Tuesday, November 1, 2016

Mukharji Visit/ Blog BT

मुखर्जी—भ्रमण, सम्बन्ध सुधारको सेतु

धर्मेन्द्र झा

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने भ्रमणका क्रममा अबको केहीबेरमै नेपाल आइपुग्ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक आमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउने समकक्षी मुखर्जीलाई विमानस्थलमा स्वयं राष्ट्रपति भण्डारीले स्वागत गर्ने छिन् । राष्ट्रपति भण्डारीसँगै विमानस्थलमा नेपाल सरकारका जिम्मेबारहरुको उपस्थिति रहनेछ । पारम्परिकरुपमा अत्यन्त घनिष्ठ सम्बन्ध रहेको नेपाल—भारत सम्बन्धमा केही असहजता अनुभव गरिएको वर्तमान अवस्थामा भएको भारतीय राष्ट्रपतिको यो नेपाल भ्रमण निकै दृष्टिले महत्वपूर्ण छ ।
यो भ्रमणलाई नेपाल सरकारले अत्यन्त महत्व दिई मुखर्जीको भव्य स्वागतको तयारी गरेको छ । मुखर्जीको भ्रमणलाई नेपालले कति महत्व दिएको छ भन्ने कुरा आज राष्ट्रिय विदा घोषणा गरिनुबाट पनि स्पष्ट हुन्छ । राजधानी सहर सिंगारिएको छ । नेपाल र भारतका झण्डाले सहर ढाकिएको छ । भ्रमणको समयमा ट्राफिक व्यवस्थापनको प्रयास गरिएको छ । मूल सडक खाली गरी सर्वसाधारणलाई वैकल्पिक सडकको प्रयोग गर्न सुझाइएको छ । आमजनता आफूहरु केही सकसमा परेर भए पनि मुखर्जीलाई स्वागत गर्न पाएकोमा खुसी छन् ।
   
भारतीय राष्ट्रपतिको यो नेपाल भ्रमण १८ वर्षपछि भएको हो । यसअघि २०५५ मा तात्कालीन भारतीय राष्ट्रपति के आर नारायणनले नेपाल भ्रमण गरेका थिए । राष्ट्रपतिका रुपमा १८ वर्षपछि यो भ्रमण भए पनि स्वयं मुखर्जीले भने भारतीय सरकारको प्रतिनिधिका रुपमा यसबीचमा नेपालको भ्रमण गरेको स्मरणीय छ । मुखर्जीले यसअघिको कांग्रेस आइको नेतृत्वको सरकारको समयमा वित्त र परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेका छन् र सोही हैसियतमा उनको नेपाल भ्रमण स्वयंमा महत्वपूर्ण रहेको ज्ञातव्य छ ।
मुखर्जी भारतमै पनि आफ्ना पुस्ताका थोरै क्रियाशील राजनेतामध्ये एक हुन् । अहिले भारतमै पनि मुखर्जीका समकालीन नेताहरु अत्यन्त थोरैमात्र क्रियाशील छन् । अहिले भारतीय सरकारको नेतृत्व भारतीय स्वतन्त्रता संग्रामपछिको पुस्ताका नेताले गरिरहेका छन । त्यहाँनिर मुखर्जी स्वतन्त्रता संग्रामकालीन नेता हुन् । यस आधारमा भारतलाई अगाडी बढाउन दुवै प्रकारको अनुभवको संयोजनको जिम्मेवारी राष्ट्रपतिका रुपमा मुखर्जीले निर्वाह गरिरहेका छन् ।
मुखर्जीको सम्बन्ध भारतसँगै नेपालका पुराना नेतासँग थियो । यस अर्थमा नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रारम्भिक दिन र भारतीय स्वतन्त्रता संग्राममा समेत भूमिका निर्वाह गरेका नेपालका पहिलो पुस्ताका नेताहरु मुखर्जीका समकालीन हुन्, जसमध्ये अधिकांश भौतिकरुपमा हामीबीच छैनन्  भने बाँकी रहेकाहरु कि त सक्रिय छैनन् कि त हैसियतमा छैनन् । मिहिन गरी विश्लेषण गर्ने हो भने नेपालमा पनि केही अपवादबाहेक राणाविरुद्धको संघर्षताकाका नेताहरु राजनीतिको मूलधारमा छैनन् । पुस्तान्तरणको उपस्थितिमा भएको मुखर्जीको नेपाल भ्रमण नेपालका लागि जति महत्वपूर्ण छ स्वयं मुखर्जीका लागि पनि त्यतिकै महत्वपूर्ण छ । विगतको संगतका कारण होला, मातृकाप्रसाद कोइराला, विपि कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, लगायतका पहिलो पुस्ताका कांग्रेस नेतासँग मुखर्जीको पारिवारिक सम्बन्ध थियो ।
त्यसो त मुखर्जीको व्यक्तिगत सम्बन्ध प्रथम राष्ट्रपति डा रामवरण यादव, रामहरि जोशी, शेरवहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शेखर कोइराला कोइरालाजस्ता कांग्रेसका नेतासँग औपचारिक सम्बन्ध रहेको वेलावखतमा चर्चामा आउने गरेको छ । तर एक सत्य के हो भने मुखर्जीको जुन आत्मीयता पहिलो पुस्ताको नेतासँग थियो त्यो आत्मीयता पछिल्लो पुस्तासँग अनुभव गर्न सकिएको छैन । यस आधारमा विश्लेषण गर्ने हो भने शायद मुखर्जी भारतका एकमात्र त्यस्ता नेता जीवित छन् जसको नेपालसँग पुस्तागतरुपमा भावनात्मक सम्बन्ध छ  र यसमा अभिभावकत्व सम्बन्धको छनक पनि पाइन्छ । यो सम्बन्ध निर्माणका लागि हिजो राणाविरोधी आन्दोलन र भारतीय स्वतन्त्रता संग्रामका समयमा नेपाल र भारतका नेताबीच भएको हिमचिमले निर्णायक भूमिका निर्वाह गरेको थियो । शायद मुखर्जीपछि नेपालसँगको त्यो नजिकको सम्बन्धलाई परिभाषित गर्ने राजनीतिक पुस्ता भारतमा क्रियाशील रहने छैन ।
मुखर्जीको भ्रमण नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरणका दृष्टिले कोशे ढुंगा सावित हुने अपेक्षा गरिरहिएको वेलामा माथि उल्लेख गरिएको मनोदशाको विश्लेषण पनि आवश्यक छ । मुखर्जीको भ्रमणबाट भौतिकरुपमा नेपालले के प्राप्त गर्छ वा गर्दैन त्यो अलग कुरा हो तर अहिलेको मुख्य आवश्यकता भनेको वास्तविक अर्थमा सम्बन्ध सुधारको पहल हुनु हो । भारतको वर्तमान संस्थापन स्वतन्त्रता संग्रामपछिको पुस्ता हो यसैगरी नेपालको संस्थापन पनि, केही अपवादबाहेक, राणाविरोधी आन्दोलनपछिको पुस्ता हो । यो दुवै पुस्तालाई आन्दोलन र संग्रामताकाको भावनात्मक सम्बन्धको बोध छैन । अनुभव, व्यवहार र ज्ञानले खारिएका मुखर्जीको यो भ्रमणले दुवैतिरको पुस्ताबीच सेतुको काम गरी दुई देशबीचको सम्बनधलाई नयाँ उचाईमा पुर्याउन भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ ।    

No comments:

Post a Comment