करिव दुई सय चालीस वर्ष भयो । नेपाल राष्ट्रको एकीकरणकर्ता मानिने पृथ्वीनारायण शाहले छिमेकी दुई राष्ट्र चीन र भारतको सन्दर्भ जोड्दै भनेका थिए–नेपाल दुई ढुंगाबचिको तरुल हो । त्यसैबेलादेखि शाहको यो भनाई नेपालको परराष्ट्र नीतिको आधार बन्दै आएको छ । यो भनाइ त्यतिबेला जति सामयिक थियो अहिले पनि त्यति नै सान्दर्भिक छ । नेपालले यी दुवै ठूला छिमेकीबीच समदुरीको सम्बन्ध राखेर आफ्नो विकास यात्रालाई गति दिनुपर्छ र दुवैका निम्ति उत्तिकै महत्वपूर्ण बन्न सक्नुपर्छ भन्ने आशयको उपर्युक्त भनाईलाई नेपाली राष्ट्रियता र राष्ट्रवादको परिभाषा तथा व्याख्यासँग पनि जोडेर हेर्ने गरिएको छ । शायद यहाँ उल्लेख गर्नु कटु हुन सक्छ तर यथार्थ के हो भने एकीकरणकालदेखि नै नेपाली राष्ट्रियताले अपेक्षित आकार ग्रहण गर्न सकेको छैन । नेपाली राष्ट्रियताको व्याख्या अनुकूलताका आधारमा हुने प्रचलन चलेको छ ।
नेपाली जनताले आफ्नो राष्ट्रियताको व्याख्या र परिभाषा पटकपटक चाहेका छन् । विभिन्न माध्यमद्वारा यो अभिव्यक्त पनि हुँदै आएको हो । विगतको मधेश र जनजाति आन्दोलन यससन्दर्भमा व्यक्त पछिल्ला उदाहरण हुन् । नेपालीले आफ्नो राष्ट्रियता र चिनारी कायम गर्न विगतमा युद्धसममेत लडेको इतिहास साक्षी छ । नेपाल–तिव्वत युद्ध यसको सशक्त प्रमाण हो । अंग्रेजकालीन भारतको कुरा गर्ने हो भने किनलक अभियानलाई नेपालीले सिन्धुलीगढीबाट खेदेको सन्दर्भ इतिहासमा सुरक्षित छ ।
प्रश्न उठ्छ आखिर के हो त नेपाली राष्ट्रियता र राष्ट्रवाद ? राजनीतिशास्त्रमा तीनवटा शव्द चर्चित छन्–राज्य, देश र राष्ट्र । यी तीनवटै शव्द एकअर्काका पर्याय होइनन् तर दुर्भाग्य नै भन्नुपर्छ, नेपालमा यी तीनवटै शव्दलाई एकअर्काको पर्यायका रुपमा प्रयोग गर्ने प्रचलन चल्यो र कालान्तरमा यसैकारण राष्ट्रियताको परिभाषा संकटमा पर्यो । विगतका शासकले शासन र भूगोललाई सँगै जोडेर एक राष्ट्रका नाममा राष्ट्रियताको विकास गर्ने सोच राखे । नेपालका सन्दर्भमा एक राष्ट्रको अवधारणा त ठीकै थियो तर राष्ट्रियतालाई राष्ट्रको सपाट विशेषणका रुपमा मात्र बुझ्ने र बुझाउने प्रयासले नेपालभित्रका धेरै जातजाती र भाषाभाषीलाई समान रुपमा सम्बोधन गर्न सकेन फलतः तिनमा उपेक्षा–भाव जागृत भयो । बुझ्नुपर्ने कुरा हो, नेपाली जनतामा राज्य (शासन) र देश (भूगोल) का सम्बन्धमा कहिल्यै फरक मत रहेन । तर विगतको एउटै भाषा एउटै भेष र एउटै राजा एउटै देश को नारा, जसलाई राष्ट्रियताको परिभाषासँग जोडेर हेरियो, लाई नेपाली जनताले कहिल्यै सहजरुपमा स्वीकार गर्न सकेनन । यस अवधारणालाई कालान्तरमा महेन्दवादी राष्ट्रियताका रुपमा व्याख्या गरेर नेपाली नागरिकमाथि थोपर्ने प्रयत्न गरियो । जो आमजनतालाई स्वीकार्य भएन र विगतमा अनेकौं राजनीतिक आन्दोलन र क्रान्ति अवश्यम्भावी भए ।
माथि उल्लेख गरिएको राष्ट्रवादको अर्को पाटो पनि छ । पंचायतकालमा राष्ट्रवादका नाममा अर्कालाई गाली गलौच गरेर आफू साखुल्य पल्टिने प्रवृत्तिको विकास भयो जो अनुचित थियो । छिमेकीलाई गाली गरेर आफू कसरी ओभानो हुन सकिन्छ ? आफ्नो कमजोरी लुकाउन शायद यो प्रवृत्तिलाई जवर्जस्ती प्रभावी गराइयो । एउटा कुरा के सत्य हो भने छिमेकीसँगको सम्बन्धलाई समदुरीका आधारमा व्यवस्थि गरिनुपर्छ । जो आजसम्म सम्भव हुन सकेको छैन । नेपालको सन्दर्भमा विशेषतः पंचायत र वामपंंथी विचारधारा बोक्नेमध्ये अधिकांशले छिमेकी भुलुक भारतलाई गाली गरेर राष्ट्रियता जोगाउने नारा उरालेको पाइन्छ । भारतलाई जति बढी गाली गर्यो नेपाली राष्टियता त्यति नै बढी बलियो हुने नाटक विगतमा मन्चन गरिएको कसैबाट लुकेको छैन । विगतको माओवादी आन्दोलनको त यो एक प्रमुख आधार नै बन्यो । यो अलग कुरा थियो कि ती माओवादी नेता जसले भारतविरोधी नारा उरालेर नेपाली राष्ट्रवादको जगेर्ना गर्ने कुरा गरे तिनै नेता भारतबाट यथेष्ट सहयोग प्राप्त गरिरहेका थिए । नेपालमा हुने प्रत्येकखाले राजनीति गतिविधिमा एउटा छिमेकीको स्वार्थ र प्रभाव देख्नेहरुले अर्को छिमेकीका बारेमा किन कुनै अन्यथा अनुभव गर्दैनन् ? यससन्दर्भमा महत्वपूर्ण हुनेछ, नेपालीका दृष्टिले हामीले दुवै छिमेकीका सम्बन्धमा दुईथरि धारणा व्यक्त गर्नु नेपालको राष्ट्रवादको जगेर्नाका लागि कति उचित हुन्छ, त्यसका बारेमा विना पूर्वाग्रह सोच्नु ।
पछिल्ला दिनमा नेपालका प्रायःजसो ठूला राजनीतिक दलका नेताले कि त चीन र भारत दुवै देशका भ्रमण गरेका छन कि त गर्ने तयारीमा छन् । तर अचम्म त के छ भने नेताले भारतको भ्रमण गर्दा राष्ट्रवाद खतरामा परेको देख्ने आँखाले तिनै नेता चीन जाँदा किन राष्ट्रवाद खतरामा परेको अनुभूत गर्दैनन ? पछिल्लो केही वर्षको अध्ययन गर्ने हो भने नेपालमा चीनको पनि वाक्लै स्वार्थ रहेको पाउन सकिन्छ । पछिल्लो एक वर्षको मात्र तथ्यांक केलाउने हो भने नेपाल र चीनबीच सरकारी, गैरसरकारी र राजनीतिक स्तरको थुप्रै द्विपक्षीय भ्रमण भएका छन् । दुई देशबीचको सम्बन्ध सुदृढीकरणका दृष्टिले यो अवस्थालाई राम्रै मान्न सकिएला । तर त्यस्ता भ्रमणहरुमा चीनको कुनै राजनीतिक स्वार्थ लुकेको छैन भनेर कसरी भन्ने ? खासगरी नेपालको वामपंथी राजनीतिलाई केलाउने हो भने पछिल्लो एक वर्षको अवधीमा ठूला साना दलका ठूला साना थुप्रै नेताले चीन घुमिसकेका छन तर ती भ्रमणमा के कुरा भए भन्नेबारे सार्वजनिक भएका छैनन । अझ माओवादी र एमाओवादीमा जब जब कुनै प्रकारको समस्या देखिन्छ ती दलका कुनै न कुनै नेता चीन भ्रमणमा गएको पाइन्छ । अहिले भर्खरै पनि माओवादीका थिंक ट्यांक मानिने नेत्रविक्रम चन्द चीनको आकस्मिक भ्रमण गरेर फर्किएका छन । यो भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ । चन्दको भ्रमणपछि माओवादी यु टर्न भए त्यसमा आश्चर्य मान्न नहुने तर्क राजनीतिक विश्लेषकहरुको छ ।
राष्ट्रवादको यो कस्तो व्याख्या हो ? एउटा छिमेकीसँग भ्रमण आदान–प्रदान हुँदा राष्ट्रियता गुम्ने कोकोहोलो मच्चाइने सन्दर्भमा अर्को छिमेकीसँगको भ्रमण अदान–प्रदानलाई राष्ट्रियताको सम्वद्र्धनसँग कसरी जोड्न सकिएला ? छिमेकीका सन्दर्भमा राष्ट्रवादको प्रसंगलाई दोहोरो मापदण्डका आधारमा मापन गरिनु हुँदैन । छिमेकी भनेका छिमेकी नै हुन । सम्बन्ध स्वार्थरहित हुन सक्दैन । चाहे त्यो दक्षीणको छिमेक होस अथवा उत्तरको । यस्तोमा सबैसँग समदुरीको सम्बन्ध विकसित गर्नुको विकल्प छैन । र्पथ्वीनारायण शाहको दुई ढुंगाबीचको तरुल को अवधारणा नै सन्तुलित परराष्ट्र नीति हुनेछ र यसै आधारमा नेपाली राष्ट्रवादको पनि पुर्नव्याख्या गर्न सकिने कुरा विर्सन हुँदैन ।
No comments:
Post a Comment