Tuesday, August 15, 2017

Letter From Madheshiya to Leader/NT

नेताजीलाई मधेशीयाको चिट्ठी

धर्मेन्द्र झा

परमादरनी नेताजी हरु
जय नेपाल, लाम सलाम, जय रास्टरवाद, जय जनता, जय देश, जय मधेश, जय पहाड, जय हिमाल आ सबैलाई नमस्कार
हामी अहिलेसम्म आरामै छु आ आश गर्छु कि तपाईहरु पनि भगवान पशुपतिनाथ आ माता जानकीको किरपाले आरामै हुनुहोला । हजुर, देश र मधेशको बारेमा यहाँहरुलाई सबै थाहा नै होला । हजुरहरु त कलियुगको भगवानजस्तै न हो, सबै कुरा थाहा हुन्छ तर सबैले बुझेर पनि पचाइलिन्छ ।
नेताजीहरु मधेशको हालत धेरै ठीक छैन । हाम्रो मधेशमा केही दिन पहिला बहुत पानी परेको थियो । त्यसले बाढी आयो आ सपतरी जिलाको धेरै गाममा बडो ठूलो समस्या भइगयो । तर सरकारले केही पनि गरेन । अरु दलका नेताले पनि हेरेन । आ सपतरीका मधेशीयाहरु त्राहिमाम गरिरहेछ । अन्न छैन । रोग लागेको छ तर दवाई छैन । डाक्टरो पनि छैन । चारोतरफ गन्दैगन्दा छ । सबैतिर गन्हाउँछ ।  जानलेवा महामारी रोग पसरिन्छजस्तो लागेको छ हजुर । रस्ता—पेडा, बाट—घाट सबै भसियाइगएको छ । तहसनहस भइगएको छ । बीच सडकमा बडकाबडका खधिया छ । न गाडी चल्छ आ ने पैदले चल्न सकिन्छ ।

अर्कोतरफ बाँकी जिला रौदकिो शिकार भएको छ । राम्ररी वर्षा भएको छैन । हामीहरुतिर सिँचाइको कुने वेवस्था छैन । पुरानो जमानाको नहरहरु त थियो तर त्यो सबै वलुवाले भोथाइ ग्एको छ । यो वर्षातको सिजनमा पनि त्यो नहरमा पानी छैन, वलुवै वलुवा छ । यस्तोमा कोस्चन छ, हामी खेती कसरी गर्छु ? सबै जमिनमा दरारि फाटेको छ । धानको लागि लगाएको वीया सबै जरेको छ । रोपनी कसरी गर्ने हजुर ? बडा समस्यामा छु हामी । हामीले सुनेको छु, किरसी मन्त्री र खानेपानी तथा सफाई मन्त्री हाम्रै मधेशीया हो । सफाइ मन्त्री त जनकपुर आयो आ आउने वित्तिकै गइहाल्यो, भन्यो काठमाडौमा बडाजोरको काम छ । आ किरसी मन्त्रीको दरशन भएको छैन । ओ यहाँ आएको छैन । आ हँ, हामीले सुनेको सहरी मन्त्री जी पनि आएथियो । हजुर हामी त गाउँमा बस्छु । आ शहरी मन्त्रीको काम त खाली सहरेमा छ ।
ए हजुर कसलाई भन्ने आ नभन्ने । हाम्रो छौंडा कतार हो कि दुवई कहाँ गएको छ । बडा चिन्ता फिकिर छ । सँधै रेडियोमा सुन्छु त्यो ठाउँहरुमा बडा बखेडा हुन्छ । मान्छी पनि मर्छ आ लहासलाई जहाजमा लेआउँछ । हाम्रो देशमा छोराले नोेकरी चाकरी पाएन । पाएको भए तेहाँ जाँदनथ्यो हजुर । के गर्ने हजुर, हाम्रो छोराले राम्रो पढने मौका मिलेन । हाम्रो गाममा इस्कुल पनि थिएन । हामीसँग ढेरै पैसा थिएन । तेसैले जनकपुरमा राखेर अंगरेजी इस्कुलमा पढाउन पाएन । मुरखहवाले कहाँ नेपालमा नोकरी पाउँछ । हरदम प्रान अटकल रहन्छ हजुर । मैले भनेको, नेताजीहरु हमरै देशमा यस्तो कुनै उपाय लाग्दैन कि मेरो आ आनोको बचचाबच्चीले तेहाँ जानै नपरोस, राम्ररी पढोस आ यहीँ नोकरी गरोस ।  सोच्नुस हजुर ।
हजुर हामी परिचय, अधिकार, नगरिकता, समावेशीको बारेमा बडकाबडका कुरा सुन्छु । हाम्रो गाउँको नेताजीले पनि टोलमा बडका भाषण गर्नुहुन्छ । हजुर साँच कहुँ त हामी तेती बुझ्दैन । हामीले देखेको आ भोगेको हा,े मधेशमा बडा बडा अन्दोलन भयो हजुर र अन्दोलनकारीहरु मरियो पनि । चोटो लागियो । तिनको के भयो हजुर ? माग त कसैले पूरा गरेन आ वेकारमा उ हरु मरिगयो ? म कोश्चन गर्छु हजुर, तेसको जिम्बारी कसले लिन्छ ?
हाम्रो आस पडोसमा पहिला बडा बडा जंगल थियो । टोकक टोक गाछी थियो । अहिले सब उजाड भइगएको छ । किन भयो हजुर तेसतो ? ढेर मान्छीलाई सोधेको मैले कसैले बताउँदैन । तपार्इँहरु त नेता जी हुनुहुन्छ । सबै कुरा बुझ्नुुहुन्छ । बताइदिनु होला । बात एतबे होइन । पहिला हामीकहाँ बडा पानी थियो । जहाँ जमिन खोध्थ्यो पानीयै पानी मिल्थ्यो । अहिले त खानेका लागि पनि पानी पाइँदैन । मेरो गाममा एकजना पतरकारले भन्दैथ्यो, पहिला यहाँ चालीसै फिटमा पानी पाइन्थ्यो आ अहिले त चार सओ फिटमा पनि पानी पाइँदैन । किन तेस्तो भयो हजुर ? हजुरहरु त सरवज्ञाता, सबै मालुमै छ । किरपया बताइदिनुस हजुर । म पनि ग्यान लिएर अरुलाई बताउँछु ।
हजुर, कुरा त ढेर गर्ने मोन छ । तर हजुरलाई चुनाव लागेको छ । समयको अभाव छ । हँ हजुर मैले सम्झिएँ । चुनावमा यसपटक के के लिएर आउनुहुन्छ ? हजुरहरु त परचार गरिरहनुभएको छ । हाम्रो गाउँमा कहिले आउनुहुन्छ हजुरहरु ? सबै नेता आउँछ आ वजारैबाट गइहाल्छ । हाम्रो गाममा केओ आउँदैन । कसैले हम्रो बात सुन्दैन । खाली नेताले नेताको कुरा सुन्छ आ तेतै ओझराइहाल्छ । म भन्छु, हजुरहरु हाम्रो गाम आउनुस आ हाम्रो कुरा सुन्नुस । तब मालुम हुन्छ मधेशले के चाहेको छ ? मधशीयाले के खोजेको छ । अरु केही चाहेको छैन हजुर । बस नुन रोटीको जोगाड, भेदभावविना नोकरी चाकरीको वेवस्था, सुविस्ताको जिनगी, दू सूत कपडा, गाममा इस्कुल, बाट—घाट, खानेको लागि पानी, खेतमा सिँचाई, गाम टोलमा सरसफाई आ अस्पताल, चारुतरफ हरियाली, नदीमा बान्ह । मुख बात सम्मान आ मर्यादा, एतबे चाहेको हो हजुर हामीले । आ नवका जमाना छ, हामीले त पाएन तर हाम्रो छोरा छोरी आ नाती नातिनीले जमानअनुसारको शिक्षा आ के भन्छ इन्टरनेट गामैमा जोडवाइदिनुस । यसपटकलाई हामीलाई पुगिहाल्छ ।
ए हजुर, चुनावको परचार गर्दै हुनुहुन्छ, ई सब बात उठेको छ कि छैन ? चुनावको मतलब खाली हामीले भोट दिने आ तपाइँहरुले राजमात्रै गर्ने हो ? अरे लोकतन्त्र छ हाम्रो नेपालमा । हमरो बात पनि सुन्नुस, होइन भने हामी तपाइँलाई किन भोट हाल्ने ?
तपाइँहरुको
आज्ञाकारी
धरम मधेशीया
नेपाल तारा डट कम ः २०७४ साउन २०

No comments:

Post a Comment