Thursday, September 8, 2016

B P and Bisheshwor/ GOPA

वीपीको राजनीति, विश्वेश्वरको साहित्य

धर्मेन्द्र झा

आज भदौ २४ । एक सय २औ वीपी जयन्ती । कांग्रेसजनका साथै प्रजातान्त्रिक समाजवादका पक्षपातीलगायतकाले महानायक बीपी कोइरालाको जन्म जयन्ती आज मनाउने अपेक्षा गरिनु स्वाभाविक हो तर  कांग्रेसवृत्तमा नै आजको दिन ओझेलमा पर्नु भने अस्वाभाविक हो । विचार गर्ने हो भने अहिले यहाँ यस्तै अस्वाभाविक स्थिति विद्यमान छ । राजनीतिमा वीपी र साहित्यमा विश्वेश्वरप्रसादका रुपमा समानान्तरीय हैसियत र परिचय बनाउनुभएका महानायक कोइरालाका योगदान नेपाल र नेपालीका लागि कालजयी छन । अविस्मरणीय छन । अतुलनीय छन । राजनीतिमा प्रजातान्त्रिक समाजवाद र साहित्यमा जनमनोविज्ञानका महाप्रणेता कोइराला दुई क्षेत्रका दुई स्वतन्त्र व्यक्तित्वका रुपमा स्थापित हुनुहुन्छ । तर समग्रमा यी दुवै व्यक्तित्वले सिंगो वीपीको निर्माण गरेको छ । निश्चय पनि एउटा व्यक्तित्वको अध्ययन नगरे अर्को व्यक्तित्वलाई बुझ्न सकिँदैन ।

आजको दिनमा नेपाल र नेपालीका लागि वीपीले के योगदान पुर्यानुभयो भनेर सम्झिने प्रयत्न गर्नुभन्दा पनि उहाँले कुन चाहीँ योगदान पुर्याउनुभएन भनेर खोतल्ने प्रयास गर्नु श्रेयष्कर हुनेछ । प्रारम्भिक दिनमा वीपीको सम्बन्ध वामपन्थीसँग सुमधर रहेन । यही घट्नापछि वीपीको राजनीतिक व्यक्तित्वले समग्रता प्राप्त गर्न सक्यो र एक फरक राजनीतिक दर्शनको सिद्धान्तकार बनायो वीपीलाई । त्यो दर्शन थियो प्रजातान्त्रिक समाजवादको । साहित्यमा कलमका जादुगर विश्वेश्वर अर्थात् वीपी स्वयंले आफूद्वारा प्रतिपादित दर्शनका सम्बन्धमा कहिल्येै केही लेख्नुभएन । केहीले वीपीको यस कृत्यको समर्थन गरेका छन् भने केहीले आलोचना । यो वहसको फरक विषय हो । वीपीका समस्त राजनीतिक दर्शन उहाँका भाषण र अन्तवार्ता तथा उहाँका विचारबारे अन्यले तयार गरेको धारणा र विश्लेषणमा संग्रहित छन् । धेरैको धारणा छ वीपीले राजनीतिबारे लेख्नुभएन । तर यो धारणा गलत हो भनेर भनियो भने असंगत हुने छैन । पञ्चायतका सञ्चालकलाई विश्वेश्वरका साहित्यमा वीपीका राजनीतिक सोच समाहित छन् भने राम्रोसँग थाहा थियो । यसैले पञ्चायतकालभरि विश्वेश्वरका रचना अध्यापन गराउने सन्दर्भमा राजनीतिक व्याख्यालाई पूर्णतः निषेध गरियो र उहाँलाई एउटा खास वादमा सीमित गर्ने प्रयत्न गरियो—यौनवाद । जो उहाँमाथिको अन्याय थियो । पञ्चायतको सुनियोजित षडयन्त्र थियो । उहाँ मनोविज्ञान विश्लेषणमा पारंगत हुनुहुन्थ्यो । हो, उहाँका रचनामा फ्रायडको पर्याप्त प्रभाव छ, तर यस अर्थमा उहाँलाई यौनवादका प्रयोक्ताका रुपमामात्र बुझिनु हुँदैन । यसरुपमामात्र विश्वेश्वरलाई बुझ्ने प्रयत्न गरिन्छ भने त्यो आंशिक सत्यमात्र हुनेछ । उहाँ मनोविज्ञानका पारखी हुनुहुन्थ्यो र मनोविश्लेषणको एक अंशमात्र हो यौन ।
सत्य त के हो भने, वीपीले विश्वेश्वर बनेर साहित्यको कलात्मक आवरणमार्फत राजनीति पस्किने प्रयत्न गर्नुभयो । त्यसवेलाको नेपालको सामाजिक धरातल आजको जस्तो थिएन । सामाजिक मूल्य—मान्यता र विश्वास फरक थिए । समाजले प्रत्यक्षरुपमा प्रगतिशील अवधारणा स्वीकार गर्न सक्ने अवस्था थिएन । समाजलाई आफ्नै पुरातन मान्यता र विश्वास प्रिय थियो । यस्तोमा वीपीका धारणा अत्याधुनिक थिए । प्रगतिशील थिए । विकसित थिए । राजनीतिक भाषाको प्रयोगका माध्यमबाट ती अत्याधुनिक सामाजिक दृष्टिकोणको सार्वजनिकीकरण सम्भवतः त्यसवेलाको समाजले सहजरुपमा स्वीकार गर्न सक्दैनथ्यो । समाजको यसै अवस्थालाई दृष्टिगत गरेर वीपीले साहित्यमार्फत् राजनीतिक विचार—प्रयोगको प्रक्षेपणको नीति अख्तियार गर्नुभयो । यस आधारमा भन्ने हो भने विश्वेश्वरका सम्पूर्ण साहित्य—रचना वीपीका राजनीतिक विचारका प्रयोगशाला हुन् । सुम्निमा, नरेन्द्र दाई, मोदिआइन, आफ्नो कथा, बाबु,आमा र छोराजस्ता विश्वेश्वरका कालजयी रचनाको मिहीन ढंगले अध्ययन—विश्लेषण गर्ने हो भने वीपीको राजनीतिक प्रयोगबारे बुझ्न सकिन्छ । एक रात कथाको विश्लेषण गरेका खण्डमा त्यो पूर्णतः राजनीतिकेन्द्रित रहेको पाउन सकिन्छ । यस कथामा शहीद दुर्गानन्द झाको मनोदशाको सूक्ष्म विश्लेषण गरिएको समालोचकहरुले स्वीकार गरेका छन । वीपीले विश्वेश्वरका रचनामार्फत् तात्कालीन समाजमा आफ्ना राजनीतिक विचारको परीक्षणको प्रयास गर्नुभयो र उहाँले आफ्ना धारणाबारे समाजले कस्तो र कसरी प्रतिक्रिया व्यक्त गर्छ भनेर बुझ्ने प्रयत्न गर्नुभयो । यस आधारमा वीपीले आफ्ना राजनीतिक धारणालाई निरन्तरता प्रदान गर्ने वा स्थगन गर्ने भन्ने धारणा निर्माण गर्नुहुन्थ्यो भनेर बुझ्न सकिन्छ ।
    माथि उल्लेख गरिएको धारणाको पक्षमा समावेशिताको अवधारणालाई उदाहरणका रुपमा प्रस्तुत् गर्न सकिन्छ । भनिन्छ, नेपालमा आजसम्म जति पनि सरकार गठित भए तुलनात्मकरुपमा वीपी नेतृत्वको सरकार सर्वाधिक समावेशी, सन्तुलित र वैज्ञानिक थियो । वीपीको संक्षिप्त मन्त्रिमण्डलमा हिमाल, पहाड, तराई, काठमाडौ उपत्यका, महिला, युवा, जनजाती सबैको सन्तुलित प्रतिनिधित्व थियो । वीपीको यो समावेशी राजनीतिबारेको दृष्टिकोणको प्रकटीकरण विश्वेश्वरको साहित्यमार्फत् भएको थियो । मधेशतिर, मोदिआइन, शत्रु, सुम्निामा, नरेन्द्र दाईजस्ता रचनाको अध्ययन गरे वीपीको समावेशी राजनीतिक दृष्टिकोण बुझ्न सहयोग पुग्छ । यतिमात्र होइन, विश्वेश्वरको साहित्यका पात्रमा पनि समावेशीको यो धार स्पष्ट अनुभूत गर्न सकिन्छ । अझ मधेशका सम्बन्धमा त उहाँको दृष्टिकोण निकै फराकिलो रहेको पाउन सकिन्छ । शायद महानायक कोइरालाले आफ्नो जीवनको धेरैजसो समय मधेश भूमीकै सेरोफरोमा विताउनुभएका कारणले पनि होला उहाँका साहित्यमा मधेशको कथा—व्यथा, परिवेश, संस्कृति, पात्र आदीको सशक्त प्रतिविम्ब देख्न सकिन्छ । यो प्रतिविम्बन चाहे श्वेत भैरवीको फगुनी अथवा शत्रुको कृष्ण राय भन्ने पात्र होस वा मोदिआइन र मधेशतिरको कथावस्तु होस, सर्वत्र अनुभूत गर्न सकिन्छ । विश्वेश्वरले प्रत्येक क्षण मधेश र पहाड जोड्न खोज्नुभएको छ ।
वीपी आफ्ना युगमा एकैपटक सामाजिक र राजनीतिक दुबै अभियन्ता (इन्जिनियर) हुनुहुन्थ्यो । उहाँले आफ्नो राजनीतिक र सामाजिक सोचमार्फत् नेपाली समाज र राजनीतिको विकासका लागि यथेष्ट योगदान पुर्याउनुभयो । वीपीका ती राजनीतिक सोच र दृष्टिकोण आज अझ सामयिक ठहरिएका छन्  । मधेश जोड्ने वीपीको दृष्टिकोणतर्फ न त मधेशका नाममा राजनीति गर्नेहरु, जो हिजोका दिनमा विपीकै चेला थिए, को ध्यान छ न त उनले नै स्थापना गरेको दल नेपाली कांग्रेसले दृष्टि पुर्याउन सकेको छ । सम्भवतः कांग्रेसले वास्तविक अर्थमा वीपिलाई अनुशरण गर्न नसक्दा नै यहाँको राजनीतिमा क्षेत्रीयता, जातीयता र साम्प्रदायिक धार मौलाएको हो । असन्तुलित विकास फस्टाएको हो । समाज विभाजनको प्रक्रिया तीव्र बनेको हो ।
आज विविध नाममा मधेश र पहाडबीच मनोवैज्ञानिक दुरी बढेको छ, यो स्पष्ट छ । हिजो वीपीले यो दुरी कम गर्ने प्रयास गरेर राष्ट्रियतालाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गर्नुभयो तर आफ्नो निहीत स्वार्थ पूरा गर्न आजका राजनीतिकर्मीहरु मधेश र पहाडको दुरी बढाउने गरी राष्ट्रियताको नयाँ परिभाषाको प्रयास गरिरहेका छन् । यो दुखद छ । कुनै न कुनैरुपमा यो समस्या नेपाली कांग्रेसभित्रै पनि अनुभव गरिएको छ । अहिले देशको राजनीति बडो सकसमा छ । वीपीलाई आज नयाँ सन्दर्भमा बुझिनु र विश्लेषण गरिनु जरुरी छ । विश्वेश्वरका हरफहरु कण्ठाग्र गरेरमात्र वीपीलाई बुझ्न सकिँदैन । उहाँलाई बुझ्न उहाँका हरफहरु आत्मसात गर्नु जरुरी छ । वीपी वास्तवमा यस्ता दार्शनिक स्रष्टा हुनुहुन्छ जसको सान्दर्भिकता प्रत्येक युगमा छ । वीपीको दर्शन र प्रतीकको व्याख्या हिजोको दिनमा जे थियो शायद त्यसवेला त्यही ठीक थियो । त्यो व्याख्या शायद आजको सन्दर्भमा अमील्दो हुन सक्छ । अतः आज वीपीलाई बुझ्न उहाँका दर्शनको व्याख्या आजकै परिवेशकेन्द्रित हुनुपर्छ । यस्तोमा वीपीले हिजोका दिनमा राजनीति र साहित्यमार्फत् जुन ‘इन्जिनियरिंग’ प्रारम्भ गर्नुभयो त्यसलाई निरन्तरता दिनु आवश्यक छ । यसका लागि चिन्तनको शैलीमा परिवर्तन अनिवार्य छ । यसअर्थमा आज विश्वेश्वरका साहित्यको अध्ययनको अवसर सबैलाई उपलब्ध गराई विपीबारेको बुझाईमा एकरुपता विकसित र्गनु जरुरी छ । यस कार्यको नेतृत्व नेपाली कांग्रेसले गर्न सक्नुपर्छ र देशको सकसपूर्ण राजनीतिको गाँठो फुकाउन पहल गर्नुपर्छ । साँचो अर्थमा आजको सन्दर्भमा यही नै वीपीप्रतिको श्रद्धाञ्जलि हुनेछ ।
गोखापत्र ः २४ भदौ २०७३

No comments:

Post a Comment