Friday, September 26, 2014

अडिट/के हुँदै छ देशमा ?

के हुँदै छ देशमा ?

धर्मेन्द्र झा


देश अहिले संबिधान निर्माणको प्रक्रियामा छ । अबस्था उत्साहजनक नै छ । राजनीतिक नेतृत्वबाट व्यक्त प्रतिबद्धतालाई बिश्वास गर्ने हो भने संबिधान बन्ने कुरामा त्यति धेरै शंका गर्नुपर्ने देखिँदैन । संबिधान निर्माण प्रक्रियमा आफ्नो भूमिका खोज्ने र त्यसको जस आफुले लिने नाममा देखिएका सामान्य विवादबाहेक संबिधान निर्माण प्रक्रियामा त्यति ठूलो बिघ्नबाधा देखिएको छैन । तथापी अघिल्लो संबिधानसभाको बिघटनको इतिहासका साक्षीका रुपमा रहेका कारण नागरिकको मनमा भने आशंका रहेकै पाइन्छ ।

एकातिर संबिधान निर्माण हुने कुरामा आशा बढ्दै गएको छ भने अर्कोतिर नयाँ बन्ने संबिधानलाई बहाना बनाएर देशमा एउटा ठूलो दूर्घटना निम्त्याउन चाहनेहरुले चलखेल गरिरहेका छन् कि भन्ने आशंका पनि जाग्न थालेको छ । पछिल्लो समयमा चर्चामा आएका चारवटा प्रशंगले यसतर्फ गंभीर बनाएको छ । पहिलो, संबिधानमा नेपाललाई हिन्दु राष्ट्र भनेर उल्लेख नगरे त्यसलाई जलाइदिने खुमबहादुर खड्काको धम्की, दोस्रो, मधेसलाई अलग राज्य बनाउनु पर्छ भनेर सार्वजनिक भएको भनिएको सि.के.राउतको अभिव्यक्ति, तेस्रो, गायीका अञ्जु पन्तले हिन्दु भजन गाउन नचाहेको र हिन्दु धर्मप्रति घृणभाव व्यक्त गरेको अभिव्यक्ति  चौथो पूर्वराजा ज्ञानेन्द्र बिरामी हुँदा बाबुराम भट्टराई नर्भिक पुगेको सन्दर्भ । फरकफरक सन्दर्भमाका यी चर्चाहरु के संयोग मात्र हुन् त ? खुमबहादुर यतिबेला आक्रामक भएर आउनु, सि.के.राउतको अभिव्यक्ति यतिबेला मात्रै आपत्तिजनक मानिनु, दुई बर्ष अगाडीको अञ्जु पन्तको सन्दर्भ यतिबेला सार्वजनिक हुनुका पछाडी स्वाभाविक रुपमा कुनै कारण देखा पर्दैन । यी संयोग मात्र हुन् भन्ने कुरामा बिश्वास गर्ने आधार निकै कम छन् । पर्दा पछाडीका रणनीतिका आधारमा यी सन्दर्भहरु सतहमा आएका वा ल्याइएका हुन् भन्ने कुरालाई पूर्णरुपमा वेवास्ता गर्न सकिने अबस्था छैन । संबिधान निर्माणका सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक संवाद समितिका संयोजक एमाओवादी नेता बाबुराम भट्टराईको ‘नर्भिक यात्रा’ मानवीय भावनाबाट ओतप्रोत भएर मात्र पनि भएको हुन सक्छ । तर केही भने भट्टराईको भावनात्मक संवेगमै प्रश्नचिन्ह लगाउँदै ‘नर्भिक यात्रा’ लाई असहज ठान्दछन । त्यसो त ठान्नेले जे पनि ठान्न पाउँछ । सबै ठम्याइ सबैका लागि अन्तिम निष्कर्ष नहुन पनि सक्छन ।  भट्टराइ कुनै महत्वपूर्ण सन्देश दिन खोजेरै त्यहाँ गएका हुन् भन्ने कुरा उनको ‘नयाँ शक्ति’को नाराभित्र छोपिएको शक्ताकब्जाको रणनीति बुझ्नेहरुका लागि एक नयाँ खुराक हुन सक्छ । 
धार्मिक स्वतन्त्रतासहितको राष्ट्रका रुपमा नेपाललाई पुनस्र्थापित संसद र दुईवटा संबिधानसभाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा अनुमोदन गरिसकेको अबस्थामा त्यसलाई केही नेताको नियोजित चाहनाका उपज भन्दै त्यसलाई निरन्तरता दिएमा संबिधान जलाउँछु भन्ने कुरा अतिवादी चिन्तनको उपज हो । अञ्जु पन्तलाई पात्र बनाएर नेपालमा हिन्दु धर्मप्रति घृणा फैलाउन खोज्ने शक्ति जन्मिरहेको सन्देश प्रवाह गर्न खोजिएको छ । संघियताको अबधारणा र स्वरुपका बारेमा संबिधानसभामा गहन संवाद भैरहँदा देशमा सि के राउत प्रकरणलाई जन्म दिने प्रयत्न गरिँदैछ । सामाजिक संजालमार्फत पक्ष विपक्षमा अतिवादी धारणाहरु सार्वजनिक गरिँदैछन । यो वहसले देशलाई कति जोड्छ त्यसलाई त अहिले नै मूल्यांकनको विषय बनाउन नसकिएला तर एउटा कुरा भने निश्चित छ त्यो के भने नेपाली मन छीया छीया बनाउन यस्तो वहस पर्याप्त छ । होइन भने सि के राउतको अवधारणा भन्दै एउटा ‘अभिव्यक्ति’लाई चौवाटोमा तान्ने प्रयत्न किन हुँदैछ ? यस्तो जनमत निर्माणको कामबाट कसलाई फाइदा पुग्छ, आज यो सन्दभर्को प्रासांगिकता चिन्ता र चिन्तन दुवैको कसीमा खोज्नु यथोचित छ । सि.के. राउतलाई कारबाही गर्ने नगर्ने बिषय राज्यको कानून अन्तरगतको कुरा हो । तर, उनको धारणा गलत वा ठीक के हो भन्ने प्रश्नको उत्तर खोज्नुभन्दा पहिले सिके राउतले भनेकै के हुन भन्ने कुराको खोजी गर्नु जरुरी छ । यस सन्दर्भमा संचारमाध्यमहरुमार्फत जति कुरा सार्वजनिक भएका छन ती कुनै पनि प्राथमिक स्रोतमा आधारित छैनन । उनले बोलेका भनिएका कुनै पनि कुरा हालसम्म श्रव्य दृश्यमार्फत बाहिर ल्याइएका छैनन । यस अर्थमा भन्दा, सि.के.राउत कुनै निश्चित उद्देश्यका साथ कुनै शक्तिले पर्दा पछाडी बनाएको रणनीतिका आधारमा सतहमा देखिएका हुन् वा उनको अभिव्यक्ति भन्दै केही कुरा बाहिर ल्याएर तराई मधेशका सन्दर्भमा केहीले परीक्षणको रानीतिक गर्न खोजेको भान पनि हुन्छ । यस्तो परीक्षण राजनीति राज्य, कुनै राजनीतिक दल, प्रतिस्पर्धी राजनीतिक शक्ति वा कुनै अदृश्य शक्तिबाट पनि गर्न खोजिएको हुन सक्छ । र त्यो अदृश्य राजनीति÷रणनीतिका पात्र मधेशबादी दलहरु पनि हुन कि भन्ने आशंका जन्मिन्छ भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन । 
संबिधान निर्माण हुने कुरामा बिश्वास बढ्दै जाँदा र त्यसको प्रक्रियामा सक्रिय सहभागि हुने समितिका संयोजक बनेका बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको आफ्नो अभियानलाई अगाडी बढाउने नाममा उग्रबामपन्थ र उग्र दक्षिणपन्थलाई समेट्नका लागि गरिरहेको प्रयासलाई पनि सन्देहपूर्ण रुपमा हेर्नुपर्ने भएको छ । स्थापित राजनीतिक, सामाजिक, सांस्कृतिक शक्तिहरुलाई क्षतबिक्षत नपार्दै, स्थापित संरचनाहरुका प्रति अबिश्वास सिर्जना नगर्दै र सहज प्रक्रियाबाट कुनै पनि कुराको निर्माण र निर्णय हुने अबस्थाको अन्त्य भए पछीमात्र नयाँ शक्ति जन्मने हो । त्यसकारण नयाँ शक्ति बनाउन चाहनेले पनि पर्दा पछाडीबाट उल्लेखित तीन पक्षमा काम गर्नै पर्ने हुन्छ । यसका लागि समाजका बिभिन्न असन्तुष्ट पात्रहरुलाई ‘एक्सपोज’ गर्ने, असम्बन्धित पात्रलाई प्रस्तुत गर्ने र केही कुरा प्रक्षेपण गरी त्यसको प्रतिक्रिया हेर्नुपर्ने हुन्छ । खुमबहादुर, सि.के. राउत बर्तमानका असन्तुष्ट पात्र हुन् । गायीका अञ्जु पन्त नितान्त असम्बन्धित पात्र हुन् । अझ महत्वपूर्ण कुरा, बाबुराम भट्टराईले आफुलाई ‘नर्भिकयात्रा’मा लगेर राजासंगको सम्बन्ध(नयाँ, पुरानो¬¬) प्रक्षेपण गरी प्रतिक्रिया लिन चाहेका छन् । यी सन्दर्भहरु ‘नयाँशक्ति’ निर्माणका लागि आबश्यक पर्ने रणनीतिसंग मिल्न गएका छन् । यी खाली संयोगका रुपमा मात्र व्याख्या गर्न सकिने बिषय होइनन् ।
अस्थीरता उत्पन्न भयो भने त्यसले देशलाई एउटा प्रक्रियामा हिड्न दिदैन । त्यसबाट जनतामा निराशा जगाउने काम मात्र हुन्छ । जनता निराश भएमा मात्र तानाशाह वा निरंकुशताबादीहरुको उदय हुन्छ । यो बिश्व इतिहासले सिद्ध गरेको कुरा हो । अहिले बिभिन्ने चर्चा र अनाबश्यक बहसहरु सतहमा ल्याएर जनतामा निराशा जगाउन खोजिएको छ । बाबुराम भट्टराईले आफूलाई ‘संबिधान निर्माणमा सक्रिय नहुन’ दवाव आइरहेको भनेर अभिव्यक्ति दिएका थिए । आफू संबिधान बनाउन प्रतिबद्ध र सक्रिय रहेको दावी प्रस्तुत गर्दै उनले अभिव्यक्ति दिनुका पछाडी पनि आशंका गर्न सकिन्छ कि, संबिधान बन्न नदिने शक्ति पनि सक्रिय रहेको जानकारी दिदै उनले आफु प्रति साहनुभुति जगाउने कुरालाई पनि ‘नयाँ शक्ति’ निर्माण अभियानको रणनीति बनाएका त होइनन् ?
जनता निराश भएपछि जस्तोसुकै चामत्कारिक नेतृत्वले पनि हारथाक खानु पर्ने हुन्छ । ००७ सालको क्रान्तिको सफलतापछिको अस्थिरताले जनतालाई निराश बनाउदा बीपी कोइरालाजस्तो चामत्कारिक नेतृत्वगुण भएका नेताले पनि संबिधानसभाको आफ्नो एजेण्डाबाट पछाडी हटी संसदीय चुनावमा सहमत हुनपरेको थियो । समकालिन राजनीतिमा त झन त्यस्तो राजनेताको अभाव नै छ । भएका नेताहरु पनि पार्टीको स्वार्थ समेत हेर्ने हैसियत राख्दैनन्, गुटको नेताबन्न सम्पूर्ण समय खर्चिरहेका छन् । यस्तोबेलामा जनतामा निराशा जाग्दै गर्दा त्यसको फाइदा उठाउने भनेकै निरंकुश शक्तिले हो । नेताहरुको स्तर, संबिधान निर्माणमा व्यबाधन हुनेगरी चलाइएका चर्चा र नयाँ शक्ति निर्माणका लागि बाबुराम भट्टराईले थालेको आश्चर्यजनक यात्राले के संकेत गर्न खोजिरहेको छ, आँकलनको विषय बनेको छ ।
यस्तो परिस्थितिमा गंभिर हुने वर्ग भनेको राजनीतिक नेतृत्व र बौद्धिक समुदाय हो । नेपालको समयकालीन नेतृत्वले महत्वपूर्ण क्षणमा आफ्नो गाम्भीर्यता देखाउन सकिरहेको छैन । बौद्धिक समुदाय पनि दातृनिकायको स्वार्थपुर्ती गर्नमा बढी यो या त्यो रुपमा प्रयोग भैरहेको गुनासो सुनिदै आएको छ । त्यसकारण पनि अहिले संयोग(?) का रुपमा सुन्ने गरिएका चर्चाहरुका बीचमा संबन्ध छ कि छैन भनेर गम्भीर लेखाजोखा हुन सकिरहेको छैन । उल्लिखित ४ सन्दर्भहरु यति चर्को रुपमा नउठेको भए त्यसतर्फ खासै ध्यान दिइरहनु आबश्यक थिएन । तर, उठिसकेपछि ती चर्चाहरुबीचको सम्बन्ध पहिल्याउन जरुरी छ र देशको एकता, सद्भाव र सहअस्तित्वको बिपक्षमा बीजारोजण गर्नेहरुबाट देशलाई जोगाउनु आबश्यक छ ।

No comments:

Post a Comment