जलवायु परिवर्तनको समबोधन
तराई—मधेशका केही ठाउँमा धान काटिइसकेको छ । केही ठाउँका कृषक धान भित्र्याउने चटारोमा छन् । यो उनीहरुका लागि खासै ठूलो समस्या होइन । तराईवासीका लागि योभन्दा धेरै ठूलो समस्या बनेको छ— यहाँको अस्वाभाविक चिसो । तराईका सबै जिल्ला अहिले हुस्सु र कुहिरोले डम्म ढाकिएका छन् । यस्तो हुस्सु र कुहिरोका कारण उत्पन्न चिसोबाट तराई कठ्यांग्रिन बाध्य छ । स्थानीयहरु यसैलाई शीतलहर भन्दछन् । उपलब्ध समाचारअनुसार यो आलेख तयार गरुन्जेलसम्म शीतलहरका कारण मृत्यु हुनेहरुको संख्या २१ पुगिसकेको छ । यसरी मृत्यु हुनेको संख्या सबभन्दा बढी महोत्तरीमा छ । यहाँ सातजनाको मृत्यु भइसकेकोृ छ । यसपछि रौतहटमा ६ जना, सिरहा र मोरगंमा ३÷३ जना र सप्तरी तथा झापामा १÷१ जनाले ज्यान गुमाइसकेका छन । मृत्युहरुको पुष्टि प्रहरीले गरेको छ । सम्वद्ध विज्ञ र चिकित्सकले यसबारे केही बोलेका छैनन् । शीतलहरबाट उत्पन्न प्रभावका कारण तराईको जनजीवन अस्वाभाविकरुपले कष्टकर बनेको छ । स्वास्थ्य संस्थाहरुमा विरामीहरुको भीडभाड बढेको छ । वृद्धवृद्धा र बालबालिकामा श्वासप्रश्वास, निमोनिया, कोल्ड डायरियाजस्ता समस्या अत्यधिक देखिएका छन् । तर समस्याको कुनै तत्काल समाधान देखा परेको छैन । सम्भावना पनि छैन ।भित्री मधेशबाहेकका तराईका सबैजसो जिल्लाहरुमा देखा परेको यो शीतलहरका कारण शैक्षिक, यातायात, आर्थिक कारोवारलगायत समाजका प्रायः सबैजसो क्षेत्र प्रभावित बन्न पुगेको छ । विगत एक सातादेखि कुहिरोले छोपिएको मधेशका प्रायःजसो जिल्लामा शैक्षिक संस्थाहरु बन्द गर्न थालिएको छ भने यातायातजन्य दुर्घटनामा वृद्धि भइरहेको छ । प्रशासन भने केही क्वीन्टल दाउरा वितरण गरेर आगो सल्काउँदैमा जिम्मेबारीबाट उन्मुक्तिको प्रयासमा तल्लीन देखिन्छ । यस क्षेत्रका नेताहरु संविधानमार्फत स्थानीय जनताका हक अधिकार सुरक्षित गर्ने भन्दै अन्त्यहीन बहसमा काठमाडौमा न्यानो घाम तापिरहेका छन । हुनेखानेहरु घाम खोज्दै पहाड उक्लिरहेका छन भने उता मधेशमा चिसोबाट कठ्याग्रिएर मर्नेको संख्या दिनहुँ बढिरहेको छ ।
केही वर्ष पहिलेसम्म पहाडका बासिन्दा चिसोबाट बच्न तराई झर्ने गरेको कुरा विस्मृतिमा गइसकेको छैन । समाजका धेरै व्यक्ति अहिले पनि यस तथ्यको साक्षीका रुपमा छन । अहिले अवस्थामा परिवर्तन आएको छ । चिसोबाट बच्न पहाड उक्लिनुपर्ने अवस्थाको सिर्जना भएको छ । तराईमा बाक्लो हुस्सुका कारण ठूलो संघर्षका वावजुद सूर्यको किरण माटो छुुन असमर्थ भइरहेको वेला काठमाडौलगायत पहाडका जिल्लाहरुमा पारिलो घामले न्यानो बनाइरहेको छ । कहाँसम्म भने नवलपरासीको दाउन्ने, जो थोरै उचाईमा अवस्थित छ, मा दिउँसोभरि घाम लाग्छ भने दाउन्नेबाट करिव आठ किलोमिटरको मात्रै दूरीमा रहेको वर्दघाट कुहिरोले डम्म छोपिएको हुन्छ । विगत केही वर्षयता लगातार यस्तै अस्वाभाविक प्रकृतिको शिकार बन्दै आएको तराईको यो नियति स्वयंमा नौलो होइन । सुदुर विगतमा पनि शीतलहर चल्ने गथर््यो तर यदाकदा मात्र । तराईका बुढापाका शीतलहरका आधारमा आफ्ना र केटाकेटीका उमेर मापन गर्थे । समयको कालक्रम खुट्याउँथे । शीतलहर उनका लागि स्मरणीय बन्ने गरेको थियो । तर अहिले समय फेरिएको छ । शीतलहरलाई नियतिका रुपमा हेर्न थालिएको छ । मौसम र जलवायु पनि फेरिएको छ । अहिलेका पुस्ताका लागि शीतलहर नहुँदाको वर्ष स्मरणीय बन्ने बाध्यकारी अवस्थाको सिर्जना भएको छ । आखिर किन यस्तो भइरहेको छ त ? यस्तो अवस्थाको विद्यमानताका लागि को जिम्मेबार हो ? यसको उत्तर खोज्ने कार्य सहज छैन । सबभन्दा महत्वपूर्ण कुरा त यसको उत्तर खोज्ने यथोचित प्रयास पनि भएको पाइएको छैन । नेपालमा यससम्बन्धी वहस पनि चल्न सकेको छैन । समस्या तराईमा मात्र होइन पहाड र हिमालमा पनि छ । यस क्षेत्रमा पनि मौसमको अस्वाभाविक प्रवृत्ति विद्यमान छ । यसपटक डडेलधुराको सदरमुकाम अमरगढीमा निकै वर्षपछि बाक्लो हिउँ पर्यो । भिमदत्त राजमार्ग हिउँका कारण बन्द हुने अवस्था पनि सिर्जना भयो । उता हिउँ पग्लेर सैपाल र अपिका चुचुरा वरपरका नांगा चट्टान अमरगढीबाट त्यतिकै देखिइने स्थिति पनि बन्यो । कारणको खोजी गर्दै जाउँ, किन यस्तो भइरहेको छ ? कारण खोज्न सकिए समाधान पनि खोज्न सकिएला । तर यस अवस्थामा एउटा कुरा के सत्य हो भने पछिल्ल केही वर्षयता चिसो छल्न पहाडबाट तराई ओर्लने नभई तराईबाट पहाड उक्लिनुपर्ने बाध्यकारी अवस्थाको निर्माण भएको छ ।
निश्चित पनि यस्तो विषम प्रकृति निर्माणका पछाडी जलवायु परिवर्तन मुख्य कारण हो । जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी प्रभावबाट नेपाल पनि अप्रभावित भई रहन सकेन । यसैको परिणाम हो, तराईको ठिहिर्याउने चिसो । कहाँसम्म भने जलवायु परिवर्तनको प्रभावका कारण समुद्री धारमा आएको वदलावबाट उत्पन्न प्रभावबाट सिर्जित लानिनो र एलनिनो असरबाट नेपाल पनि वञ्चित छैन । तर पनि हामीकहाँ अझै जलवायु परिवर्तनको अध्ययनको क्रम अपेक्षित रुपमा सुरु हुन सकेको छैन । अहिले पनि यससम्बन्धी वहस बुद्धिविलासमा मात्र केन्द्रित छ । त्यो पनि राजधानीमा केही सीमित वर्गमा । संघीयता र राज्य पुर्नर्संचनाको नाममा पहाड र तराईको नाममा राजनीति गर्नेहरुको प्राथमिकतामा यो विषय पर्न सकिरेहेको छैन । जो दुखद छ । राज्य पुर्नर्संचनाका नाममा संघीयता निर्धारणको अभ्यास भइरहेको मुलुकको वर्तमान अवस्थामा तराई र पहाडमा देखिएको जलवायु परिवर्तनको विद्यमान प्रभावबारे पनि सोचिनु अपेक्षित छ । होइन भने, भोलीका दिनमा यो समस्या भयावह बन्ने निश्चित छ । यतिमात्र होइन, जलवायु परिवर्तनको भविष्यको परिणामको आँकलन गरेर संघीयता निर्धारणको एउटा आधारसमेत यसैलाई बनाइनु जरुरी भइसकेको छ । विशेषतः तराईका नाममा राजनीति गर्नेले यो तथ्यमा घोत्लिन सके सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ । भविष्यको क्रुर सत्यलाई दृष्टिगत गर्नु जरुरी छ । गर्मीको मौसममा चरम गर्मीको शिकार हुनपर्ने र चिसो याममा चरम चिसोको शिकार हुनुपर्ने मरुभूमीय वातावरण निर्माणको संघारमा रहेको तराई—मधेशले भविष्यका लागि विकल्पको खोजीको प्रारम्भ आजैबाट गर्नु जरुरी छ । त्यसो त जलवायु परिवर्तनको प्रभाव पहाडमा पनि दृष्टिगोचर होला तर चुरे पर्वत शृंखलाको विनास भइरहेको अवस्थामा तराईमा यसको सर्वाधिक प्रभाव पर्ने अवश्यम्भावी छ । हिमनदीहरु पग्लिने क्रमसँगै तराईका खोलानालाको सतह बढेको छ । यहाँको हरियाली घटेको छ । नदीकटानको शृंखला तीव्र बनेको छ र यो सबैको सम्बन्ध जलवायु परिवर्तनसँग छ । जलवायु परिवर्तनको शृंखलालाई मधेश, पहाड र नेपाल एक्लैले नियन्त्रण गर्न सम्भव नहोला तर यसको अध्ययन र आँकलन गरेर भविष्य सुरक्षाको जोहो भने गर्न सकिन्छ । यसका लागि वातावरणीय सन्तुलनलाई संघीयता निर्माणको आधार बनाइनु एउटा उपयुक्त उपाय हुन सक्दछ । नेपालजस्तो देशका लागि जलवायु परिवर्तन एक भयावह चुनौती हो । जलवायु परिवर्तनकै कारण दक्षीण एशियाली राष्ट्र मालदिभ्सको अस्तित्व संकटमा रहेको कुरा प्रचारमा यसअघि नै आइसकेको छ । नेपालका सन्दर्भमा त्यस्तो भविष्यवाणी अहिलेसम्म भएको छैन तर नेपाल यस प्रभावबाट घनिभूत रुपमा प्रभावित हुने निश्चित छ । यस्तोमा भविष्यमा झन समस्या थपिने गरी हुने राज्यको पुर्नर्संचनाको कार्य प्रियकर हुन सक्दैन । यस परिप्रेक्ष्यमा जलवायु परिवर्तनलाई आधार मानी राज्यको पुर्नर्संचनाबारे सोच्न सकिए साझा नेपाली पहिचानलाई केन्द्रमा राखी संघीयता निर्माणको प्रक्रिया अघि बढाउन सकिन्छ ।
नोट ःसंभव छ भने, चिसो छल्न तराईबाट पहाडतिर उक्लेको मानिसको समूहको स्केच राख्न सकिन्छ ।
अन्नपूर्ण पोष्ट ः २०७१ पुस १८
No comments:
Post a Comment