Tuesday, September 17, 2013

POLARISATION IN MADHESH

मधेशमा मोर्चावन्दी

अघिल्लो साता सामाजिक संजाल फेसबुक र ट्वीटरका भित्तामा लेखिएको मधेशका दलसँग सम्बन्धित एउटा सामाग्रीले निकै चर्चा पायो । यसबारे फेसबुकमा एकजना पत्रकार पनि आफ्नो धारणा लिएर झुल्किएका थिए । उनले आफ्नो लेखनीमार्फत जानकारी गराएका थिए–मधेशमा नयाँ मोर्चा बन्यो । पछि यो समाचारले अन्य संचारमाध्यममा पनि स्थान पायो । मोर्चामा शरतसिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादव र अनील झा आवद्ध छन् । नयाँ मोर्चा बनेकोमा एउटा साप्ताहिक अखवारको समेत सम्पादक रहेका । फेसबुकमा झुल्किएका ती पत्रकार निकै खुसी रहेको भाव उनको फेसबुक भनाइबाट अनुभूत गर्न सकिन्थ्यो । उनकै भनाइमा एकजना मधेशवासी युवाले टिप्पणी गरेका थिए–नयाँ मोर्चा बनेर के हुन्छ ? लुट्न त जुटेका हुन नि ।
हेर्दा समान्यझैं लाग्ने उपर्युक्त दुवै दृष्टिकोणले भ्रष्टाचारमा चुर्लुम्म डुबेको मधेशको वर्तमान राजनीतिक प्रवृत्तिको प्रतिनिधित्व गर्छ । एकजना मधेशको टूटफूटको राजनीतिबीच बनेको यो नयाँ दलीय मोर्चाको गठनपछि आशावादी देखिएका छन भने अर्काले वर्तमानको मधेशको राजनीतिप्रति वितृष्णा व्यक्त गर्दै निराशावादी दृष्टिकोण प्रस्तुत गरेका छन् । यी दुवैमा एउटा भने समानता छ–दुवै अभिव्यक्तिमा मधेश राजनीतिप्रति असन्तुष्टिभाव छ र दुवैजना भविष्यप्रति एक किसिमले आश्वस्त हुने माध्यमको खोजीमा छन ।

देशभरि निर्वाचनको पक्षमा वातावरण बनिरहेको छ र विस्तारै आमनागरिक निर्वाचन प्रक्रियाहरुमा सहभागिता खोजरहेका  छन । यो अत्यन्त सकारात्मक हो । योभन्दा पनि सकारात्मक छ, केही अपवादवाहेक सबैजसो राजनीतिक दलहरु निर्वाचनको पक्षमा देखिनु । मधेशको कुरा गर्ने हो भने त मधेशकेन्द्रीत सबै दल नै निर्वाचनमा होमिइसकेको अवस्था छ । मधेशभूमिलाई आधार बनाएर राजनीति गर्ने प्रायः सबैजसो दलका नेता कार्यकर्तामा ‘दलवदल’ प्रवृत्ति देखिएको छ । नेता तथा कार्यकर्ता तानातानको अवस्थाबाट गुज्रिरहेको मधेशको राजनीति यतिखेर फेरि विषयविहीन बन्ने खतरामा छ । नेता कार्यकर्ता तानातानको सन्दर्भ दलवदल हुँदै विविध मोर्चावन्दीमा विकसित हुँदैछ र यतिखेर निर्वाचनको मूल विषय नै यही बन्न खोजिरहेको छ ।
माथि एक पत्रकार मित्रले फेसबुकमा कोट्याएको नयाँ मोर्चासमेत मधेशकेन्द्रीत दलबीच विधिवत रुपमा तीनवटा मोर्चा बनिसकेको छ । एउटा मोर्चा महन्थ ठाकुर र विजय गच्छदारको छ भने दोस्रो मोर्चामा उपेन्द्र यादव र राजेन्द्र महतो आवद्ध छन । तेस्रो मोर्चाको कुरा गरिसकियो । यी गठवन्धनले मधेश नयाँखाले मोर्चावन्दीमा फँस्दै गरेको चित्र कोरिँदै छ । मधेशकेन्द्रीतबाहेकका दल पनि आफ्नैखाले मोर्चावन्दीको प्रयासमा सक्रिय रहेको समाचारहरु सार्वजनिक हुँदैछन । यस परिस्थितिमा एउटा प्रश्न उठ्छ, मधेशमा यति सघनरुपमा मोर्चावन्दी किन ? प्रश्नको उत्तर सहज छैन । तीव्र मोर्चावन्दीको आवश्यकताबारे मोर्चाहरुमा संलग्नहरुले कुनै चित्तबुझ्दो उत्तर दिन सकेका छैनन । उदेकलाग्दो अवस्था त कहाँसम्म छ भने हिजोसम्म एमाओवादीको नेतृत्वमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा (संलोममो)का नाममा सरकारमा सहभागी भएकाहरु नै एक ठाउँमा नअटाउने अवस्थाको सिर्जना भएको छ । हिजोको संलोममोमा आवद्ध दलहरु आज तीनतिर फर्केका छन र यिनीहरु तीनवटा मोर्चामा आवद्ध छन । यस्तो अवस्थामा अहिले अस्तित्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा के विजय गच्छदार हिजोको संलोममोका आधारमा प्रतिनिधित्व गर्ने हैसियत राख्छन ? उपेन्द्र यादव हिजोको सत्ताको विपक्षमा थिए । यसआधारमा उनी पछिल्लो राजनीतिक संयन्त्रमा सहभागी हुनु स्वाभाविक नै हो । के यसो हो भने अब तेस्रो मोर्चाले पनि संयन्त्रमा हिस्सेदारी खोज्ला त ?
कुरा फेरि पनि सत्ताकै हो । हालको उच्चस्तरीय राजनीतिक संयन्त्र कुनै न कुनै रुपमा सर्वोच्च सत्ताको प्रतीक हो । हिजो सत्ताकै लागि धुजाधुजा भएका मधेशका राजनीतिक दलहरु आज संयन्त्रमा सहभागिताका लागि नै मोर्चावन्दीमा तल्लीन छन भनेर अथर््याइयो भने त्यो गलत हुने छैन । के त्यसो भए मधेशकेन्द्रीत दलका लागि सत्ता नै सबैथोक हो त ? यसको उत्तर ती दलले दिने छैनन अथवा दिए पनि आफ्नो अनुकूलताका आधारमा परिभाषा गर्नेछन् । प्रश्न फेरि पनि यथावत रहन्छ, मोर्चावन्दी किन ? निश्चित रुपमा मोर्चावन्दीको आशय अस्तित्वरक्षा पनि हुन सक्छ । विगतमा सत्तामा लामो समयसम्म रहेका संलोममोका घटक राजनीतिक दलहरुले जनताबीच एक किसिमले विश्वास गुमाइसकेका छन । हिजो सत्ताको इन्जिनियर मानिने जेपी गुप्ता अलग छन । यस आधारमा जेपीबाहेकका दल एक्लै निर्वाचनमा जाने आँट नगरेकाले पनि मोर्चावन्दी आवश्यक भएको हुन सक्छ । अर्को तर्क प्रतिष्ठा जोगाउने विषयसँग पनि सम्बन्धित हुन सक्छ । एक्लाएक्लै निर्वाचनामा गएका अवस्थामा प्राप्त हुने परिणामका लागि पनि एक्लाएक्लै जिम्मेबारी लिनुपर्ने हुन्छ । यस्तोमा निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन सकेन भने त्यसको यश–अपयश बाडचुँड गरेर लिन सहज हुने आँकलनका आधारमा पनि मोर्चावन्दीलाई तीव्रता प्रदान गरिएको हुन सक्छ । यस्तोमा प्रतिष्ठा जोगाउन अर्थात ‘फेस सेभ’ गर्न पनि सहज हुने तर्कै विज्ञहरुको छ । मोर्चावन्दीका पक्षमा अर्को तर्क पनि प्रस्तुत गर्न सकिन्छ–निर्वाचनमा विपक्षीको प्रतीकार गर्न एक्लै असहज हुने अवस्थामा मोर्चावन्दीले केही भए पनि प्रतीकारको आधार प्रदान गर्नेछ ।
 जनसंख्यामा वृद्धि भएको पृष्ठभूमिमा यसपटकको मधेश चुनावी परिणामका दृष्टिले हिजोको भन्दा पनि महत्वपूर्ण र संवेदनशील हुनेछ । हिजोको मधेश आन्दोलनपछि पटकपटक सत्तामा पुगेको मधेशका दलहरुसँग तुलनात्मक रुपमा चुनावी विषय अर्थात मुद्दाको अभाव छ । अर्को महत्वपूर्ण कुरा, यसबीचमा मधेशका जनताको चेतनाको स्तरमा निकै वृद्धि भएको छ । आज, हिजोको जस्तो सस्तो लोकप्रीय भावनात्मक नारामा मधेशका जनता सीमित हुने छैनन । हिजो मधेशको मत प्राप्त गरेर सत्तामा पुगेका कुनै पनि दल र तिनका नेताले मधेशवासीको चित्त बुझाउनैपर्ने हुन्छ । शायद यसकारण पनि मोर्चावन्दीले तीव्रता प्राप्त गरेको हुन सक्छ । निश्चय पनि मोर्चामा आवद्ध भएकाहरुलाई मोर्चाकै आधारमा जनतासँग सम्वाद गर्न सहज हुनेछ । यसो गर्दा पनि एउटा सम्भावनाबारे इन्कार गर्न सकिँदैन । हिजो सत्तामा सँगै रहेर रसबस गरेकाहरु आज किन एउटै मोर्चामा अटाउन सकेनन र विभिन्न मोर्चा गठनको आवश्यकता पर्यो भन्ने जवाफ सबै तीनवटै मोर्चाका घटकहरुले मधेशवासीलाई दिनुपर्ने हुन्छ । हिजो फोरम नेपाल, तमलोपा र सदभावनाप्रति विश्वास व्यक्त गर्दै मत प्रदान गरेका मधेशवासीले आज किन यी दल धुजाधुजा भए भन्नेबबारे पनि सोध्नेछन । यसको जवाफ दिने क्रममा पनि मधेशकेन्द्रीत दलले नयाँ मोर्चावन्दीको औचित्यबारे आफ्ना मतदातालाई सन्तुष्ट गराउनुपर्ने चुनौतीको सामाना गर्नुपर्ने हुन्छ । आफनैबीचमा रणभुल्लको अवस्थामा रहेको मधेशकेन्द्रीत दलहरुले विपक्षीसँगको समाना कसरी गर्नेछन ? त्यो भने प्रतीक्षाको अर्को विषय बन्नेछ ।
अन्नपूर्ण पोस्ट १ असोज २०७०, १७ सेप्टेम्बर २०१३                   

No comments:

Post a Comment