Tuesday, September 10, 2013

महानगरको भ्रष्टाचार

धर्मेन्द्र झा
हालैको कुरा हो, काठमाडौको नयाँ वानेश्वरस्थित एक रेष्टोरेन्टअगाडी रोकेर राखेको आफ्नो मोटरसाइकल सम्बन्धित धनीले लिएर जान खोजेका मात्र के थिए एकजना केटौले उमेरको व्यक्ति आइपुग्यो । ऊ सम्बन्धित धनीसँग मोटरसाइकल त्यहाँ पार्क गरेवापत करको माग गरिरहेको थियो । नगद पैसाको माग गर्ने ती व्यक्ति र मोटरसाइकलधनीबीच एकछिन ठूलै रडाको मच्चियो । माोटरसाइकलधनीको जिकिर, यस्तो कर असुली अवैध हो यसरी रकम उठाउन पाइँदैन भन्ने थियो । काठमाडौ महानगरपालिकाको स्वीकृतिमा आफूहरुले यस्तो कर असुल गरिरहेको दावी गर्ने केटौले वयसका ती व्यक्ति आफूहरुले ऐन कानुन नजान्ने र ठेकेदारले अह्राएको काम गर्ने भनेर आफ्नो दायित्वबारे स्पष्ट गर्न खोजिरहेका थिए । केही नलागेपछि मोटरसाइकलधनीे कर तिर्न तयार भए तर उनले यतो कर तिरेवापत रसीदको माग गरे । रसीद दिने कुरा उठ्दा ती व्यक्ति एकछिन अकमकिए । तीव्र दवावपछि मोटरसाइकलधनीले रसीद प्राप्त गरे । कुरैकुरामा त्यो रसीद नक्कली भएको थाहा भयो । सानो हुलाक टीकट आकारको उक्त रसीदमा केही पनि लेखिएको थिएन । न त त्यो रसीदमा मितिको उल्लेख छ न त सवारी नम्वर नै लेखिएको छ । पार्किगं गरेर राखिएको अवधीका आधारमा कर असुल गर्ने प्रावधान रहेकोजस्तो देखिने उक्त रसीदमा कति अवधी पार्क गरिएको हो भन्ने कुरा पनि उल्लेख थिएन । कामनपाको नाम अंकित गरेर छापिएको उक्त रसीदमा न त असुलीकर्ताको हस्ताक्षर छ न त कुनै प्रकारको छाप नै । यस्तो प्रवृतिबाट कसले कति रकम संकलित गर्छन र संकलित रकम कहाँ जान्छ भन्ने कुराको जानकारी कसैलाई हुँदैन । यस चित्रले पार्किगं प्रकरणमा कति ठूलो भ्रष्टाचार भइरहेको छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।

 

सर्वसाधारण उपभोक्ताका अनुसार महानगरपालिको नाममा काठमाडौका धैरै स्थानमा यसरी अवैध कर असुलीको काम भइरहेको छ तर यस्तो अनियमित कार्य रोक्न सम्बन्धित निकाय सक्रिय देखिएको छैन । विज्ञका अनुसार महानगरपालिका वा अन्य स्थानीय निकायले यसरी सशुल्क पार्किगं कर उठाउन मिल्दैन । महानगरमा महानगरपालिकाले पार्किगंका लागि छुटयइएका ठाउँमा मात्र यस्तो रकम असुल गर्न सकिन्छ । यस्तो ठाउँमा महानगरपालिका स्वयंले वा उसले वैधानिक तरिकाले ठेक्का प्रदान गरेको व्यक्ति, समूह वा संस्थाले करवापतको रकम असुल गर्न सक्छ । तर यसका लागि महानगरपालिकाले सार्वजनिक रुपमा सूचना जारी गर्नु आवश्यक ठानिन्छ । यो पंक्तिकारलाई थाहा भएसम्म महानगरपालिकाले काठमाडौका केही सीमित स्थानमा मात्र यस्तो सशुल्क पार्किगंको व्यवस्था गरेको छ ।  पछिल्लो दिनमा काठमाडौका अनगिनत स्थानमा यस्तो सशुल्क पार्किगंका नाममा रकम असुल गरिएको पाइएको छ, जसमध्ये अधिकांश अवैध र गैरकानुनी छन । भुक्तभोगीहरुका अनुसार काठमाडौ महानगरपालिकाको नाममा सबैभन्दा ठूलो आर्थिक चलखेल यसै शीर्षकमा हुने गरेको छ । पार्किगंकै कुरा गर्ने हो भने महनगरमा महानगरपालिकाले तोकेका ठाउँभन्दा अन्यत्र पार्किगं गर्न पाइँदैन । जहाँसम्म होटेल, रेस्टोरेन्ट, सिनेमा हल, सार्वजनिक महत्वका कार्यालय र कार्यक्रमस्थल आदीको सन्दर्भ छ, यस्ता ठाउँमा गरिने पार्किगंको जिम्मा यिनै प्रतिष्ठानहरुले लिनुपर्छ । उदाहरणका लागि कुनै होटेलमा कुनै ग्राहक जान्छ र उसलाई पार्किगं आवश्यक पर्छ भने पार्किगंको सुविधा सम्बन्धित होटेलले नै उपलब्ध गराउनुपर्छ । त्यो होटेलले पार्किगंका लागि नीजी अथवा सार्वजनिक जग्गा प्रयोग गरेको छ भने त्यसवापतको खर्च पनि त्यही होटेलले तिनुपर्छ न कि सम्बन्धित ग्राहकले । तर नेपालमा त्यसमा पनि देशको राजधानीमै यस्तो व्यवस्था भएको पाइँदैन । पार्किगं शुल्कका नाममा एकथरिले ब्रम्हलुट मच्चाएका छन, महानगर प्रशासन मुक भएर बस्न बाध्य छ ।
नियमविपरित असुल भइरहेका यस्ता उठ्तीलाई नियन्त्रण नगरेर महानगरपालिका स्वयंले यस्ता अनियमित कार्यलाइ प्रोत्साहित गरिरहेको छ भनेर भनियो भने पककै पनि त्यो गलत हुने छैन । यस्ता अवैध असुलीको कुरा चल्दा विभिन्न राजनीतिक पार्टीको नाम पनि चर्चामा आउने गरेको छ । यस्ता कार्यमा राजनीतिक पार्टीहरुको प्रत्यक्ष संलग्नता कति छ भन्ने कुरा अनुसन्धानको अलग विषय बन्न सक्छ । यससन्दर्भमा एउटा कुरा चाहिँ निश्चित रुपमा भन्न सकिन्छ, त्यो के भने राजनीतिक सहयोगविना कर्मचारीले मात्र यस्ता अनियमित काम गर्न कठीनप्रायः नै हुन्छ ।
महानगरपालिकालगायतका स्थानीय तथा सार्वजनिक निकायसँग सम्बन्धित ठेक्का–पट्टाका प्रायःजसो कार्य विवादित हुने गरेका छन । यस्ता विवादको केन्द्रमा भ्रष्टाचार र अनियमितताका विषयले प्राथमिकता पाएका हुन्छन । यस्तो कार्यमा संगठित आपराधिक समूहको पनि सक्रियता रहने गरेको पाइएको छ । सम्बन्धित निकायलाई विभिन्न तवरले आफ्नो प्रभावमा पारेर यस्ता समूह अनियमित असुलीमा संलग्न रहने कुरा भूक्तभोगीका लागि अब नयाँ रहेन । माथि उल्लेखित नयाँ वानेश्वरको घटनालाई पनि यस्तै गतिविधिको शृंखलाका रुपमा बुझ्न सकिन्छ ।
राजधानी नगरका रुपमा स्थापित देशकै सबभन्दा ठूलो स्थानीय निकायमै यसरी भ्रष्टाचार हुँदा र अनियमितताले प्रोत्साहन पाउँदा अन्य सार्वजनिक निकायमा यसको कस्तो प्रभाव पर्छ त्यसको अनुमान सहजै लगाउन सकिन्छ । महानगरका विविध कार्य संचालनका लागि विविध ऐन नियम अस्तित्वमा छन । स्वायत्त शासन ऐन त्यसैमध्येको एक हो । स्वायत्त शासन ऐनको उपस्थितिको अर्थ स्थानीय निकायले जे जस्तो कार्य गर्न पनि छूट छ भन्ने होइन । यो ऐनले स्थानीय निकायलाई विधिसम्मत तरिकाले कर निर्धारण र असुलीको अधिकार त प्रदान गर्छ तर आर्थिक अनियमितताको छूट भने दिँदैन । आर्थिक अनियमितता र भ्रष्टाचारको अवस्थामा यिनै विषयसँग सम्बन्धित ऐन नियम आकर्षित हुन्छन । स्वायत्त शासन ऐनलाई उन्मुक्तिको आधार ठानिनु हुँदैन । पछिल्ला दिनमा स्थानीय निकायमा भए गरेका भ्रष्टाचारका सम्बन्धमा उपयुक्त ढंगले खोजीनीति हुन सकेको छैन । महानगरको सन्दर्भमा त यस्तो खाजीनीतिको झन अभाव छ । जबकि महानगरमा खोजीनीतिको यस्तो कार्य सबैभन्दा बढी अपेक्षित छ । गैरकानुनी रुपमा भइरहेको यस्तो कर असुली त एउटा उदाहरण मात्र हो । महनगरपालिका सन्दर्भमा भन्ने हो भने यहाँ विभिन्न शीर्षकमा आर्थिक अनियमितता र भ्रष्टाचार भइरहेका छन ।
गत चैतको अन्तिम साता महानगरपालिकाले सुरु गरेको काठमाडौकेन्द्रीत सातदिने सफाई कार्यक्रम पनि विवादित बन्न पुग्यो । फेरि पनि विवादको कारण आर्थिक अनियमितता नै थियो । यो विवादमा कुनै न कुनै रुपले प्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि मुछिन पुगेका छन जो दुखद छ । यो सफाई कार्यक्रमअन्तर्गत खरीद गरिएका विविध सामग्रीवापतको भूक्तानी उच्च मूल्यमा गरिएको तथ्य सार्वजनिक भएको छ । पंजा, झाडू, मास्कजस्ता सामग्री पाँंच गुणा उच्च मूल्यमा खरीद गरेर महानगरपालिकाले भ्रष्टाचारको एक नवीन कीर्तिमान कायम गरेको छ । आर्थिक नियमावली र खरीद प्रक्रियाविपरित गएर यस्ता सामग्री हचुवाका भरमा किनिएको कुरा अब कसैबाट लुकेको छैन । आफ्नो बचाउ गर्दै महानगरपालिकाका केही अधिकारीले प्रधानमन्त्रीको तीव्र दबावका कारण हतारमा यो कार्यक्रम संचालन गर्नुपरेकोले सामग्री खरीदमा आवश्यक प्रक्रिया अपनाउन नसकिएको बताएका छन । महानगरपालिकाका कर्मचारीले यसो भन्नु भनेको भ्रष्टाचार भएको कुरा स्वीकार गर्नु हो र प्रधानमन्त्रीलाई पनि विवादको घेरामा तान्नु हो । सुशासनको कुरा गरेर नअघाउने हाम्र प्रधानमन्त्रीलाई यस कुराको हेक्का छ कि छैन ?

सुशासनको कुरा गर्दा विकेन्द्रकिृत शासन व्यवस्था अर्थात स्थानीय निकायको उपस्थितिलाई महत्वपूर्ण मानिन्छ । स्थानीय निकायलाई जहिले पनि स्थानीय जनताप्रति जवाफदेह रहेर स्थानीय विकासमा केन्द्रीत हुने जनताको नजिकको सरकारका रुपमा स्वीकार गरिन्छ ।  स्थानीय निकायमा स्थानीय जनताकै नियन्त्रण रहन्छ र तुलनात्मक रुपमा यस्ता निकायका गतिविधि पारदर्शी हुन्छ भन्ने विश्वास गरिन्छ । तर पछिल्ला दिनमा स्थानीय निकायमा लामो समयसम्म निर्वाचन हुन नसक्दा वास्तविक अर्थमा जनताको नियन्त्रण स्थापित हुन सकेको छैन । यस्तो अवस्थामा स्थानीय निकायमा एक किसिमको छाडातन्त्रको विकास हुन गएको छ । अपारदर्शीपनको यो अवस्था भ्रष्टाचारका लागि सहायक सिद्ध भएको अनुभव गरिएको छ ।  काठमाडौ महानगरपालिका पनि यसको अपवाद हुन सक्दैन, छैन ।

No comments:

Post a Comment