Friday, November 4, 2016

Mukharjee Message/GOPA


 नेपाल भ्रमणको प्रणव सन्देश

धर्मेन्द्र झा

नेपाल प्राकृतिक छटाले भरिपूर्ण आध्यात्म—महत्वको देश हो र स्वतन्त्र भारतका तेह्रौं राष्ट्रपति प्रणव मुखर्जी यतिखेर तीनदिने राजकीय भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ । बुधवार नेपाल पदार्पण गर्नुभएका मुखर्जी आज जनकपुर र पोखराको भ्रमणपश्चात स्वदेश फिर्ने कार्यक्रम छ । भारतीय राष्ट्रपतिको यो नेपाल भ्रमण १८ वर्षपछि भएको हो । यसअघि २०५५ मा तात्कालीन भारतीय राष्ट्रपति के आर नारायणनले नेपाल भ्रमण गर्नुभएको थियो ।

 भव्य स्वागत
  राजकीय भ्रमणमा बुधवार नेपाल आउनुभएका समकक्षी मुखर्जीलाई विमानस्थलमा स्वयं राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीसँगै विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेपाल सरकारका जिम्मेबारहरुको उपस्थिति थियो । देख्नलायकको यो उपस्थिति स्वयंमा निकै अर्थपूर्ण रहेको सार्वजनिक टिप्पणी गरिएको छ । स्पष्ट छ, नेपाल सरकारले अत्यन्त महत्व दिई मुखर्जीको भव्य स्वागत गरेको छ । मुखर्जीको भ्रमणलाई नेपालले कति महत्व दिएको छ भन्ने कुरा बुधवार राष्ट्रिय विदा घोषणा गरिनुबाट पनि स्पष्ट हुन्छ । राजधानी सहर सिंगारिनु, नेपाल र भारतका झण्डाले सहर ढाकिनु, स्वागत द्वारको ताँती ठडिनु यस्तै अन्य प्रमाण हुन् । भ्रमणको समयमा ट्राफिक व्यवस्थापनको प्रयास गरिएको छ । मूल सडक खाली गरी सर्वसाधारणलाई वैकल्पिक सडकको प्रयोग गर्न सुझाइएको छ । आमजनता आफूहरु केही सकसमा परेर भए पनि मुखर्जीलाई स्वागत गर्न पाएकोमा खुसी छन् । जनस्तरको अभिनन्दन भव्य स्वागतको अर्को नमुना हो ।
जोड—घटाउको राजनीति
नेपाल र भारतबीच जनस्तरको सम्बन्ध छ र यो निकै घनिष्ठ रहँदै आएको छ । तर पछिल्लो केही समययता सम्बन्धमा असहजता अनुभव गरिएको परिप्रेक्ष्यमा भारतीय राष्ट्रपतिबाट भएको यो भ्रमण निकै महत्वपूर्ण छ । विगतको ओली सरकारकै समयमा हुने भनिए पनि विविध कारणवश रोकिई अहिले भएको मुखर्जीको नेपाल भ्रमणलाई राजनीतिक वृत्तमा जोड—घटाउका दृष्टिले विश्लेषण गर्ने प्रयत्न पनि गरिउको । यो अनुचित हो ।
हो, विगतमा नेपाल र भारतबीचको सम्बन्ध केही कटुतापूर्ण हुन गयो । छिमेकी मुलुक अघोषित नाकाबन्दीका लागि आरोपित भयो । यही सेरोफेरोमा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गरियो । अहिले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण सम्भव हुन सकेको छ । सम्बन्धहरुमा निरन्तर सुधार आवश्यक हुन्छ । यसै अधारमा मित्रता परिष्कृत हुन्छ । हिजोको कटुतापूर्ण अवस्थालाई सम्झिएर वर्तमानलाई निरन्तरता प्रदान गर्ने प्रयास गरिनुले हित ननिम्त्निे निश्चित छ । भारतको मनोदशाको यहाँ विश्लेषण गर्न सम्भव हुन सक्दैन तर नेपाली मनस्थितिको विश्लेषण (सामाजिक सञ्जालहरुमा अभिव्यक्त धारणाका आधारमा) गर्ने हो भने यो नकारात्मक रहेको पाउन सकिन्छ । पाहुनालाई सम्मान गर्ने हाम्रो परम्पराविपरित केही अभिव्यक्ति सार्वजनिक भएका छन्, जो अशोभनीय छ । यस्ता अभिव्यक्ति सुमधुर सम्बन्ध निर्माणका दृष्टिले हानिकारक हुने कुरामा विमती हुन सक्दैन । यदाकदा सम्बन्धहरुमा तनाव आउँदछ तर त्यसै आधारमा भविष्यको निर्धारणको प्रयास गरिनु कति उचित हुन्छ ? हिजोको तनाव कम गर्न कसैले आफ्नोतर्फबाट सद्भाव व्यक्त गर्दै प्रयास गर्छ भने के बाटो छेकेर सत्तो सराप गर्नु ठीक हुन्छ ? विगतमा विकसित राष्ट्रियताको परिभाषाको कसीमा माथिका प्रश्नको उत्तर खोज्ने प्रयास गर्ने हो भने त्यसबाट आंशिक जवाफमात्र प्राप्त हुने निश्चित छ ।
सम्बन्धको मूल्यबोध
निश्चय पनि मुखर्जीको भ्रमण आपसी सम्बन्ध सुधारका दृष्टिले निकै महत्वपूर्ण छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलगत्तै भएको मुखर्जीको नेपाल भ्रमणबाट नेपाल—भारत सम्बन्धलाई नयाँ ढंगले पुनःपरिभाषित हुने अपेक्षा गरिनु अनुचित हुँदैन । भारतीय राजनीतिमा प्रणव दाका रुपमा चिनिने मुखर्जी नेपालको असल मित्र हुनुहुन्छ । नेपाली राजनीतिको पहिलो पुस्ताका नेतासँग अत्यन्त निकट र आत्मीय सम्बन्ध रहेका कांग्रेस आईको उम्मेदवार भई राष्ट्रपति निर्वाचित मुखर्जीको सम्बन्ध नेपालका वर्तमान पुस्ताका नेतासँग पनि छ । यस आधारमा नेपाल र भारतीय जनता पार्टी संस्थापन पक्ष रहेको भारतबीचको सम्बन्धलाई लिकमा ल्याउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने नेता पनि हुन प्रणव दा । राष्ट्रपति मुखर्जीमार्फत् नयाँ दिल्लीले नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरण चाहेको अर्थमा पनि यस भ्रमणलाई लिन सकिन्छ । भारतको वर्तमान संस्थापन स्वतन्त्रता संग्रामपछिको पुस्ता हो यसैगरी नेपालको संस्थापन पनि, केही अपवादबाहेक, राणाविरोधी आन्दोलनपछिको पुस्ता हो । यो दुवै पुस्तालाई आन्दोलन र संग्रामताकाको नेपाल र भारतबीचको सम्बन्धको भावनात्मक मूल्यको बोध छैन । अनुभव, व्यवहार र ज्ञानले खारिएका मुखर्जीको यो भ्रमणले दुवैतिरको वर्तमान नेतृत्वलाई सम्बन्धको मूल्यबोध गराउने अपेक्षा गरिनुलाई अस्वाभाविक मान्न मिल्दैन ।
शान्ति प्रक्रियाको अनुगमन !  
राष्ट्रपतिका रुपमा १८ वर्षपछि यो भ्रमण भए पनि स्वयं मुखर्जीले भने भारतीय सरकारको प्रतिनिधिका रुपमा यसबीचमा नेपालको भ्रमण गर्नुभएको छ । मुखर्जीले यसअघिको कांग्रेस आइको नेतृत्वको सरकारको समयमा रक्षा, वित्त र परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नु भएको छ र सोही हैसियतमा उहाँको विगतको नेपाल भ्रमण स्वयंमा महत्वपूर्ण रहेको स्मरणीय छ । द्विदेशीय सम्बन्ध सुदृढीकरणसँगै नेपालको शान्ति प्रकृयासँग गाँसिएका व्यक्तित्व भएका कारण पनि मुखर्जीको यसपटकको नेपाल भ्रमण निकै महत्वको छ । सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बूँदे सम्झौता हुँदा मुखर्जी भारतको विदेशमन्त्री हुनुहुन्थ्यो । सन् २०१२ मा उहाँ भारतको तेह्रौ राष्ट्रपति निर्वाचित हुनुभयो । र, अहिले मुखर्जी नेपालको शान्ति प्रक्रियाका मुख्य दुई पक्ष नेपाली कांग्रेस र तात्कालीन नेकपा माओवादी गठवन्धनले सरकार सञ्चालन गरिरहेको समयमा नेपाल भ्रमणमा आउनुभएको छ । यस परिस्थितिलाई प्रष्ट्याउने प्रयास गर्ने हो भने मुखर्जीको यो भ्रमणलाई सम्बन्धित अभियन्ताको नेपाली शान्ति प्रक्रियाको अनुगमन उद्देश्यसँग पनि जोडन सकिन्छ । यतिमात्र होइन शान्ति प्रक्रियाको अभिन्न अंगका रुपमा स्वीकारिएको नयाँ संविधानको कार्यान्वयन्मा पनि दिल्लीको चासो छ । भ्रमणका क्रममा मुखर्जीले संविधान जारी गर्न सकेकोमा नेपाललाई बधाइ त दिनुभएको छ सँगै सबैलाई समेटेर अगाडी बढन पनि घचघच्याउनु भएको छ । विदेश नीतिका ज्ञाता मुखर्जीको धारणाको कूटनीतिक तात्पर्य छ । शायद दिल्लीको नेपालबारेको अडान यथावत छ ।
प्रकृति—आध्यात्म यात्रा
काठमाण्डू विश्वविद्यालयको मानार्थ विद्यावारिधि ग्रहण, राजधानी र जनकपुरमा नागरिक अभिनन्दन स्वीकार, शितल निवास र लैनचौरमा विभिन्न स्तरको राजनीतिक भेटघाटका अतिरिक्त मुखर्जीको यसपटकको नेपाल बसाइ प्रकृति—पान र आध्यात्म—यात्रासँग पनि सम्बन्धित छ । भारतीय राष्ट्रपति मुखर्जी आज पोखरा र जनकपुर अर्थात् प्रकृति र आध्यात्म—यात्रा गर्दै हुनुहुन्छ । पोखरा प्रकृतिको सहर हो र गोर्खा सैन्यका दृष्टिले भारतका लागि यो निकै महत्वपूर्ण स्थान हो । उमेरले पाका राजनीतिज्ञ मुखर्जी आध्यात्मचेतका धार्मिक व्यक्तित्वका रुपमा पनि चिनिनुहुन्छ । हिन्दू पृष्ठभूमीका जोसुकैका लागि पशुपति र जानकीको दर्शनको लालसा अस्वाभाविक होइन । अझ जानकीको दर्शनको महिमा त अपरमपार छ । मिथिला महात्म्यअनुसार जबसम्म जनकपुर आई गंगासागरमा स्नान गरी जानकीको दर्शन गरिँदैन तबसम्म अन्य कुनै पनि तीर्थाटनको फल प्राप्त हुँदैन । शायद यसकारण पनि मुखर्जीको जनकपुरको भ्रमण महत्वपूर्ण छ । मुखर्जीले यसअघि हिजै पशुपतिको दर्शन गरी पूजा पाठ गर्नुभएको छ ।
र अन्त्यमा
 हिन्दू आध्यात्मका दृष्टिले जनकपुर निकै महत्वपूर्ण सहर हो जसले भावनात्मकरुपमा नेपाल र भारतलाई जोड्न मद्दत गर्दछ । यो वर्तमानको मधेश पहिचान आन्दोलनको केन्द्रीय भूमी पनि हो । प्रचाीन मिथिलाको राजधानी आध्यात्म केन्द्र जानकीनगरी जनकपुर विगतदेखि नै उपेक्षित रहँदै आएको कसैबाट लुकेको छैन । ऋणात्मक विकास गती भएको जनकपुरका लागि मुखर्जीको भ्रमण निकै महत्वपूर्ण छ । आमजनताले मुखर्जीको जनकपुर भ्रमणबाट निकै आश राखेका छन् । बाँकी विश्वसामु चिनिने र केही भए पनि विकासको गति अघि बढने अपेक्षाका साथ प्रतीक्षारत जनकपुरवासी मुखर्जीको स्वागत गर्न आतुर छन् । विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको पृष्ठभूमीमा हुन लागेको प्रणवको भ्रमणको सन्देश स्पष्ट छ । त्यसो त नेपालको एक खास वर्ग प्रणवको जनकपुर भ्रमणलाई मधेशको वर्तमान राजनीतिक सन्दर्भसँग जोड्न पनि पछि पर्ने छैन । कसैले यस्तो दृष्टिकोण राखेर जनकपुरको पारम्परिक महत्वलाई गौण बनाउने प्रयास गर्छ भने यसलाई दोषपूर्ण सोचको संज्ञामात्र प्रदान गर्न सकिन्छ । स्मरणीय छ, यसअघि भारतीय राष्ट्रपतिद्वय निलम संजीवा रेड्डी र ज्ञानी जैल सिंहले पनि जनकपुरको भ्रमण गरेर यहाँको आध्यात्मिक महत्तालाई स्वीकार गरिसक्नुभएको छ ।
गोरखापत्र ः २०७३ कात्तिक १९  




No comments:

Post a Comment