Wednesday, September 7, 2016

Letter to Shankar Pokhrel/BT

शंकर पोखरेललाई खुला पत्र

धर्मेन्द्र झा


श्री शंकर पोखरेलज्यू
पेलिटव्यूरो सदस्य, नेकपा एमाले
एवं, पूर्वमन्त्री नेपाल सरकार
अहिलेसम्म देशलाई पनि र मलाई पनि सञ्चै छ । आशा छ यहाँलाई पनि सञ्चै होला । निकै दिन भयो, भौतिकरुपले यहाँसँग भेट हुन सकेको छैन । मानसिकरुपमा यहाँसँग मैले सान्निध्यताको अनुभव गरेकै छु । विभिन्न सामाजिक सञ्जालमार्फत् यहाँसँग सम्पर्क हुने गरेकै छ र यहाँको विचारसँग निरन्तर अवगत नै छु । यहाँका सम्बन्धमा मेरा धारणा अत्यन्त सम्पन्न र सकारात्मक छन् । यहाँलाई मैले सम्मान गर्ने एक आधार भनेको यहाँको वौद्धिक छवि हो । जानेर नजानेर यहाँले आफूलाई बौद्धिकताको आवरणमा लपेट्न गरेको प्रयासको म प्रशंसक हुँ । यो अलग कुरा हो कि, तपाइँ आफ्नो यो प्रयासमा अपेक्षितरुपमा सफल हुन सक्नुभएको छैन । यहाँले यस दिशामा अझ प्रयास गर्नु आवश्यक देखेको छु ।

नेता पोखरेलज्यू, प्रायः मानिस चार प्रकारका हुन्छन् । पहिलो जो केही पनि जान्दैनन् र म आफू जान्दिन भन्ने जान्दछन् । दोस्रो, जो केही पनि जान्दैनन् र म आफू जान्दिन भन्ने पनि जान्दैनन् । तेस्रो, जो केही जान्दछन् र म आफू जान्दछु भन्ने जान्दछन् र चौंथो जो केही जान्दछन् र म आफू जान्दिन भन्ने जान्दछन् । तपाई आफूलाई बुद्धिजीवी ठान्नुहुन्छ तर माथि उल्लेख गरिएको कुन श्रेणीको बुद्धिजीवीमा पर्नुहुन्छ भन्ने यहाँ स्वयंले निश्चय गर्नुहुनेछ भन्ने भन्ने मैले अपेक्षा गरेको छु । एउटा कुरा के निश्चित हो भने तपाई जति जान्नुहुन्छ त्योभन्दा बढी जान्ने सुन्नेका रुपमा देखाउन मन पराउनुहुन्छ । यसो हुँदैनथ्यो भने हिजो मंगलवार जसरी तपाईँको विचार सामाजिक सञ्जाल ट्वीटमार्फत सार्वजनिक भयो त्यो हुँदैनथ्यो । मैले माथि उल्लेख गरे तपाइँका बारेमा मेरा विचार विगतमा अत्यन्त सकारात्मक थिए । नेपालका थोरै वौद्धिक नेतामाझ तपाईँ पनि पर्नुहुन्छ भन्ने मेरो मान्यता थियो । तर तपाइँको हिजोको ट्वीट हेरेपछि विगतको मेरो धारणा मिथ्या भ्रम रहेछ भन्ने पुष्टि भएको छ ।
आदरणीय पोखरेलज्यू, यहाँँले हिजोको पहिलो ट्वीटमार्फत् वर्ण र रंगका आधारमा आमनेपालीबीच विभेदको प्रयत्न गर्नुभएको छ, जो दुखद छ । हिजोकै दोस्रो ट्वीटमार्फत् यहाँले अघिल्लो ट्वीटलाई  सच्याउनु र त्यसवापत माफी माग्नुको साटो पहिलो ट्वीटको औचित्च्य पुष्टिको प्रयास गर्नुभएको छ । यो सरासर यहाँको धृष्टता हो । यस सम्बन्धमा तपाई स्वयं बढी जानकार हुनुहुन्छ ।
पोखरेलज्यू नेपालमा काला वर्णका मानिसमात्रै छैेनन् । गोरा वर्णका मात्र पनि छैनन । आमनेपालीको आम वर्ण गहुँगोरो हो । मैले जति नेपाल घुमेको छु त्यस आधारमा मैले यही बुझेको छु । तर तपाईले वर्ण र रंगका आधारमा एक खास भूगोललाई सिंगोरुपमा आरोपित गर्ने प्रंयास गर्नुभएको छु । यो उचित होइन ।
श्री पोखरेलज्यू, यहाँलाई हेक्का हुनुपर्छ, नेपालका कुनै पनि भूगोलमा पनि एकै रंगका मानिसको वसोवास छैन । यस आधारमा यहाँले एउटा भूगोललाई आधार बनाएर सिंगो नेपाल, नेपाली र नेपाली राष्ट्रियताको अपमानको प्रयास गर्नुभएको छ । तपाईजस्ता व्यक्तिका विचार यति निकृष्ट होलान भनेर मैले त कल्पनासम्म गर्न सक्ने कुरा थिएन । तर दूर्भाग्य मैले यस्तै विकृत विचारको समाना गर्नुपर्यो, दुख लागेको छ ।
आदरणीय पोलिटव्यूरो सदस्यज्यू, तपाई एक खास राजनीतिक सिद्धान्तबाट दीक्षित हुनुहुन्छ । त्यसमा मेरो टाउको दुखाई पटक्कै होइन । तर टाउको दुखाई केमा हो भने यहाँजस्तो कथित् वौद्धिक आवरणका व्यक्तिबाट आमनेपालीले कहिलेसम्म प्रताडित भइरहनुपर्ने हो ? मेरो टाउको दुखाई केमा पनि हो भने एक खास वर्ग र विचारकाले किन नेपाली समाजको वहुलवादी संरचना र प्रवृत्तिलाई स्वीकार गर्दैनन् ? तपाईको हिजोको ट्वीट पनि वहुलवादको अस्वीकृतिसँग सम्बद्ध छ भनेर किन प्रश्न नगर्ने ?
नेता पोखरेलज्यू, आग्रही धारणाको पनि हद हुन्छ ? मधेशका आमव्यक्तिको रंग कालो हुन्छ भने त्यसमा उनको के दोष ? दोष त बरु तपाइहरुजस्ताको हो जसले रंगमा पनि वैचारिक र सैद्धान्तिक खोट देख्दछ ।
आदरणीय पूर्वमन्त्रीज्यू, भनिन्छ, मानिसको मनमा जे जस्तो विचार हुन्छ त्यो कुनै न कुनैरुपमा कुनै न कुनै वेला प्रकट हुन्छ नै । तपाईका मनका विचार पनि यसैरुपमा प्रकट भएको हो । तर यो प्रक्रिया स्वाभाविक होइन । हो, म तपाईको मतदाता होइन । यस आधारमा मेरा यी धारणा पढेर वा सुनेर तपाईले मेराबारेमा अर्को नकारात्मक धारणा सिर्जना गर्न सक्नुहुनेछ । यसका लागि तपाइ स्वतन्त्र हुुनुहुन्छ । यो विषय त्यति बढी मेरो सरोकारको होइन, तर मैले अपमानको अनुभूत गर्ने गरी कुनै सार्वजनिक टिप्पणी गर्नुभयो भने त्यसमा मेरो सरोकार हुनेछ र त्यसपछि एकपटक फेरि यसैगरी सार्वजनिक टिप्पणी गर्न म पनि स्वतन्त्र हुनेछु ।
अन्त्यमा, आदरणीय पोखरेलज्यू आफू कालो नभएकोमा तपाईलाई जति गौरव छ म मधेशवासीलाई आफू कालो भएकैमा हिनताबोध छैन । तर मलाई हिनताबोध कहाँनिर भयो भने हामीले समाज विभाजनको आधार मानिसको रंगलाई मान्नेलाई नेता स्वीकार गर्यौ । यो हाम्रो दुखद पक्ष हो । यस अवस्थामा देशका नेताहरुप्रतिको आस्थामा कमी आउन नदिनेतर्फ भविष्यमा यहाँ प्रयत्नशील रहनुहुने अपेक्षा गरेको छु ।
तपाईको परिचित झा जी
जनकपरुधाम, २ किशोरीनगर, धनुषा
विकास टाइम्स २२ भदौ २०७३

No comments:

Post a Comment