Saturday, December 31, 2016

B P Melmilap/BT

विपिको मेलमिलाप नीति ः हिजो र आज
धर्मेन्द्र झा

आठ वर्षको भारत निर्वसनपछि नेपाली कांग्रेसका संस्थापक महानायक विपि कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमलिाप दिवसका रुपमा मनाउँदै आएको छ । त्यसो त प्रसिद्ध चिन्तक कांग्रेसका नेता प्रदीप गिरीलगायतकाको बुझाईमा भारतगमन विपिको आत्मनिर्वसनको निर्णयको उपज  थियो । विपि त्यसवेला भारत जानुपर्ने कुनै आन्तरिक कारण नरहेको यो तप्काको बुझाई छ । तर यो एक विचारमात्र हो । यसको पक्षमा सम्पूर्ण समर्थन जनाउन सकिने अवस्था छैन । शायद त्यतिवेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर विपिबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस, यो वहसको फरक विषय हो । निश्चित के हो भने मेलमिलापको औचित्य स्वीकार गर्दै विपि नेपाल फर्केपछि आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो ।

अंग्रेजी तारिखका दृष्टिले हिजो राष्ट्रिय मेलमिलाप दिवस मनाइए पनि नेपाली गतेका दृष्टिले भने आज यो दिवस मनाइएको छ ।  १९६८ मा भारत गएका विपि ३० डिसेम्बर १९७६ का दिन स्वदेश फर्केका थिए । विपि नेपाल फर्केको कुराको कांग्रेसलगायत प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए । तर उनको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको वामपन्थले भने विपिको स्वदेश आगमनलाई खासै रुचाएको थिएन । विपि नेपालबाट जाँदा र फर्कँदाको बीचमा स्थानीय राजनिितक परिदृश्यमा निकै फरकपन आइसकेको थियो । राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो । राजाका रुपमा वेलायतपढित वीरेन्द्र अवतरित भएका थिए । चिनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । वंगलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन । नेपाली कांग्रे।सले विगतमा प्रारम्भ गरेको सशस्त्र संघर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिन्ह उठाइरहिएको थियो । विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तोमा विपिको नेपाल आगमन भएको थियो जसले तात्विकरुपमा निकै अर्थ राख्दथ्यो ।
विपिको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढंगले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लेखित पृष्ठभूमीका केही कारक अवस्ता हुन् जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा विपिको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ । अर्को कुरा, विपिको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ कोर्स लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित भूमिका जिम्मेबारसँग पनि उनको दुरी बढिरहेको आँकलन त्यसवेला गरिएको थियो । जवाहरलाल नेहरुपुत्री इन्दिरा गान्धी १९७५को इमरजेन्सीमार्फत् निकै शक्तिशाली बनेकी थिइन । विमान अपहरणको आरोपमा दुर्गा सुवेदी र सुशिल कोइरालालाई भारत सरकारले पक्राउ गरेको थियो । यस्तो अवस्थामा शायद विपिलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ ।
विपि नेपालका पूर्व प्रधानमन्त्री थिए । नेपाली कांग्रेसका सभापति थिए । यसर्थ उनको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वसनमा रहेकाले विपिले नेपाल आगमनहेतु त्यही समय किन रोजे भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई विपिले रणनीतिकरुपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । त्यसवेलमा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः विपिका सामु तीन चार अवस्था विश्लेषणयोग्य थिए । पहिलो, राजा महेन्द्रको अवसान भइ राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मकरुपमा प्रजातन्त्रमा विश्वास गर्दथे । अतः हिजोको राजासँगको व्यक्तित्वको लडाई अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको संघर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्थ्यो । उनको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजालक्षित थियो भन्न सकिन्छ । उनले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि उनको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ । दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्न जरुरी थियो । प्रजातनन्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आवद्ध हुन सक्थ्यो । तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सकथ्यो र नेपाली कांग्रेसमाथिको नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो ।
सम्भवतः यी यस्ता आधार थिए जसले विपिलाई त्यही समयमा नेपाल फर्कन प्ररित गर्यो । तर जे होस तात्कालीन राष्ट्रिय राजनीतिमा विपिको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो । सबभन्दा महत्वपूर्ण कुरा विपि स्वदेश फर्केपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो । वैचारिक दृष्टिले कांग्रेस तुलनात्मकरुपमा केही परिपकव भएको अनुभव गरियो ।
आज नेपालमा राजतन्त्र छैन । वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन र यसले नयाँ उचाई र कलेवर प्राप्त गरेको छ । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा असंग्लगन आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के विपिको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने विपि र नेपाली कांग्रेसको यो नीति ,आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ ? यसको जवाफ हो, छ । बरु हिजाको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ । हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उयपोगले सार्थक परिणाम सिर्जना गर्न सक्छ ।
          विपिको राष्ट्रिय मेलमिलापको नीतिले, हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा सार्थक परिणाम दिन सक्छ । सबैलाई शुभकामना ।
विकास टाइम्स ः १६ पुस २०७३

No comments:

Post a Comment