धर्मेन्द्र झा
कालीको कहरपछि दार्चुलाको दर्द
दुई साता वितिसकेको छ । पश्चिम नेपालका वासिन्दाले ठूलो दैवी विपत्ति भोग्नुु पर्यो । अचानक उर्लेर आएको बाढीले त्यस क्षेत्रको जनजीवन अस्त–व्यस्त बनाएको छ । अहिलेसम्मको तथ्यांकअनुसार तीसजनाभन्दा बढीले ज्यान गुमाए भने हजारौको संख्यामा विस्थापित हुन पुगे । सबभन्दा बढी प्रभावित हुन पुग्यो –पश्चिम सिमान्त जिल्ला दार्चुलाको सदरमुकाम खलंगा । यहाँको क्षतिको यकिन हिसाव–किताव अझै हुन सकेको छैन । करोडपति रातारात रोडपतिमा रुपान्तरित भए । आफ्नै घरमा बसेकाहरु एकैछिनमा घर न घाटका बन्न पुगे । वस्ती सोत्तर बन्यो । हेर्दाहेर्दै वस्तीको भूगोल परिवर्तन भइसकेको थियो । सँधै शान्त भई एकतमासले बग्ने काली (महाकाली) असारको एक र दुई गते खलंगामा कहर बनेर बग्यो । स्थानीयले कालीको यो विकराल रुप कहिल्यै देखेका थिएनन । सँधै जीवन डोर्याउने सभ्यताको मार्गदर्शक बनेर खलंगावासीलाई आँट र भरोसा दिने कालीको त्यस दिनको रौद्र रुप स्थानीय वासिन्दका लागि अकल्पनीय र अविश्वसनीय थियो । तर, कालीको त्यो भयानक रुप सत्य थियो । परापूर्वदेखि कालीकै भूमिबाट सिंचित हुँदै आएको खलंगाको जीवन कालीकै कहरका कारण धराशायी हुने अवस्था आयो । यस्तोमा प्रश्न उठ्छ– किन सिर्जना भयो यस्तो अवस्था ? दुख पर्दा राज्यले के भूमिका निर्वाह गर्यो ? यहाँ उल्लेखित दुवै प्रश्नका उत्तर सहज छैनन । तर दुवै प्रश्नको एउटा समान उत्तर हुन सक्छ–राज्यको चरम उदासिनताको परिणामका रुपमा उव्जियो कालीको कहर । तिब्बतको कुटी यांग्दी उद्गम भई बग्ने कालीमा अलि वर नेपालको तींकरबाट आउने अपी र भारतबाट आउने धौली गंगा नदी मिसिन्छ । दार्चुलाको सदरमुकाम खलंगा वजारको शिरानमा अवस्थित माथिल्लो बांगाबगरनजिक कालीमा लास्कु खोला पनि मिसिन्छ । लास्कु नमिसिउञ्जेल उग्रझैं देखिने काली लास्कुको सम्पर्कमा आएपछि खलंगाको फाँट–वगरमा प्रवेश गर्छ । यसपछि तुलनात्मक रुपमा अलि शान्त देखिने कालीले शान्त भावमै गल्फै काट्छ । यसपछिको यात्रामा भारत र नेपाल दुवैतिरको पहाडको चेपुवामा पर्ने कालीको शारदा बन्ने उग्रता–व्यग्रता सुरु हुन्छ । दुवैतिरको पहाड खापेर दार्चुला र पारिपट्टीको भारतको धार्चुलासम्म सडक बनाइएको छ । वैतडी हुँदै भर्खरै खलंगासम्म पक्कीसडक पुर्याइएको छ । दुवैतिरको सडक विकासका नाममा शायद कालीको भावनाको कदर गरिएको छैन । सामान्य अवस्थामा महाकालीको कथा यही हो । तर यही कथाभित्र लुकेको छ खलंगावासीको व्यथा । माथिल्लो वांगावगरलाई सिरान बनाएर गल्फैसम्म खुट्टा पसारेको शैलीमा महाकालीको किनारमा लमतन्न पसारिएको खलंगाको सभ्यतालाई चुनौती दिने काम गर्यो काली लहरले । कालीको कहर यतिमा मात्र सीमित रहेन । माथिल्लो बांगावगरदेखिको थोरै माथिको श्रीवगर र गल्फैभन्दा तलको मसिनबलुवासम्मको भूभाग काली–कहरको प्रभाव क्षेत्रमा रुपान्तरित हुन पुगेको पीडा दार्चुलावासीका लागि युगौंसम्म विर्सन नसक्ने क्षण बनेर रहनेछ । खलंगा वजारको माथिल्लो भागमा रहेको इत्राम वस्ती भने सुरक्षित छ । कालीको कहरमा परी खलंगाका हजारौं वासिन्दा प्रभावित बन्न पुगेका छन । सयौं घरसहित करोडौंको सम्पति कालीको गर्भमा पुरिएको छ भने करोडौ मूल्य बरावरको भौतिक संरचना ध्वस्त भएको छ । अस्पताल र दूरसंचारजस्ता अत्यावश्यकीय सेवाप्रदायक स्थल उच्च जोखिममा छन । मौसम विज्ञानका ज्ञाताहरुले यस क्षेत्रमा फेरि ठूलो पानी पर्न सक्ने सम्भावना व्यक्त गरेका छन । खलंगामा त्रास कायमै छ । राज्यले सम्बोधन गर्न नसक्नु अर्को कहर बनेको छ यहाँ ।
माथिको शव्द–चित्रले एकैपटक धेरै विषयतर्फ ध्यानाकर्षित गर्छ । अनेक प्रश्न उव्जिएका छन । पहिलो, नदी किनारसँगै टाँसिएर वस्ती विस्तार कार्य किन समयमै रोकिएन ? दोस्रो, वस्ती विस्तार गर्ने नै हो भने नदी व्यवस्थापनतर्फ किन सोचिएन ? तेस्रो, नदी किनारको सट्टा अलि टाढाको माथिल्लो भाग (इत्रामजस्तै) मा वसोवास व्यवस्थापन किन गरिएन ? चौंथो, विकासका नाममा पर्यावरणीय सन्तुलनको हेक्का किन राख्न सकिएन ? पाँचौं, नदी कटान यहाँको निकै पूरानो समस्या हो । विगतमा पटक्कै सम्बोधन नभएको यो समस्याको समाधान किन खोजिदैन ? छैठौं, विपत्तिपछि तत्काल राज्यको दरो उपस्थिति किन भएन ? सातौं, तीव्र शहरीकरणलाई व्यवस्थित बनाउन समयमै किन चासो राखिएन ? आठौं, पीडित र क्षतिपूर्तिको यकिन तथ्यांक संकलन गरी तत्काल उचित राहत प्याकेज किन उपलब्ध गराइएन ? नवौं, भारत सरकारसँग समयमै किन समन्वय गरिएन ? दशौं, काली कहरको खतराको सम्भावना नयाँ होइन, स्थानीय प्रशासनले समय छँदै किन सचेत भएन ? यी केही यस्ता यक्ष प्रश्न हुन जसको सम्बोधन समयमै नगरिए भविष्यमा अर्को उत्पात मच्चिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । निश्चित रुपमा यी सबै प्रश्नको जवाफ दिने कार्य राज्यको हो, जो मुक भएर बसेको छ ।
लोककल्याण्कारी राज्य त्यही हो जो आफ्ना नागरिकको अपेक्षा पूरा गर्न हरहम्मेसी तत्पर रहन्छ । नागरिकको स्वाभाविक अपेक्षा जब राज्यले पूरा गर्दैन त्यसबेला राज्य गैरजिम्मेबार भयो भनेर सम्झनुपर्दछ । पछिल्लो कालखण्डमा नेपाल राज्य यस्तै गैरजिम्मेबार स्वरुपमा देखा परेको छ । राज्यको अर्थ भूगोल मात्र होइन । राज्य अर्थात सत्ता संचालनको जिम्मेबारीमा रहेकाले जनकल्याणलगायतका विशिष्ट दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । तर दार्चुलाको भूगोलले राज्यबाट स्वाभाविक कर्तव्य वोधको अनुभूति गर्न सकेन र उपेक्षा–भाव बेहोर्न बाध्य हुनुपर्यो । प्रकारान्तरले भन्ने हो भने यो भूगोलले राज्यविहीनताको नमिठो पीडा सहनुपर्यो । राज्यको उपस्थिति त्यस भूगोलका वाासिन्दाले अनुभव गर्न सकेनन, यो सत्य हो । यस अर्थमा दार्चुलावासीको आक्रोशलाई स्वाभाविक मान्नुपर्छ । अहिलेसम्म राज्यले यस क्षेत्रमा प्रभावकारी राहत र उद्धार कार्यक्रम संचालन गर्न नसकेर असक्षमता प्रदर्शित गरेको छ । राज्यका तर्फबाट राहतका नाममा स्थानीय वासिन्दालाई पचास लाख बरावरको सामग्री उपलब्ध गराउने निर्णय भएको छ भने भौतिक संरचना पुनर्निर्माणका लागि पचास करोड उपलब्ध गराउने निर्णय गरिएको छ । तर स्थानीयले यसलाई राज्यको झारा टार्ने कार्यको संज्ञा दिँदै राहत अस्वीकार गरेका छन । उनीहरुले स्थानीयस्तरमा राज्यको सवल उपस्थिति चाहेका छन र तिनले चाहेका छन समस्याको स्थायी सम्बोधन । राज्यको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषदका अध्यक्ष खीलराज रेग्मीले हेलिकोप्टरबाट प्रभावित क्षेत्रको हवाइ यात्रा त गरेका छन । तर तिनले एक रात पनि त्यहाँ बसेर खलंगावासीको चहर्याइरहेको पीडामा मलम लगाउने कार्य भने गर्न सकेनन । राज्य उदासीन भएको अर्को प्रमाण हो यो । सुशासनको नाराको जगमा ठडिएको सरकार क्रमशः कूशासनतर्फ डोरिएको अनुभूति कम्तिमा दार्चुलावासीलाई भएको छ, जो अन्यथा होइन । यतिमात्र होइन, नेपालबाहिर रहेका नेपालीले पनि समस्या भोगेका छन । भारतको उत्तराखण्डस्थित चारधाम गएका तिर्थालु र विविध रोजगारीका क्रममा गएका नेपालीको कन्तविजोग भएको छ । तर नेपाल सरकारले तिनका सम्बन्धमा पनि आवश्यक चासो नदेखाउन दुखद छ । उत्तराखण्डमा अहिले पनि हजारौं नेपाली अलपत्र परेको अनुमान छ ।
रेग्मी त खलंगा गए र फर्किए पनि तर त्यसपछि कुनै पनि दलका नेताले त्यहाँसम्म पुग्ने कष्ट गरेका छैनन । खलंगावासी अझै तिनका प्रतिक्षामा छन । विगतमा पार्टीको कार्यक्रममा हेलिकोप्टर चार्टर गरेको भन्दै त्यसमा सवार भएर मुलुकको विभिन्न विकट स्थानको यात्रा गर्ने राजनीतिक दलका नेताले दार्चुला जाने तत्परता नदेखाउनु लज्जास्पद छ । अझै लज्जाजनक त के छ भने सरकारले हेलिकोप्टर उपलब्ध नगराउँदा दार्चुला जान सकिएन भन्ने कूतर्क । दार्चुलावासीले यस्ता गैरजिम्मेबार अभिव्यक्तिको हिसाव–किताव निश्चय पनि भविष्यमा गर्नेछन । चुनाव समयमै भएछ भने पाँच महिनाभन्दा बढी पर्खिनुपर्ने छैन । चुनावी मुद्दा बनाउन पछि परिएला कि भन्ने पिरलो भने सबै दलमा देखिएको छ । राजधानीमा बसेर सरकारसँग भने सबै दलले दार्चुलावासीको समस्याको सम्बोधन हुनुपर्ने माग गर्न छोडेका छैनन । यसपटक नेपाली कांग्रेसलाई अन्यको तुलनामा धन्यवाद दिनैपर्छ । शायद इतिहासमा पहिलोपटक होला, नेपाली कांगेसले बाढी पहिराोपीडितको सहयोगार्थ आफ्ना क्रियाशील सदस्य परिचालन गरेको छ । कांग्रेसले क्रियाशील सदस्यबाट जनही कम्तिमा पचास रुपैयाँका दरले संकलन गरी पन्ध्र करोड सहयोग गर्ने तत्परता देखाएको छ । यो स्वयंमा राम्रो सुरुवात हो । तर कांग्रेसले सहयोग अभियानमा अन्य दललाई पनि संलग्न गराउन सकेको भए त्यसको सामूहिक महत्व हुन सक्थ्यो र खलंगावासीमा मात्र होइन विपत्तिमा परेका नेपालीबीच सकारात्मक सन्देश प्रवाह हुन सक्थ्यो । यतिमात्र होइन समग्रमा नेपाली राजनीतिले नयाँ मूल्यवोध पनि गर्न सक्थ्यो ।
No comments:
Post a Comment