Thursday, August 3, 2017

Tilathi Flood/NT

सीमान्त तिलाठीमा बाढीको कहर

धर्मेन्द्र झा

पूर्वी नेपालको दक्षीणी सीमामा अवस्थित तिलाठी क्षेत्र अहिले आक्रान्त बनेको छ । आक्रान्त हुनुको कारण हो बाढीको कहर । यस क्षेत्रका तिलाठी, लौनियाँ, वेल्ही, रमपुरा, विसहरिया, मल्हनियाँ, सकरपुरा, कोइलाडी र भारदहनजिकको मयनाकरडीलगायतका क्षेत्रको जनजीवन अहिले बाढीका कारण अस्तव्यस्त बन्न पुगेको छ । गत वर्ष यही समयमा तिलाठीका जनताले बाढीको कहरबाट पार पाउन टाउकोमा गम्छा बाँध्दै हातले लाठी नचाउनुुपर्ने अवस्थाको सिर्जना भएको  स्मरणीय छ ।

सप्तरीको विविध भूगोल भएर दक्षीणतर्फ बग्ने खाँडो, महुली, भलुवाही र त्रियुगा खोलामा बढेको पानीको स्तरसँगै तिलाठी र आसपासका गाउँको जनजीवन प्रत्येक वर्ष अस्त—व्यस्त बन्न पुग्दछ । घर, आँगन, खेत, सडक सबै डुबानको प्रभावमा पर्दछ । यसपटक पनि यस्तै भयो । तिलाठी गाउँको अवस्था त तुलनात्मकरुपमा अझ विकराल बन्न पुगेको छ । वर्षेनि खाँडो खोला, जो चुरे पर्वत शृखंलाबाट प्रारम्भ भई दक्षीणमा तिलाठीसम्मको करिव पच्चीस किलोमिटरको यात्रा तय गर्दछ, ले यस गाउँलाई सँधै सकंटमा पार्ने गर्दछ । यो संकटको मापन कहिले धेरै र थोरैका रुपमा गरिन्छ । गाउँमा टडकारो घाम लागिरहँदा उत्तर चुरेतर्फ वादल लागेको देखियो भने यहाँका जनताको अनुहार पनि कालो बादलजस्तो हुन पुग्दछ र चमक विलुप्त हुन्छ, सम्भावित बाढीको कहरको त्रासले । यसपटक पनि यस्तै भयो तिलाठी गाउँ बाढीको सर्वाधिक ठूलो चपेटामा पर्यो । बाढीको क्रमसँगै गाउँ पसेको पानी त्यहाँबाट निस्कन सकिरहेको छैन । सारमा तिलाठी अहिले बाढीपछि सम्भावित डुवानको खतरासँग पौंठाजोरी खेलिरहेको छ । यस गाउँमा बाढी पहिले पनि आउँथ्यो तर पानीको वहाव निर्वाध दक्षीणतर्फ सोझिने गरेकाले डुवानको समस्या हुँदैनथ्यो । तर विगत करिव तीन वर्षयता यस गाउँले बाढीसँगै डुवानको सम्भावित त्रास लिएर बाँच्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
 पानीको बाटो छेकेर छेक्न सकिँदैन, सर्वस्वीकृत सिद्धान्त हो । तर यस सिद्धान्तलाई चुनौती दिन खोज्दा समस्या विकराल बनन पुग्दछन् । तिलाठीका सन्दर्भमा पनि यही कुरा प्रमाणित भएको छ । माथि उल्लेख गरिएका गाउँमध्ये तिलाठी नेपालको अन्तिम सीमावर्ती गाउँ हो । सीमान्तमा रहेकाले होला बाढीजन्य पीडाको अन्तिम भारी यसै गाउँले थेग्नुपर्ने हुन्छ । वर्षातमा यहाँको जनजीवन आक्रान्त बन्न पुग्दछ । घरवास भएर पनि आमजनताको उठिवास हुन्छ । वृद्ध—वृद्धा र केटाकेटी नमरिकनै मृत्युबोध गर्न बाध्य हुन्छन् । यस्ता समस्याप्रति कोही जिम्मेबारीपूर्वक प्रस्तुत् हुँदैनन् । समस्या समाधानको  प्रयास कहीँ कतैबाट हुँदैन । सीमान्तबारे राज्य मुक भएर बस्दछ । राजधानी त यहाँबाट निकै टाढा छ, काठमाडौले न त यस्ता कुरा सुन्दछ न त अनुभूत गर्दछ । यसपटक पनि तिलाठीमा बाढी पस्यो । जनजीवन प्रतिकूलरुपमा प्रभावित हुन पुग्यो । अरु वर्षजस्तै यो परिदृश्य यहाँका लागि सामान्य थियो । तिलाठीको नियति अहिले देशको राजनीति, कूटनीति, भूनीति, द्विदेशीय सम्बन्धको नीतिजस्ता थुप्रै नीतिमाथि गह्रौ सावित हुन पुगेको छ । सारमा मानवता पराजित हुन पुगेको भान हुन्छ । यस सन्दर्भमा मधेशी राजनीति लाटो बन्न पुगेको भ भने काठमाडौ बहीरो बनेको छ । बाढी प्रभावित परिवारलाई पाँच हजार नगद सहयोग गर्ने र १५ लाख ऋण दिने निर्णय राज्यले सार्वजनिक गरेको छ । सेनाको एक टुकडी बाँध बाँध्न गाउँतर्फ गएको जानकारी प्रचारमा आएको थियो । यस्तोमा प्रश्न उठ्छ, के यी प्रयास पर्याप्त छन् ? दीर्घकालीन समाधानका दृष्टिले उपयुक्त छन् ? तत्कालका लागि राज्यको यो सहयोगले केही मल्हमपट्टी त लगाउला र तर भित्र रहेर छिप्पिएको घाऊको उपचार कसरी सम्भव हुन सक्ला ? गाउँमा बाढी पसिसकेपछि बाँध बाँध्न देखाइएको तत्परताले कस्तो परिणाम प्राप्त हुन सक्ला ? वर्षेनि बाढीको कहरको शिकार हुने यस गाउँमा यही प्रयास समय छँदै गरिएको भए शायद यो पीडाले स्थान प्राप्त गर्ने थिएन । अहिले राहत वितरण र व्यवस्थापनका सम्बनधमा पनि अनेकौ प्रकारका नकारात्मक टिप्पणी भइरहेका छन् । स्थानीय प्रशासनले राहत व्यवस्थापन गर्न नसक्दा यहाँका करिव पाँच सय बाढी प्रभावित परिवारले कष्टपूर्ण जीवन व्यतीत गर्न बाध्य हुनुपरेको छ । राहतमा स्थानीय टाठाबाठाको अधिक पहुँचको आरोपलाई प्रशासनले हल्कारुपमा लिनु हुँदैन । यसै कारण भोलीका दिनमा कुनै असन्तुष्टिले स्थान प्राप्त गर्यो र त्यसले विष्फोटक आकार ग्रहण गरेको अवस्थामा जिम्मेबारी कसले लिने भन्ने प्रश्न उठ्छ, जो स्वाभाविक छ ।  
तिलाठीमा बाढीको कहर छ । माथि उल्लेख गरिएका विभिन्न खोलामा बढेको पानी, जो दक्षीणी ढलान हुँदै तिलाठीसम्म त पुगिरहेको छ तर यहाँबाट अझै दक्षीणतर्फको स्वाभाविक यात्रा गर्न सकिरहेको छैन । कारण हो, तिलाठीछेवैको नेपाल—भारत सीमास्थित दशगजामा भारतीय जनसामान्यबाट निर्माण गरिएको बाँघ र त्योभन्दा थोरै दक्षीणमा सडकका रुपमा निर्माण गरिएको बाँध । तिलाठीको भूमीमा फनफनी नाचिरहेको पानी बहाव खोज्दै अगाडी बढ्छ र त्यही बाँधमा ठोक्किएर पुनः तिलाठीका घरहरुतर्फ नै फर्कन्छ । तिलाठीको अहिलेको परिदृश्य यही हो ।  यो सन्त्रास पारी कुनौलीका वासिन्दामा पनि छ । उचित व्यवस्थापनविना तिलाठीको भूमीमा घुमिरहेको पानीले अहिले सीमा क्षेत्रमा निर्मित बाँध भत्कायो भने त्यसले पारी भारतको कुनौली वस्तीमा त्राहिमाम निम्त्याउँछ । अन्य समयमा सँधै एक समाजका रुपमा बाँच्ने तिलाठी र कुर्नाैलीका जनता बाढीको समयमा एकअर्काप्रति सशंकित देखिन्छन् । दुवै गाउँका जनता आफूहरुको सुरक्षाको मूल्यमा जस्तोसुकै प्रतिकार गर्न पनि तयार देखिन्छन् । गत वर्ष सीमामा दुवै देशका जनताबीच लाठी घुमेको कारण यही नै थियो । दुवैतर्फका जनताको मनोविज्ञानको विश्लेषण गरेका खण्डमा सतहमा देखिएको यस प्रवृत्तिलाई कुनै पनि अर्थमा अन्यथा मान्न मिल्दैन । आफ्नो सुरक्षाको उपायको अवलम्बन सबैले गर्छन् नै ।
 यहाँको समस्या दुई देशका सामान्य जनताबीचको समस्या होइन । पानीले स्वाभाविकरुपमा वहावको पथ ग्रहण गर्न पाउनुपर्दछ । पानीको वहावका कारण उत्पन्न हुने समस्याको यथोचित समाधान खोजिनुपर्छ  । यसमा दुवै देशका सरकार, जनताका नाममा राजनीति गर्ने दल र तिनका नेता, वौद्धिक वर्ग, नागरिक समाजहरुको सकारात्मक भूमिका अपेक्षित हुन्छ । तर यहाँको समस्या छ, समस्या समाधानका दिशामा स्थानीय जनता जति सकारात्मक छन्, माथि चर्चा गरिएका विविध पक्ष, जो राजविराजका वासिन्दा हुन्, त्यति सकारात्मक छैनन् ।
समस्याको दीर्घकालीन समाधान आवश्यक छ । खाँडोको पानीलाई भलुवाही खोलामा मिसाएर पानीलाई सवाभाविक निकास दिने योजना विगतमा सार्वजनिक भएको हो तर यस सम्बन्धमा अहिलेसम्म कुनै काम सुरु हुन नसक्नु दुखद छ । यसै सन्दर्भमा दशगजाको व्यवस्थापनप्रति पनि गम्भीर हुनु जरुरी छ । दशगजाको उपयोग र व्यवस्थापन हाल कसरी भइरहेको छ र भविष्यमा कसरी हुनुपर्छ भन्ने महत्वपूर्ण पक्षमा नेपाल र भारत दुबैको समग्र ध्यानाकर्षण हुनु अपरिहार्य छ । डुवानलगायतका  विषयको लेखाजोखा गरी समाधानको द्विपक्षीय उपायको खोजीका दिशामा तत्परता देखाउनु नेपालका लागि त आवश्यक छ नै भारतीय पक्ष पनि यसतर्फ गम्भीर हुनु जरुरी छ ।
नेपाल तारा डट कम ः ३० असार २०७४

No comments:

Post a Comment