Thursday, February 25, 2016

GOPA/13th GC of NC



१३ औं महाधिवेशन १३ मुद्दा

धर्मेन्द्र झा

आजको सातौं दिन नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन प्रारम्भ हुँदैछ । पार्टी सभापति सुशील कोइरालाको दैहिक अवसानलगत्तै हुन लागेको यो चर्चित महाधिवेशन कांग्रेस स्थापनापछिका दिनमा कोइराला परिवारबाट मूल नेतृत्वका लागि पहिलोपटक करिबकरिब दावी नरहने स्थितिमा सम्पन्न हुने अनुमान गरिएसँगै थप चर्चित बन्न पुगेको छ । महाधिवेशनका सन्दर्भमा उठान हुन सक्ने केही मुद्दा छन् । यी मुद्दालाई निम्न बुँदामा सीमित गरी अध्ययन गर्न सकिन्छ ।

संगठित र एकत्रित कांग्रेस
 महाधिवेशनको सबैभन्दा महत्वपूर्ण मुद्दा कांग्रेसलाई कसरी संगठित र एकत्रित अर्थात एकताबद्ध रुपमा डोर्याउन सकिन्छ भन्ने हो । विगतमा विभाजित कांग्रेसलाई बाह्रौ महाधिवेशनमार्फत् जोड्ने प्रयत्न भएको थियो तर साठी र चालीसको विभाजनले पार्टीमा अनेकखाले विकृति भित्रिए । पछिल्ला वर्षहरुमा यसबाहेक पनि अनेक गुट—उपगुट विकसित भए । विचारभन्दा व्यक्ति हावी हुने स्थितिको निर्माण हुँदा पार्टीको सैद्धान्तिक धार भुत्ते हुने खतरा वर्तमानमा निम्तिएको छ । आसन्न महाधिवेशनले यो विकृतिको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन मद्दत गर्नेछ । भनिन्छ, लोकतन्त्रमा पार्टीको सबभन्दा महत्वपूर्ण पक्ष नै कार्यकर्ता र जनशक्तिको व्यवस्थापन हो । यो महाधिवेशनले जनशक्ति व्यवस्थापनको पाटोलाई महत्व दिई पार्टीलाई सुदृढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ ।
डिजिटल कांग्रेस
 कांग्रेस पार्टी जति पुरानो छ यसको संचालनको प्रक्रिया सोही अनुपातमा परम्परावादी छ । पार्टी संचालनको वैज्ञानिक सोच विकसित हुन नसकेको परिप्रेक्ष्यमा आधुनिक सूचना प्रविधिमार्फत पार्टी संचालन विधिलाई ‘डिजिटलाइज्ड’ बनाउनु जरुरी छ । आज कांग्रेसको अभिलेख पद्धतिप्रति थुप्रै टीका—टीप्पणी भइरहेका छन् । कार्यकर्ताको अभिलेख पद्धति विकसित छैन । मूल्यांकनको कुनै विधि छैन । प्रचार समग्री र प्रयोग विधि पुरातन छन् । धेरैजसो कुरा कागजका ढड्ढामुनि थिचिएर रहन बाध्य छन् । यसको अन्त्य आसन्न महाधिवेशनको एक प्रमुख मुद्दा बन्न सक्नुपर्छ ।
संविधान कार्यान्वयन
संविधानको कार्यान्वयनको विषयलाई यसपटकको महाधिवेशनको नारा बनाइएको छ । पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको कार्यान्वयनको विषय देश र जनताको भविष्यसँग त जोडिएको छ नै सँगै दिवगंत कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जलिसँग पनि जोडिएको छ । छ दशकभन्दा बढी समयदेखिको जनता आफैले संविधान लेख्ने सपनालाई कार्यरुपमा रुपान्तरण गर्ने कार्यको सफल नेतृत्व गरेको कांग्रेसले भविष्यमा यसको कार्यान्वयनका दिशामा पनि नेतृत्वकारी भूमिका निर्वाह गर्नु आवश्यक छ । यसको शंखघोष आसन्न महाधिवेशनले गर्ने अपेक्षा गरिनु अस्वाभाविक हुने छैन ।
लोकतान्त्रिक समाजवाद
नेपाली कांग्रेसको सैद्धान्तिक आधार लोकतान्त्रिक समाजवाद हो । यसै सिद्धान्तका आधारमा कांग्रेसले सात दशकको सफल यात्रा तय गर्न सकेको हो । कांग्रेसका संस्थापक एवं सैद्धान्तिक व्याख्यकार विपि कोइरालाले व्याख्या गर्नु भएअनुसारकै मानकहरु अहिलेको समयमा पर्याप्त र उचित नहुन सक्छन् । यसलाई समयसापेक्ष बनाउनु आवश्यक छ । लोकतान्त्रिक समाजवादको अवधारणा लोकप्रिय निर्विकल्प छ । तर यसको व्याख्या आजको सन्दर्भमा हुनु अपरिहार्य छ । यसो गर्न नसकिए आजको पुस्तालाई आकर्षित गर्न समस्या हुने स्वीकार गरी आसन्न महाधिवेशनले लोकतान्त्रिक समजवादको परिमार्जित अवधारणातर्फ सोच विकसित गर्नु आवश्यक छ ।     
   विधान संशोधन
विधान संशोधन तेह्रौ महाधिवेशनको प्रमुख मुद्दा हो । विद्यमान विधान समयसापेक्ष नभएको कुुरा चौतर्फी चर्चामा छ । निर्वाचन क्षेत्रीय संरचनामा आधारित कांग्रेसको  विद्यमान विधान नयाँ संविधानअनुकूल छैन । कांग्रेसको विधानलाई देशको मूल कानुनअनुकूल बनाउन विधानमा थुप्रै संशोधन आवश्यक छन् । काग्रेसको अहिलेको सदस्यता प्रक्रिया र नेतृत्व छनौटको विधि पनि आधुनिक प्रतिस्पर्धाको सिद्धान्तविपरित छ । अहिलेको विधानले नयाँ योग्य युवा शिक्षित पुस्तालाई नेतृत्वमा आउन रोकेको छ । विधानमा संशोधन गरेर युवा पुस्तालाई नेतृत्वमा आउन अवसर प्रदान गर्नु जरुरी छ । नेतृत्वमा आउने संख्या समस्या होइन समस्या त सबै वर्गलाई समानरुपमा सहभागी गराउन सकियो कि सकिएन भन्ने हो ।
प्रादेशिक संरचना
 नयाँ मूल कानुनले देशमा संघीयताको अवधारणालाई अंगिकार गर्दै सात प्रदेशको संरचना व्यवस्था गरेको छ । सात प्रदेशमा शासन संचालन र पार्टीको संगठनका सन्दर्भमा ठोस निष्कर्ष निकल्नु जरुरी छ । यो विषय पार्टीको संगठन विस्तार र नेतृत्व निर्माणका दृष्टिले पनि महत्वपूर्ण छ । अहिले कांग्रेसको सागठनिक संरचना गाउँ÷नगर, क्षेत्र, जिल्ला र केन्द्रमुखी छ । नयाँ संविधानको व्यवस्थाअनुसार अब प्रादेशिक संरचना पनि निर्माण हुनुपर्नेछ । यस अवसरलाई कसरी सदुपयोग गर्ने भन्नेबारे पनि महाधिवेशनले धारणा तय गर्नु अपेक्षित छ ।
वहुलवादको सामाजिक अभ्यास
यो देश जातीय र भाषिक आधारमा एक समृद्ध फूलवारी हो । देशको भूगोलमा वसोवास गर्ने अर्थात फूलवारीका सबै फूलले समानरुपले फुल्ने अवसर पाउनुपर्दछ । सारमा यही अवधारणा वहुलवाद हो । जसरी देश वहुजातीय र वहुभाषिक छ देशको सम्पूर्ण चरित्र पनि सोहीअनुकूल हुनुपर्छ । देशका सम्पूर्ण निकाय र नीतिमा देशको मूल चरित्र परिलक्षित हुनु नै वहुलवादको कार्यान्वयन हो । यसले एकातिर जहाँ सामाजिक सद्भाव विकसित हुन्छ त्यही अर्कोतिर देशका सम्पूर्ण वर्गको आत्मसम्मानको रक्षा हुन सम्भव हुन्छ । कांग्रेसले सैद्धान्तिकरुपमा वहुलवादी अवधारणालाई स्वीकार गरेको छ तर व्यवहारमा यो धारणा कार्यान्वित हुन सकेको छैन, जो दुखदायी छ । आसन्न महाधिवेशनले यस विषयमा सार्थक नीति तय गर्ने अपेक्षा गर्न सकिन्छ ।
मधेश सम्बोधन
यो महाधिवेशनको सर्वाधिक ठूलो र महत्वपूर्ण मुद्दामध्येको एक हो— मधेश सम्बोधन । मधेश कांग्रेसको आधार क्षेत्र हो । अहिले कांग्रेसका लागि मधेश त्यति सहज नरहेको आँकलन गरिएको छ । यसको प्रभाव का्रगे्रसको समग्र राष्ट्रिय राजनीतिमा पर्ने निश्चित छ । नयाँ संविधानलाई मधेशले पूर्णरुपमा स्वीकार गर्न सकेको छैन र संविधान निर्माणप्रति स्वामित्व ग्हण पनि गर्न सकेको छैन । संविधानप्रति असहमति राखेको मधेशले यसको सम्बोधन चाहेको छ । त्यसो त कांग्रेसको नेतृत्वमा संविधानमा दुई संशोधन त गरिएको छ तर मधेशले यसलाई पर्याप्त मानेको छैन । यस्तोमा मधेशलाई सम्बोधन गर्न र त्यहाँको जनाधारको रक्षा गर्न थप रणनीति तय गर्नु जरुरी छ ।
फेरि पनि विकास
राजनीतिको उद्देश्य नै देश र जनताको सर्वोत्तम हीत र समृद्धि हो । मानवीय, भौतिक र आर्थिक विकास यसका माध्यम हुन् । विकासमा सहभागी हुन नसक्ने राजनीतिक दल जनताबीच स्थापित भईरहन सक्दैनन् । नेपाल पछिल्लो दिनमा भौतिक विकास र आर्थिक गतिविधिका दृष्टिले निकै सकसमा छ । महाविनाशकारी भूकम्प, करिव छ महिना लामो मधेश आन्दोलन र चार महिना लामो सीमा नाकावन्दीका कारण नेपालको सम्पूर्ण विकास प्रक्रिया थला परेको अवस्था छ । यस अवस्थामा विकास फेरि पनि मुद्दा बन्ने निश्चित छ ।
श्रमको सम्मान
आर्थिक उपार्जनका विविध क्षेत्रसम्बन्धी उचित नीति निर्माण हुन नसक्दा श्रमको सम्मानको उचित वातावरण तयार हुन नसकेको स्पष्ट छ । नेपालमा असंगठित क्षेत्रका मजदुरको ठूलो संख्या छ । असंगठित मजदुरबारे हालसम्म कुनै अध्ययन नै हुन सकेको छैन । नेपालमा कृषि र औद्योगिकलगायतका शारिरीकरुपमा श्रम गर्नेहरुको मात्र होइन वौद्धिक र वैचारिक क्षेत्रमा क्रियाशील रहेकाहरुको सम्मानको रणनीति पनि तय गर्नु जरुरी छ । नेपाली कांग्रेसले अब यसप्रति आँखा चिम्लिएर बस्ने स्थिति नरहेकोप्रति महाधिवेशन गम्भीर हुनु जरुरी छ ।
अर्थोपार्जनमा कार्यकर्ता
नेपाली कांग्रेसले अहिलेसम्म कार्यकर्तालाई कसरी व्यस्त राख्ने र उनलाई कस्तो दायित्व दिने भन्ने विषयमा कुनै नीति बनाएको पाइँदैन । अबको कांग्रेस यसप्रति गम्भीर हुनु जरुरी छ । कांग्रेसले कार्यकतालाई अर्थोपार्जनमा सक्रिय गराएर सम्बन्धित कार्यकर्ता र समग्रमा देशको आर्थिक विकासलाई वल प्रदान गर्ने दृष्टिले नीति तय गर्नु जरुरी भइसकेको छ । यसतर्फ पनि महाधिवेशनको ध्यानकृष्ट हुनु जरुरी छ ।
राष्ट्रियता प्रवद्र्धन 
नेपाली राष्ट्रियता, यतिखेर इतिहासकै सर्वाधिक कठीन मोडमा, पुनवर््याख्याको पर्खाईमा छ । पछिल्लो दिनमा साम्प्रदायिकरुपमा जसरी राष्ट्रियताको व्याख्या गर्ने प्रयास गरियो त्यो दुखद छ । यो प्रयासले जनता विभाजित गर्ने प्रपञ्च रचिएको छ भनेर भनियो भने अतिशयोक्ति हुने छैन । यस्तो अवस्थामा कांग्रेसको आसन्न महाधिवेशनमा राष्ट्रियताको विषय एक प्रमुख मुद्दा बन्ने निश्चित छ ।
नेतृत्व हस्तान्तरण
 यसपटकको महाधिवेशनको सर्वाधिक चर्चित र महत्वपूर्ण विषय नेतृत्वको विषय हो । त्यसो त प्रत्येक महाधिवेशनमा नेतृत्वको विषय महत्वपूर्ण रहने गरेको छ तर पार्टी सभापति सुशील कोइरालाको दैहिक अवसानसँगै यसपटकको महाधिवेशन नेतृत्व हस्तान्तरणका दृष्टिले निकै महत्वपूर्ण हुने निश्चित छ । यसै गरी माथि उल्लेख गरिएका मुद्दामा सफलताप्राप्तिका लागि पनि पार्टीको भावी नेतृत्वको सन्दर्भ यतिखेर चर्चामा छ । परिवर्तित राजनीतिक परिदृश्यमा हुन गइरहेको यो महाधिवेशनले यस्तो नेतृत्व चयन गर्नु जरुरी छ जो सिद्धान्त, आस्था, विचार, निष्ठा र इमानदारीका दृष्टिले सवल होस । लोकतन्त्रप्रति दृढ विश्वास राख्ने नेतृत्वले मात्र भविष्यका चुनौतीको सामना गरी माथि उल्लेख गरिएका मुद्दाको सम्बोधनका माध्यमबाट नेपाल देश, नेपाली लोकतन्त्र र नेपाली जनताको सर्वोत्तम हीतको मार्ग तय गर्न सक्छ । स्मरण रहोस, लोकतान्त्रिक मूल्य—मान्यतासँग सम्झौता गर्नेहरुबाट यो राष्ट्रिय दायित्व निर्वहन सम्भव हुन सक्दैन । 
गोरखापत्र ः १४ फागुन २०७२
   

  
    

No comments:

Post a Comment