दशैंले राष्ट्रिय समस्याको समाधान पहिल्याउन सकोस
धर्मेन्द्र झा
नवरथाको समाप्तिपश्चात आज दशैंको दिन । दर्शै अर्थात् विजया दशमी । हिन्दूहरुको महान पर्व । विजया दशमीअन्तर्गत देवीको नववटै स्वरुपको पूजा सम्पन्न भइसकेको छ । दुर्गा देवीको पूजाको आज समापन हुँदैछ । पारम्परिक मान्यताअनुसार आज देवीको यात्रा गर्ने दिन हो अर्थात् प्रस्थानको साइत । प्रस्थान— शुभकार्यका लागि । आजैको अवसरबाट शुभयात्रा भन्ने प्रचलन प्रारम्भ भएको विश्वास गरिन्छ । आजबाट असल कर्मका दृष्टिले मानवले पनि सबै विध्न बाधाको अन्त्य गरेर एक जीवन यात्राको प्रारम्भ गर्नेछ, जो शुभ हुनेछ ।दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ । तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन । व्यवहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्व परिवार जोड्नेसँग पनि छ । दशैंको अवसरमा प्रत्येक नेपाली आफ्नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुन्छन् । टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग—द्वेष विर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै भविष्यको नयाँ निर्माणमा सक्रिय हुन्छन् । परिवारका सदस्यको कल्याण र उन्नती सबैको अभीष्ट हन्छ । वास्तवमा यो पर्वले पारिवारिक सम्वादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन् । दशैं पर्वले हामीलाई वर्षौदेखि पारम्परिकरुपमा यही पाठ पढाउँदै आएको छ । निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता वृहद् परिवारका सदस्य । तर पछिल्ला दिनमा दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ? दशैंले आफ्नो पारम्परिक महत्व किन निर्वाह गरिरहेको छैन र अर्थ गुमाउँदैछ ? यसपटकको दशैंले परिवार जोड्ने आफ्नो पारम्परिक महत्व कायम गर्न सकोस ।
शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको भूमीका जनता अशान्तिका विरोधी हुन् । सारमा नेपालका आमजनता शान्तिकामी हुन् । तर दुर्भाग्य, यस भूमीको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको छ । नेपाली राजनीतिकर्मीको अदूरदर्शिता र क्षणिक स्वार्थका कारण नेपाल र नेपाली प्रताडित बन्न पुगेकोमा शंका छैन । नेपालको पछिल्लो समयको अवस्था मूल्यांकन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ । राजनीतिक दलबीच दूरी बढेको छ । जनस्तरको सम्बन्धको धाँजा फाटेको छ । जनता एकअर्कासँग टाढिएका छन् । फलतः राष्ट्रिय एकता कमजोर बन्न पुगेको छ । आफ्ना समस्याको समाधान नेपाल र नेपाली स्वयंले गर्न सक्नुपर्दछ । यसको विकल्प छैन । शान्तिका पक्षमा हामी स्वयंबाटै अग्रसरता लिइनुपर्छ । नेपाल र नेपालीका परिचय र पहिचानका सीमा खुम्चिँदै छन् । नेपालको राजनीति अहिले यही धारबाट निर्देशित छ भन्दा अतिशयोक्ति हुँदैन । मुलुकका सामु देखिएको अहिलेको जटील समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ विन्दू संविधान संशोधन हुन सक्छ । तर यसका लागि दलबीच समन्वय हुन नसक्नु दुखद छ । प्रश्न उठ्छ, आखिर दलहरु किन एक ठाउँमा आउन सकिरहेका छैनन ? देशको समस्या समाधान गर्न किन सबै एकमत छैनन ? किन सबै आफ्नै मूल्यमा मात्रै समस्याको सम्बोधन चाहन्छन् ? सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन । यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीतिक शक्तिहरु असाध्य समाधान खोज्ने नौटंकीमा किन व्यस्त छन् ? यी सबै प्रश्नका उत्तर देशवासीले चाहेका छन् । यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकुन ।
अहिले नेपाली राजनीति बडो सकसमा छ । जनताका अकांक्षा समस्याग्रस्त छन् । दलबीचको दुरी कम हुन सकोस । जनस्तरको खाडल परिन सकोस । आपसमा सम्वादको वातावरण निर्माण हुन सकोस । दशैंका अवसरमा आमनेपाली एकअर्कामा समाहित हुन सकुन । यति हुन सके जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ । यसपटकको दशैंले राष्ट्रिय एकता प्रवद्र्धन गरी देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस । अबको यात्रा सुखद हुन सक्नुपर्छ ।
यो कार्य मौखिक शुभकामना आदान—प्रदानबाटमात्र सम्भव छैन । यसका लागि सबैले मन वचनले प्रयास गर्नु अपेक्षित छ । नेपाली राजनीतिमा पछिल्लो दिनमा अरुलाई दोष पन्छाएर आफू ओभानो हुने प्रवृत्ति मौलाएको छ । यो गलत हो । ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्ने आँट जबसम्म नेपाली दल र नेताले गर्दैनन् तबसम्म राष्ट्रका समस्या सहजै समाधान नहुने पक्का छ । र दुखका साथ भन्नुपर्छ, नेपाली दलहरु यसका लागि तयार छैनन् । नेपाली दलहरुका काारण अहिले समग्र नेपाली मानसिकता विभाजनको सँघारमा पुगेको छ । वर्षाैदेखि एक भूमीमा मिलेर बसेका नेपाली जनता एक अर्कासँग टाढिन पुगेका छन् जो देशको दीर्घकालीन हीतका लागि हानिकारक छ र दुखपूर्वक भन्नुपर्छ, यो अवस्थाको निर्माकर्ता नेपाली दलहरु हुन् । दशैंले नेपाली दल र नेतालाई सद्बुद्धि प्रदान गर्न सकोस र अहिलेको विषम अवस्थालाई सहज बनाउन भूमिका निर्वाह गर्न सकोस । सबैलाई यही नै शुभकामना ।
खवर ईरा अनलाइन ः २०७३ असोज २५, विजया दशमी
No comments:
Post a Comment