Thursday, August 3, 2017

Janakpur Health/JT



जनकपुरमा स्वास्थ्य अधिकार संरक्षणको सन्दर्भ

धर्मेन्द्र झा

संयुक्त राष्ट्र संघबाट जारी दीगो विकास लक्ष्य (एसडिजि)लाई आज संघका सबै सदस्य राष्ट्रले स्वीकार गरिसकेका छन् । विगतमा सहस्राव्दी विकास लक्ष्य (एमडिजि) निर्धारण गरिएकोमा पछिलो दिनमा परिमार्जन गरी एसडिजिको अवधारणा सार्वजनिक गरिएको छ । एसडिजि अहिले विश्वभरि नै चर्चाको विषय बनेको छ र सबै राष्ट्रले यसलाई कायान्वयन् गर्ने लक्ष्य राखेका छन् र यसैअनुसार आफ्ना नीति तय गरिरहेका छन् । नेपाल पनि यसको अपवाद छैन । यहाँ पनि एसडिजिलक्षित कार्यक्रमहरुको तर्जुमा भइरहेको छ । यसमा सरकारी र गैरसरकारी दुवैथरि संघ संस्था सक्रिय रहेको पाइएको छ । विशेषतः विदेशी दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले यसलाई निकै महत्व दिई यसैअनुरुपका कार्यक्रम तय गरी कार्यान्वयन् गर्ने प्रयास गरिरहेका छन् । अर्थात हालका दिनमा उनीहरुको प्राथमिकता एसडिजिकेन्द्रित कार्यक्रमहरु हो । तर प्रश्न उठ्छ सरकारी र गैर सरकारी स्तरबाट सञ्चालन भइरहेका यस्ता कार्यक्रमहरुको परिणाम के प्राप्त भइरहेका छन् ? यी कार्यक्रमहरु कहाँ सञ्चालित छन् ? र कसलाई सहभागी बनाइएको छ ? लक्षित वर्ग को हुन ? यस्ता कार्यक्रमको अनुगमन कसले गरिरहेको छ ? उपलब्धि के भए ? यस्ता अनेक प्रश्न तेर्सिन सक्छन् र यसको सुची अझै लामो हुन सक्छ । यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने एसडिजिका सम्बन्धमा जनस्तरसम्म जानकारी र चेतना प्रसार गर्न सकिएको छैन । अहिले स्थानीय तहको कार्यान्वयन्का सन्दर्भमा एसडिजिको विषय निकै महत्वपूर्ण छ । एसडिजिमा कुल १७ वटा लक्ष्य निर्धारण गरिएका छन् । यहाँ यसमध्ये दुईवटा, लक्ष्य तीन र छ, का बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । त्यो पनि जनकपुरका सन्दर्भमा । लक्ष्य तीनमा सुस्वास्थ्य तथा समृद्ध जीवनको उल्लेख गरिएको छ । यस लक्ष्यअन्तर्गत सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ्य जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवद्र्धन गर्ने सोच विकसित गरिएको छ । यसैगरी लक्ष्य छ मा स्वच्छ पिउने पानी तथा सरसफाईको उल्लेख गरिएको छ । यस लक्ष्यअन्तर्गत सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दीगो व्यवस्थापन सुनिश्चित गर्ने सोच राखिएको छ ।

वस्तवमा हेर्ने हो भने यी दुवै लक्ष्य मानिसको स्वास्थ्यसँग जोडिएको छ । पहिलोले स्पष्ट शव्दमा स्वस्थ्य समृद्ध जीवनको परिकल्पना गरेको छ भने दोस्रो लक्ष्यले स्वस्थ्य रहन आवश्यक पर्ने स्वच्छ पानीको व्यवस्थापनको परिकल्पना गरेको छ । सारमा यी दुवै लक्ष्यले स्वस्थ्य मानव सभ्यताको परिकल्पना गरेको भन्न सकिन्छ । विडम्वना, जनकपुरको वर्तमान अवस्था यी दुवै लक्ष्यको प्रतिकूल छ । माथिका मध्ये कुनै पनि लक्ष्यप्राप्तिको सम्भावना आधुनिक जनकपुरमा तत्काल देखिँदैन । जनकपुर नगर क्ष्ोत्र र वरिपरि फैलिएको फोहर, दुर्गन्ध, प्रदूषित वातावरण, अशुद्ध र ढलमिश्रित प्रदुषित खाने पानी, खाने पानीमा आर्सेनिकको बढदो मात्रा, कमजोर स्वास्थ्य अवस्था, उपचारको अप्राप्य अवस्था, स्वास्थ्य संस्थाहरुको लाचारीपन आदी यस्ता केही प्रतिनिधिमूलक अवस्था हुन् जसले जनकपुर र आसपासको स्वास्थ्य अवस्थाको नांगो चित्रको चित्रण गर्दछ ।
लोकतन्त्रमा व्यक्तिले थुप्रै प्रकारका मौलिक अधिकार प्राप्त गर्ने अपेक्षा गरिन्छ । यसैमध्येको स्वास्थ्य अधिकार पनि एक हो । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य अधकारबारे स्पष्ट उल्लेख गरिएको छ । यस धाराको उपधारा १ मा देशका प्रत्येक नागरिकलाई राज्यबाट अधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार छ र कुनै पनि नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ । यसै गरी उपधारा २ मा प्रत्येक व्यक्तिलाई स्वास्थ्य सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा उसको स्वास्थ्य अवस्थाबारे सुसूचित हुने अधिकार छ भन्ने कुरा उल्लेख गरिएको छ । यस्तै उपधारा ३ मा स्वास्थोपचारका सम्बन्धमा प्रत्येक व्यक्तिलाई समान पहुँच उपलब्ध रहेको कुरा उल्लेख छ भने उपधारा ४ मा प्रत्येक नागरिकलाई सफा पानी र सरसफाईको अधिकार छ भन्ने उल्लेख गरिएको छ । संविधानको यो प्रावधानले प्रत्येक नेपालीको स्वस्थ्य जीवनको प्रत्याभूति गरेको मान्न सकिन्छ । गहिरिएर विश्लेषण गर्ने हो भने संविधानका यी सबै प्रावधानले एसडिजिको लक्ष्य तीन र छ मा उल्लेखित लक्ष्य प्राप्त गर्ने आकांक्षा राखेको मान्न सकिन्छ । यस्तोमा प्रश्न उठछ, सिद्धान्ततः स्वस्थ्य शरीर र स्वस्थ्य जीवनको यति उदार दृष्टिकोणको संविधानमै व्यवस्था गरिए पनि व्यवहारमा कति सफल प्राप्त गर्न सकिएको छ् ? उत्तर स्वाभाविकरुपले प्राप्त हुन्छ, यी संवैधानिक व्यवहारहरु व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन । यस सन्दर्भमा जनकपुरको स्वास्थ्य अवस्था त अझ उदेकलाग्दो छ । यहाँको वर्तमान स्वास्थ्य अवस्था हेर्दा लाग्दछ, यहाँ राज्यको कुनै पनि प्रकारको उपस्थिति छैन ।
यहाँ विगतको अञ्चलस्तरीय हैसियतको अस्पतालको उपस्थिति छ । विगतमा जनकपुर अञ्चलका धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीका साथै आसपासका सिरहा, सप्तरी, उदयपुर, रौतहट र कतिपय सन्दर्भमा सीमा पारी भारतका जनतालाईसमेत यस अस्पतालले स्वास्थोपचार सेवा उपलब्ध गराउँदै आएको थियो र यो सेवाको स्तर राम्रै मानिन्थ्यो । तर हालका दिनमा यस अस्पतालको अवस्था अत्यन्त दयनीय बन्न पुगेको छ । यसले एकातिर भौगोलिकरुपमा विगतमा उपलबध गराउँदै आएको स्वास्थ्य सेवाको आकार घटाएको छ । त्यही अर्कोतिर जतिलाई यसले स्वास्थ्योपचार सेवा उपलब्ध गराउँदै आएको छ त्यसको स्तरीयता निकै ओरालो लागेको गुनासो छ । विगतको तुलनामा यस अस्पतालको भौतिक संरचना विस्तार र आधुनिक स्वास्थ्य उपकरणको संख्यामा वृद्धि भएको भनिए पनि त्यसको सकारात्मक प्रभाव यहाँको जनताको स्वास्थ्यमा परेको अनुभव गर्न सकिएको छैन । पछिल्लो दिनमा यस अस्पतालको अवस्थामा सुधार गरिनुपर्ने र यसका सेवालाई स्तरीय बनाइनुपर्ने माग गर्दै स्थानीय पत्रकार र नागरिक समाजको अगुवाईमा एक किसिमको अभियान सञ्चालन गरिएको छ । उनीहरुका अनुसार यस अस्पतालमा नयाँ विद्यार्थी सिकारु प्रशिक्षार्थी डाक्टरका भरमा वहिरंग सेवा सञ्चालन गर्ने गरिन्छ । यस्तै अन्तरंग सेवामा डाक्टरको अनुपलब्धता, ड्युटी डाक्टरको अनुपलब्धता, यहाँका डाक्टरको निजी क्लििनिकहरुप्रतिको बढदो मोह, प्याथोलोजी, एक्सरे र भिडियो एक्सरेजस्ता परीक्षणीय सेवाको अप्राप्यतताजस्ता आरोप पनि यहाँको पुरानो अस्पतालमाथि लगाइएको छ । यसमा सत्यता कति छ, त्यसको परीक्षण हुनै पर्छ र सत्यता छ भने जनताको स्वास्थ्यसँगको खेलवाडको अवस्थाको अन्त्य गरिनुपर्छ । यस्ता आरोप तथ्यमा आधारित छैनन् भने यस्ता गुनासोकर्ताको सम्बोधन पनि जरुरी छ ।  तर यसका लागि अस्पताल आधिकारिक प्रमाणका साथ प्रस्तुत् हुनु वाञ्छनीय छ । यतिमात्र होइन स्थानीय एक पत्रकारद्वारा अस्पतालको तथ्यांकको हवाला दिँदै सामाजिक सञ्जालमा यस अस्पतालमा उपचार गराउन आएकामध्ये गत चार वर्षमा चार सय ७५ जनाको मृत्यु भएकाो दावी गरिएको छ । यो तथ्यांक साँच्चै सत्य हो भने यो अत्यन्त भयानक अवस्था हो, यस अवस्थामा तत्काल अन्त्यको प्रयास गरिनुपर्छ ।
सारमा जनताको स्वास्थ्य अत्यन्तै महत्वपूर्ण छ । यसमा कुनै पनि वहानामा खेलवाड गरिनु हुँदेन । एउटा जनसामान्यका लागि स्वास्थ्य नै सम्पति हो । स्वस्थ्य सम्पति नै उसको जीवनको र जीविकोपार्जनको आधार हो । यसमा कुनै पनि वहानामा वा कुनै पनि प्रकारले गिरावट आउँछ भने त्यसलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन । यसको जिम्मेबारी स्वभाविकरुपमा स्थानीय प्रशासन र राज्यले लिनु पर्दछ । यसै सन्दर्भमा विगतमा तात्कालीन स्वास्थ्यमन्त्री गगन थापाका स्वास्थ्य सल्लाहकार डा रामेश कोइराला नेतृत्वको एक समितिले यस अस्पतालको स्थलगत अध्ययन् भ्रमण गरेको स्मरणीय छ । यस समितिले अस्पतालको सुधारका लागि केही सुझाव दिएको थियो । यस्तो सुझवमध्ये केही केन्द्रले र केही स्थानीय स्तरमै कार्यान्वयन् गरिनुपर्ने भन्ने भनिएको थियो । विडम्वना नै मान्नुपर्छ सुधारका यी सुझावहरु कर्यान्वयन्मा आउन सकेका छैनन् । यी सुझाव कार्यान्वयन्को प्रयास गरिएका खण्डमा पनि अस्पतालको वर्तमान अवस्थामा निकै सुधार आउन सक्ने अपेक्षा गर्न सकिन्छ । निश्चय पनि यी सुधारले स्थानीय जनताको स्वास्थ्य अधिकारको संरक्षणको दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास गर्न सकिन्छ ।
जनकपुर टूडे ः ६ साउन २०७४  

No comments:

Post a Comment