Friday, September 13, 2013

जनकपुर घटना

मानवतविरुद्ध भ्रष्ट आचरण

धर्मेन्द्र झा
गत सोमबार अर्थात वैशाखको १८ गते सम्पूर्ण मिथिला क्षेत्र देवी सीता जन्मेको दिनको स्मरण गर्दै हर्षोल्लासपूर्वक जानकी नवमी मनाइरहेको थियो । त्यही दिन मिथिलाको केन्द्र जनकपुरधामस्थित रामानन्द चौकमा विहानपख एउटा शक्तिशाली वम विष्फोट भयो । राम र सीताको स्मरणका माध्यमबाट मानवताको चर्चा भइरहेकै वेला जनकपुरमा मानवताविरुद्ध भ्रष्ट आचरणको निकृष्ट नमुना प्रदर्शन गरियो । आफ्ना मागप्रति जिम्मेबार पक्षको ध्यानाकर्षण गराउन आयोजना गरिएको शान्तिपूर्ण धर्नालाई लक्षित गरेर गराइएको विष्फोटमा परी अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ । उक्त घट्नामा करिव पच्चीसजना घाइते भएका छन । घाइतेको काठमाडौ र जनकपुरमा उपचार भइरहेको छ । मुलुकभरि संघीयताको माग उठिरहेको वर्तमान सन्दर्भमा नेपालका मिथिलाका वासिन्दाले पनि आफ्नो पहिचान खोजेका छन । मिथिला प्रदेशको सुनिश्चितताको माग गर्दै यहाँका वासिन्दा धर्ना बसे । आततायीलाई शायद यो मन परेन, वम आक्रमण गरियो, धर्ना बसेकामध्ये पाँचजनाले ज्यान गुमाउन बाध्य हुनुपर्यो ।

मिथिला प्रदेशको माग जातीय सन्दर्भसँग जोडिँदैन । यो त एक उन्नत परम्परा र उदात्त परिचयको द्योतक हो । विगत पाँच हजार वर्षदेखि निरन्तर बाँचिरहेको मानव दर्शन हो । यो एक भूगोल हो । गौरवशाली इतिहास हो । भारतीय उपमहाद्वीपको सबभन्दा पूरानो सभ्यता र संस्कृति हो । मिथिला क्षेत्रको वस्तुस्थिति, इतिहास, सभ्यता, संस्कृति र सामाजिक संरचना तथा विश्वासबारे थोरैमात्र जानकारी भएकालाई मिथिलावासीको प्रदेशको यो माग नया लाग्न सक्छ तर स्वयंमा यो माग नया भने होइन । यसको लामो पृष्ठभूमि छ । यो माग विगतमा कहिल्यै पनि राजनीतिक रंगमा रंगिएन । राजनीतिक मुद्दा पनि बनेन । मात्र सांस्कृतिक आवरणमा लामो समयसम्मको यात्रा तय गर्ने प्रयास गरिरह्यो । मिथिलाका वासिन्दाले आफ्ना पक्षमा राजनीतिक आन्दोलन चर्काएनन । बरु विगतको मधेश आन्दोलनलाई भरमग्दुर सहयोग गरे । अहिले पनि गरिरहेका छन । मधेश आन्दोलनका क्रममा मिथिलाका थुप्रै सपूतले प्रदान गरेको शहादतलाई यसैको उदाहरणका रुपमा बुझ्न सकिन्छ ।  यस मागमा समर्थनको सन्दर्भमा ‘सर्वजन हिताय सर्वजन सुखाय’को मिथिलामा स्थापित प्रसिद्ध दर्शनप्रतिको उनीहरुको आशक्ति महत्वपूर्ण छ । वहिष्करणमा परेकाहरुका बारेमा सगोलमै कुरा उठाइँदा सबैका हकमा एउटा सार्थक निष्कर्षमा पुग्न सकिन्छ भन्ने उनीहरुको विश्वास महत्वपूर्ण रह्यो ।  उनीहरुको बुझाइ थियो र छ – सबै मधेशवासीले मधेशकै नाममा भएको आन्दोलनमा सहभागी हुनुपर्छ र एकिकृत रुपमा मधेशको अधिकार सुनिश्चित गर्न होस्टेमा हैंसे गनुपर्छ । मधेशको अधिकार सुनिश्चितताको प्रत्याभूतिको अवस्थामा मधेशभित्र रहेका वर्ग, क्षेत्र र समुदायको अधिकार सुनिश्चितताका विषयलाई वल प्रदान गर्न सकिन्छ । यी विषय आन्तरिक हुन र यसका सम्बन्धमा पछि पनि छलफल चलाउन सकिन्छ भन्ने उनीहरुको धारणालाई अस्वाभाविक मान्न मिल्दैन । तर पछिल्ला दिनमा मिथिलावासीको मनमा आशंका उब्जिनु अस्वाभाविक थिएन । सबैले आफ्नो पहिचानको कुरा उठाइरहँदा आफूहरु पछि पो परिने हो कि भन्ने भावनाले केही भूमिका निर्वाह गरेको हुन सक्छ, उनीहरु पनि आन्दोलित भए । पहिचानसहितको संघीयताको सबभन्दा चर्को कुरा गर्ने नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दश प्रदेशको प्रस्ताव गर्दा मिथिला अटाउन सकेन । प्रचण्डको यस प्रस्तावलाई मिथिलाका वासिन्दाले स्वीकार गर्न सकेनन । उनीहरुले धैर्यको बाँध टूटेको अनुभव गरे र प्रारम्भ गरे मिथिला प्रदेशको पक्षमा दबाव सिर्जनाको शान्तिपूर्ण अभियान ।

संस्कृतिकर्मीको संयोजनमा संचालित यस अभियानमा सहभागीका अनुसार यो कसैप्रति विरोध वा समर्थनको कार्यक्रम थिएन । धर्नामा सहभागीमध्ये अधिकांश साहित्य र संस्कृतिकर्मी नै हुन्थे । वैशाख १८ को दिन यसै अभियानको चौंथो दिन थियो । यसदिन पनि रामानन्द चौकमा धर्ना बसेर विहान ८देखि ११ वजेसम्म तीन घन्टा चक्काजामको कार्यक्रम निर्धारण गरिएको थियो । विहानको करिव दश बजे । कार्यक्रम उदाहरणीय रुपमा संचालन भइरहेको थियो । केही व्यक्ति धर्नामा बसेकालाई पानी वितरण गरिरहेका थिए । केही व्यक्ति छेवैको चियापसलमा चिया खाइरहेका थिए । कार्यक्रमको पछिल्लो एक घन्टालाई कवि गोष्ठीमा परिणत गर्ने तयारी भइरहेको थियो । यत्तिकैमा चक्कमजाम र बन्दको अवस्थामा पनि अज्ञात दिशाबाट आएको एक मोटरसाइकल धर्नास्थल नजिकै रोकियो । एकैछिनमा त्यही मोटरसाइकल ठूलो आवाजसहित विष्फोट भयो । विष्फोटमा परेर त्यही दिन कलाकार रंजु झा, संस्कृतिकर्मीहरु झगरु दास, विमलशरण र सुरेश उपाध्यायसहित चारजनाको मृत्यु भयो । उपचारका लागि काठमाडौ ल्याइएका दिपेन्द्र दासको विहिवार राति मृत्यु भएको छ । यस घट्नापछि शोकमा डुवेको जनकपुर.अहिलेसम्म शोकमुक्त हुन सकेको छैन ।

जनकपुर घटनाको चर्चा मृत्यु र घाइतेको सन्दर्भसम्म मात्र सीमित छैन । यो घटना जनताको शान्तिपूर्ण रुपमा भेला हुन पाउने र स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न पाउने हकमाथिको आक्रमण पनि हो । यो घटनाले विश्वभरिका अभिव्यक्ति स्वतन्त्रताका पक्षपातीहरुलाई नराम्ररी झस्काएको छ । यो घटनापछि उत्पन्न प्रभाव जनकपुर र नेपालसम्म मात्र सीमित नरही विश्वभरि नै प्रसारित भएको छ भन्दा अस्वाभाविक हुँदैन । यो घटनाले नेपालका जनता कुन हदसम्म असुरक्षित छन र राज्यले कुन हदसम्म दण्डहीततालाई प्रश्रय दिएको छ भनेर बुझ्न कठीन हुँदैन । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको गला कसरी रेटिँदै छ भन्ने कुराको दृष्टान्त पनि यो घटना बनेको छ । घटना भएको साता दिन वितिसक्दा पनि राज्यले अनुसन्धान प्रक्रियालाई गति प्रदान गर्न सकेको छैन । यसले घटनाप्रति राज्यको उदासिनता र दण्डहीनतालाई प्रोत्साहित गर्ने नीतिलाई स्पष्ट पार्दछ । विष्फोटको प्रकृति विचार गर्दा घटना स्वयंमा शंकास्पद देखिन्छ । घटनाका सन्दर्भमा स्थानीय वासिन्दाले केही जिज्ञासा व्यक्त गरेका छन जो स्वाभाविक देखिन्छ । बन्द र चक्काजाम आह्वान गरिएको स्थितिमा धर्नास्थलसम्म मोटरसाइकल कसरी आइपुग्यो ? विष्फोटको दुई घन्टाभित्रै घटनास्थल किन सफाइ गरियो ? यसबाट अनुसन्धान प्रक्रियामा वाधा उत्पन्न भएको सम्वद्ध अधिकारीले बताएका छन जो निकै अर्थपूर्ण छ । धर्नाको समयमा घटनास्थलमा सुरक्षकर्मीको बाक्लो उपस्थिति थियो, विष्फोटको समयमा उनीहरु के गर्दै थिए ? सोमबारको त्यत्रो त्रासदीपूर्ण घटनापछि मंगलवार फेरि त्यही क्षेत्रमा अर्को विष्फोट किन र कसरी भयो ? स्थानीय प्रशासनले किन तदारुकता देखाउन सकेन ? यी प्रश्न अत्यन्त सान्दर्भिक छन । घटनाको जिम्मेवारी एक सशस्त्र समूहले लिएको छ । स्थानीय वासिन्दा जिम्मेवारी लिएको भनिएको समूहबाट यो घटना भएको भन्ने स्वीकार गर्न तयार छैनन । उनीहरुले उक्त समूहलाई घटनाको जिम्मेवारी लिन ‘प्रयोग’ मात्र गरिएको हुनसक्ने सम्भावना व्यक्त गरेका छन । यो सत्य हो भने नेपाली जनताले भविष्यमा झन डरलाग्दो प्रवृत्तिको सामना गर्नुपर्ने निश्चित छ । कुनै सशस्त्र समूहले जिम्मेवारी लिएको घटनामा अनुसन्धान गर्नबाट सुरक्षा निकाय प्रायः पन्छिने गरेको विगतको उदाहरण छ । यस घटनाका सन्दर्भमा पनि यस्तै भयो भने आश्चर्य मान्नुपर्ने अवस्था रहँदैन । राज्यले सशस्त्र समूहसँग वार्ता गरिरहेको र धेरै समूहसँग सहमति कायम भएको भनिएको अवस्थामा भएको मानवताविरोधी यस घटनाले राज्यको असफलताको अर्को पोल पनि खोलेको छ भनेर भनियो भने त्यो अन्यथा हुने छैन । पछिल्ला दिनमा नेपालमा कानुनी राज्यको उपस्थिति नरहेको धेरै उदाहरणले पुष्टि गर्न सकिन्छ । जनकपुर घटना पछिल्लो शृंखला हो । होइन, यहाँ कानुनी राज्यको उपस्थितिको प्रत्याभूतिको प्रयास गर्ने हो भने सुरक्षा संयन्त्रले अपराधीको खोजी गरेर तिनलाई सजायको दायरामा ल्याउन सक्नुपर्छ । लोकतन्त्रको उपहास हुने गरी भएको यो घटनाको अनुसन्धानमा संलग्न पक्ष र सुरक्षाकर्मीहरु यो विष्फोटमा संलग्न अपराधी नेपालको सुरक्षा निकायको नियन्त्रणबाहिर रहेको निष्कर्षमा पुगेका हुन भने यो घटनाको अन्तर्राष्ट्रियकरण किन नगर्ने ? किन यस घटनाबारे इन्टरपोललाई जानकारी नगराउने ? किन अपराधमा संलग्न भएकाको विरुद्ध रेडकर्नर नोटिस जारी गर्न पहल नगर्ने ? यो घटना निश्चय पनि राजनीतिक होइन । लोकतन्त्रमा आफ्नो मौलिक अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण धर्नाका माध्यमले अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न खोजिरहेका जमातमाथि गरिएको नृशंश आक्रमण हो–यो घटना । यस अर्थमा मानवताविरुद्धको निकृष्ट आचरण र जघन्य अपराध हो–यो घटना । राज्यले भन्न सक्नुपर्छ, यो घटना आपराधिक हो वा राजनीतिक ? आपराधिक हो भने यस घटनाको अनुसन्धान त्यसै आधारमा किन नगर्ने ? नेपालको सुरक्षा संयन्त्रले निष्पक्ष अनुसन्धान गर्न नसक्ने हो भने बाह्य सहयोगको खोजी गर्नुलाई अनपेक्षित भन्न मिल्दैन ।

  जनकपुर घटनाका सन्दर्भमा राजनीतिक दलहरुले घटनापछि देखाएको मौनता यतिखेर अर्को आश्चर्यको विषय बनेको छ । जनकपुर यतिखेर आतंकित छ, त्रस्त छ, तनावग्रस्त छ । आफ्ना परिवारका सदस्य गुमेपछि यहाँका वासिन्दा शोकाकुल छन, भाव विह्वल छन तर पनि सम्बन्धित निकाय र राजनीतिक दलको जुन रुपमा ध्यानाकर्षण हुन सक्नुपथर््यो त्यस रुपमा हुन नसकेको अनुभव गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको हनन हुने गरी भएको यो घटनापछि नेपालका सम्पूर्ण जनतामा स्वतन्त्रतापूर्वक भेला हुन डर मान्नुपर्ने स्थितिको विकास भएको छ । आफूलाई मनमा लागेका कुरा भन्न, लेख्न र कुनै माध्यमले अभिव्यक्त गर्न त्रस्त रहनुृपर्ने स्थितिको सिर्जना भएको छ । जनकपुरको घटना त जसोतसो इतिहास बन्ला तर अभिव्यक्ति स्वतन्त्रता हननको अवस्था सँधै वर्तमान नै बनिरहने अवस्थाको विकास भयो भने नेपालको लोकतन्त्रको भविष्य के होला ? सम्वद्ध सबैले समयमै सोच्नु अपरिहार्य छ ।  
(घटनापछि जनकपुरबाट फर्केर ।)     

No comments:

Post a Comment