मैथिलीका चार कृति
परम्परा निर्वहनबाट उन्मुक्तिको प्रयास
नेपालमा पुस्तक प्रकाशन र अध्ययनको प्रवृत्तिलाई शायद मौलाएकै रुपमा स्वीकार गनुपर्छ । सम्भवतः पाठकको अध्ययन रुझानमा वृद्धि भएरै हाोला पछिल्लो समयमा पुस्तक प्रकाशन प्रक्रियाले गति प्राप्त गरेको छ । र, पुस्तक प्रकाशनको यो क्रम नेपाली भाषामा मात्र होइन अन्य राष्ट्रिय भाषामा पनि बढेको पाइएको छ । यहाँ सन्दर्भ मैथिली प्रकाशनको हो । हालैका महिनामा मैथिली प्रकाशनमा उल्लेख्य वृद्धि भएको छ । कुनैबेला थियो, जब एउटा मैथिली प्रकाशनका लागि महिनौ वर्षौ कुर्नुपर्ने अवस्था थियो । तर पछिल्लो दिनमा यो स्थितिमा सुधार आएको छ । निश्चय पनि प्रविधिको विकासले निकै ठूलो भूमिका निर्वाह गरेको तथ्य स्वीकार गर्नैपर्छ । त्यसैगरी व्यवशायिक सोच र आक्रामक वजार प्रवद्र्धनले पनि निकै ठूलो टेवा पुगेको छ । अलिकति प्रभाव समाजमा आएको खुलापनको पनि हो । परिवर्तित राजनीतिक सोच र शैलीले पनि श्रष्टालाई हौस्याएको हुनुपर्छ । यति हुँदाहुँदै पनि सबभन्दा महत्वपूर्ण कुरा त श्रष्टाको रचनाधर्मिता र क्रियाशीलता नै हो । मैथिलीका लेखकमा पनि रचनात्मकताका साथै तत्परता बढेको छ । पछिल्लो एकवर्षमा मात्र प्रकाशनमा आएको झण्डै डेढ दर्जन कृतिले कम्तिमा यही कुरा प्रमाणित गर्दछन ।
यसपटक यहाँ मैथिलीमा प्रकाशित चार प्रतिनिधिमुलक कृतिबारे चर्चा गर्ने प्रयत्न गरिएको छ । नेपााल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामभरोस कापडि भ्रमर र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जन अलग–अलग पुस्तक लिएर मैथिली साहित्याकाशमा झुल्किएका छन । यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य डा. रामदयाल राकेश र अर्का सर्जक श्यामशेखर झा कमल पनि नयाँ पुस्तक लिएर आएका छन । यी चारवटै पुस्तक महत्वपूर्ण छन । भ्रमर र रञ्जन उपन्याास लिएर उदाएका छन भने राकेश यात्रा निवन्धको सँगालो लिएर पाठकमाझ आएका छन । कमलको कृति काव्य हो ।
मैथिली साहित्यमा उपन्यास लेखनको लामो र उन्नत परम्परा छ । विगतमा उपन्यासकै आधारमा पनि मैथिली आधुनिक साहित्यलाई चिन्न सकिने प्रवृत्तिको विकास भयो । तर पछिल्लो कालखण्डमा मैथिलीमा निकै थोरै मात्र उपन्यस लेखिए । भारततर्फ मैथिलीमा केही उपन्यास लेखिए पनि नेपाल अर्थात नेपालीय मैथिलीमा भने उपन्यासको उपस्थिति निकै न्यून रह्यो । पछिल्लो समयको नेपालीय मैथिली साहित्यको सर्वाधिक चर्चित उपन्यास डा. अरुणकुमार झाको मर्सिनी हो । मर्सिनीपछि संख्याका दृष्टिले केही उपन्यास त आए तर ती खासै चर्चायोग्य रहेनन । यसै पृष्ठभूमिमा दुर्इृजना श्रष्टा भ्रमर र रञ्जन उपन्यास लिएर आएका छन जो स्वयंममा महत्वपूर्ण छ । मैथिलीका पाठकका लागि यो सन्तोष र प्रसन्नताको विषय हो । महत्वपूर्ण कुरा त के भने यी दुवै स्थापित स्रष्टाका औपन्यासिक कृति प्रथम हुन । दुवैको पृष्ठभूमि पत्रकारिता हो । दुवै मैथिली आन्दोलनका अग्रणी व्यक्तित्व हुन । रञ्जनभन्दा उमेरमा अलि पाका भ्रमर मैथिली साहित्यका स्थापित सर्जक हुन । साहित्यका विविध विधामा कलम चलाएका भ्रमरको अहिलेसम्म उपन्यास सार्वजनिक हुन सकेको थिएन । भ्रमरको तुलनामा उमेरमा कनिष्ठ रञ्जन मैथिलीका उदीयमान सर्जक अभियन्ता मानिन्छन । यसपटक दुवैमा केही समानताको अनुभव गरिएको छ । दुवैको उपन्यास पहिलो हो । दुवैजनाले सम्बन्धित निकायको प्राज्ञको हैसियत बोकेर सिर्जना गरेका छन र प्राज्ञ रहिरहेकै समयमा पुस्तक वजारमा ल्याएका छन । दुवै कृतिमा पत्रकार–दृष्टिको प्रभाव अनुभव गर्न सकिन्छ । सबभन्दा मुख्य समानता त के हो भने दुवै कृतिको कथाको प्लट एकै छ । दुवैले मधेश आन्दोलन र विगतको द्वन्द्वका विषय वस्तुलाई उपन्यासको केन्द्र बनाएका छन ।
यसअघि कविता, कथा, रिपोर्ताज, निवन्ध, नाटकजस्ता साहित्य–सृष्टिबाट स्थापित भ्रमरको उपन्यास घरमुहाँ नेपालको मधेश आन्दोलनबाट उब्जेको छरिएको जनआकांक्षा, मोहभंग, विकृति, पीडा, भावनात्मक उद्वेलन, विक्षोभ र जटिलताको यथार्थपरक प्रस्तुति हो । मधेश आन्दोलनको पृष्ठभूमि, औचित्य, आन्दोलनका नाममा उदाएका नव चरित्र, आन्दोलनको उपलब्धि (?) आदिको विश्लेषण गर्ने प्रयास गरिएको घरमुहाँमा केही ऐतिहासिक यथार्थ पनि छन जसले यसलाई कालजयी बनाउन सहयोग पुर्याएको छ । प्रभावशाली भाषा शैली, रोचक तथा चित्रात्मक प्रस्तुतिले कृतिलाई थप जीवन्त बनाएको छ । पहाडी र मधेशीको एकता उद्देश्यले प्रणित यस उपन्यासको प्रकाशन जनकपुर ललितकला प्रतिष्ठानले गरेको हो । रंगीन कलेवरको यो उपन्यासले आमपाठकलाई सहजै आकषर््िात गर्न सक्दछ ।
अर्कोतफ मूलतः नाट्यकर्मी रञ्जन यसपटक फरक धार लिएर प्रस्तुत भएका छन । कवि, कथाकार, नाटककार, कलाकार र निर्देशकका रुपमा स्थापित रञ्जनलाई थप शब्द खर्चिइएर परिचय गराइरहनु आवश्यक छैन । सङोर उनको पहिलो उपन्यास कृति हो तर यहि उपन्यास भविष्यसम्म उनको प्रामाणिक परिचय बन्न सक्ने प्रश्स्त सम्भावना छ । यस तथ्यलाई नकार्न सकिँदैन । ग्रामीण र ठेठ भाषाका प्रयोक्ता रञ्जन स्पष्ट र खरो अभिव्यक्तिका लागि पनि चिनिन्छन । र रञ्जनको यो सबै रुप सङोरमा पाठकले अनुभूत गर्न पाउँछन देख्न पाउँछन । भाषाशैलीको नाटकीयता, चामत्कारिक अभिव्यक्ति र चित्रात्मक अभिव्यञ्जना आदीले सङोरलाई विशिष्ट बनाएको छ । सङोर अधिकारबाट वंचित समाजको संघर्ष र अन्र्तद्वन्द्वको कथा हो । मधेश भूमि खास गरी नेपाली मिथिला भूमिको कथा–व्यथालाई वाणी दिने प्रयास गरिएको सङोरमा विगतका द्वन्द्व र आन्दोलनको पृष्ठिभूमि, द्वन्द्वकालीन समाजको ऐंठन, संक्रमणयुक्त समाजको यथार्थलाई तर्कसंगत ढंगले पस्किने प्रयास भएको छ । द्वन्द्व र संक्रमण प्रभावको इति वृतान्त वर्णित सङोरमा उपन्यासकारले आफ्ना लेखनीका माध्यमले आमजनताका चिन्ता र सरोकारसँग समाजका प्रत्येक व्यक्तिलाई जोड्ने प्रयास गरेका छन, जसमा उनी सफल छन । मैथिली लेखकले प्रकाशकको ठूलो समस्या भोगिरहेको वर्तमानमा चर्चित प्रकाशक फाइनप्रिन्टले सङोरमाथि मात्र होइन समग्र मिथिला र मैथिली भाषामाथि पनि विश्वास गरेर प्रकाशनको जिम्मेबारी निर्वाह गरेर धन्यवादको पात्र बनेको छ । यो उपन्यासको प्रकाशनबाट एक किसिमको इतिहाससमेत रचेको प्रकाशकबाट आगामी दिनमा यस दिशामा थप प्रयत्न हुने विश्वास व्यक्त गर्न सकिन्छ ।
यसैगरी अर्का प्राज्ञ डा. रामदयाल राकेश केही दिन अघि मात्र हमर हवाई भ्रमण मार्फत सार्वजनिक भएका छन । सम्भवतः मैथिली साहित्यको सबभन्दा कान्छो कृतिका रुपमा पाठकमाझ उपस्थित उनको यो कृति यात्रा संस्मरण हो । मैथिलीका अतिरिक्त नेपाली, हिन्दी र अंग्रेजीमा समेत समान रुपले कलम चलाउने राकेश साहित्यका विविध विधामा स्थापित नाम हुन । मैथिलीमा यात्रा साहित्यको नितान्त अभाव छ । नेपाली मैथिलीमा यसअघि डा. रेवतीरमण लालको मात्र पुस्तकाकार यात्रा–कृति प्रकाशित रहेको पृष्ठभूमिमा आएको राकोशको यो कृति निकै महत्वपूर्ण रहेको कुरामा शंका छैन । विभिन्न प्रयोजनार्थ गरिएका विदेश भ्रमणलाई लेखकले सिर्जनाका लागि अवसरका रुपम प्रयोग गरेका छन । संग्रहमा एक दर्जन यात्रा निवन्ध संग्रहित छन र यी प्रत्येकले अलग–अलग देशको वर्णन गरेका छन । यी निवन्धमार्फत लेखकले सम्बन्धित देशको विकासक्रम, जीवनशैली, सामाजिक–सांस्कृतिक परिवेश, रहन–सहन, निर्माण तथा स्थापत्यकला, सौन्दर्यचेत आदीका बारेमा सविस्तारमा सुरुचिपुर्वक उल्लेख गरेका छन । सफारी नेपालले प्रकाशन गरेको यो कृतिले मैथिली पाठकलाई विश्व बुझ्न यथेष्ट सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
पेशाले इन्जिनियर–प्रशासक श्यामशेखर झा कमल पनि केही महिनाअघि मेघ शतक मार्फत पाठकमाझ आएका छन । कमलको यो प्रथम पुस्तकाकार कृति हो जुन काव्य रचना हो । कमलले आफ्नो व्यस्त व्यवशायिक दैनन्दिनबाट केही समय निकालेर गरेको साहित्य सेवाको प्रतिफल हो मेघ शतक । मेघ अर्थात वादललाई कविले दूतका रुपमा प्रयोग गरेर समाजका विभिन्न पक्षका व्यक्तिलाई सम्बोधन गरेका छन । चार चार पंक्तिका एकसयवटा लघु कविताका माध्यमले उनिएको यो कृतिलाई लघुकाव्यको संज्ञा पनि दिन सकिन्छ । कतै न कतै संस्कृतका महाकवि कालिदासको मेघदूतबाट प्रभावितजस्तो देखिने यो कृतिले आधुनिक परिवेशमा समाजको विश्लेषण नया ढंगले गर्न खोजेको प्रतीत हुन्छ । सरल भाषा शैली र रोचक प्रस्तुतियुक्त कमलको यो कृति पाठकलाई बाँधेर राख्न सफल छ । प्रेमा झाद्वारा प्रकाशित मेघ शतकले मैथिली काव्य इतिहासमा महत्वपूर्ण स्थान सुरक्षित गर्ने आशा गर्नु अनुपयुक्त हुँदैन ।
माथि उल्लेखित सबै पुस्तक आ–आफ्ना दृष्टिले क्रम–भंगका साक्षी हुन । संग्रहयोग्य यी सबै कृतिले सामाजिक मूल्य मान्यताको निर्वहन त गरेका छन तर परम्पराको निर्वहनबाट भने उन्मुक्ति चाहेका छन । चारवटै पुस्तक मैथिली साहित्यमा एक किसिमले नया प्रयोग हुन । उपर्युक्त सबै कृतिका माध्यमबाट मैथिली साहित्यको भण्डारमा श्रीवृद्धि भएको कुरा स्वीकार गर्नैपर्छ ।
–अस्मिता
No comments:
Post a Comment