Friday, November 20, 2015

GoPa/Madhesh & Khichadi

मधेश र खिचडी संवाद

धर्मेन्द्र मmा


यसपटकको छठ पर्वका सन्दर्भमा जनकपुरको गंगासागरस्थित छठघाटमा पूजाका लागि उपस्थित अधिकांश श्रद्धालुको अनुहारमा विगतजस्तो रौनक थिएन । अनुहारहरुमा देश—मधेशको विद्यमान समस्याप्रतिको चिन्ताको लक्षण—रेखा स्पष्ट अनुभव गर्न सकिन्थ्यो । लगातारको बन्द र आन्दोलनबाट उनीहरु सदाका लागि मुक्ति चाहेको अनुभव हुन्थ्यो । पूजाघाटमा उपस्थित शायद सबैले मुक्तिकै कामना गरे । मधेश समाजमा अत्यन्तै जाग्रत मानिने छठ पूजामा सहभागी प्रायःले छठि माईसँग अनुनय विनय गरे— हे छठि मैया नेतासभकेँ सदबुद्धि दियौ । देशक समस्या जल्दी समाधान करियौ । अर्थात, हे छठि माई नेताहरुलाई सदबुद्धी दिनुस । देशको समस्या छिटो समाधान गर्नुस ।

 जनकपुर मधेशमा पर्दछ । तर जनकपुरको छठ पूजाघाटमा मधेशीमात्र उपस्थित थिएनन्÷हुँदैनन । हिन्दूमात्र पनि उपस्थित थिएनन्÷हुँदैनन । सम्पन्न, धनी र हुनेखानेमात्र सहभागी थिएनन्÷हुँदैनन । जातपातका आधारमा छुवाछुत देखिएन÷देखिँदैन ।  छठि माईप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति थिएन÷हुँदैन । नाकावन्दीको प्रभावबीच मनाइएको यसपटकको छठमा सबैको एउटै आकांक्षा थियो— अहिलेको अवस्थाबाट देशले सदाका लागि मुक्ति पाओस । सम्पूर्ण देशवासीले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून । छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ—सर्वजन हिताय सर्वजन सुखाय । जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । यसपटकको छठमा छठिमाईप्रति जनसामान्यले मधेशको समस्या छिटै समाधान भई राष्ट्रले सार्थक दिशा प्राप्त गर्ने विश्वासयुक्त आस्था व्यक्त गरे ।
           मूलतः नेपालको मध्य तथा पुर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ सम्पन्न भइसकेको छ । उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । मधेशमा छठ पर्व त सम्पन्न भयो तर विगत तीन महिनाभन्दा बढी समयदेखिको आन्दोलन समापन भएन । समापनको लक्षण पनि देखिएको छैन । बुधबार हुने भनिएको निर्णायक वार्ता निष्कर्षविहीन टुंगिएपछि मोर्चासमर्थकले आन्दोलनलाई थप सशक्त बनाउने रणनीति तय गरेका छन् । छठि माईले सम्वद्ध पक्षलाई आन्दोलनका सन्दर्भमा पनि विगतको मूल्यांकन गरी जनकल्याणमा जुट्न अभिप्रेरित गर्ने विश्वास आम मधेशवासीको छ । लगातारको आन्दोलनले स्थानीय जनजीवन प्रभावित बन्न पुगेको छ । जीवन कष्टकर बनेको छ । उद्योग, व्यवशाय, रोजगार धराशायी भई आर्थिक गतिविधि शून्यप्रायःको अवस्थामा छ । औषधालयमा औषधिको अभाव छ । स्थानीय वासिन्दा आफ्ना गर्जो त जसोतसो टारि नै रहेका छन् तर अध्ययन संस्थानहरु बन्द हुँदा बालबालिकाको भविष्य असुरक्षित बन्न पुगेको छ । आन्दोलनको प्रभाव यतिसम्ममात्र सीमित छैन । दीगो पारस्परिक सम्वलका रुपमा रहेको स्थानीय एकिकृत समाजमा समेत केही हदसम्म एकथरिको विभाजन रेखा कोरिन प्रारम्भ भएको छ । कतिपय सन्दर्भमा आन्दोलनको पक्ष र विपक्षमा मत बाझिन थालेका छन् र कतिपय आन्दोलनकारीहरु ‘फेस सेभिगं’को मूडमा देखिन थालेका छन् । मधेश आन्दोलन र त्यसपछिको दिनको धरातलीय यथार्थ यही हो । यो यथार्थलाई जति छिटो स्वीकार गरिन्छ आन्दोलनले निकास पनि त्यति नै छिटो प्राप्त गर्ने कुरामा दुईमत हुन सक्दैन ।
          स्थानीय वासिन्दाले आन्दोलनलाई निर्णायक अवस्थामा पुर्याउन केही महत्वपूर्ण स्थितिको स्वीकारोक्ति र रणनीतिमा परिवर्तनको आवश्यकता औल्याएका छन् । उनीहरुका अनुसार अझै पनि मधेश आन्दोलनको औचित्य आमजनताबीच यथोचित प्रसार गर्न सकिएको छैन । आन्दोलनलाई भारतको समर्थनप्राप्त रहेको आरोपलाई खण्डन गर्न नसक्नु आन्दोलनकारीको कमजोरी रहेको कुरा आमजनताबीच चर्चाको विषय बन्ने गरेको छ । त्यसैगरी अर्को विषय उठाइएको छ, आन्दोलनकारीको व्यवहार र उद्देश्यका सन्दर्भमा । अहिले आन्दोलनमा संलग्न केही व्यक्ति आन्दोलनको प्रभाव दुरुपयोग गरी शक्ति र अर्थोपार्जनलगायतका व्यक्तिगत लाभको लोभमा लिप्त रहने गरेको आरोप लाग्ने गरेको छ । यस आरोपको पनि खण्डन हुन सकेको छैन । यस्तै आन्दोलनको आलोचना गर्ने सन्दर्भमा राज्यविरुद्ध लक्षित हुनुपर्ने आन्दोलन कतिपय सन्दर्भमा कुनै खास समूह, समुदाय र जातप्रति लक्षित हुने गरेको आरोप पनि छ । यसको पनि खण्डन हुन सकेको छैन । यसलाई पनि विद्यमान आन्दोलनको कमजोरीका रुपमा स्वीकार गरिएको छ ।
          यस्तै जनसामान्यका दृष्टिमा आन्दोलनलाई हेर्ने र मूल्यांकन गर्ने सन्दर्भमा देखिएको राज्यको व्यवहार पनि आलोचनायुक्त छ । राज्यसत्तामा रहेकाले आन्दोलन भारतको सहयोग र समर्थनमा संचालित रहेको भन्दै देशको एउटा भूगोलमा जारी अधिकार र पहिचानको संघर्षलाई कम मूल्यांकन गर्ने गरेको आरोप लगाइएको छ । आन्दोलन दशगजाबाट केन्दित रहेको भन्ने राज्यको आरोप पनि दोषपूर्ण रहेको जनसामान्यको बुझाई छ । उनीहरुका अनुसार आन्दोलनलाई दशगजामा घचेट्ने कार्य राज्यले नै गरेको हो । यसैगरी देशको समग्र भूगोलको एक खण्डलाई आधार बनाई राष्ट्र निर्माण र राष्ट्रियता परिभाषित गर्ने कार्यलाई राज्यले नै प्रायोजितरुपमा उत्प्रेरित गरिरहेको गुनासो पनि स्थानीय वासिन्दाको छ । स्थानीयको अर्को आरोप छ, राज्य संचालन तहमा बस्नेहरु परम्परदेखि स्वयंले उपयोग गर्दै आएको शक्ति र अधिकार तल्लो स्तरसम्म सबैलाई समानरुपमा निक्षेपण÷हस्तान्तरण गर्न तयार देखिएका छैनन् । यस्ता आरोपको खण्डन गर्न नसक्नु र आमजनतबीच विश्वासको वातावरण तयार गर्न नसक्नुलाई स्थानीय वासिन्दाले राज्यको ठूलो कमजोरी मानेका छन् ।
          आन्दोलन सम्बोधनका दिशामा माथि उल्लेख गरिएका विषय निश्चय पनि समस्या हुन् र यसले जानिदो÷नजानिदोरुपमा तगारो तेसर््याउने काम गरिरहेको छ । सरकार र आन्दोलनरत पक्ष दुवैमा आन्दोलन र यसको प्रभावबारेको बुझाईमा समस्या छ । बुझाईमा जबसम्म एकरुपताको विकास हुँदैन समाधान पहिल्याउन कठीन हुने कुरालाई अस्वीकार गर्न सकिँदैन । यस सन्दर्भमा बुझ्नु जरुरी छ, आन्दोलन जारी रहँदा दुवै पक्षलाई आफ्नैखाले विशिष्ट लाभप्राप्त हुन सक्ला तर देश र जनताले दुख पाउने निश्चित छ । एउटा कुरा सत्य हो, सार्थक वार्ता र संवादका माध्यमबाट मात्र समस्याको समाधान पहिल्याउन सकिन्छ अर्थात जारी मधेश आन्दोलनलाई सम्बोधन गर्न सकिन्छ । तर माथि उल्ल्ेख गरिएकाजस्ता आरोप, असहमति र गुनासाहरुको उपस्थितिमा वार्ता सम्भव हुन सक्दैन र वार्ता भइहाले पनि समाधान पहिल्याउन सकिँदैन । अहिले भइरहेको त्यही हो । वार्ताहरु त भइरहेका छन् तर त्यस्ता वार्ताबाट सम्बोधनको उपाय खोज्न सम्भव हुन सकिरहेको छैन । कारण हो, दुवै पक्षका आफ्नैखाले अडान । अडानसहितको उपस्थितिमा वार्ता र संवादले उचित निष्कर्ष निकाल्न सम्भव हुँदैन ।
          संवादका केही सिद्धान्त हुन्छन् । यी सिद्धान्तको अनुशरण हुन नसक्दा संवाद टुंगोमा पुग्न सक्दैन । संवादरत पक्ष अडानमुक्त हुनु, विकल्पहरुको उचित उपस्थिति हुनु, एकले अर्काको कुरा सुन्ने र बुझ्ने वातावरण हुनु, सोह्रै आना आफ्ना कुरा पुरा नहुन सक्छ भन्ने सम्वद्ध पक्षमा स्वीकारोक्ति हुनु, एकैपटकको कुरामा सहमतिमा नपुग्न सकिन्छ त्यसैले कुराकानीको क्रमलाई निरन्तर जारी राख्नुजस्ता विषय संवादका यस्तै सिद्धान्त हुन् । यसैगरी संवादबाट सहमतिमा पुग्न सकिन्छ भन्नेमा विश्वस्त हुनु, कुराकानकिो मनःस्थितिमा हुनु र पूर्व तयारी गरिनु, कुराकानीका लागि कुनै पूर्वशर्त नहुनु, स्वीकार्य आचारसंहिताको निर्माण गरिनुजस्ता पक्षलाई पनि वार्ता÷संवादको समान्य सिद्धान्तसँग जोडेर हेर्न सकिन्छ । यस आधारमा अहिले भइरहेको भनिएको सरकार र आन्दोलनरत पक्षबीचको संवादको विश्लेषण गर्ने हो भने यो सिद्धान्तमा आधारित देखिँदैन । शायद यसैले पनि हुन सक्छ समस्या समाधानको दुरी बढिरहेको छ । संवादमा बस्नेहरुले यो कुराको गाम्भीर्यता बुझ्नु अनिवार्य छ ।
         सबभन्दा महत्वपूर्ण कुरा समाधानका लागि विकल्पहरुको चयन हो । यस दिशामा अहिलेसम्म खासै केही कार्य भएको सार्वजनिक हुन सकेको छैन । सरकारी पक्षबाट विकल्पका केही कुरा गरिए पनि त्यही पक्षबीच त्यस्ता विकल्प स्वीकार्य हुन सकेका छैनन भने आन्दोलनरत पक्षबाट कुनै पनि विकल्प अगाडी सारिएको छैन । यो पक्ष एकै किसिमको अडानमा अडिएको छ । यस्तो स्थितिको उपस्थितिमा समाधान खोज्न कठीनमात्र होइन असम्भवप्रायः नै हुन्छ । यस्तो अवस्थामा दुवै पक्ष आफ्नो अडानबाट अलिकति पछि हट्दै समस्या समाधानका लागि सामूहिकरुपमा तत्पर हुनु अपेक्षित छ । होइन भने, अहिलेको वार्ता प्रयास ‘विरवलको खिचडी’ हुने पक्का छ । जसरी खिचडी पाक्न आगो र भाँडो एकअर्काको सम्पर्कमा आउनु जरुरी हुन्छ त्यसरी नै वार्ता÷संवादबाट समाधान पहिल्याउन सम्वद्ध पक्ष एक ठाउँमा आउनु, एकअर्काबीच विश्वस्त हुनु र  सबैले आफ्ना कुरा खुलस्त राख्नु जरुरी हुन्छ । तर यहाँ त कसैले पनि कसैमाथि विश्वास गर्न नसकिरहेको अवस्था छ । कसैले पनि आफ्ना कुरा खुलेर गरिरहेकोजस्तो अनुभव हुँदेन । यस्तो लाग्दछ सबैको मनभित्र कुरा एकथरिको छ र बाहिर सतहमा अर्कोथरि व्यक्त भइरहेको छ । यस्तो अवस्थामा ‘वार्ताको खिचडी पाक्न’ सम्भव हुन सक्दैन । विद्यमान समस्याको सार्थक समाधानका लागि साँच्चै सबै पक्ष इमानदार हुन् भने सबभन्दा पहिले सबैले दुई जीब्रे प्रवृत्तिबाट मुक्त हुनु जरुरी छ । आशा गरौं, साँच्चै सबैको अभीष्ट देश तथा जनताको सर्वोत्तम हीत नै हो भने छठि माईबाट स्वादिष्ट एवं स्वस्थकर खिचडी पकाउन सबैलाई शक्ति र उत्प्रेरणा प्राप्त हुनेछ ।        

 

No comments:

Post a Comment