Friday, July 15, 2016

GOPA/Asar 3, Madhesh



मधेशको नयाँ मनोविज्ञान

धर्मेन्द्र झा

मधेशमा विगतमा जारी आन्दोलनको स्वरुपमा अहिले परिवर्तन देखिएको छ र आन्दोलन राजधानी सहरमा केन्द्रित हुन खोजेको अनुभव गरिएको छ । विगतमा मधेश—भूमीमा आन्दोलन हाँकेका नेताहरु पछिल्ला दिनमा राजधानीका खुला चौरमा आफ्नो शक्ति प्रदर्शनमा तल्लीन देखिएका छन् । कहिले अनशनका नाममा त कहिले विविध प्रकारका प्रदर्शनका नाममा राजधानीका सडकहरुमा सीमित हुन  खोजेको आन्दोलनको भविष्य—प्रभाव र औचित्यको मूल्यांकन अहिले विश्लेषकका लागि रुचीको विषय बनेको छ । मधेशको आन्दोलन कुनै न कुनै रुपमा अस्तित्वमा रही जारी रहेको प्रमाणित गर्ने प्रयत्न भइरहेको वर्तमानमा नयाँ ढंगले पक्ष र विपक्षमा तर्क तयार गर्ने कार्य भइरहेको छ । तर्क—वितर्कको यो अवस्थाले समाज विभाजित हुने अवस्थामा पुगेको छ, जो दुखद छ ।

मधेशको आन्दोलन जुन गतिमा क्रमशः उकालो लागेको छ त्यही गतिमा यहाँको मनोविज्ञानमा पनि परिवर्तनको अनुभव गरिएको छ । यो आलेख तयार गर्ने सन्दर्भमा पंक्तिकारले वीरगञ्जको भ्रमण गर्ने अवसर प्राप्त गरेको थियो । मध्य तराईस्थित व्यापारिक सहर वीरगञ्जले विगतको मधेश आन्दोलनको केन्द्रीय भूमीका रुपमा नयाँ परिचय स्थापित गरेको. हो । त्यसबेलाको आन्दोलनको केन्द्र वीरगञ्ज सहरबाटै विरोधका सबैखाले कार्यक्रम तय भई मधेशभर प्रशार हुने गरेको थियो । त्यसवेला वीरगञ्ज सहरको ‘मुड’ वेग्लै थियो, तर अहिलेको ‘मुड’ वेग्लै छ । कुरो वीरगञ्ज सहरको मात्र होइन करिवकरिव पुरै मधेशकै ‘मुड’मा परिवर्तनको अनुभव गरिँदैछ । दिनगन्तीका हिसावले दुरी जति बढिरहेको छ अवस्था त्यसरी नै फेरिँदैछ । आज मधेशवासी मधेश आन्दोलनपहिलेको अवस्था, आन्दोलनकालीन अवस्था र आन्दोलनपछिको अवस्थाको तुलना गरिरहेका छन्् र आफूूहरुको अवस्थाको पुनर्मूल्यांकनको प्रयास गरिरहेका छन् । आन्दोलनका नाममा मधेशवासीले के पाए र के गुमाए ? मूल्यांकनको मूख्य विषय यही नै हो । आन्दोलनका आधारमा स्थानीय र राष्टिय राजनीतिक अवस्थामा कस्तो परिवर्तन आयो ? आर्थिक गतिविधिमा के प्रभाव पर्यो र समाज कुनरुपमा रुपान्तरित भयो ? आम मधेशवासीका लागि अहिले यी विषय विश्लेषणयोग्य छन् । यी सबै परिदृश्यबीच एउटा भने मनन्योग्य अवस्थाको विकास भएको छ, त्यो के भने मधेशले नयाँ ढंगले परिचय स्थापित गर्ने र परिभाषित हुने अवसर प्राप्त गरेको छ । यसका साथै मधेशले एकपटक फेरि उपेक्षित हुनुपरेको र विगतको चर्को  आन्दोलनपछि पनि आफू सम्बोधित हुन नसकेको पीडा सँगाल्न बाध्य हुनुपरेको छ । मधेशलाई अहिले लागेको छ— आन्दोलनका नाममा कसैले आफूलाई प्रयोग गरेको छ । अनुभव अर्को पनि छ— केहीले नेपाली राष्ट्रियतालाई आफूअनुकुल परिभाषित गरी भविष्यका लागि राजनीति सुरक्षित गर्ने प्रयत्न गरेका छन् । यथार्थ के पनि हो भने यी दुवैथरि मनोदशाले मधेशको शोषण गर्ने काममात्र गर्यो । यस्तो मनोदशाले मधेशलाई एक पाइला पछाडी धकेल्ने काम गरेको छ भन्दा अस्वाभाविक हुँदैन । आन्दोलनका समयमा यहाँका जनता जति उत्साहित थिए त्यसमा ह्रास देखा परेको छ । त्यसवखत स्थानीय जनताको ठम्याइ थियो—  आन्दोलनको परिणामले मधेशमा व्याप्त विभेदको अवस्थालाई चिर्नेछ र समतामूलक समाजको निर्माण हुनेछ । तर यतिखेर उनको ठम्याइ छ— विगतका अपेक्षामाथि तुषारापात भएको छ ।
मधेशमा अहिलेको यथार्थ फरक छ र यसलाई यसै आधारमा विश्लेषण गरिनु उचित हुन्छ । मधेशको राजनीति नयाँ ढंगले परिवर्तित हुँदैछ । समाज फरक आधारमा रुपान्तरित हुँदैछ र मधेशवासीको मनोदशा खास आधारमा विकसित हुँदैछ । थुप्रै प्रश्न विद्यमान छन् जसका उत्तर अपेक्षित छन् । मधेशवासी एकपटक फेरि आफूहरुको पक्षमा कुन राजनीतिक दल क्रियाशील छन् भन्ने खोजी गर्ने अवस्थामा पुगेका छन् । लोकतान्त्रिक संस्कृतिका आधारमा विकसित मधेशको जनजीवनले विगतमा नेपाली कांग्रेसमाथि लामो समयसम्म विश्वास गरेको यथार्थ सबैका सामु स्पष्ट छ । तर कालान्तरमा कांग्रेसले आफूहरुको भावनाको कदर गर्न नसकेको ठम्याइपछि मधेशवासीले विकल्पको खोजी गरे र आफ्रनै भूमीमा आधार खडा गरेका मधेशकेन्द्रित दलमाथि विश्वास व्यक्त गरे । यो विश्वास अहिले ‘घृुन’ लागेको अवस्थामा पुगेको छ । मधेशी जनताको ठहर छ— मधेशकेन्द्रित दलले पनि स्थानीयको विश्वासको जगेर्ना गर्न सकेनन् । यस आधारमा विश्लेषण गर्ने हो भने पछिल्लो दिनमा मधेशमा राजनीतिक नेतृत्वका दृष्टिले ठूलो रिक्तताको अवस्था सिर्जना भएको निष्कर्ष निकाल्न सकिन्छ । शायद यही रिक्त अवस्थाको मूल्यांकन गरेर होला, मधेशकेन्द्रितभन्दा बाहेकका राजनीतिक दलहरु मधेशबारे नयाँ रणनीति बनाउन सक्रिय देखिएका छन् र राजनीतिक दलका गतिविधिलाई स्थानीय जनताले बडो गम्भीरतापूर्वक नियालिरहेका छन् ।  नेपाली कांग्रेसले विगतको जनाधार जोगाउन स्पष्टताका साथ मधेशको बोली बोल्नु, नयाँ ढंगले पुनर्संरचित नेपाल कम्युनिष्ट पार्टी केन्द्रको जम्बो केन्द्रिय समितिमा मधेशबाट ठूलो संख्यामा उपस्थिति देखिनु, सत्ताधारी नेकपा (एमाले)ले सरकारी वजेटका माध्यमबाट मधेशलाई सम्बोधनको प्रयास गर्नु र नयाँ शक्ति पार्टीको घोषणाका दिन काठमाडौका सडकहरुमा झोलामा सातु बोकेका थुप्रै मधेशवासीको उपस्थिति देखिनुलगायतका अवस्था दलहरुका मधेश रणनीतिका हिस्सा हुन्भन्दा अस्वाभाविक हुँदैन ।
अर्कोतिर मधेशकेन्द्रित दल, जसको आधार पहाड र हिमालमा छैन, हरु पनि आफ्नो मूल र एकमात्र आधारभूमीका सम्बन्धमा नयाँ रणनीति निर्माण गर्न तल्लीन छन् । मधेशका जानकारका अनुसार विगतको आन्दोलनले मधेशकेन्द्रित दललाई शक्ति प्रदान गरेको निश्चय पनि हो तर अहिले त्यही शक्तिको वितरणको विषय समस्या बनेको छ । मधेश आन्दोलनको यश र आन्दोलनबाट प्राप्त शक्ति सबैभन्दा बढी कसले लिने भन्ने मनोवैज्ञानिक दवावले सम्वद्ध दललाई थिलथिलो बनाएको सत्य हो । शायद यही कारण हो— अहिले मधेशकेन्द्रित दलबीच महाधिवेशन सम्पन्न गर्ने प्रतिस्पर्धा चलेको छ । मधेशमा सक्रिय दलहरु महाधिवेशनका माध्यमबाट आफ्नो संगठनलाई विस्तार गर्न र आन्दोलनको धङधङी कायम राखिरहन चाहन्छन् । मधेशका केही विश्लेषकको अर्को पनि मत छ—मधेशी दलले वार्ताको सरकारी प्रस्ताव अस्वीकार गर्नु पनि मधेश—रणनीतिको अर्को हिस्सा हो । यतिखेर मधेशकेन्द्रित दलहरु विगतको आन्दोलनको परिणामको लेखाजोखा गर्न पनि व्यस्त रहेको मत जानकारहरुको छ । उनीहरुका अनुसार मधेशी दलहरु कुनै पनि प्रकारको चुनाव हुनुभन्दा पहिलेसम्म विगतको आन्दोलनको ताप जोगाइराख्न चाहन्छन् । पछिल्लो दिनमा आन्दोलनरत दलहरु सरकारी वार्ताको प्रस्तावप्रति उदासिन देखिएका छन् । आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूर्ती दिइनुपर्ने मुख्य शर्तलाई अगााडी सारेर तत्काललाई वार्ता अस्वीकार गरी यी दलहरु विरोधका विविध कार्यक्रमको ज्वाला प्रज्वलित गरिराख्न अभिरुची राख्दछन् । यस विधिबाट उनीहरु परिवर्तित परिवेशमा आफ्नो जनमत परीक्षणका माध्यमबाट नयाँ रणनीति निर्माणको प्रयत्न गर्न चाहिरहेका छन् भनेर बुझियो भने अस्वाभाविक हुने छैन । यसै सन्दर्भमा सत्ताधारी दल पनि नयाँ मधेश—रणनीति निर्माणमा व्यस्त रहेको पाउन सकिन्छ । यी दलहरु सत्ताको मुख्य घटक एमालेको नेतृत्वमा राष्ट्रवादको नयाँ धार विकसित गरी भावी निर्वाचनमा एक खास भूगोलको मत सुरक्षित गर्न चाहन्छन् । वास्तवमा यो धार अतिवादी धार हो जोे देशलाई भावनात्मकरुपमा विभाजित गर्न सहायक हुन सक्छ ।
सारमा भन्ने हो भने, मधेश एकपटक फेरि सकसमा परेको छ । प्रायःजसो राजनीतिक दल मधेशमा आफ्नो मतको आकारमा वृद्धिमात्र चाहन्छन् । प्रायः कसैले पनि यहाँको विकासकार्यमा अभिरुची राखेको पाइँदैन । यसदिशामा मधेशकेन्द्रित दल पनि अपवाद छैनन् । तर विगतको तुलनामा सन्तोषको एक विषय छ, त्यो के हो भने,  मधेशवासीलाई माथि गरिएको विश्लेषणबारे राम्रै जानकारी छ । विगतको तुलनामा चेतनाको सार्थक विकास भएको छ । अब यहाँका वासिन्दा विगत र वर्तमानको तुलना गर्ने क्षमता राख्दछन् । यस आधारमा एक सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ—अब राजनीतिक दलले भनेकै भरमा र तिनले उठान गरेका मुद्दाका आधारमा मात्र मधेशको मत निर्देशित हुने अवस्था छैन । अब यहाँका जनताले जे मुद्दा उठान गर्छन् र तिनको समाधान जसरी चाहन्छन् त्यही आधारमा मधेश निर्देशित हुने पक्का छ ।  
गोरखापत्र, २०७३ असार ३    

No comments:

Post a Comment