Friday, September 12, 2014

अडिट\विपी विचारयात्रा

अडिट
धर्मेन्द्र झा

संविधान निर्माणको सन्दर्भ

विपी विचारयात्रा


‘राजनीतिक नेताले आउँदो चुनाव मात्र हेर्छ र राजनेताले बीस बर्षपछिसम्मको आँकलन गरेर निर्णय लिन्छ । ’  महामानव बीपी कोइरालाको यो भनाई यतिबेला लोकतन्त्र र दलीय व्यबस्थाका पक्षपातीले स्मरण गर्नु सान्दर्भिक हुन्छ । गत मंगलवार अर्थात भदौ २४ गते बीपी कोइरालाको जन्मशताव्दी देशभीत्र र बाहिर भव्य रुपमा मनाइएको छ । विपीको पार्टी नेपाली कांग्रेसलगायत विपी विचारका अनुयायीले विविध कार्यक्रमको आयोजना गरी विपीप्रति सम्मान व्यक्त गरे । यसै सन्दर्भमा नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले ५५ दिने विपी विचारयात्राको आयोजना गरेर महामानवको विचारको सान्दर्भिकता पुष्टिको प्रयत्न गरेको छ ।
२००३ सालमा विराटनगरमा विपीलगायत उनका पाँचजना सहयोगीलाई पक्राउ गरी तात्कालीन राणा सरकारले अड्डासार गर्दै धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङगा, रामेछाप, सिन्धुली, काभ्रे र भक्तपुरको बाटो सुन्दरीजल पुर्याएको थियो । यसपटक काँग्रेसले, अड्डासार गर्दै ल्याइएको त्यही बाटोका माध्यमबाट विपीलाई सम्झने  प्रयत्न गर्यो र कार्यक्रमको नाम दियो—विपी विचारयात्रा । विपीलाई सम्झने काम त विभिन्न ढंगले भयो तर वास्तवमै अनुशरणको प्रयास कति भयो ? यो प्रश्न आज टडकारो रुपमा उभिएको छ ।
यससन्दर्भमा माथि उल्लेखित विपीको भनाई फेरि पनि सान्दर्भिक रहेको पुष्टि हुन आउँछ । नेपाली कांग्रेस पार्टीको तेह्रौ महाधिवेशन निकट छ । त्यहाँ नेतृत्वका लागि निर्वाचन पनि हुनेछ । कांग्रेसीजनमा विकसित पछिल्लो संस्कृतिका आधारमा सर्वसम्मति हुने सम्भावना अत्यन्त न्यून छ । कोही विजयी हुनेछन र कोही पराजित । महाधिवेशनस्थलमा विपीका तस्वीरहरु यत्रतत्र हुनेछन । कांग्रेसको अहिलेको अवस्था र नेतृत्वको होडवाजी देखेर ती तस्वीरमा प्रायः देखिने विपीको मन्द गम्भीर मुस्कान अझ बढी गम्भीर र गाढा हुनेछ । तर विपीकै नाममा सत्ताशिन हुन चाहनेले विपीको तस्वीरको त्यो गम्भीरतालाई अनुभूत गर्न सक्नेछैन । यो सत्य हो । गाउँमा जन्मेर त्यहीँ हुर्के बढेका कांग्रेसका नेताको अचेल गाउँसँगको साइनो टूटेको छ । उनीहरु सहरकेन्द्रिीत भएका छन । पद र पैसाकेन्द्रित भएका छन । देशको विकासभन्दा स्व—विकासलाई महत्व दिने वर्तमानको कांग्रेसी पुस्ताका लागि विपीको देशप्रतिको प्रतिवद्ध मुस्कानको के महत्व ? तर विपी विचारयात्राले कांग्रेसजनको यस प्रवृत्तिमा परिवर्तनको संकेत दिएको छ । देश बुुझ्ने अवसर दिएको छ । आवश्यकताको पहिचान भएको छ । सहरका झन्डा र गाउँ जंगलका रुख जोडिएका छन । एकपटक फेरि विपी र कांग्रेस जनजनमा प्रवेश गरेका छन । र, सबैभन्दा महत्वपूर्ण कुरा, संविधान निर्माणको भगिरथ यात्राको गोरेटो कोर्न हौस्याएको छ ।

अहिलेको समय संविधान निर्माणको समय हो । विपीले यस देशका जनतालाई विकास र सम्पन्नता प्रदान गर्ने सपना देख्नुभएको थियो र त्यसैको परिणति थियो नेपाली कांग्रेस पार्टीको जन्म । अहिलेको समय विपीले देखेको सपना साकार गर्ने समय हो । विपीको सपना साकार गर्ने यात्राका लागि फराकिलो सडकको काम नयाँ संविधानको निर्माणले गर्न सक्छ । तर दुर्भाग्य विपीको पार्टी यतिखेर आपसी अविश्वासको ठूलो भुमरीमा फँस्न पुगेको छ । संविधान निर्माणको कामभन्दा अन्य कुराले प्रश्रय पाइरहेको अवस्था हो अहिलेको । यस्तोमा विपीको सपना कहिले र कसरी पुरा हुने हो कसैले यसै भन्न सक्ने अवस्था छैन । जन्मशताव्दीका अवसरमा आयोजित कार्यक्रमले मात्र नेपाल सम्पन्न र समृद्ध हुन सक्दैन । यस्ता कार्यक्रमका साथै विपीले प्रतिपादन गरेको कार्यक्रमको कार्यान्वयनमा जुट्नु जरुरी छ । यसका लागि कांग्रेसजनले भविष्यको मार्गचित्रको निर्माणमा जुट्नुपर्ने भएको छ । राजनीतिमा कहिलेकाँही अलोकप्रीय निर्णय पनि लिन सक्नुपर्दछ भन्ने बीपी कोइरालाकै अर्को भनाईबाट प्रेरणा लिदै पार्टीका नेताहरुले संविधानसँग जोडिएका अलोकप्रीय निर्णयलाई स्वीकार गरेर अघि बढनुको विकल्प देखिन्न– खासगरी दलहरुबीच अविश्वास र दुरी बढिरहेको अहिलेको अवस्थामा । विपी विचारयात्राका सन्दर्भ पारेर गाउँ पसेका कांग्रेसीले संविधानमार्फत संवोधन गरिनुपर्ने स्थानीय मुद्दाको पहिचान गरेकै हुनुपर्छ । कांग्रेसका लागि निश्चय पनि यो ठूलो सम्पत्ति हो ।

यतिबेला दैनिक राजनीतिमा हुने घाटा नाफाभन्दा पनि लोकतन्त्र र दलीय पद्धतिप्रतिको आफ्नो आदर्शलाई जोगाउने दायित्वको बोध सबैमा हुनु आवश्यक छ । शायद उग्रवामपन्थी दर्शनबाट दिक्षीत एनेकपा माओवादी र नेकपा—माओवादीका हकमा यो यथार्थको वोध तत्काल नहुन सक्ला तर लोकतन्त्रवादी बाँकी दल गम्भीर देखिनु जरुरी छ र यसको नेतृत्व विपीको पार्टी नेपाली कांग्रेसले लिनु अपरिहार्य छ । विपी विचारयात्राले पनि यही अभिप्रेरणा प्रदान गरेको छ भन्नु अस्वाभाविक नहोला । लोकतन्त्रवादीले  माओवादीद्वयलाई मूलधारको राजनीतिबाट पन्छिन नदिन र लोकतन्त्र जोगाउन फेरि पनि ‘केही’ त्याग गर्दै संविधान निर्माणलाई सुनिश्चित गर्नु जरुरी छ । माओवादीद्वय वास्तवमै, महान लेखक जर्ज ओरवेलको कृति चौपायाको घरजमको पात्रका प्रवृत्तिका छन । उनलाई संविधान जरुरी छैन । यसैले उनीहरु संविधान बनाउन चाहँदैनन र बनिहाले पनि आफूहरु संविधानभन्दा माथि रहनुपर्ने मान्यताबाट निर्देशित छन् । अहिलेको नेपाली राजनीतिको मिलनविन्दू संविधान निर्माण नै हो । यसको विकल्प छैन । संविधानविना लोकतन्त्रलाई जीवित राख्ने प्रयत्न सार्थक हुन सक्दैन । अहिले यदाकदा समयतालिकाको कुरा उठाएर संविधान निर्माण प्रक्रियालाई आशंकाको घेराभित्र ल्याउने प्रयत्न गर्ने गरिएको अनुभव गरिएको छ । यो सन्दर्भ महत्वपूर्ण छ, तर कथंकदाचित निर्धारित समयमा संविधान निर्माण हुन सम्भव नहुँदाको अवस्थामा देश र जनताले कस्तो परिणाम आत्मसात गर्न बाध्य हुनुपर्ने हो त्यसको आँकलन भने आवश्यक छ । अब पनि संविधान नबन्ने हो भने देशको राजनीतिले नयाँ ‘कोर्स’ समाउने निश्चित छ । यसका लागि राजनीतिक दलहरु तयारी अवस्थामा रहे हुन्छ । सँगै अर्को कुरातर्फ पनि ध्यान पुर्याउनु जरुरी छ, त्यो के भने समयमा संविधान ल्याउने नाममा यस देशका जनतालाई अलोकतान्त्रिक संविधान मान्य हुने छैन । लोकतन्त्रवादी शक्तिका हैसियतले नेपाली कांग्रेस यसतर्फ विशेष चनाखो हुनु आवश्यक छ । बढी चनाखो हुनु यसकारण पनि आवश्यक छ कि, गत निर्वाचनमा लोकतान्त्रिक संविधानकै एजेण्डाका आधारमा कांग्रेसले ठूलो पार्टीको हैसियत निर्माण गर्न सकेको हो । विचारयात्राका क्रममा स्थानीयले यस्तै विषयको उठान गरेर कांग्रेसको अडानलाई वल प्रदान गरेका छन । विपी जन्मशताव्दीका अवसरमा विविध कार्यक्रमको आयोजना गरिरहेको कांग्रेसका लागि सम्भवतः सबभन्दा ठूलो कार्यक्रम लोकतान्त्रिक संविधान सुनिश्चित गर्नु नै हुनेछ । जन्मशताव्दीको अवसरमा आयोजित विचार यात्रालगायतका कार्यक्रमले यस दिशामा ऊर्जा थप्ने विश्वास गर्न सकिन्छ ।     

कांग्रेस यस देशको विशवसनीय लोकतान्त्रिक शक्ति हो । यस देशका जनताले विभिन्न कालखण्डमा अन्य राजनीतिक दललाई पनि विश्वास नगरेका होइनन् तर त्यस्तो विश्वास परीक्षणका रुपमा मात्र गरिएको इतिहासले पुष्टि गरेको छ । जबजब देश संवेदनशील मोडमा उभिएको हुन्छ तबतब जनताले कांग्रेसमाथि भरोसा गरेका छन । यसपटक पनि संविधान सभाको दोस्रो निर्वाचनमार्फत संविधान बनाउन जनताले कांग्रेसमाथि विश्वास व्यक्त गरेका छन । यस आधारमा भन्नुपर्दा कांग्रेस नेपाली जनताको आस्था र विश्वासको पात्र हो भन्दा फरक पर्दैन । नेताहरु निश्चय पनि अज्ञानी छैनन । संविधान निर्माणमार्फत् देश निर्माणको विपी सपना साकार पार्ने प्रयत्न गरिरहँदा कांग्रेस नेताहरुले निश्चय पनि नेपालको सुन्दर तस्वीरको कल्पना गरेको हुनुपर्छ । अहिले संविधान निर्माणका सम्बन्धमा नेपाली कांग्रेस र यसको समग्र नेतृत्वपंक्तिविरुद्ध विविध कोणबाट आरोप लगाउने गरिएको छ । संघीयतासम्बन्धी आरोप मुख्य हो ।  यस्ता आरोपबाट नेताहरु अनभिज्ञ छैनन । यसो हो भने ती आरोपलाई परास्त गर्ने तर्क पनि तिनले तयार गरेकै होलान । यसको लेखा–जोखा भविष्यले गर्ने नै छ । मूल कुरा, देश कसरी बन्छ भन्ने मुख्य हो । प्रत्येक जनताले आफ्नो भावनाको प्रतिविम्वन भएको देश देख्न चाहेका छन । कंग्रेसले यो कुरा बुझ्नु पर्दछ । निश्चय पनि यो बुझाई निर्माण गर्न विचारयात्राले सघाएको विश्वास गर्न सकिन्छ ।

माओवादीद्वयले अहिलेसम्म विश्वसनीय छवि निर्माण गर्न सकेका छैनन । संविधान निर्माणको सबभन्दा ठूलो बाधक नै उनीहरुको यही छवि हो । कांग्रेसले उनीहरुको छवि परिवर्तन गर्न सघाउनु छ । उनीहरुलाई पनि समाहित गरी संविधान बनाउनु छ । यस्ता केही विषय विचारयात्राका क्रममा पनि उठेका छन । कांग्रेसले ती सबै विषयमा आवश्यक दृष्टिकोण आफ्नो व्यवहार र कार्यक्रममार्फत सार्वजनिक गर्नसके मात्र विचारयात्राको औचित्य पुष्टि भएको मानिनेछ । निश्चय पनि त्यस्तो व्यवहार र कार्यक्रमको मापदण्डको आधार नयाँ संविधान हुनेछ । विचारयात्रापछिका दिनमा नेपाली जनता त्यही संविधानको पर्खाइमा छन । 


No comments:

Post a Comment