दुई चित्र एक प्रवृत्ति
धर्मेन्द्र झाहरिलाल यादव (४५)। नवलपरासी सरावल गाविसका एक प्रौढ व्यक्तित्व। उनको व्यक्तित्व उमेरमा मात्र सीमित छैन, कलाकारका रूपमा पनि चिनिन्छन्। यादव वाक्पटु मात्र छैनन्, प्रत्युत्पन्न मतिका पनि छन्। पातलो कद र श्यामवर्णका यादव भोजपुरी गीत गाउन खप्पिस छन्। उनी अर्काले गाएको त गाउँछन् नै, त्योभन्दा पनि बढी गाउँघरका गीत बटुलेर लोकलय गुन्जाउँछन्।
यादवमा अर्को विशिष्ट प्रतिभा छ- कुनै ठाउँमा बसेर त्यहाँको अवस्था र वस्तुस्थिति नियालेर गीत रच्ने र तत्काल भोजपुरी भाषामा गाएर सुनाउन सक्ने। आफ्ना गाउँठाउँका अगुवा मानिने यादव सामाजिक आन्दोलनमा पनि होमिएका छन्। उनी आफ्नो गायन र प्रत्युत्पन्नमतियुक्त प्रतिभा सामाजिक आन्दोलनमा खर्चिइरहेका छन्। उनलाई प्रत्यक्षत: राजनीतिमा होमिने कुनै इच्छा र आंकाक्षा छैन। भन्छन्- नेतृत्व गर्न राजनीति गर्नुपर्छ भन्ने छैन, मनमा इच्छा र दृढता हुनुपर्छ सामाजिक रूपान्तरणमा सशक्त भूमिका निर्वाह गर्न सकिन्छ। यादव अहिलेको राजनीतिक गतिविधिबाट उतिसाह्रो सन्तुष्ट छैनन्। उनको निष्कर्ष छ- नेताले मात्र आफ्ना लागि राजनीति गरे, आमजनताका लागि आफूलाई प्रस्तुत गर्न सकेनन्। उनको थप भनाइ छ- कहिले यो नाममा त कहिले त्यो नाममा राजनीतिले हामीलाई विभाजित गर्यो, विभाजित पनि भयौं र केही पाएनौं पनि। अब हुने भनिएको चुनाव आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताउँदै उनले भने- हामी के गर्छौं त्यसको निर्णय गर्न बाँकी छ तर एउटा कुरा के निश्चित हो भने विगतको गल्ती नदोहोर्याउने प्रयास गर्छौं।
दुलारी हरिजन (३६), नवलपरासी सनई गाविसकी महिला। सामाजिक आन्दोलनमा स्थापित नाम। उनले जिल्लामा छोटो समयमै आफूलाई स्थापित गरिन्। छोटो कद, श्याम वर्ण र फरासिलो व्यवहारकी धनी उनी विशेषत: दलित र महिला अधिकारका क्षेत्रमा क्रियाशील छिन्। दशकयता सामाजिक क्षेत्रमा सक्रिय दुलारी पालीस्थित विद्यालयमा शिक्षिका छिन्। आफ्नो कुरा स्पष्ट शब्दमा व्यक्त गर्ने दुलारीमा आफू र आफ्नो दृष्टिकोणप्रति कुनै द्विविधा छैन। सामाजिक रूपान्तरणमा आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुन सक्ने पूर्व आँकलन गरेकी तर्ककी धनी दुलारी पनि समग्रमा देशको र विशेषत: मधेसको राजनीतिबाट सन्तुष्ट छैनन्। उनमा पनि राजनीति गर्नेले समाजका लागि उल्लेख्य केही पनि गर्न नसकेको धारणा छ।
दुलारी राजनीतिको शैली र गतिमा परिवर्तन हुनुपर्ने विचार व्यक्त गर्छिन्। राजनीति र नेताप्रति वितृष्णा व्यक्त गर्दै उनी भन्छिन्- नेताहरू स्वार्थी भए। तिनलाई आफ्नो मात्र ध्याउन्न भयो। समाजको समस्याले तिनलाई पिरोलेन। उनी आगामी मंसिरमा हुने भनिएको चुनावप्रति सचेत छिन्। उनको बुझाइ छ- आगामी निर्वाचनमा हामी सचेत हुनुपर्छ। फेरि दलहरू भोट माग्न आउँछन्, उनीसँग विगतको हिसाब-किताब माग्नुपर्छ। दुलारी विगतमा प्रत्येक सभासद्ले बर्सेनि १० लाख रुपैयाँ पाउने गरेकोबारे पनि जानकार छिन्। उनी भन्छिन्-यसपटक त्यसको पनि हिसाब मागिन्छ, त्यो त हामीले तिरेको कर हो नि।
माथिको भनाइ मधेसको प्रतिनिधि अभिव्यक्ति हो। नवलपरासीमा मात्र होइन, मधेसका थुप्रै व्यक्ति अचेल यसरी आफ्नो धारणा व्यक्त गर्न थालेका छन्। आम मधेसवासी गुनासो गर्छन्- हामीकहाँ अनुभूत गर्ने र देखिने गरी केही विकास हुन सकेन। विगतको संसद्को स्वरूप संविधानसभाको थियो र यसको मुख्य कार्यादेश पनि संविधान निर्माण गर्नु नै थियो। तर आम मधेसवासी संविधान बन्न सक्यो वा सकेन भन्दा पनि आफ्ना संसद् र आफूद्वारा निर्वाचित प्रतिनिधिबाट दैनन्दिनका समस्या सम्बोधन हुन सके वा सकेनन् भन्नेबारे बढी चिन्तनशील छन्।
ठिकै हो, मधेसमा अपेक्षित रोजगार सिर्जना हुन नसक्दा ठूलो युवा संख्या बिदेसिन बाध्य छ। स्तरीय शैक्षिक संस्थाको विकास हुन नसक्दा मधेसको ठूलो संख्या उच्च र स्तरीय शिक्षाबाट कि त बञ्चित छन् कि त राजधानी वा अन्यत्र जान बाध्य छन्। विगतमा विभिन्न नाममा सामाजिक र साम्प्रदायिक सद्भाव बिथोलिएको अनुभूति पनि मधेसवासीले सँगालेका छन्। पहिचान र समावेशीको मुद्दा पनि ज्यूँका त्यूँ छन्। उनीहरूको धारणा छ- समयसन्दर्भ त बदलियो, जनआन्दोलन र मधेस आन्दोलन पनि भयो, तर राजनीतिको ढर्रा र शैलीमा परिवर्तन भएन। उनको थप बुझाइ छ- राजनीति गर्ने व्यक्ति पनि बदलिएनन्, व्यवस्था बदलिए पनि हामीबीच राजनीति गर्ने अनुहार सबै पुरानै छन्। परिवर्तनको अनुभूतिका लागि राजनीतिमा अनुहार परिवर्तनको आकांक्षा पनि उनीहरू राख्छन्।
माथि उठान गरिएका सबै विषय आगामी निर्वाचनमा मुद्दा बन्ने पक्का छ। राजनीतिक दलले तिनको सम्बोधन कसरी गर्ने हुन्, त्यसबारे तिनले सोच्नु जरुरी छ। र, के पनि सोच्नु जरुरी छ भने यसपटक जनताले विगतको हिसाब-किताब माग्नेछन्। एउटा कुरा यहाँ महत्त्वपूर्ण छ, मधेस अहिले राजनीतिकर्मीका लागि ‘हटकेक’ बनेको छ। यसको मुख्य कारण हो- मधेसको भोटबैंक र त्यहाँ भएको संसदीय सिट संख्या। जो मधेसमा बलियो हुनेछ समग्रमा राष्ट्रिय राजनीतिमा पनि उसकै दरिलो उपस्थिति रहने दलहरूले बुझेका छन्। यसै आधारमा सरकार बनाउने र भत्काउने विषयमा पनि तिनको भूमिका निर्णायक हुनेछ। एकपटक फेरि सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र मधेसको मोलमोलाइ हुनेछ।
अंगे्रजीमा ‘फोबिया’ र ‘मेनिया’ भन्ने दुई शब्द छन्। फोवियाको अर्थ हुन्छ- डराउनु र मेनियाको अर्थ उत्कर्षमा मन पराउनु। कतिपय सन्दर्भमा मेनियालाई सनक, उन्माद, नशा र विषयआसक्तिका रूपमा पनि बुझ्ने गरिन्छ। अहिले मधेसकेन्द्रितलगायत सबैजसो दलमा मेनिया प्रवृत्ति देखिएको छ। दलहरूमा यो प्रवृत्ति साँच्चै मधेसलाई मन पराएर हो वा आफ्नो दलीय स्वार्थ पूरा गर्ने सन्दर्भमा उब्जिएको हो, त्यो भने भविष्यले बताउनेछ।
Annapurna Post- 6 Aug 2013
No comments:
Post a Comment