Monday, March 28, 2016

Blog/FNJ

पत्रकार महासंघको स्थापना दिवस र आजको दायित्व

धर्मेन्द्र झा

नेपाल पत्रकार महासंघ, नेपाली पत्रकारहरुको छाता संगठन हो । आज चैत १६ । यो संगठनको स्थापना दिवस । नेपालका पत्रकारले बडो श्रद्धा र आस्थापूर्वक महासंघको स्थापना दिवस मनाउने गर्दछन् । यसैसन्दर्भमा आज नेपालका पत्रकारहरु विविध कार्यक्रमको आयोजना गरी आफ्नो संगठनको स्थापना दिवस मनाइरहेका छन् । तिथि गणनाका हिसावले यस वर्ष महासंघको ६१औं स्थापना दिवस हो ।

स्वाभाविकरुपमा सरकारी स्तरवाट कुनै विशेष कार्यक्रमको आयोजना नगर्ने गरिए पनि प्रेस जगतसँग सम्बद्ध संस्थाहरु, खासगरी नेपाल पत्रकार महासंघ र यसमा आवद्ध पत्रकारहरु, ले आजको दिनलाई उत्सवका रुपमा मनाउँदै आएको वर्षौं भइसक्यो । यो दिनमा स्वतन्त्र प्रेसको महत्व, भूमिका र व्यवधान र तिनका सम्भावित समाधानबारेमा बहस र चर्चाहरु गर्ने गरिन्छ । प्रेस स्वतन्त्रतामाथिका  चुनौतिहरुको पहिचान गरी तिनको निराकरणको मार्ग पहिल्याउने प्रयोजनका लागि प्रतिवद्धता व्यक्त गर्ने सन्दर्भमा आजको दिन महत्वपूर्ण छ ।


अहिलेसम्मको प्राप्य साक्ष्य र प्रमाणहरुका आधारमा अहिलेको नेपाल पत्रकार महासंघ, २०१२ साल चैत १६ गते स्थापित नेपाल पत्रकार संघको निरन्तरता हो । यसै दिन कृष्णप्रसाद भट्टराई, जो कालान्तरमा नेपाली कांग्रेसका सभापति र देशका प्रधानमन्त्री पनि भए, को संयोकत्वमा नेपाल पत्रकार महासंघको स्थापना भएको थियो । तर पछिल्ला दिनमा यसको संस्थापक र स्थापना दिवसका सन्दर्भमा अनेकनको वखेडा झिक्दै अनर्गलको प्रलाप गर्ने काम भयो जो दुखद छ । यस सम्बन्धमा स्थापनाको छ दशकसम्म कुनै विवाद झिक्ने काम नहुनु र पछिल्लो वर्ष एकाएक यससम्बन्धमा दन्तबझानको अवस्था उत्पन्न गर्नुलाई स्वाभाविक मान्न सकिन्न । अझ अचम्म त के भने दन्तबझानको यो अभियानको नेतृत्वमा कुनै न कुनैरुपमा सरकार नै संलग्न देखियो । पूर्ववर्ती सरकारले महासंघका संस्थापक भट्टराईको नाममा स्थापना गर्ने भनी निर्णय गरेको आमसंचार प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्तनको विषयमा चर्चा चलाएर यो सरकारले विवादलाई आकार प्रदान गर्ने प्रयत्न गरेको थियो । जो अहिले सेलाएझै देखिएको छ ।

यो वहसमा केही स्वनामधन्य पत्रकार, विज्ञ र वौद्धिक जगत पनि सहभागी थिए । यो विवादलाई चर्काउने खोज्नेहरु केहीेले नेपाल पत्रकार संघको स्थापना २००८ सालमा सत्यनारायणवहादुर श्रेष्ठको संयोजकत्वमा भएको भन्दै २००८ साललाई स्थापना दिवस र श्रेष्ठलाई संस्थापक मान्नुपर्ने तर्क प्रस्तुत् गर्ने गरेका छन् । यस तर्कमा केही सत्यता भए पनि हालको नेपाल पत्रकार महासंघको सन्दर्भमा यसमा पूर्ण सहमति जनाउन सकिँदैन । श्रेष्ठको संयोजकत्वमा गठित संस्थाले निरन्तरता प्राप्त गर्न सकेन र केही समय सञ्चालनभएर बन्द भएका आधारमा २००८ सालको पक्षमा तर्क गर्नेहरुसँग सहमति जनाउन सकिँदैन । श्रेष्ठको संघ निष्क्रिय भएपछि २०१२ सालमा भट्टराईको संयोजकत्वमा अर्को संघ गठन भएको हो जसलाई अघिल्लो संघको उत्तराधिकारवाला निरन्तर संस्थाका रुपमा स्वीकार गरिएको छैन । हालको नेपाल पत्रकार महासंघ भने भट्टराईको संघको अविच्छिन्न उत्तराधिकारवाला निरन्तररुपमा अस्तित्वमा रहेको संस्था हो । श्रेष्ठ र भट्टराइको बीचको अवधीमा पनि पत्रकार संघका नाममा केही गतिविधि संचालित भए तर त्यसको उल्लेख यहाँ आवश्यक छैन ।

विगतमा महासंघलाई स्थापनाको यो विवादमा तान्ने निरन्तर प्रयास भएको हो तर महासंघका अडानका कारण त्यस्ता प्रयासहरु असफल भएको यहाँ स्मरणीय छ । त्यस्ता प्रयासमा सक्रियहरुलाई महासंघले चैत १६ मै स्थापना दिवस मनाउनेसम्बन्धी निर्णय गरेर यसपटक पुनः दरो झापड प्रहार गरेको छ । महासंघले आफ्नो पछिल्लो निर्णयबाट पत्रकारिताका नाममा राजनीतिक स्वार्थसिद्ध गर्ने खोज्नेहरुलाई प्रहारमात्र गरेको छैन बरु एउटै निर्णयबाट आफ्नो इतिहास, कालजयिता, निरन्तरता र अक्ष्क्षुणताको रक्षा गर्न पनि सफलता प्राप्त गरेको छ । धेरैलाई लागेको हुन सक्छ, महासंघलाई कुनै खास भावनाका आधारमा प्रभावित गर्न सकिन्छ । कुनै वादको सीमित घेरामा महासंघलाई बाँध्न सकिन्छ भन्ने पनि धेरैको सोच हुन सक्छ तर महासंघले इतिहासलाई निरन्तरता दिँदै चैत १६ लाई नै स्थापना दिवसका रुपमा मनाउने जुन निर्णय गरेको छ त्यसबाट यससम्बन्धमा पछिल्ला दिनमा सिर्जना गराइएका सबैखाले विवाद र माथिका विकृत सोचहरु एकैपटक खारेज हुन पुगेका छन् ।  अब यससम्बन्धमा विवाद र तर्क गरिरहनुको कुनै औचित्य नभएको आज नेपाली पत्रकारले महासंघको स्थापना दिवस मनाइरहेको क्षणले एकपटक पुनः पुष्टि गरेको छ ।     

यो दिवस मनाइरहँदा, राज्य र सरकारलाई प्रेस स्वतन्त्रता तथा सूचनाको हकको व्यवहारिक सुनिश्चितताका लागि सचेत र खबरदारी गराउने दिवसका रुपमा पनि स्मरण गर्नु आवश्यक छ । पत्रकारहरुको दायित्व र जिम्मेवारी सम्झाउदै सूचना प्रवाहको काम नागरिक अधिकारसँग जोडिएको बिषय हो भनेर पनि सम्झनु र तदनुरुपको लक्ष्यप्राप्त गर्न आवश्यक प्रतिवद्धता व्यक्त गर्न पनि आजको दिनले घचघच्याउँछ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् प्रेस स्वतन्त्रताको संवैधानिक र व्यवहारिक सुनिश्चितता, नागरिक स्वतन्त्रताको रक्षाका लागि सशक्त अभियान, संविधानको कार्यान्वयन्का लागि सार्थक दबाब तथा शान्ति र विकासका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता हाम्रा सैद्धान्तिक आधारहरु हुन् । यिनै सिद्धान्तहरुमा टेकेर नै पत्रकार महाहांघले आफ्ना सबै प्रकाका अभियान सञ्चालन गर्नु जरुरी छ ।

नेपाली पत्रकारहरुको साझा संस्था भएका कारण नेपाल पत्रकार महासंघले माथि उल्लेख गरिएका दायित्वलाई संगठित र स्पष्ट दृष्टिकोणका साथ वहन गर्ने प्रण गर्नु आवश्यक छ । यो महान दिवसको चर्चा गरिरहँदा नेपाल पत्रकार महासंघ नेपालमा व्यवाहारिक रुपमा प्रेस स्वतन्त्रताको अनुभूति दिलाउने कामका लागि कसरी उभिन सक्छ भन्ने बहस चलाउनु पनि उत्तिकै जरुरी छ ।  पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको अवस्था नै चिन्ताजनक रहेको अवस्थामा यो क्षेत्रलाई बलियो बनाउन कठिन छ । तर पनि, यो कठिनाईलाई सहजतामा रुपान्तरण गर्ने अभियानमा पत्रकार माहासंघ अग्रसर हुनुपर्दछ । स्वतन्त्र र व्यावसायिक सञ्चार माध्यमलाई सशक्त बनाउने कार्य नै सञ्चार संस्कृति प्रवद्र्धनको दिगो मार्ग हो । यो संस्कृतिका माध्यमबाट सामाजिक एकता, सामाजिक रुपान्तरण र विकासको अभियानमा योगदान दिन सकिन्छ । स्थापना दिवसकै सम्बन्धमा अनाहकको वखेडा झिकेर माथिका चर्चा गरिएका कालजयी लक्ष्य प्राप्त गर्न सकिँदैन सबैले बुझ्नु अपरिहार्य छ ।  










No comments:

Post a Comment