राष्ट्रनिर्माण, राष्ट्रियता प्रवद्र्धन र मिडिया
धर्मेन्द्र झा
Nation-building is a normative concept
that means different things to different people. The latest conceptualization
is essentially that nation-building programs are those in which dysfunctional
or unstable or "failed states" or economies are given assistance in
the development of governmental infrastructure, civil society, dispute
resolution mechanisms, as well as economic assistance, in order to increase
stability. Nation-building generally assumes that someone or something is doing
the building intentionally. C. Stephens
Nation-building is constructing or
structuring a national identity using the power of the state. It
is thus narrower than what Paul James calls "nation
formation", the broad process through which nations come into being. Nation-building
aims at the unification of the people within the state so that it remains
politically stable and viable in the long run. According to Harris
Mylonas, "Legitimate authority in modern national states is connected
to popular rule, to majorities. Nation—building is the process through which
these majorities are constructed."
Nation builders are those members of a state who
take the initiative to develop the national community through government
programs, including military conscription and national content mass schooling.[4][5]
Nation-building can involve the use of propaganda or major infrastructure
development to foster social harmony and economic growth.
........the
patterns of communication between the social groups need to be intensified to
the extent that communication does not principally take place within the
groups. Even though the internal communication of the (ethnic, religious and
other) groups may remain stronger than that between them, a certain degree of
close communication among them is a requirement for successful and enduring
nation-building. However, apart from the
political-cultural aspect, there are also practical requirements for this:
nation-building needs a “national” infrastructure. Transport and communication
infrastructures, the development of a “national economy” from regional or local
economic areas, plus nationwide mass media for establishing a national
political and cultural discourse are key variables.
पृष्ठभूमी, अर्थ र अवधारणा ः
वास्तवमा राष्ट्रनिर्माण एक प्रक्रिया हो जो कुनै न कुनैरुपमा सँधै नै निरन्तर जारी रहन्छ । राष्ट्रनिर्माणका सन्दर्भमा माथि केही भनाइ, सन्दर्भ, परिभाषा र उद्धरण उल्लेख गरिएका छन् । माथिका वाक्य र वाक्यांशले हामीलाई वृहत्रुपमा राष्ट्रनिर्माण र संचारको सम्बन्धबारे बुझ्न मद्दत गर्छ ।
राष्ट्रनिर्माणलाई सुक्ष्मरुपमा बुझ्ने प्रयत्न गर्ने हो भने यसलाई दुईवटा सन्दर्भमा हेर्न सकिन्छ । पहिलो, समग्रमा राष्ट्रनिर्माण (बन्ने) हुने कुरा र दोस्रो, निर्माण भइसकेको राष्ट्रलाई समुन्नत र सम्वृद्ध बनाउने कुरा । तर उपर्युक्त दुवैमा एउटा कुराको समानताको अपेक्षा गरिन्छ । त्यो के भने त्यहाँ वसोवास गर्ने जनताको इच्छा—आकांक्षा, समाज, धर्म—संस्कृति, भाषा—साहित्य आदीको समान स्वीकृति र प्रस्फूटनको अवस्था निर्माण हुनु अपेक्षित हुन्छ । राष्ट्रनिर्माणको सम्बन्ध खास भूगोलको राष्ट्रियतसँग छ । यी विषयहरु तिनले निर्माण गर्न चाहेको तिनका राष्ट्रिय पहिचानसँग पनि सम्बन्धित छन् र यसको निर्माणका लागि राज्यको शक्ति प्रयोग हुने वा गर्ने सोच निहीत हुन्छ । अर्कोतर्फ, राष्ट्रनिर्माणको सम्बन्ध आर्थिक र भौतिक विकास तथा त्यस्ता विकासमा सबैको सहभागिता एवं प्रतिफलको उचित र समान सदुपयोगसँग पनि छ । त्यस्तै मानवअधिकारको प्रत्याभूति र संरक्षणसँग पनि राष्ट्रनिर्माणको सन्दर्भ जोडिएको हुन्छ । यसरी हेर्ने हो भने हामीकहाँ माथि उल्ल्ेख गरिएजस्तै राष्ट्रनिर्माणको दुवै सन्दर्भको उपस्थिति रहेको पाउन सकिन्छ । यसैआधारमा कतिपयले नेपाल अझै राष्ट्रनिर्माणको प्रक्रियामै रहेको भन्ने गरेका छन । सारमा यस विश्लेषणका आधारमा, विद्वान पौल जेम्सको भनाइसँग सहमति जनाउन सकिन्छ । उनले राष्ट्रनिर्माणलाई राष्ट्रको संरचना वा गठन पनि भनेका छन् । उनका अनुसार वृहत प्रक्रियाहरुका माध्यमबाट राष्ट्र बन्छ । राष्ट्रनिर्माणको लक्ष्य राज्यभित्र जनताहरुको एकीकरण हो यसबाट अगाडीका दिनमा राज्यले राजनीतिकरुपमा स्थायित्व र सक्षमता प्राप्त गर्दछ । राष्ट्रनिर्माणको सम्बन्ध त्यहाँको भूगोलहरुमा रहेको विविध राष्ट्रियताहरुलाई समाहित गरी सिंगो राष्ट्रियता निर्माण गर्नुसँग पनि छ भनियो भने अतिशयोक्ति हुँदैन । निष्कर्षमा भन्ने प्रयास गर्ने हो भने राष्ट्रनिर्माणका लागि जनताहरुको एकीकरण, विविध विचार, दृष्टिकोण, सिद्धान्त र आदर्शहरुको स्वीकारोक्ति र समावेशीकरण, छरिएर रहेका समाजलाई समेटी एकीकृत समाज निर्माण र क्रियाशील राज्य संयन्त्रको उपस्थिति आवश्यक हुन आउँछ ।
राष्ट्र, राज्य र देश ः
राष्ट्रियता राष्ट्रनिर्माणको महत्वपूर्ण अवयव हो भनेर स्वीकार गरिरहँदा यसलाई बुझ्ने दृष्टिकोणमा व्यापकता अपरिहार्य छ । सामान्यतया राष्ट्र, राज्य र देशलाई हामीकहाँ एकै अर्थमा बुझ्ने गरिन्छ जो धेरै हदसम्म दोषपूर्ण छ । यी तीनै शव्दलाई एकअर्काको पर्यायवाचीका रुपमा बुझ्ने प्रयत्न गर्दा समग्र राष्ट्रियता र राष्ट्रनिर्माणको प्रक्रिया नै दोषपूर्णरुपमा अपव्याख्या हुने खतरा रहन्छ । हामी कुनै न कुनै रुपमा यस्तै खतरासँग पौंठाजारी खेलिरहेका छौं । वास्तवमा राष्ट्र, राज्य र देश फरकफरक अर्थमा उभिएका फरकफरक शव्द हुन । राष्ट्र सांस्कृतिक एकाई हो । यस्तै राज्य प्रशासनिक र राजनीतिक एकाई हो भने देश भौगोलिक एकाई हो । अंग्रेजीमा यी तीनवटै शव्दको अनुवाद क्रमशः नेशन, स्टेट र कन्ट्री हो । यस आधारमा राष्ट्रनिर्माणलाई बुझ्ने प्रयत्न गर्ने हो भने एउटा राजनैतिक भौगोलिक सीमाभित्र सांस्कृतिकरुपमा जनता(राष्ट्रियता)लाई प्रशासनिक र राजनीतिकरुपमा आवद्ध वा एकीकृत गर्ने प्रक्रियासँग सहमति जनाउन सकिन्छ । यसमा निश्चित भूगोलभित्र सबै जनताको समान सहभागितामा तिनको भावनाको सम्मान गर्ने कुरालाई महत्व दिइन्छ र यसमा कानुनीरुपमा राज्यले अर्थात प्रशासनिक एकाईले आवश्यक बन्दोवस्त मिलाउने अपेक्षा गरिन्छ ।
यसको सोझो अर्थ के बुझिनुपर्छ भने देशका रुपमा विकसित र स्वीकार गरिएको भूखण्डमा एकभन्दा अधिक राष्ट्रियता हुन सक्छन । अर्थात विविध इतिहास, संस्कृति, मूल्य, मान्यता, विश्वास, आदर्श हुन सक्छन् । राष्ट्रनिर्माणमा यी सबैको समाहितीकरण आवश्यक हुन्छ जसले समग्र राष्ट्रियताको निर्माण र प्रवद्र्धन गर्ने विश्वास गरिन्छ । यसो हुन सके देशप्रति सबैको अपनत्वभावमा अभिवृद्धि हुन्छ र देशले सिंगो स्वरुप ग्रहण गर्न सम्भव हुन्छ । संक्षेपमा यही प्रक्रिया राष्ट्रनिर्माण हो जसको नेतृत्व राज्यले गर्ने अपेक्षा गरिन्छ । राज्यले यही भूमिका निर्वाह गर्न नसक्दा समग्र राष्ट्रियताको अवमूल्यन हुँदै देश विखण्डनसम्मको खतरा निम्तिन सक्छ । विश्वका विभिन्न देशहरुको इतिहास अध्ययन गर्ने हो भने यही कुरा प्रमाणित हुन्छ । तात्कालीन सोभियत संघको विखण्डन, चेकोस्लोभाकियाको विभाजन, सुडानको विखण्डन, युगोस्लाभियाको खण्डीकरण यस्तै उदाहरण हुन । र राज्यले सार्थक नेतृत्व गर्न सक्दा विभाजित राष्ट्रियता र भूगोल एकीकृत भएको पनि पाइएको छ । विभाजित जर्मनको एकीकरण, संयुक्त राज्य अमेरिकाको विस्तारीकरण (५० राज्य) र वेलायत (इग्ंल्याण्ड, वेल्स, स्कटल्याण्ड, र नर्दर्न आयरल्याण्ड) को एकता यस्तै केही उदाहरण हुन् ।
राष्ट्रनिर्माण र आमसंचार ः
राष्टनिर्माण र समग्र राष्ट्रियता प्रवद्र्धनका सन्दर्भमा विभिन्न तत्व निर्णयक हुन्छन् । केहीको चर्चा माथि गरिसकियो । राजनीतिक र सांस्कृतिक पक्षका अतिरिक्त राष्ट्रनिर्माणका लागि केही व्यवहारिक आधार पनि आवश्यक पर्दछन् । राष्ट्रनिर्माणका लागि राष्ट्रिय पूर्वाधार आवश्यक पर्दछ । यातायात र संचारका पूर्वाधार, स्थानीय र क्षेत्रीय आर्थिक विकासका आधारमा राष्ट्रिय अर्थतन्त्रको निर्माण यस्तै पूर्वाधार हुन । यसका साथै देशव्यापी आमसंचारकामाध्यमको विकास पनि उत्तिकै आवश्यक हुन आउँछ । आमसंचारले देश्व्यापीरुपमा राजनीतिक र सांस्कृतिक विचारविमर्श संचालन गर्न मद्दत गर्दछ ।
राष्ट्रनिर्माणका सन्दर्भमा थुप्रै अवयवहरुले जोडने र तोडने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । यीमध्ये कतिपय सुशुप्त हुन्छन् भने कतिपय जाग्रत । यीमध्ये कतिपय तत्वले कुनै सन्दर्भमा जोडने र कुनै सन्दर्भमा तोडने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेका हुन्छनु् । भाषा, प्रतीक, चिन्ह, झण्डा, सिद्धान्त, आदर्श, विचार, संरचना आदी यस्तै तत्व वा माध्यम हुन् । यस्तै सशक्त माधयम हो, आमसंचारको माधयम अर्थात मिडिया । राष्ट्रनिर्माणका सन्दर्भमा मिडियाले कहिले जोडने त कहिले तोडने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेको हुन्छ । कतिपय अवस्थामा यो बोधगम्य हुन्छ भने कतिपय अवस्थामा वोधगम्य हुँदैन । त्यसैगरी कतिपय अवस्थामा मिडिया शासक, ठूला—ठालु, राजनीतिज्ञ, व्यवशायिक घराना, सम्भ्रान्त, दवाव समूहहरुबाट प्रयोग भइरहेको पनि हुन्छ । यस आलेखमा आमसंचारको महत्व र यसका कार्यका कारेमा चर्चा गर्ने प्रयास गरिएको छैन । राष्ट्रनिर्माणमात्रको सन्दर्भमा मिडियाको भूमिकाका बारेमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । राष्ट्रनिर्माणका सन्दर्भमा मिडियालाई सामान्यतया ‘चेन्जिगं एजेन्ट’का रुपमा स्वीकार गर्ने गरिन्छ, अर्थात परिवर्तन संवाहकका रुपमा । मिडियालाई विचारहरुको प्रवद्र्धक (मार्केटर) पनि भन्ने गरिएको छ । यहाँ मिडियाका बारेमा उल्लेख गरिएका सबै विशेषण समाजलाई डोर्याउने सन्दर्भसँग सम्बन्धित छन् । यो काम मिडियाले आमजनतालाई सुसूचित गर्ने र विचार आदान प्रदान गरी गर्ने गर्दछ । मिडियालाई विचार निर्माण, जो राष्ट्रनिर्माणसँग धेरै हदसम्म सम्बन्धित छ, का सन्दर्भमा साझा मन्च पनि मान्ने गरिन्छ । साझ मन्चका रुपमा प्रयोग भई मिडियाले विविध विचारको प्रचारप्रसार गरेर ‘वहस’ सिर्जनाको काम गर्छ । अर्को कुरा पनि निकै महत्वपूर्ण छ त्यो के भने मिडियाको स्वरुप वहुलवादी हुनु जरुरी छ । वहुलवादी मिडियाले मात्र राष्ट्रनिर्माणको तन्तु जोडन सक्दछ । वहुलवादी मिडिया पल्लवित—पुष्पित हुन लोकतन्त्र अपरिहार्य हुन्छ । यसरी विश्लेषण गर्ने हो भने राष्ट्रनिर्माणका लागि लोकतान्त्रिक परिवेशको उपस्थितिलाई पनि अपरिहार्य मान्नुपर्ने हुन्छ । विश्वका थुप्रै सन्दर्भले पुष्टि गरेका छन्, तुलनात्मकरुपमा लोकतान्त्रिक मुलुकमा नै राष्ट्रनिर्माणको प्रक्रिया सफलतापुर्वक संचालन हुन सकेको छ । लोकतन्त्र सवल नभई राष्ट्रनिर्माणको लक्ष्य पूरा हुन सक्दैन । यो सत्य हो । र लोकतन्त्रलाई सवल बनाउने माध्यम प्रेस हो ।
राष्ट्रनिर्माणमा मिडिया वाचडग ः
नागरिकको हक अधिकार, नागरिकको सशक्तीकरण, शासन पद्धतिमा उनीहरूको सहभागिता, नागरिकले चुनेको सरकारको भूमिका, संवैधानिक व्यवस्थाको विकास, राज्यका अंगहरूबीचको सन्तुलन र व्यवस्थापन, ती अंगहरूको भूमिका, सुशासनको अवधारणाको विकास र कार्यान्वयन, सुशासनका मापदण्ड र तिनको प्रभावकारिता तथा मूल्या्रकनलगायतका विषयले राष्ट्रनिर्माणमा प्रभाव पार्ने भएकाले चौथो अंगका रूपमा प्रेसले ‘वाचडग’को रूपमा भूमिका निर्वाह गरेर जनतालाई सुसूचित गर्ने, सचेत गराउने काम गर्नुका साथै यी विषयमा जनसहभागिता सुनिश्चित गर्न पनि भूमिका निर्वाह गर्नुपर्छ । राष्ट्र निर्माणका लागि खासगरी राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सशक्त र प्रभावकारी हुनुपर्छ । यिनलाई सन्तुलित, जवाफदेही, जिम्मेवार र सशक्त बनाउन मिडियाको भूमिका हुने भएकाले नै एडमण्ड वर्कले प्रेसलाई चौथो अंगको रूपमा स्वीकार गरिनुपर्ने मान्यता सार्वजनिक गरेका हुन । उत्तरदायी र सुदृढ मिडियाले आमजनता र यी तीन अंगहरू (नीति निर्माण तह)बीच पुलको काम गर्न सक्छ । यी तीन अंगबाट नागरिकको कुनै पनि हक, अधिकार कुण्ठित हुने काम, गैरजिम्मेवार क्रियाकलाप वा संवैधानिक व्यवस्थामा नकारात्मक असर पर्ने गतिविधि वा यी तीन अंगहरूबीचको असन्तुलनमा सूचनासम्प्रेषण गर्ने, जनमत बनाउने र आमनागरिकलाई सचेत गराउने काम गर्न सक्छ । यसका लागि सञ्चारमाध्यम र त्यसमा काम गर्ने सञ्चारकर्मी सक्षम, सृदढ, आत्मनिर्भर र मर्यादित हुन उत्तिकै जरुरी छ । तर स्मरणीय छ, भयभीत, प्रभावित, अदक्ष, अभावग्रस्त र परनिर्भर मिडियाले चौथो अंगका रूपमा आफ्नो भूमिका निर्वाह गर्न सक्दैन ।
अविश्वास—विश्वास, अपेक्षा र गुनासो ः
पछिल्लो समयमा नेपालको मिडिया नेपालभित्रै आरोपित हुने अवस्था सिर्जना भएको छ । विगतको मधेश आन्दोलन, जनजाती आन्दोलन र हालैको संविधान निर्माण पहिले र पछिको मधेश तथा थरुहट आन्दोलनको सेरोफेरोमा नेपाली मिडियाले समग्रमा राष्ट्रनिर्माण र राष्ट्रियताका सन्दर्भमा आग्रहपूर्ण ‘कभरेज’ गर्यो भन्ने एकथरिको गुनासो छ । गुनासोमा सत्यता छ वा छैन भन्ने कुरा अध्ययन र अनुसन्धानको अलग विषय हुन सक्छ । तर गुनासो आएकै हो भने त्यसका सम्बन्धमा सम्बन्धित मिडियाको धयानाकर्षण हुनु भने जरुरी छ । यो गुनासो उसले प्रस्तुत् गरेको ‘कन्टेन्ट’ को ‘फिडव्याक’ भने निश्चय पनि हो । समग्र राष्ट्रनिर्माणका सन्दर्भमा हेर्ने हो भने मिडियामाथिको गुनासोको यो अवस्था उचित होइन । अरुसँगै मिडियाले पनि के बुझ्नु जरुरी छ भने अहिले असन्तुष्ट देखिएकाहरुले राष्ट्रिय स्तरमा पहिचान खोजेका छन् र राष्ट्रनिर्माणमा सहभागिता पनि । यो बुझेर मिडिया कन्टेन्टलाई कभरेज गर्ने प्रयत्न गर्ने हो भने त्यसबाट असन्तुष्टहरुको तुष्टीकरण त हुन्छ नै समग्रमा राष्ट्रियता प्रवद्र्धनमा पनि सघाउ पुग्छ । अर्को कुरा, मिडियाप्रतिको गुनासोलाई अप्रीय मानिनु हुँदैन । यो गुनासो मिडियाप्रतिको अपेक्षाले जन्माएको हो । यो हो भने त यसलाई सकारात्मक मानिनुपर्छ । गुनासो त्यहीँ हुन्छ जहाँ अपेक्षा हुन्छ । यो अवस्था भनेको असन्तुष्टहरुले मिडियाप्रति विश्वास गर्न खोजेको अवस्था पनि हो । यसैले पनि अहिलेको अवस्थामा आमजनताको त्यस्तो विश्वासको रक्षा गर्न सक्नु यतिखेर नेपाली मिडियाको सर्वाधिक ठूलो चुनौती हो ।
मिडियाले राष्ट्रनिर्माणका पक्षमा कसरी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरालाई बुँदागतरुपमा निम्नानुसार विश्लेषण गर्नु उपयुक्त हुन्छ,
जनचेतना र स्वतन्त्रताको संवाहक ः मिडिया जनचेतनाको वाहक हो । मिडियाले आफ्ना विषयवस्तुमार्फत् जनतामा चेतना जागृत गराउने र राष्ट्रनिर्माणको पक्षमा अभिमत निर्माणको कार्य पनि गर्दछ । यस आधारमा मिडिया शिक्षा प्रसारक र अभिप्ररित गर्ने अभिकर्ता पनि हो । राष्ट्रनिर्माणको सन्दर्भमा जनताले स्वतन्त्रता उपभोग गर्ने वातावरणको सुनिश्चितता अत्यन्तै महत्वपूर्ण हुन्छ । जनताले आफ्ना विचारहरु विना कुनै रोकतोक अभिव्यक्त गर्न पाउनुपर्छ र त्यस्ता विचार सम्प्रेषणका लागि आमसंचारका साधनहरुले माध्यमको भूमिका निर्वाह गर्नु अपेक्षित हुन्छ । यससन्दर्भमा मिडिया स्वतन्त्रताको पक्षपाती हुनुपर्ने विश्वास गरिन्छ । मिडिया स्वतन्त्र हुन सकेन भने उसले साझा मन्चको भूमिका निर्वाह गर्न सक्दैन ।
जनता र नीति निर्माताबीच पूलको भूमिका ः माथि उल्लेख गरिसकियो मिडियाले जहिले पनि जनताको पक्षमा खवरदारी अर्थात वाच डगको भूमिका निर्वाह गर्नुपर्दछ । खवरदारी गर्न नसक्ने मिडियाले राष्ट्रनिर्माणमा भूमिका निर्वाह गर्न सम्भव हुँदैन । राष्ट्रनिर्माणका सन्दर्भमा जनभावना र आकांक्षा अत्यन्तै महत्वपूर्ण हुन्छन् । जनताले के किन र कसरी सोचिरहेका छन ? के चाहिरहेका छन ? जस्ता विषय राज्य संचालनका दृष्टिले निकै महत्वपूर्ण हुन्छन् । यी प्रश्नको उत्तरप्राप्तिको अवस्थामा मात्र राज्यले आवश्यक नीति निर्माण गर्न सक्दछ । यतिमात्र होइन राज्यले तर्जुमा गरेका नीतिका बारेमा जनताको धारणा के छ भन्ने थाहा पाउनु पनि असल राज्य संचालकका लागि आवश्यक हुन्छ । यी सबै कार्यमा मिडियाले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छ र गर्नुपर्दछ । प्रत्येक जनताले राज्य संचालक र राज्य संचालकले प्रत्येक जनतालाई भेटेर धारणा बुझ्ने कार्य सम्भव हुन सक्दैन । यस अवस्थामा मिडियाले दुवै पक्षबीच सेतुको काम गर्ने अपेक्षा गरिन्छ ।
सुशासन स्थापना र अनुगमनको औजार ः मिडिया सुशासन र अनुगमनको सशक्त अभिकर्ता हो । मिडियाले आफ्ना कन्टेन्टमार्फत् सुशासन स्थापनाका दिशामा त जोड दिइरहेको हुन्छ नै राज्य र सार्वजनिक निकायले तय गर्ने नीति र त्यसको कार्यान्वयन पक्षको अनुगमन गर्ने कार्य पनि गरिरहेको हुन्छ । कतिपय अवस्थामा राज्य र सार्वजनिक निकायले तय गरेका नीति राम्रा हुँदाहुँदै पनि त्यसको उचित प्रचारप्रसार हुन सकिरहेको हुँदैन । अर्कोतर्फ त्यस्ता राम्रा नीतिको कार्यान्वयन पक्ष अत्यन्त फितलो हुन्छ । यो दुवै अवस्थाले जनसामान्यमा असन्तुष्टि सिर्जना गरिरहेको हुन्छ । यो अवस्था राष्ट्रनिर्माणका दृष्टिले उचित होइन । यस्तोमा मिडियाले सशक्त औजारका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यस्तै भ्रष्टाचारमुक्त समाजको निर्माण र अवसरको उचित तथा समान वितरण राष्ट्रनिर्माणको अर्को महत्वपूर्ण पक्ष हो । जनताले तिरेको करबाट नै देशका सम्पूर्ण जिकास र प्रशासनिक कार्य संचालित हुन्छन् । तर जब यस्तो विकास र प्रशासनिक कार्यमा भ्रष्टाचार र अनियमितता हुने अवस्था सिर्जना हुन्छ जनता आक्रोशित हुनु स्वाभाविक हो । मिडियाले यस आधारमा आफ्नो कार्यसम्पादन गरेर भ्रष्टाचारका घटना सार्वजनिक गरेर राष्ट्रनिर्माणका पक्षमा अनुकुल वातावरण निर्माण गर्ने विश्वास गरिन्छ ।
मानवअधिकारको रक्षक ः माथि उल्लेख गरिसकिएको छ राष्ट्रनिर्माणका सन्दर्भमा मानवअधिकारको प्रत्याभूति र संरक्षणको पनि महत्वपूर्ण स्थान हुन्छ । राज्यले कानुनका आधारमा मानवअधिकार संरक्षणका दिशामा भेदभाव नगर्ने मान्यता विश्वव्यापी हो । तर जब फरक व्यक्ति र समुदायका लागि फरक मापदण्ड अपनाएर राज्यले व्यवहार गर्न थाल्दछ तब असन्तुष्टिको जन्म हुन्छ । मिडियाले यसमा सहजीकरण गरेर जनसामान्यका पक्षमा अनुकुल वातावरण निर्माण गर्ने अभिभारा निर्वाह गर्नुपर्दछ ।
आर्थिक कार्यक्रमको योजनकार ः राष्ट्रनिर्माण आर्थिक पक्षसँग पनि सम्बन्धित छ । आर्थिक क्रियाकलापमा सबैको सहभागिता, आर्थिक अवसरको समान वितरण र आर्थिक कार्यक्रम तर्जुमामा सबैको साझेदारीको सवालले राष्ट्रनिर्माणको दिशा तय गर्ने अपेक्षा गरिन्छ । आर्थिक गतिविधिले विकासका कार्य निर्दिष्ट गर्दछ र त्यस्तो विकास कार्यमा स्वामित्व ग्रहणको सम्बन्ध जोडिएको हुन्छ । थोपरिएको विकास र आर्थिक कार्यक्रमको उपस्थितिमा जनसामान्यले स्वामित्व ग्रहण गर्न नसक्दा समग्र राष्ट्रनिर्माणको यज्ञ प्रभावित हुन सक्ने सम्भावना रहन्छ । यस्तोमा कहाँ कस्तो विकास आवश्यक छ ? कस्तो आर्थिक कार्यक्रम जनोपयोगी हुन सक्छ ? स्वामित्व ग्रहणका दृष्टिले कस्ता आर्थिक कार्यक्रम प्रभावकारी हुन सक्दछन ? आदी विषयमा मिडियाले जनतासँग सम्पर्क गरेर अनुसन्धानमूलक पत्रकारिता गर्न सक्दछ र राज्य तथा सार्वजनिक निकायलाई सल्लाह र सुझाव दिन सक्छ । यस आधारमा मिडयालाई आर्थिक कार्यक्रमको योजनाकार पनि भन्न सकिन्छ ।
सामाजिक सद्भाव अभिवृद्धिकर्ता ः मिडिया सामाजिक सद्भाव अभिवृद्धिकर्ता पनि हो । राष्ट्रनिर्माणमा देशभरि छरिएर रहेका समाज र राष्ट्रियताका विविध स्वरुपलाई एउटै मालामा उनेर समग्र राष्ट्रियताको प्रवद्र्धन आवश्यक छ । तर यो त्यसवेलामात्र सम्भव हुन सक्छ जब देशभित्रका सबै समाज र संस्कृतिबीच सद्भाव, सहिष्णुता र सहकार्यको वातावरण निर्माण हुनसक्छ । यो भनेको सबैका लागि आत्मसम्मानको अवस्था सिर्जना गर्ने पनि हो । यस कार्यमा मिडियाले निर्णायक भूमिका निर्वाह गर्न सक्दछ । मिडियाको एक शव्दले सामाजिक सद्भाव विथोल्ने वा निर्माण कार्य सम्भव हुन सक्दछ । मिडियाले आप्mनो प्रस्तुतिका माध्यमबाट सिंगो समाजको खण्डित स्वरुपलाई एकिकृत गरी सिंगो समाज निर्माणमा भूमिका निर्वाह गर्न सक्दछ । नेपालमै पनि मिडियाले समाजिक र संस्कृतिक सद्भाव अभिवृद्धिका दिशामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थुप्रै उदाहरण छन ।
अन्त्यमा ः राष्ट्रनिर्माण कुनै एक पक्षसँग मात्र सरोकार राख्ने विषय होइन । बरु यो सामूहिक यत्नमा निर्भर रहने निरन्तरको प्रक्रिया हो । देशको भूगोलभित्र समाहित सबै जनताको राष्ट्रनिर्माणमा उत्तिकै मूमिका छ र रहनुपर्छ । राष्ट्रनिर्माण देशको जनता जोडने प्रक्रियासँग जति सम्बन्धित छ देशको विकास कार्य र यसप्रतिको स्वामित्व ग्रहणसँग पनि त्यतिकै सम्बन्धित छ । माथि चर्चा गरिसकियो, राष्ट्रनिर्माण का सन्दर्भमा विभिन्न अवयवहरुको भूमिका रहन्छ । मिडिया त्यसमध्येको एक हो । तर कमजोर मिडिया र मिडियाकर्मीको उपस्थितिमा राष्ट्रनिर्माणको सफल कार्यान्वयन सम्भव हुन सक्दैन । यसका लागि सवल मिडिया अपेक्षित छ । पछिल्लो कालखण्डमा नेपाली मिडिया पनि क्रमशः सवल हुने दिशामा अग्रसर छ । आशा गरौ, भविष्यमा राष्ट्रनिर्माणका सन्दर्भमा मिडियाले आफ्नो भूमिकाबारे अझै फराकिलो बुझाई विकसित गरी तदनुकुलको जिम्मेबारी निर्वाह गर्न सक्षम हुनेछ ।
................................................................
नेपाल प्रेस युनियन केन्दीय समितिद्वारा एफइएसको सहयोगमा धादिगंमा २०७२ असोज २० गते आयोजित कार्यक्रममा प्रस्तुत छलफल पत्र ।
No comments:
Post a Comment