कांग्रेस महाधिवेशनका मुद्दा
सबैभन्दा महत्वपूर्ण पार्टीभित्रको आन्तरिक व्यवस्थापनको विषय ।
धर्मेन्द्र झा
गाउँ नगर अधिवेशनको औपचारिक प्रक्रिया आजदेखि सुरु भएसँगै कुनै ठूलो बवण्डर नमच्चिए अबको पाँचौ साता (फागुन २० देखि २३) राजधानी सहर कांग्रेसको १३औं महाधिवेशनको रौनकले आच्छादित हुनेछ । एक विशिष्ट समय अर्थात संविधानसभाबाट संविधान जारी भएपछि हुन गइरहेको वहुप्रतिक्षित यो पहिलो महाधिवेशनसामु थुप्रै विषय र मुद्दा छन् । महधिवेशनले तय गर्नुपर्ने नीति थुप्रै छन जसबारे कांग्रेसका कार्यकतामात्र होइन समग्र देश र जनता प्रतिक्षरत छन् । अहिले मधेशमा जारी आन्दोलन, संविधान संशोधनको औचित्य पुष्टि, संविधानको समग्र कार्यान्वयन, पार्टीको पुनर्संरचना र विधान परिवर्तन, सांगठनिक र सैद्धान्तिक वहस, भूकम्पपछिको पुनर्निर्माण, वैदेशिक र कूटनीतिक सम्बन्ध, सरकारसँगको सम्बन्ध र सरकार गठनबारे भावी दृष्टिकोण तथा पार्टीको नेतृत्व परिवर्तनलगायतका केही यस्ता विषय हुन् जसबारे आम जनता कांग्रेसको महाधिवेशन पर्खेर बसेका छन् । यी विषय यस्ता हुन् जसबारे अन्तर्राष्ट्रिय चासो पनि कम छैन । तर यी सबैभन्दा महत्वपूर्ण छ पार्टीभित्रको आन्तरिक व्यवस्थापनको विषय । नेपाली कांग्रेस यतिखेर इतिहासकै सर्वाधिक कठीन मोडमा उभिएको छ र यसको एक प्रमुख कारण हो पार्टीको आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त नहुनु । यही आन्तरिक व्यवस्थापनको समस्याले निम्त्याएको छ पार्टीभित्र गुट—उपगुटको अवस्था । गुट—उपगुटका कारण कमजोर सावित भइरहेको पृष्ठभूमीमा आशा गरौं १३औं महाधिवेशनले आन्तरिक व्यवस्थापनको पाटोलाई मजबुत बनाई विद्यमान गुट—उपगुटको अवस्थाको अन्त्य गर्नेछ र कांगे्रसलाई सुदृढ बनाउन निर्णायक भूमिका निर्वाह गर्नेछ ।राजनीतिलाई विद्वानहरुले कला पनि भनेका छन् । दलभित्रका यस्ता गुटबीचको सन्तुलन राख्ने कुरा त्यही कलाभित्र पर्दछ । नेपाली कांग्रेसभित्रको एउटा प्रमुख समस्या भनेको यस्तै कला अर्थात व्यवस्थापन क्षमताको अभाव हो । नेपाली कांग्रेस देशकै ठूलो र पुरानो लोकतन्त्रवादी राजनीतिक दल हो । समग्रमा यो दल कुनै पनि खाले समस्याबाट आक्रान्त हुनुको अर्थ देशकै लोकतान्त्रिक प्रणाली प्रभावित हुनु हो । कांग्रेसभित्रको समस्याप्रतिको चिन्ताको कारण यही नै हो । आन्तरिक व्यवस्थापनको अभावमा कांग्रेस व्यवहारमा जति ठूलो शक्ति हुनुपर्ने हो, त्यो त हुन सकेको छैन नै सँगै प्रभावकारितामाथि पनि प्रश्न चिन्ह तेर्सिने गरेको छ । जतिसुकै राम्रो लक्ष्य लिइएको भएपनि त्यसलाई कार्यान्वयन गर्ने संगठन सवल, व्यवस्थित, रणनीतिमा स्पष्ट र कार्यकर्ताले स्वाभिमानको अनुभूति गर्ने परिस्थिति निर्माण हुन सकेन भने लक्ष्यप्राप्तिका लागि निस्काम कर्म गर्न त्यो संगठन असफल हुन्छ । पछिल्लो अवस्था हेर्ने हो भने नेपाली कांग्रेसले यो महत्वपूर्ण सवाललाई दृष्टिगत गरेर आफूलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरतापूर्वक प्रस्तुत हुनुपर्ने जरुरी देखिएको छ । आसन्न महाधिवेशन यस दिशामा उपयुक्त प्रारम्भ स्थल हुन सक्छ ।
कांग्रेस ‘मास वेस’ दल हो । यस्तो प्रकृतिको दललाई सम्पूर्ण रुपमा एकताबद्ध गराएर कम्यूनिष्ट दलझै ‘चेन अफ कमाण्ड’को शैलीमा संचालन गर्न सकिँदैन । तर ‘मास वेस’ दलका पनि केही मूल्य र मान्यता हुन्छन् । ती दलका कार्यकर्ताका पनि नैतिकता र कार्यक्षेत्रका सन्दर्भमा केही आधार हुन्छन् । नेतृत्वले कार्यकर्तालाई कसरी अनुशासित राख्ने र उनीहरुको मूल्यांकन कसरी गर्ने भन्ने कुराका निश्चित मापदण्ड हुन्छन् । यी आधारहरु कुनै सूत्रका रुपमा नभए पनि कस्तो सामाजिक अवस्थितिमा त्यो दल संचालन हुने हो भन्ने सन्दर्भमा निर्माण गरिनुपर्दछ । यो दायित्व नेतृत्वको हुन्छ । दलको संरचनाभित्र रहेर दलको अहित गर्नेलाई अनुशासनको कारबाही गर्ने सामथ्र्यसहितको नेतृत्व र कार्यकर्ताको सही मुल्यांकन हुने ढंगको संरचना निर्माणको अभावमा कांग्रेसजस्तो ‘मास वेस’ दललाई व्यवस्थित गर्न सकिँदैन । उचित व्यवस्थापनको अभावको अवस्थामा दल केही टाठाबाठा व्यक्तिको स्वार्थ सिद्ध गर्ने संरचनामा सीमित रहन सक्ने खतरालाई अस्वीकार गर्न सकिँदैन ।
दलका प्रचारसामग्रीको उपलब्धता, प्रचारसामग्रीमा नवीनता, सामाजिक संजाललगायत सूचना प्रविधिको अत्यधिक उपयोग, प्रत्येक तहको दल संरचनाको कार्यालयमा सकेसम्म पुस्तकालय, तत्कालका लागि त्यो असम्भव देखिए वाचनालय, संचारमाध्यमसँगको सम्बन्धमा नयाँपन, सामाजिक र सांस्कृतिक कर्ममा योजनाबद्ध संलग्नता जनाउने बानीको विकास, कार्यकर्ताका लागि नियमित प्रशिक्षणजस्ता कुराहरु दलको व्यवस्थापनसँग जोडिएका हुन्छन् । दलको व्यवस्थापन पक्षमा यी विषयप्रति ध्यान नदिने हो भने दल क्रमशः चियापसलमा इतिहास र समाजवादका ठूलाठूला गफ हाँक्दै हिड्नेहरुको जमातमा सीमित हुने खतरा उत्पन्न हुन्छ । नेपालको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कंग्रेस यतिखेर यस्तै खतराको सँघारमा ठडिएको छ भन्दा अतिशयोक्ति ठहरिँदैन । व्यवस्थापनको अभावमा जनताको आकर्षण टिकाउ हुन सक्दैन भन्ने कुरा कांग्रेसका नेतृत्वले बुझ्नैपर्दछ र यसको पछिल्लो उदाहरणका रुपमा, आजका दिनमा मधेशमा कांग्रेसको अवस्थालाई, प्रस्तुत गर्न सकिन्छ ।
आफूलाई व्यवस्थित राख्न र समयसापेक्ष बनाउन नसकेका कारण धेरै शक्तिशाली र लोकतन्त्रप्रति विश्वास गर्ने संस्था तथा संगठनहरु इतिहासमा सीमित हुन पुगेका छन् । नेपालको राजसंस्था, कुनैबेलाको शक्तिशाली मानिने चिनिया दल कोमिन्ताङदेखि नेपालकै प्रजा परिषद तथा भारतमा राममनोहर लोहिया र जयप्रकाश नारायनका दलहरुको अवस्थालाई यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । यि सन्दर्भबाट नेपाली कांग्रेसले पाठ सिक्नु जरुरी छ । यसदिशामा कांग्रेसले आफूलाई अग्रसर गराउने उपयुक्त मौका अहिले आएको छ । १३औ महाधिवेशनकोे अवसरलाई छोपेर कांग्रेसले आफूलाई व्यवस्थित गर्ने विशेष अभियान चाल्न सक्नुपर्दछ । ‘अनुशासित कार्यकर्ता र मूल्यांकनको सुनिश्चितता भएको दल’का रुपमा उभ्याउन कांग्रेसले केही महत्वपूर्ण निर्णय लिन सक्नुपर्ने समय आएको छ । अब पनि आफ्नो सिद्धान्त र इतिहासको बलमा मात्र दललाई संञ्चालन गर्छु भन्नु कांग्रेसका लागि दुर्भाग्य हुनेछ ।
कांग्रेसले स्थापना कालदेखि नै भोग्दै आएको एउटा समस्या भनेको स्वार्थी र अनुशासनहीनहरुको जगजगी हो । तर, उसले त्यस्ता व्यक्तिलाई व्यवस्थापन गर्न सकेको छैन । इतिहासको कुनै कालखण्डमा कसैलाई कारबाही भए पनि ‘आममाफी’का नाममा सहजै कारबाही फुकुवा हुने गरेका थुप्रै दृष्टान्त छन् । यस्तो अवस्थामा अनुशासन उल्लंघन गर्दा आफ्नो भविष्यका बारेमा दोहोरिएर सोच्न कोही कार्यकर्ता बाध्य छैनन् । अझ गहिरिएर हेर्ने हो भने प्रत्येक निर्वाचनमा १५ देखि २५ सिट कांग्रेसले यस्तै कार्यकर्ताका कारण गुमाउँदै आएको छ । प्रजातन्त्र बहालीपश्चात त जसले बिद्रोहको धम्की दियो, त्यसैले टिकट पाउँछ भन्ने मान्यता नै स्थापित हुने अबस्थासमेत देखिएको हो । यो प्रवृत्ति दलका लागि मात्रै घातक छैन बरु समग्रमा लोकतन्त्रकै लागि पीडादायी छ । अनुशासनहीनताको यो प्रवृत्तिविरुद्ध समाधान खोज्न दलको आसन्न महधिवेशनमा पनि वहस चलाइनु अपरिहार्य छ । दललाई अराजकहरुको भीडभन्दा पनि अनुशासित सिपाहीहरुको चुस्त संगठन बनाउने कुरामा नेतृत्व प्रतिबद्ध हुनुपर्दछ ।
कांग्रेसको अर्को समस्या भनेको कार्यकर्ताको मुल्यांकनको कुनै आधार तयार नहुनु हो । पुरानो दल भएका कारण पुराना मान्छेहरु यसमा स्वाभाविक रुपमा छन् । ‘पहिलेदेखि काम गरेको मान्छे भएकाले’ भन्ने रेडिमेड जवाफबाहेक व्यक्तिचयनको अर्को आधार कसैले प्रस्तुत गर्न सक्दैन । पुस्तान्तरणबारे कांग्रेस नेतृत्वले बुझ्नै नचाहेको प्रतीत हुन्छ । वास्तवमा विश्लेषण गर्ने हो भने कांग्रेसमा आवद्ध भएर राजनीति गर्न खोज्ने पहिलो पुस्ताको कार्यकर्ताले (अपवादबाहेक) सहज स्वीकृति प्राप्त गर्न सकेको पाइँदैन । यो भनेको योग्यता र क्षमतालाई स्वीकार नगर्ने मानसिकता हो जसले पार्टीलाई विस्तारै वृद्ध तथा प्रौढ एवं असक्षमहरुको क्लवमा रुपान्तरण गर्न र युवा एवं योग्यहरुको जमातबाट टाढा पुर्याउन भूमिका निर्वाह गर्दैछ । दलभित्र विज्ञ र योग्यको अनुपस्थितिमा सापेक्षित रणनीति निर्माण गर्न कठीन हुन्छ भन्ने कुरा पनि कांग्रेस नेतृत्वले बुझ्न चाहेको देखिँदैन । यी कुरालाई दृष्टिगत गरी मूल्यांकनको नयाँ आधार निर्माण गर्दै पुस्ता, वर्ग समुदाय, क्षमता र बिशेषज्ञता एबम् दल तथा समाजलाई सापेक्षित रुपमा जोड्ने चातुर्यताजस्ता विशेषतालाई ध्यान दिनु आवश्यक छ ।
जहाँ अनुशासन हँुदैन र मूल्यांकनको पद्धति हँुदैन, त्यहाँ संस्था कमजोर हुन्छ र व्यक्ति हावी हुन्छ । गुटका नाममा अयोग्यलाई स्थापित गर्ने र ‘यस म्यान’को खोजी गर्दै दलको निष्ठाप्रति प्रतिबद्ध कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्तिले कांग्रेस कमजोर भइरहेको छ । दललाई यो प्रवृत्तिबाट मुक्त राख्ने सन्दर्भमा आसन्न महाधिवेशन कोशेढुंगा बन्ने अपेक्षा गर्नु अस्वाभाविक हुने छैन । जनताले आशा गर्दागर्दै पनि आन्तरिक व्यवस्थापनमा देखिएको कमजोरीका कारण कांग्रेस कमजोर हुन पुग्यो भने त्यो कांग्रेस स्वयंको दोष हुनेछ । जनताले अझै कांग्रेसप्रति आशा र विश्वास कायम राखेर देशमा एक सशक्त लोकतान्त्रिक दलको सक्रियता चाहेका छन्, जसले मुलुकको लोकतन्त्र सुनिश्चित गर्न सकोस । कांग्रेसले जनताको यो विश्वास र आशालाई कायम राख्ने की नराख्ने ? १३ औ महाधिवेशनले जवाफ दिन सक्नुपर्छ ।
Gorkhapatra : Magh 15, 2072
No comments:
Post a Comment