस आधारमा पत्रकारलेले सूचनाको हक कार्यान्वयन्मा जोड दिएर समग्रमा विधिको शासन स्थापनामा जोड दिन सक्दछ ।

९. सुशासन कार्यान्वयन् ः सुशासन आमजनताको प्रमुख सरोकारको विषय हो । आमजनताले आफ्ना आवश्यकताका काम कार्यवाही सार्वजनिक निकायबाट छिटो छरितो र सजिलो तरिकाले सम्पादन होस भन्ने चाहन्छन् । यसका लागि सार्वजनिक निकाय भ्रष्टाचारहित, जनउत्तरदायी, पारदर्शी र जिम्मेबार हुनुु आवश्यक छ । यो अवस्थाको निर्माणमा सूचनाको हकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएको हुँदा प्रेसले यस कानुनको पैरवीकर्ताका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
नोट ः लेखक झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ ।
जनकपुर टुडे ः २०७४ असार ९

No comments:

Post a Comment