निधि—रावलबीचको वाकयुद्धको राजनीतिक सन्देश
धर्मेन्द्र झा
वर्तमान उपप्रधाान तथा गृहमन्त्री विमलेन्द्र निधि र पूर्व उपप्रधान तथा रक्षामन्त्री भीम रावलबीच गत एकसाताभित्र दुईपटक वाकयुद्ध भएको समाचार नेपाली मिडियाले निकै महत्व दिई ‘कभरेज’ गरेको छ । एकपटक प्रधानमनत्री निवास वालुवाटारमा र पछिल्लोपटक हिजो संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा दुबैबीच चर्काचर्की भएको समाचार सार्वजनिक भएको छ । दुबैपटक दुबैबीच चर्काचर्की हुनुको कारण एउटै, विशेष दूत बनेर उपप्रधानमन्त्री भारत किन जानु पर्यो र भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको पत्रमा संविधान संशोधनको विषय किन उल्लेख गरियो, रहेको छ । रावलले दुबैपटक बडो कडा शव्दमा यी विषय उठाएका छन् र निधिले दुबैपटक कडा शव्दमा प्रतिवाद गर्दै रावलको शव्द र शैलीप्रति आपत्ति जनाएका छन् । निधिले स्पष्ट शव्दमा भारतीय प्रधानमनत्रीलाई नेपाल भ्रमणको निम्तो पत्रमात्र दिइएको र त्यसमा संविधान संशोधनसम्बन्धी कुनै विषय उल्लेख नगरिएको दावी गरेका छन् ।यस्तोमा प्रश्न उठ्छ, मुलुकका दुर्ई प्रमुख राजनीतिक दलका दुई प्रमुख नेता, जो भविष्यमा सम्बद्ध राजनीतिक दलका शीर्ष नेतृत्वमा पुग्ने सम्भावना बोकोका छन्, निधि र रावलबीचको चर्काचर्की स्वाभाविक हो वा होइन ? यसका सम्बन्धमा भविष्यले गाँठो फुकाउने कार्य गर्नेछ । तर अहिलेलाई दुबैबीच प्रयुक्त भएको शव्द, भाषा र व्यवहारका आधारमा विश्लेषण गर्ने हो भने यसलाई कुनै पनि आधारमा शोभनीय मान्न सकिँदैन । एकअर्काबीच असहिष्णुजस्तो देखिएको दुबैबीचको वर्तमानको यो व्यवहारले नेपाली राजनीतिलाई प्रभावित बनाउने सम्भावनालाई नकार्न सकिँदैन ।
प्रश्न अर्को पनि उठ्छ रावल किन यति धेरै प्रतिक्रियामा उत्रेका हुन ? दुई उपप्रधानमन्त्री उत्तर र दक्षीणका दुई देशमा प्रधानमन्त्रीको विशेष दूतका रुपमा भ्रमण गरे । यसलाई किन अस्वाभाविक मान्ने ? दुबै छिमेकीसँग सम्बन्ध सुधारको मूल उद्देश्य लिई भएको दुबै भ्रमणको विश्लेषण् गर्ने हो भने सफल नै मान्नुपर्ने हुन्छ । निधिको भ्रमणपछि भारतसँगको सम्बन्धमा उल्लेख्य सुधारको जो कोहीले पनि अनुभव गरेका छन् । तर उत्तर छिमेकीको भ्रमण गरेका उपप्रधानमन्त्री महराका बारेमा कुनै आलोचना र टिप्पणी नगरेका रावलले निधिको भ्रमणबारेमा मात्र किन आलोचना गरेका होलान ?
रावलले उल्लेख गरेजस्तै पत्र भारतीय प्रधानमन्त्रीलाई बुझाइएको हो भने त्यो निश्चय पनि आलोचनायोग्य हो । स्वयं निधिले पनि नेपालको समस्या नेपाल आफैले समाधान गर्न सक्षम रहेको भनेर बताइसकेपछि यो सन्दर्भलाई यहीँ विराम दिएर संस्कारयुक्त राजनीतिको प्रदर्शन एमालेले गर्न सक्नुपर्ने हो । तर अनाहकमा यो विषयलाई महत्च्व दिएर राजनीतिक स्वार्थमात्र पूरा गर्ने उद्देश्य एमालेले राखेको हो भने त्यसलाई उचित मान्न सकिँदैन ।
मूल कुरा यसका पछाडी कुन मनोग्रन्थीले काम गरेको छ, त्यसको विश्लेषण आवश्यक छ । पछिल्ला दिनमा एमाले नेताका सार्वजनिक टिप्पणीहरुको विश्लेषण गर्ने हो भने ती सबै माआवादी केन्द्रको तुलनामा कांग्रेसविरुद्ध बढी छन् । शायद एमालेलाई विगतको एमाले नेतृत्वको सरकार कांग्रेसकै कारण ढलेको भन्ने परेको छ, जो गलत पनि होइन । यस अवस्थामा एमाले नेताहरु कांग्रेसविरुद्ध भडास पोख्ने कुनै पनि अवसर उम्कन दिन चाहँदैनन् । यसलाई पनि अस्वाभाविक भन्न मिल्दैन । निधिविरुद्धको वाकवमन पनि शायद यसैको परिणाम हो । अर्को कुरा हिजोको एमाले नेतृत्वको सरकारका समयमा भारतसँगको सम्बन्ध चिसिएकै हो । सरकार परिवर्तनमा वा सञ्चालनमा त्यसको प्रभाव निश्चय पनि परेकै हो । यस्तोमा नेपाल भारतबीचको सम्बन्ध तत्काललाई साम्य नहोस भनेर चाहनेहरुको संख्या नेपालमा कम छैन ।
मूल कुरा राजनीतिमा स्थायी शत्रु र मित्र दुबै हुँदैनन् । राजनीतिमा एकअर्काप्रति समादरको भाव आवश्यक हुन्छ । आजको पुस्ताले राजनीतिमा जे जस्तो संस्कार बसाउँछ भोलीको पुस्ताले त्यही नै पच्छयाउने हो । निधि र रावलले यस कुराको हेक्का राख्नु आवश्यक छ ।
खवरईरा १८ भदौ, २०७३
No comments:
Post a Comment