पत्रकारितामा भ्रष्टाचार
धर्मेन्द्र झा
पृष्ठभूमिआजको विश्वमा आमव्यक्तिलाई सुसूचित गर्ने सन्दर्भमा त पत्रकारिताको महत्व छ नै सुशासन स्थापनाका सन्दर्भमा पनि यसको भूमिका महत्वपूर्ण हुने विश्वास गरिन्छ । पारदर्शिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आजको सन्दर्भमा पत्रकारिता पारदर्शिता प्रवद्र्धनको एक महत्वपूर्ण औजार हो भन्ने कुरामा शंका छैन र सुशासनको स्थापना पारदर्शिताको अवस्थामा मात्र सम्भव हुनसक्छ भन्ने कुरामा पनि विवाद छैन । विविध प्रकरणहरुमा मिडियाले सञ्चालन गरेको अभियानबाट पनि यसको पुष्टि हुन्छ । वास्तवमा अहिले स्मरण गर्ने हो भने विगतमा भ्रष्टाचारका विभिन्न मुद्दा जनसमक्ष ल्याई सुशासन कायम गर्ने दिशामा मिडियाले निर्णायक भूमिका निर्वाह गरेको हो ।
भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय कारगर होलान, तर व्यवशायिक पत्रकारिता सबैभन्दा प्रभावकारी उपाय हुन सक्ने कुरामा विवाद हुन सक्दैन । यस सन्दर्भमा खोजी पत्रकारितामार्फत् मिडियाले आफ्नो भूमिका अझै सशक्त बनाउन सक्दछ । विश्वका अन्य देशझै नेपालमा पनि पछिल्लो समयमा पत्रकारिता विस्तारै संस्थागत हुँदै गएको छ र दुखका साथ भन्नुपर्छ पत्रकारिताजन्य विकृति पनि विस्तारै वृद्धि हुँदैछ । यस्तै एक विकृति हो भ्रष्टाचार ।
पत्रकारिता र भ्रष्टाचार
भ्रष्टाचार र अनियमितता प्रायः अपारदर्शिताको अवस्थामा मौलाउँछ । जहाँ अँध्यारो अर्थात् सार्वजनिक निकायका गतिविधिहरु जनताबाट लुक्ने अवस्थाको सिर्जना हुन्छ त्यहाँ भ्रष्टाचारले प्रश्रय पाउँदछ । पत्रकारिताको महत्व यहाँनिर बढद्छ । पत्रकारिताले लुकेका कुरालाई बाहिर ल्याउने, अँध्यारो चिरेर उज्यालोको निर्माण गर्ने अर्थात अनियमितता सार्वजनिक गरेर खवरदारी गर्ने विश्वास गरिन्छ । पत्रकारिताले पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिनु अस्वाभाविक होइन । पत्रकारिताले अफ्नो यही दायित्व निर्वहनमार्फत् अनेकौं खुलासा गरेको हामै्र सन्दर्भ पनि साक्षी छ ।
माथि उल्लेख गरियो, पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रण र यसका माध्यमबाट सुशासन कायम गर्ने सवालमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ । पत्रकारिताले आमजनतालाई सुसूचित गरी चेतना जागृत गर्छ र सम्बन्धित पक्षबीच खवरदारी गर्ने कार्य गर्दछ । जनतालाई अनियमितताविरुद्ध आवाज वुलन्द गर्न अभिप्ररित गर्छ भने दोषीलाई कठघरामा ल्याई कानुनी प्रक्रियाका लागि हौस्याउने गर्दछ । यही गुणका आधारमा पत्रकारितालाई समग्रमा लोकतन्त्रको पहरेदार भनिएको हो ।
तर भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय औजारका रुपमा स्थापित मिडिया जब आफै भ्रष्टाचारको मतियार बनेको आरोप लाग्दछ, समस्या त्यसबेला उत्पन्न हुन्छ । यस्तो अवस्थामा मिडियाले खवरदारी र पहरेदारी गर्ने क्षमता त गुमाउँछ नै समग्रमा जनताको विश्वास गुमाउने अवस्थाको पनि सिर्जना हुन्छ । यो अवस्था लोकतन्त्रका लागि त खतरनाक हो नै पारदर्शी शासन व्यवस्था र समाजको निर्माणका लागि पनि बाधक हो । यो अवस्था स्वयं पत्रकारिता समुदायका लागि घातक हो ।
साख र विश्वसनीयताको संकट
यस्ता अनेकौ उदाहरण छन् जहाँ मिडिया स्वयं भ्रष्टाचारको मतियार बनी अनियमिततामा संलग्न रहेको आरोप लाग्ने गरेको छ । आरोपको यस्तो अवस्था एक सम्वद्ध पत्रकारका लागि त हानिकारक हो नै सम्वद्ध मिडियाका लागि अझ बढी दूर्भाग्यपूर्ण हो । यस्तो अवस्थाका कारण उत्पन्न परिस्थितिले सम्बद्ध मिडियाको विश्वसनियता र साख तल्लो स्तरसम्म गिर्न पुग्दछ । यसरी खस्केको साख कि त पुनः स्थापित गर्न नै सकिँदैन कि त पुरानै अवस्थामा पुर्याउन निकै कठीन हुन्छ ।
करिव दुई वर्षअघि यस्तै अवस्थाको समना गर्नुपर्यो भारतयि ख्यातिप्राप्त टेलिभिजन च्यानल जी टिभिले । यसका दुईजना पत्रकारले कोइलाको खरीद विक्रीका सम्बन्धमा सम्प्रेषण गरेको समाचार आरोपित हुन पुग्यो । अनुसन्धान गर्दै जाँदा पछि त्यसमा पत्रकारले आर्थिक भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । यो घट्नापछि उक्त च्यानलको विश्वसनीयतामा निकै दिनसम्म समस्या अनुभव गरिएको थियो । यस्तै एक अन्य सन्दर्भमा अर्को चर्चित च्यानल आजतक पनि विवादमा मुछिएको थियो । यो विवादपछि त्यहाँ उपल्ला तहमा कार्यरत केही सञ्चारकर्मीले जिम्मेबारी त्याग गरेका थिए । भारतकै सन्दर्भमा हेर्ने हो भने त्यहाँ अहिले ‘पेड न्यूज’ को प्रवृत्ति हावी भएको अनुभव गरिएको छ । विश्लेषकहरुले यो प्रवृत्तिलाई व्यवशायिक पत्रकारिताको ‘भाइरस’ भनेर भयावह अवस्थातर्फ संकेत गर्ने गरेका छन् । यस प्रवृत्तिअन्तर्गत, विज्ञापनमा प्रकाशित वा प्रशारित हुनुपर्ने सामग्रीहरु रकम लेनदेनका आधारमा समाचारका रुपमा प्रकाशित गर्नु वा कुनै पनि समाचार प्रकाशित वा प्रशारित गर्न सम्बन्धित पक्षले आर्थिक मूल्य चुकाउनुपर्ने हुन्छ । यो प्रवृत्तिले पत्रकारिताको आत्मा नै मर्ने अवस्था सिर्जना हुन पुगेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनमा स्टिगं अपरेशनहरु मोलमोलाई र सौदावाजीका माध्यमका रुपमा प्रयोग हुन थालेको पाइएको छ ।
हामी पनि समस्याग्रस्त
छिमेकी मुलुक भारतको पत्रकारितामा देखिएको भ्रष्टाचारको नकारात्मक प्रवृत्तिजस्तै अवस्था नेपालमा पनि अनुभव गरिन थालेको छ जो दुखद छ ।
केही दिनअघिको कुरा हो, नापी कार्यालयका एकजना कर्मचारीले यस पंक्तिकारलाई एक अनलाइनको हवाला दिँदै आफ्नाविरुद्ध एक समाचार प्रकाशित गरी एक लाख रुपैयाँ माग गरेको र नदिए थप सामग्री प्रकाशित गर्ने धम्की दिइएको बताए । पंक्तिकारले निजलाई प्रेस काउन्सिलमा उजुरी गर्न सल्लाह दिएको सन्दर्भको उल्लेख गर्नु यहाँ जरुरी छ । सम्भवतः तिनले काउन्सिलमा उजुरी गरेका छन् वा गर्ने तयारीमा छन् । यस्तो आरोप अहिले नेपालका थुप्रै अनलाइनले वेहोरिरहेका छन् । परिणामतः अनलाइनहरु अहिले विश्वसनीयताको संकट झेलिरहेका छन् ।
२०५२÷५३ तिरको कुरा हो, नेपाली पत्रकारिताको आकाशमा एकैपटक धेरै ‘ब्रोडसिट’ अखवारहरु अस्तित्वमा आए । तीमध्ये केही वन्द भइसकेका छन भने केही अहिले पनि प्रकाशित भइरहेका छन् । त्यसबेला अस्तित्वमा आएका अखवारहरु विविध आरोपबाट आरोपित भए । यस्ता आरोप मूलतः कालो धनलाई सेतो बनाउने प्रयासकेन्द्रित थियो भनेर आरोप लाग्ने गरेको छ । कुनैलाई एलसी घोटालाको परिणाम, कुनैलाई आपराधिक आम्दानीको उपज त कसैलाई व्यापार चोख्याउने दाऊका रुपमा हेरियो । यी आरोपहरुमा सत्यता कति छ त्यसको लेखाजोखा भविष्यले विस्तारै गर्दै जाला तर एक सत्य के हो भने यस्ता सञ्चारमाध्यम आरोपमुक्त हुन नसक्दा तिनले विश्वसनीयताको संकट भने वेहोर्नुपर्यो । भ्रष्टाचारको सन्दर्भ केलाउने हो भने निश्चय पनि यी आरोप महत्वपूर्ण छन् ।
यस्तै करिव तीन वर्ष पहिले आफूलाई एकजना पत्रकार भनेर दावी गर्नेले हिडेन (लुकेको) क्यामेराको सहयोगमा स्टिगं अपरेशनका नाममा विभिन्न पेसाकर्मीसँग रकम असुलीको धन्दा चलाएको स्मरणीय छ । निज पत्रकार भन्नेको बदनियतको शिकार एक चिकित्सक बनेको सार्वजनिक भएको थियो । कथित पत्रकारले निज चिकित्सकसँग पनि रकमको माग गरेको खुलासा भएको थियो ।
यस्तै एक मासिक पत्रिकाले चार पाँच वर्षपहिले एक सुरक्षा निकायविरुद्ध लगातार समाचार सम्प्रेषण गरेको र पछि उक्त निकायले पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी गरेको कुरा त्यसवेला निकै चर्चामा आएको थियो । पत्रिकालाई काउन्सिलले कार्यवाही गरेको थियो ।
यसैगरी विगतमा नेपाल प्रहरी प्रत्यक्षतः जोडिएको सुडान घोटालाका सम्बन्धमा पनि मिडिया विवादमा आएको स्मरणीय छ । सुडान घोटालाका सम्बन्धमा केही सञ्चारमाध्यम घोटालाको खुलासाका दिशामा सक्रिय रहेको पाइयो भने केही सञ्चारमाध्यम सुडान मिशनमा भ्रष्टाचार नभएको प्रमाणित गर्न कस्सिए ।
यस्तै अवस्था सुडान घोटालाअघिको लाउडा र चेज एयर विवादका सम्बन्धमा पनि देखिएको थियो । कतिले यसको विरोध गरे भने कतिले यसको समर्थन गरेका थिए । दुवैथरि मत असन्तुलित थिए । यी प्रकरणमा सन्तुलित समाचार सामग्रीको नितान्त अनुभव गरिएको थियो । यसको पछाडी सम्बद्धहरुको भ्रष्ट आचरण जिम्मेबार थियो भनेर भनियो भने त्यो अस्वाभाविक हुने छैन । रकम लेनदेनको सन्दर्भ निकै चर्चामा आएको थियो ।
विगतको ०६२÷०६३ को जनआन्दोलनको समयमा देशमा क्रियाशील तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारले केही पत्रकारलाई नजराना वितरण गरेको समाचार जनआन्दोलनपछि सार्वजनिक भएको थियो । त्यसो त त्यसमा नाम मुछिएका धेरैजसोले विभिन्न निकायबाट सफाइ पाएका थिए तर यो घट्नापछि आमजनताले पत्रकारलाई हेर्ने दृष्टिकोणमा नकारात्मकरुपमा परिवर्तन आएको अनुभव गरिएको थियो ।
यस्तै विगतमा एक स्वास्थ्यमन्त्रीको सचिवालयबाट वितरण गरिएको र पत्रकारले स्वीकार गरेको ‘नगद उपहार’ को घट्ना निकै चर्चामा आएको थियो । यसरी वितरण गरिएको उपहार केही पत्रकारले स्वीकार गरे पनि एकजना पत्रकारले अस्वीकार गरेको समाचार सार्वजनिक भएपछि यो प्रकरणको खुलासा भएको थियो ।
यस्तै केही सञ्चारमाध्यम बैंकिगं अपचलनका लागि पनि आरोपित छन् । यस्ता माध्यमले स्रोत खुल्न नसकेको सम्पति लगानी गरी वैध बनाउने प्रयास गरेको आरोप लाग्ने गरेको छ ।
यसैगरी नेपालका टेलिभिजन र रेडियो पनि अपवाद छैनन् । यी माध्यम र यसमा कार्यरत् सञ्चारकर्मीहरु पटकपटक विवादमा आइरहन्छन् । विगतमा मेडिकल कलेजहरु र तारे होटलको शेयरको सन्दर्भ नेपाली सञ्चारमाध्यममा बडो जोडतोडका साथ उठेको यहाँ उल्लेख्य छ । केही सञ्चारमाध्यम विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाबाट औपचारिक÷अनौपचारिक सहयोग प्राप्त गरी अपारदर्शी ढंगबाट सञ्चालित रहेको आरोप लाग्ने गरेको छ ।
यस्ता मिडियाका कभरेजमा भ्रष्टाचार भएको थियो कि थिएन भन्न कठीन छ तर जनमानसमा एक किसिमको जिज्ञासा भने उत्पन्न भयो जसको सम्बोधन हुन सकेन, यो सत्य हो । प्रश्न उठ्छ, यस्ता कभरेज खोजी समाचारका प्रमाण हुन् ? मोलमोलाईका आधार हुन ? भ्रष्टाचारका नमुना हुन् ? वा मिडियाविरुद्धको सुनियोजित षडयन्त्र ? उत्तर कठीन छ ।
उपत्यका र उपत्यकाबाहिरबाट प्रकाशित हुने केही साप्ताहिक पत्रिकाहरु यदाकदा विवादमा तानिने गरेका छन् । यस्ता प्रकाशनहरु राजनीतिक गुट उपगुटबाट, व्यवशायिक घरानाबाट र कतिपय अवस्थामा आपराधिक छवी भएकाहरुबाट पनि सञ्चालन गर्ने गरिएको आरोप लाग्ने गरेको छ । यस्ता प्रकाशनको उद्देश्य नै वार्गेनिगं (मोलमोलाई) गर्ने, व्लयाकमेलिगं गर्ने, डराउने, धम्क्याउने र आर्थिक स्वार्थ पूरा गर्नु हो भनेर उपभोक्ताबीच चर्चा चल्नुलाई व्यवशायिक पत्रकारिताको प्रतिष्ठाका दृष्टिले सम्भवतः कसैले पनि उचित ठहर्याउन सक्दैन । यस्ता चर्चा जति उत्कर्षमा पुग्छन पत्रकारिताको साख त्यति नै स्खलित हुन्छ ।
अन्त्यमा
माथि उल्लेख गरिएका सन्दर्भहरु अन्तिम होइनन् । यी केही उदाहरणमात्र हुन । यस्ता अनेकौ घटना छन्, सबैको चर्चा यहाँ सम्भव छैन र आवश्यक पनि छैन । । दुखको कुरा त के छ भने भ्रष्टाचारका घटनामा सञ्चारकर्मी र सञ्चारमाध्यम मुछिने संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यो अवस्था निर्माणका लागि पत्रकार र पत्रकारिता संस्थामात्र जिम्मेबार छैनन् । कतिपय सन्दर्भमा कर्मचारीतन्त्र, राजनीतिक कार्यकर्ता, सुरक्षा संयन्त्रसँग सम्वद्ध निकाय पनि जिम्मेबार छैनन् । यी निकाय आफ्नो स्वार्थसिद्धीका लागि मिडियालाई प्रयोग गर्न पछि पर्दैनन् र मिडिया जानिँदो नजाँनिदो ढंगले भ्रष्टाचारमा मुछिन पुग्छ । यस्तै मुद्दा मामिलालाई प्रभावित गर्न पनि मिडियाको अवाञ्छित प्रयोग हुने गरेको आरोप लाग्ने गर्दछ । यो क्रम राजधानीमा मात्र सीमित छैन राजधानीबाहिर मोफसलमा पनि यस्ता अनेकौ घट्ना अस्तित्वमा छन् । पछिल्ला दिनमा प्रेस काउन्सिलमा यस्ता उजुरी पर्ने संख्यमा लगातार वृद्धि भइरहेको छ जो पत्रकारिताका निम्ति लाजमर्दो अवस्था हो । अन्यत्रका भ्रष्टाचारको खुलासा गर्नुपर्ने दायित्व बोकेका समाचारमाध्यम र पत्रकारहरु स्वयं भ्रष्टाचारको आरोपको आवरणमा लपेटिनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनु अशोभनीयमात्र होइन दुखद छ । समाजमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रणमा सहयोगी सावित हुनुपर्ने मिडिया नै जब स्वयं यस्ता अवाञ्छित गतिविधिमा संलग्न भएको प्रमाणित हुन्छ भने त्यस समाजमा कस्तो अवस्थाको सिर्जना हुन्छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।
बाह्रखरी अनलाइन ः ५असोज २०७३
No comments:
Post a Comment