Friday, December 18, 2015

GOPA/Media in Madhesh

मधेशमा मिडिया

धर्मेन्द्र झा

चार महिनादेखि निरन्तर जारी मधेश—आन्दोलनले सम्वद्ध भूगोलमा एक आकार ग्रहण गरे पनि यसको परिणामले भने अझै कुनै स्पष्ट स्वरुप ग्रहण गरिसकेको छैन । यस अवधीमा कोसी, कमला, बलान र वागमतिमा वगेको पानीको जसरी कुनै लेखाजोखा गरिएन त्यसरी नै आन्दोलनले समग्र नेपाली जनजीवनमा पारेको प्रभावको पनि हिसाव—किताव गरिएन । समग्रमा नेपाल र नेपाली जनता पीडा भोग्न बाध्य छन् । आज प्श्न उठ्छ, यी पीडाहरु सम्पूर्णरुपमा अनुभव गरिए कि एकांगी अस्तित्वमा विलीन भए । यस भूमीमा आजसम्म भएका प्रत्येकखाले आन्दोलनले युगको विशिष्ट कालखण्डमा कुनै न कुनै सन्देश दिएका छन् ।
त्यस्ता सन्देशले केही अपवादबाहेक लोकतान्त्रिक मूल्य मान्यतालाई जरैदेखि बलियो बनाउने काम गरेका छन् । कम्तिमा २०४६ पछिका आन्दोलनहरुलाई यसैरुपमा बुझ्नु युक्तिसंगत हुन्छ । २०४६को जन आन्दोलन र त्यसपछिका प्रत्येक आन्दोलन (अहिलेको मधेश आन्दोलनसमेत) लाई मिहीन ढंगले विश्लेषण गरेका खण्डमा आन्दोलनका यी शृंखला एकअर्कासँग पृथक नभई एकअर्काका पूरक हुन भन्ने मान्नुपर्ने हुन्छ । यी आन्दोलनले जनताको लोकतान्त्रिक अधिकार, पहिचान, मूल्य र मान्यताहरु निरन्तर क्रमशः संस्थागत भएका छन् । जनताले केही न केही उपलब्धि प्राप्त गरेका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समावेशी, राज्य संरचनामा समानुपातिक उपस्थिति, संघीयता यस्तै उपलब्धि हुन् । मधेश—आन्दोलनको थप लेखाजोखा भविष्यले गर्ला नै । अहिलेसम्मको अवस्था विश्लेषण गर्ने हो भने यो आन्दोलनले नेपाली राष्ट्रियताको मान्यता र परिभाषालाई सम्वद्र्धन गर्ने आशा गर्न सकिन्छ ।
राष्ट्रियता सम्वद्र्धनका दिशामा विभिन्न तत्वले सहजीकरण गर्ने अपेक्षा गरिन्छ । यस्तै एक तत्व हो आन्दोलन । आन्दोलनले जनताका चाहना र आकांक्षालाई श्वर प्रदान गर्छ । आन्दोलनलाई डोर्याउने र दिशा—निर्देश गर्ने अर्को पक्ष सर्वाधिक महत्वपूर्ण छ, जसले राष्ट्रियता प्रवद्र्धनमा कालजयी भूमिका निर्वाह गर्दछ । त्यो अर्को महत्वपूर्ण पक्ष हो— संचार माध्यम अर्थात मिडिया । दूर्भाग्य, अहिलेको मधेश आन्दोलनका सन्दर्भमा मिडिया आरोपित हुन पुगेको छ, जो दुखद छ । निश्चय पनि अहिले जानिदो—नजानिदो तरिकाले जसरी काठमाडौ र मधेश समाजको दूरी बढेको अनुभव गरिएको छ त्यसरि नै उपभोक्ताहरुले काठमाडौ र मधेशको मिडियाको दूरी पनि बढेको अनुभव गर्न बाध्य हुनुपरेको छ । सारमा नेपाली मिडिया यतिखेर विभाजित मनःस्थितिमा छ । मिडिया विभाजनको यही पीडाका कारण मधेश—आन्दोलन एकांगी हुनुपर्ने अर्को पीडा बेहोरिरहेको छ । नेपाल पत्रकार महासंघले हालै नवलपरासीको अमलटारीमा आयोजना गरेको मधेशका बाइस जिल्लाका अध्यक्षहरुको भेलामा यस्तै पीडाहरु मुखरित भए । भेलामा मुखरित एकथरि श्वरमा राजधानीकेन्दीत संचारमाध्यमहरुले मधेशको वाणी नसुनेको आरोप मुख्य थियो भने एकथरिले मधेशको मिडियाले क्षेत्रीय स्वार्थ मात्र हेरेको आरोप लगाए । सत्य के हो त्यो स्थापित गर्ने प्रयास सबै संचारकर्मीको हो । यो प्रयास जारी रहँदै गर्दा मिडियामाथि व्याप्त अविश्वासको स्थितिलाई अन्त्य गर्नु यतिखेरको सर्वाधिक महत्वपूर्ण दायित्व हो भन्ने कुरा विस्मृतिमा राख्नु उचित हुँदैन ।
सूचना र संचारले सँधै जोडने भूमिका निर्वाह गर्दछ र गर्नु पर्दछ, तर जब यही पक्ष तोडने भूमिकामा चित्रित हुन थाल्दछ र यसको मूल्यांकन यही रुपमा हुन थाल्दछ अविश्वास र आक्रोसले सँगै आकार ग्रहण गर्न थाल्दछ । अहिले नेपालको मिडिया यही अवस्थाबाट गुज्रिरहेको छ भन्दा असंगत ठहर्दैन । राजधानीका मिडियाले मधेश आन्दोलनका सन्दर्भमा सत्यलाई यथोचित स्थान नदिएको, सत्यलाई तोडमरोड गरेर पस्किएको, आग्रह राखेको, आफू अनुकूल कभरेज गरेको आरोप लगाइँदैछ । अर्कोतर्फ मधेशका मिडियाले पनि आन्दोलन भडकाएको, अतिरंजित सम्प्रेषण गरेको, अशोभनीय भाषा प्रयोग गरेको जस्ता आरोप बेहोरिहेका छन् । यसमा कति सत्यता छ, त्यो अनुगमनको पृथक विषय हुन सक्छ, तर एउटा कुरा के सत्य हो भने मिडियालाई समाजहरुबीच दुरी बढाउने पात्रका रुपमा विकसित गर्न खोजिँदैछ । व्यवशायिकताका दृष्टिले मिडियाको यो पक्षको उपस्थिति दुखदायी छ ।
पछिल्लो कालखण्डमा नेपालको मिडियाले आफ्रनो अनुकूलताका आधारमा राष्ट्रियताको परिभाषा गर्न खोजेको आभास हुन्छ । मिडियाको यो भूमिका ठीक होइन । मिडियाको भूमिका त समग्र राष्ट्रियता प्रवद्र्धनका दिशामा निर्णायक सावित हुन सक्नुपर्ने हो । यस दिशामा मिडियाका प्रयासहरु आरोपित हुन्छन् भने तत्कालै सच्याउने दिशामा मिडिया अग्रसर हुनु जरुरी हुन्छ । यस्ता आरोपहरु मिडिया सच्चिने अवसर पनि हुन्, तर मिडिया यसप्रति वेपर्वाह छ । एउटा कुरा के निश्चय हो भने नेपाली राष्ट्रियतालाई खण्डित स्वरुपमा धारण गर्ने भावना वर्जित गरिनु अपरिहार्य छ । यस सन्दर्भमा राज्यबाट आफू टाढिएको अनुभव कुनै समूह वा समुदायमा छ भने तिनको श्वर मुखरित गरेर राष्ट्रियताको मूलधार निर्माण गर्ने दिशामा मिडियाले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्नुपर्दछ । नेपालको यतिखेरको आवश्यकता यही नै हो । सहजकर्ताको यो भूमिकाको निर्वहन् मिडिया एक्लैको प्रयासबाट सम्भव हुन सक्दैन भन्ने कुरा पनि यहाँनिर मननीय छ । मिडियालाई निर्वाध भ्रमण, विचरण, अवलोकन, अनुसन्धान, सत्यपनको अवसर प्रदान गरिनुपर्दछ । मिडियाको पक्षमा यो अवसर जुटाउने दायित्व राज्यलगायतका सरोकारवाला सबैको हो । मिडियाले यस्तो अवसर प्राप्त गर्न नसक्दा आग्रहपूर्ण, अपूरो र एकपक्षीय सामग्री सम्प्रृेषणको जोखिमलाई अस्वीकार गर्न सकिँदैन । यतिमात्र होइन नेपाली मिडियाको स्वतन्त्र कार्यसम्पादनका सम्बन्धमा पनि केही प्रश्न उठेका छन् ।
लोकतन्त्र र स्वतन्त्र प्रेसबीच गहिरो सम्बन्ध छ । दुवै एक अर्काका पूरक हुन । लोकतान्त्रिक शासनविना स्वतन्त्र प्रेसको कल्पना गर्न सकिँदैन भने स्वतन्त्र प्रेसको उपस्थितिविना लोकतन्त्रको पनि कल्पना गर्न सकिँदैन । नेपालमा लोकतन्त्र स्थापित छ र यसको सम्वद्र्धन गर्ने दायित्व मिडियाको हो । यो कार्य मिडियाको आफ्नै स्वतन्त्र अस्तित्वका लागि पनि आवश्यक छ, तर पछिल्ला दिनमा मिडियाले समग्र लोकतन्त्रलाई बलियो बनाउने दिशामा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गरिँदैछ । मिडिया आफ््नो चरित्रविपरित एकांगी र एकपक्षीय बन्दैछ । मधेश आन्दोलनको सन्दर्भ यसको उदाहरण हो । आज मिडियाको आयाममा व्यापक परिवर्तन आएको छ । दश हजारबढी छापा संचारमाध्यमसँगै विद्युतीय संचारमाध्यमको यथेष्ट विकास भएको छ । नेपालमा अहिले करिब पाँच सय रेडियोले संचालन स्वीकृत प्राप्त गरेका छन जसमा करिव चार सय बढी संचालनमा छन । यस्तै स्याटेलाइट, टेरेस्टेरियल र केवल गरी पचास बढी टेलिभिजन संचालनमा छन । अनलाइन माध्यमको पनि व्यापक विकास भएको छ । संख्याको हिसावले भण्डै आधा मिडिया मधेशमा क्रियाशील छन् । प्रभाव विस्तारका दृष्टिले यो संख्या निकै महत्वपूर्ण छ । तर प्रश्न उठ्छ, के यी मिडिया जनताका आवश्यकता पूर्तिका स्न्दर्भमा प्रभावकारी हुन सकेका छन् ?
जस्तोसुकै प्रविधि आए पनि आखिर पत्रकारिताको आधारभूत गुण एउटै हो । जुन मिडियालाई प्रयोग गरे पनि सिर्जनशील प्रस्तुतिले तानिहाल्छ । महत्वपूर्ण पक्ष माध्यम होइन, त्यसमा हामीले कस्तो सामग्रीलाई प्रस्तुत गर्छौं, त्यो हो । अहिले यस्तै सामग्री दोषपूर्ण हुन पुगेको आरोप निराधार छैन । यसको स्वतन्त्र अध्ययन हुनु अपेक्षित छ । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता र शर्त दुवै हो । यसको सम्बन्ध जनताको सूचनाको हकको प्रत्याभूतिसँग छ । स्वतन्त्र पत्रकारिताको अभावमा जनता निर्वाध रुपले सूसुचित हुने अवसर पाउँदैनन । यस्तोमा स्वभाविकरुपले प्रश्न उठ्छ, मधेश—आन्दोलनको सेरोफेरोमा के जनताले सही सूचना प्राप्त गर्न सकेका छन् त ? यहाँनिर विचारणीय के छ भने प्राप्त सूचनाकै आधारमा आमव्यक्तिले विचारको निर्माण गर्ने हुन । सूचना नै दोषपूर्ण रहेको अवस्थामा निर्माण हुने विचार कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । यस परिदृश्यमा लोकतन्त्रको यो महत्वपूर्ण औजारलाई जोगाइरहने अभिभारा संचारकर्मीहरुको काँधमा जान्छ । माथि उल्लेख गरिएको आधारमा विश्लेषणको प्रयत्न गर्ने हो भने आरोपयुक्त नेपाली मिडियाको वर्तमान अवस्थालाई सन्तोषजनक मान्न सकिँदैन । संख्या र प्रविधिका दृष्टिले अनुकूल अवस्था विद्यमान भए पनि विषय प्रस्तुति दोषपूणर््ा सावित हुन्छ भने यसलाई दूर्भाग्यपूर्ण मान्नुपर्ने हुन्छ ।
स्थिति कतिसम्म भयावह छ भने मधेश सूचनाप्राप्तिबाट सम्पूर्ण ढंगले वंचित रहनुपर्ने अवस्थाको सिर्जना भएको छ । नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष देवकुमार यादवका अनुसार, आन्दोलनको प्रभावका कारण समस्याग्रस्त बनेका सिरहाली मिडिया बन्दको पीडा भोगिरहेका छन् भने राजधानीबाट प्रकाशित हुने ठूला दैनिकलाई आन्दोलनकारीले जिल्ला प्रवेशमा रोक लगाएका छन् । यस्तै टेलिभिजनको स्थानीय प्रशारण पनि आन्दोलनकारीकै नियन्त्रणमा छन् । यो अवस्था अहिले मधेशका धेरै जिल्लामा विद्यमान छ । यो स्थिति ‘सूचना वन्द’ को अवस्था हो । यो सूचनामैत्री अवस्था त होइन नै यो लोकतन्त्रविरुद्धको स्थिति पनि हो ।  सूचना वन्दको यो अवस्थाले वन्द समाजलाई प्रोत्साहित गर्छ जो समग्र विकासका दृष्टिले अहीतकर छ । मधेश—आन्दोलनका सन्दर्भमा मिडियाको भूमिका वन्द समाज निर्माणतर्फ त अभिप्ररित छैन ? जवाफ खोज्नु अपेक्षित छ ।
       

No comments:

Post a Comment