कांग्रेसको गणेशमान वलिदान अभियान
लौहपुरुषको अभियान
धर्मेन्द्र झा
नेपाली कांग्रेस यतिखेर लौहपुरुष गणेशमान सिंहको जन्मशताव्दी मनाइरहेको छ । यसक्रममा पार्टी कार्यकर्ताका अतिरिक्त गण्ोशमानका अनुयायीले विविध कार्यक्रमको आयोजना गरी उनीप्रति सम्मान व्यक्त गरिरहेका छन् । यो क्रम जारी छ । नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले पचासदिने गणेशमान वलिदान अभियानको आयोजना गरेर प्रजातन्त्रका लागि लौहपुरुषले पुर्याएको वलिदानी—योगदानको सान्दर्भिकता पुष्टिको प्रयत्न गरेको छ । प्रतिष्ठानले गणेशमानलाई वलिदानपुरुषका रुपमा सम्झने क्रममा तय गरेको पचास दिने यात्राको प्रस्थान तिथि फागुन सात र समापन तिथि चैत २६ निर्धारण गरेको छ । यी दुवै दिन नेपाली लोकतान्त्रिक आन्दोलनका दृष्टिले अत्यन्त महत्वपूर्ण दिन हुन् । २००७ फागुन सात राणा शासन परास्त भई प्रजातन्त्र स्थापना भएको दिन हो भने २०४६ चैत २६ गते शाह राजाहरुले संचालन गर्दै आएको पंचायती व्यवस्था ढलेको दिन हो । संयोगले यो दुवै आन्दोलनमा वीर गणेशमानको निर्णायक भूमिका रहेको इतिहास साक्षी छ ।
राणा शासनविरुद्धको संघर्षका क्रममा आफूलाई बन्दी बनाएर राखिएको भद्रगोल जेल तोडेर २००१ सालतिर प्रवासमा रहेका साथीलाई भेटी राणाविरोधी आन्दोलनलाई सशक्त बनाउने योजनाका साथ पहाडको बाटो हुँदै गणेशमान भारत पुगेका थिए । जेल तोडेर भाग्ने क्रममा गणेशमान काठमाडौबाट धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा, पाल्पा हुँदै भैरहवाको बाटो भएर भारत प्रवेश गरेका थिए । पछि वीरगन्ज, ठोडी हुँदै काठमाडौं फर्कने क्रममा मकवानपुरमा उनलाई पुनः पक्राउ गरी कारावास दिइएको थियो । अहिले नेपाली काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले गणेशमानको कारागार भंगपछिको यही यात्रालाई गणेशमान वलिदान अभियानका रुपमा सम्झिने प्रयत्न गरेको छ । प्रतिष्ठानले यो यात्रालाई दुई चरणमा विभाजित गरेको छ । जेल तोडेपछि भारत प्रवेश गर्दाको यात्रालाई पहिलो चरणअन्तर्गत फागुन सातदेखि फागुन २३ सम्म सम्झिने र दोस्रो चरणमा फागुन २४ देखि चैत २६ सम्म समावेशी कोटामा पार्टीको महासमितिमा प्रतिनिधित्व गर्नेहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र गणेशमान भारतबाट नेपाल फिर्दाको यात्रालाई सम्झेर प्रतिष्ठानले गणेशमान वलिदानी अभियान संचालन गर्ने सोच बनाएको छ । अभियानका क्रममा जेल तोडेपछि भारत प्रवेश गर्नुअघि र पछि नेपाल फर्कने क्रममा गणेशमानले यात्रा गरेको नेपाली भूभागमा प्रतिष्ठानले पदयात्रा गर्ने र विविध कार्यक्रमको आयोजना गर्ने कार्यक्रमअनुसार अहिले यी कार्यक्रमहरू आयोजित भइरहेका छन् । यसैसन्दर्भमा प्रतिष्ठानले फागुन २४ गतेदेखि प्रशिक्षण कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । दुई दुई अंचलका लागि एक स्थानमा आयोजित हुने यस्ता प्रशिक्षण सात ठाउँमा आयोजित हुनेछन् । गणेशमानलाई सम्झने काम त विभिन्न ढंगले भयो । हुँदैछ । तर वास्तवमै गणेशमानको विचारको अनुशरणको प्रयास कति भयो ? यो प्रश्न आज टड्कारो रुपमा उभिएको छ ।
प्रतिष्ठानले संचालन गरेको यो अभियानको महत्व कालजयी छ । प्रायः कांग्रेसजनले विर्सेको समयमा यो अभियानमार्फत गणेशमान सम्झिने प्रयत्न स्वयंमा महत्वपूर्ण छ । वलिदान अभियानले कांग्रेसजनको यस मनोवृत्ति र प्रवृत्तिमा परिवर्तनको संकेत दिएको छ । देश बुुझ्ने अवसर दिएको छ । आवश्यकताको पहिचान भएको छ । सहरका झन्डा र गाउँ जंगलका रुख जोडिएका छन् । एकपटक फेरि गणेशमान र कांग्रेस जनजनमा प्रवेश गरेका छन् । यी सबै कुराको महत्व भावी नेपालको सुन्दर चित्रसँग छ, जो संविधानका रुपमा अहिले कोर्ने प्रयत्न भइरहेको छ । अहिले गणेशमानले देखेको सपना साकार गर्ने समय हो । उनको सपना साकार गर्ने यात्राका लागि फराकिलो सडकको काम नयाँ संविधानको निर्माणले गर्न सक्छ । तर दुर्भाग्य लौहपुरुषको पार्टी यतिखेर आपसी अविश्वासको ठूलो भुमरीमा फँस्न पुगेको छ । जन्मशताव्दीका अवसरमा आयोजित कार्यक्रमले मात्र नेपाल सम्पन्न र समृद्ध हुन सक्दैन । नागरिक अधिकारसम्पन्न हुन सक्दैनन् । गणेशमानले देखाएको समताको विचारको कार्यान्वयनमा जुट्नु जरुरी छ । यसका लागि कांग्रेसजनले भविष्यको मार्गचित्रको निर्माणमा सक्रिय हुनु अपरिहार्य छ । गणेशमानले देखेको समतामूलक समाज निर्माण र समावेशी अवधारणाको कार्यान्वयनको सपना संविधानमार्फत हुन सक्यो भने मात्र गणेशमानलाई साँँचो अर्थमा श्रद्धाञ्जली अर्पण गरिएको ठहरिने छ । वलिदान अभियान भने संचालन गर्ने तर वहिष्करणमा परेका समुदायको विकास र उन्नतिका लागि पार्टीले कुनै ठोस नीति तय गर्न सकेन भने यस्तो अभियानले सार्थकता पाउन सक्दैन । यसको सुनिश्चितता नयाँ लेखिँदै गरेको लोकतान्त्रिक संविधानबाट हुनु अपेक्षित छ । गत निर्वाचनमा लोकतान्त्रिक संविधानकै एजेण्डाका आधारमा कांग्रेसले ठूलो पार्टीको हैसियत निर्माण गर्न सकेको हो । वलिदान अभियानका क्रममा स्थानीयले यस्तै विषयको उठान गरेर कांग्रेसको अडानलाई वल प्रदान गरेका छन । गणेशमान जन्मशताव्दीका अवसरमा विविध कार्यक्रमको आयोजना गरिरहेको कांग्रेसका लागि सम्भवतः सबभन्दा ठूलो कार्यक्रम लोकतान्त्रिक संविधान सुनिश्चित गर्नु नै हुनेछ । गणेशमान जन्मशताव्दीको अवसरमा आयोजित अभियानलगायतका कार्यक्रमले यस दिशामा ऊर्जा थप्ने विश्वास गर्न सकिन्छ ।
गणेशमानको जन्मशताव्दी मनाइरहेको नेपाली कांग्रेसको यतिखेरको कार्यदिशाको विश्लेषण गर्ने हो भने फरक अवस्था रहेको पाउन सकिन्छ । अर्थात, गणेशमानको विचारको अवमूल्यन गरिएको प्रष्ट हुन्छ । त्यसो त गणेशमानपुत्र प्रकाशमान सिंह पार्टीका निर्वाचित महामन्त्री हुन तर गणेशमानको एजेण्डा कार्यान्वयनमा उनको पनि खासै चासो रहेको पाइएको छैन वा भनौ, उनी पनि यस दिशामा त्यति सफल हुन सकेको पाइएको छैन । गणेशमान आजीवन उत्पीडनमा परेका, उपेक्षित, अल्पसंख्यक, वहिष्करणमा परेकाहरुको पक्षमा उभिए । तिनैको हक हीतको आवाजलाई बुलन्द गरे । वास्तविक अर्थमा सर्वहाराको नेताको हैसियत बनाए । यही कारण हो, काठमाडौको चाक्सीवारीका गणेशमान तराईका दूर दराज र दुर्गम हिमाल पहाडका गाउँ देहातमा स्थापित भए । यी विषय पछिल्ला दिनमा कांग्रेसको प्राथमिकतामा पर्न सकेन । कांग्रेससँग तराई, जनजाति, दलित जोडिनुका पछाडी गणेशमानको सामाजिक अभियान्त्रिकीकरण (सोसल इन्जिनियरिंग)को ठूलो भूमिका थियो ।
गणेशमानले देशको राजनीति बुझ्दै गर्दा यसका लागि आवश्यक सामाजिक अभियान्त्रिकीकरणको महत्व पनि बुझेका थिए । नेपाली समाजको समुन्नत विकासका लागि विकासको समानुपातिक र समावेशी मोडेल जरुरी छ भन्ने कुरा बुझेका गणेशमानको सर्वोच्च कमाण्डमा सफल भएको २०४६को आन्दोलनपछि गठित कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका समयमा पनि उनले आफ्नो धारणा कार्यान्वयनको प्रयास गरे तर उनी सफल हुन सकेनन् । आफ्नै जीवनकालामा आफ्ना धारणा र मान्यताको पराजयको पीडा उनका लागि असह्य भइदियो । जीवनको उत्तराद्र्धमा सक्रिय राजनीतिबाट उनी टाढिनुको मुख्य कारण यही पीडा थियो । दुखका साथ भन्नुपर्छ, उनको देहावसानपछि कांग्रेस पार्टीको नेतृत्व र पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने दुवैथरिले गणेशमानको आदर्श अथर््याउन र पच्छ्याउन सकेनन् । आज कांग्रेसबाट तराई, आदिवासी, जनजाती र दलित क्रमशः टाढिँदै छन् । यो यथार्थ हो । तर के कांग्रेसलाई यसको हेक्का छ ? के यो तथ्यको विश्लेषण कांग्रेसले गर्न सकेको छ ? निश्चय पनि गणेशमानको इन्जिनियरिंगको महत्व नबुझ्दा आजको अवस्थाको सिर्जना भएको हो भन्ने कुरा कांगे्रसको नाममा सत्तासीन हुनेहरुले बुझ्न सक्नुपर्दछ । अहिले देश संविधान निर्माणको अवस्थामा छ । कांग्रेस पार्टीभित्रै केही द्विविधा विद्यमान छन् । तर यस अवस्थामा पनि कांग्रेसले गणेशमानको विचारलाई आत्मसात गर्न सकेको छैन । इमानदारीपूर्वक अहिले पनि कांग्रेस नेतृत्वले गणेशमान—विचारलाई आत्मसात गर्न सकेको खण्डमा संविधान सहजै बन्न सक्ने कुरामा शंका छैन ।
गणेशमानले देशमा लोकतन्त्र स्थापनाका लागि मात्र संघर्ष गरेनन् । उनले पार्टीभित्रै पनि लोकतान्त्रिक पद्धति र संस्कारका लागि पनि संघर्ष गरे । तर आज पार्टीका भा्रतृ तथा भगिनी संगठनहरु वर्षौ भइसक्दा पनि महाधिवेशनविहीन अवस्थामा छन् । यस्तो अवस्थामा प्रशिक्षण प्रतिष्ठानले संचालन गरेको गणेशमान वलिदान अभियानले केही ऊर्जा थप्ने निश्चित छ, तर यो पनि ग्रहण गर्ने क्षमता र दृष्टिकोणमा भर पर्छ । यस अवसरमा पार्टीले विगतमा संचालन गरेको सोसल इन्जिनियरिंगमा भएको त्रुटी सच्याउने तत्परता देखाउँछ कि देखाउँदैन, यो कुरा महत्वपूर्ण छ । हो, वलिदान अभियानले कांग्रेसलाई भौतिक रुपले त जनतासँगको सान्निध्य प्रदान गर्नेछ, यसमा शंका छैन । तर दार्शनिक रुपमा यो अवसरको लाभ कांग्रेसले कसरी लिन सक्छ भन्ने कुरा उसको गल्ती सच्याउने तत्परता र आमजनताको मनोभावना अध्ययन गर्न सक्ने क्षमताले मात्र निर्देश गर्नेछ । यो वलिदानी अभियानको उद्देश्य कांग्रेस समावेशी अवधारणाको पक्षमा छ भनेर प्रचारित गर्नु पनि हो । तर यो लक्ष्यप्राप्ति प्रचारबाटमात्र सम्भव छैन । यसका लागि कांग्रेस मनसा, वाचा, कर्मणाका साथ कार्यान्वयनमा खटिनु जरुरी छ ।
अन्नपुर्ण पोष्ट ः २०७१ फागुन २२, २०१५ मार्च ६
No comments:
Post a Comment