........‘सँगसँगै’ आवश्यक छ,
‘मधेश’को अर्को लीलालेखन
—धर्मेन्द्र विह्वललीला दृश्य हेर्दा जति सहज र आकर्षक देखिन्छन भाव र अभिव्यक्तिका दृष्टिले त्यति नै जटील हुने गर्दछन । भाव महत्वपूर्ण हुने लीला अभिव्यक्ति प्रस्तुति सरल र सहज हुनुपर्ने अपेक्षा गरिन्छ । साहित्यमा यसको अझै विशेष महत्व छ । साहित्य आत्मराग र रति होइन । ग्रहणकर्ताले असहज अनुभव गर्ने साहित्य दूरगामी हुन सक्दैन । नेपाली साहित्यमा लीलालेखन धेरैले अँगाल्न सकेनन । अँगालेकाहरु पनि सबै सहजरुपले स्वीकार्य हुन सकेनन । कारण हो, लीलालेखनको जटीलता । क्लिष्ट प्रस्तुति । नेपाली साहित्यमा लीलालेखनको विगत र वर्तमान कोट्याउने हो भने एक नाम सहजै मानसपटलमा उदाउँछन—रत्नमणि नेपाल । रत्न लीला मन पराउँछन । अनुभूत गर्छन । कथ्छन—लेख्छन अनि पस्कन्छन । उनकै सम्पादनमा लीलादृष्टि (२०५६) नामक विचारप्रधान कृति प्रकाशित भयो । त्यसपछि प्रकाशित उनका दूईवटा कथा संग्रह कथाइन्द्रेणी र लीलाधारणा र कथाहरुको स्वाद पाठकले चाखिसकेका छन । यसअर्थमा रत्न सिकारु होइनन । यसको पुष्टि अहिले पुनः भएको छ ।
उनी फेरि एकपटक लीला ‘सँगसँगै’ आएका छन । सात थान कलात्मक अभिव्यक्तिलाई संग्रहित गरेर ‘सँगसँगै’ पस्केका रत्नले लेखनको लीलात्मक सुगन्ध महमहाएका छन । द्वन्द्वजस्तो विकट, जटील र विशाल विषयलाई आधार बनाएर रचना यात्राको दुस्साहस गरेका रत्नले ‘सँगसँगै’ का माध्यमबाट लीला पस्कने जुन आँट गरेका छन, निश्चय पनि तारिफयोग्य छ । सबैभन्दा गजबको कुरा त यी रचनामा पाठकले आफू ‘सँगसँगै’ भएको अनुभूत गर्छन । संग्रहमा समेटिएका कथाले द्वन्द्वकाल र द्वन्द्वोत्तरकालको नेपाली समाजको विदीर्ण अनुहारको प्रतिनिधित्व गर्दछन । द्वन्द्व र युद्धबाट राजनीतिक रुपान्तरण भएको स्वीकार गर्दै कथाकारले थुप्रै विषयप्रति टिप्पणी प्रस्तुत गरेका छन । उनका सबै टिप्पणी सबैका लागि सार्वकालिक निष्कर्ष हुन सक्दैनन । तर यी टिप्पणी उनका निजात्मक अवलोकनमात्र हुन भन्दै किनारा पनि लाग्न मिल्दैन । एकपटक सोच्न सबैलाई घचघच्याउँछ—उनको कथनले । के द्वन्द्वको परिभाषा, परिणाम र अपेक्षा यही नै थियो जो अहिले नेपाली समाजमा अनुभूत गरिँदैछ ? रत्नको ‘सँगसँगै’ले भूलभूत रुपमा सिर्जना गरेको यक्ष प्रश्न हो यो । रत्न आम समाज‘सँगसँगै’ छन । साक्षी छन । तर उनले अरुभन्दा फरक दायित्व निर्वाह गरेका छन र कथामार्फत भाव प्रस्फूटन गरेका छन । यो उनको खवरदारी हो । चेतावनी पनि हो । समाजका मूल्य—मान्यतामा अकल्पनीय ह्रास आएको, समाज अनैतिक हुँदै गएको, राजनीतिनिहित स्वार्थपूर्तिको साधन बनेको तथ्य पस्केका छन रत्नले । उनी चूप लागेका छैनन । जातीय सहिष्णुता र सांस्कृतिक समन्वयमा विचलन आएको, क्षेत्रीय भावना बढ्दा राष्ट्रिय एकता खलबलिने सम्भावना बढेकोतर्फ पनि उनले औला उठाएका छन । यस्तैयस्तै सन्दर्भ उप्काएका कारणले पनि होला संग्रह पाठकका लागि स्तरीय र संग्रहणीय बन्न पुगेको छ ।
यति भनिरहँदा एउटा कुरा थप्नैैपर्ने हुन्छ, आश पाल्दापाल्दै पनि कतिपय ठाउँमा कथाकार चरम निराशाको शिकार बन्न पुगेको भान हुन्छ । उनका अभिव्यक्तिले कतिपय सन्दर्भमा त्रास उत्पन्न गर्छ । डर लाग्छ —के साँच्चै नेपाली समाज यति हदसम्म स्खलित भइसकेको छ ? उठ्नै नसक्ने गरी मानवतामा हा्रस आएको हो ? सम्बन्धका परिभाषाहरु हराएकै हुन त ? आदी आदी । समाधान प्रस्ताव गर्न लेखकमा हिच्किचाहट देखिन्छ । शायद संग्रहको यो कमजोर पक्ष हो । संग्रहमा समेटिएका प्रायः सबै कथालाई द्वन्द्वोत्तरकालका सन्दर्भसँग जोड्न सकिन्छ । प्रायः सबै कथा एक किसिमले द्वन्द्वका परिणामका रुपमा प्रस्तुत भएका छन । एउटा खास दिशासंकेत गर्न खोजिएको छ । यो कथाकारको नितान्त निजात्मक वोध हो । सबै सहमत हुनुपर्छ भन्ने छैन । तर लेखकको सर्वाधिक विलक्षणताको कुरा नै यही हो—यस्तो विषयमा पनि लेखकले निष्कर्ष निकाल्ने प्रयत्न गर्दै सरल शव्दमा लीला उनेका छन ।
‘मधेश’ यस संग्रहको केन्दीय कथा हो । संग्रहमा सबैभन्दा बढी पृष्ठ पनि यसैले ओगटेको छ । विषयवस्तुका दृष्टिले संग्रहकै सर्वाधिक उम्दा र वहसयोग्य रचना पनि यसैलाई स्वीकार गरिए फरक नपर्ला । विषयको चीरफारका हिसावले यो जटील कथा पनि हो । पत्रकारितासमेतको अनुभव सँगालेका रत्नले यो कथा बुन्दा आफ्नो यो अनुभवको बडो सटीक उपयोग गरेका छन । यो कथाको माध्यमले जे भन्न खोजिएको छ, त्यो एउटा पत्रकारभन्दा बाहेकले बेबाक (निर्धक्क) टिप्पणी गर्न कठीन हुनसक्थ्यो । रत्नले यो लाभ लिएका छन । लीला प्रस्तुति र पत्रकार अनुभूतिले अत्यन्त सशक्त बनेको यो कथाको आधार वास्तवमा वर्तमान समाजको नांगो यथार्थ हो । मधेशमा भएको विगतको आन्दोलन र त्यसपछिको अवस्थालाई शव्द—दृश्यको स्वरुप प्रदान गरी कथा उनिएको छ । समाजिक—साम्प्रदायिक सद्भाव बिथोलिएको, राजनीति दिशाहीन भएको, समाज तथा राजनीतिमा स्वार्थी व्यक्ति र प्रवृत्ति हावी भएकोजस्ता यथार्थलाई रत्नले कथामार्फत् बडो सटीक ढंगले पाठकका लागि खुराक बनाएका छन ।
कथाकारले कथाको ‘प्लट’ जनकपुरलाई बनाएका छन । कथामा प्रयुक्त स्थानहरु जनकपुरकै हुन, काल्पनिक होइनन । कतिपय सन्दर्भमा व्यक्तिका नाम पनि वास्तविक लाग्दछन, तर यहाँ कल्पना पनि मिसिएको छ । यससन्दर्भमा एउटा कुरा महत्वपूर्ण छ, जनकपुर मधेश हो तर जनकपुर मात्र मधेश होइन । जनकपुरले पुरै मधेशको कथा भन्न सक्दैन । वास्तवमै कथाकारले जनकपुरलाई स्वयंले नै जान्ने बुझ्ने कति प्रयत्न गरेका छन, यो अर्को विचारणीय पक्ष बनेको छ । कथा उन्दाका समयमा एक स्थानीय पत्रकारले पनि उनी ‘सँगसँगै ‘मधेश’ यात्रा गरेका छन । कथाका पात्रलाई कथाकारले तिनै पत्रकारमार्फत हेर्ने प्रयत्न गरेका छन । सोझै भेटेका छैनन । यस्तोमा प्रश्न उठ्न सक्छ, यो कथा रत्नको हो वा ती पत्रकारको ? एउटा कुरा के विर्सन मिल्दैन भने मधेश आन्दोलनले त्यसताका सबैलाई गाँजेको अवस्थामा कथाका लागि सूत्रधारको भूमिका निर्वाह गरेका ती कथावाचक पत्रकार स्वयं पनि आन्दोलनको एक पात्र हुन सक्छन जो आग्रही हुने सम्भावना पनि छ । कथाको अन्तिम वाक्यमा कथावाचकका आँखा निकै राता बनाइएका छन र उसबाट भन्न लगाइएको छ, ‘......होइन । सकिएको छैन मधेश आन्दोलन । भ्रममा नपर्नुस तपाई । वास्तविक मधेश आन्दोलनको तयारीमा छ ।’ कथामा प्रयुक्त यो वाक्यले धेरै कथा भन्दछ । कथावाचकले किन र के आधारमा यो निष्कर्ष निकाले र कथाकारले किन यही वाक्यलाई कथाको अन्तिम पंक्ति बनाए ? कथावाचकले अब पनि कुन आन्दोलनको कस्तो आन्दोलनको कुरा गर्न खोजेका हुन ? पाठकले जान्न पाउनु उनको अधिकार हो । कथाकारले भनेझै थुप्रै कुरामा सहमति व्यक्त गर्न सकिएला तर निष्कर्ष यतिमात्र हुन सक्दैन । लछुवाहरु सार्वकालिक हुन सक्दैनन । अजम्बरी हुन सक्दैनन । एकदिन यस्तो आउँछ जुन दिन त्यस्ता पात्र सामजबाट बहिस्कृत हुन्छन नै । यो क्रमको प्रारम्भ जनकपुरमा भइसकेको छ । लछुवाहरु पलायन हुँदैछन । कतिपय लछुवाहरु त कानुनको कठघरामा पनि आइसकेका छन । कथामा यस कुराको आँकलन गर्न सकिएन । शायद कमजोरी भयो । सामजमा सीताराम प्रसाद र दाहालजस्ता पात्र पनि छन जो अन्तिम समयसम्म पनि सभ्यता र संस्कृतिलाई जोडेर राखिरहन भरमग्दुर प्रयास गर्छन । त्यस्तालाई किन कमजोर बनाइन्छ ? किन कम मूल्यांकन गरिन्छ ? समाजबाट बाध्यकारी पलायनकै कुरा गर्ने हो भने आन्दोलनताका मधेशीले नै पनि मधेश छोडे । एउटा लीलालेखन तिनका बारेमा पनि अपेक्षित छ । हो, कथाकारले भनेझै, आन्दोलनको तत्कालको प्रभाव अनुभव गरिएकै हो । एकछिनका लागि समाजको चक्काजाम भएकै हो । विघटनले आकार पाएकै हो । राजनीति उन्मादको शिकार भएकै हो । अपराधले प्रश्रय पाएकै हो । सभ्यता संकटमा पर्न खोजेकै हो । तर के यसै आधारमा सम्भावना र आश पनि मरेको निष्कर्ष निकाल्न उचित हुन्छ ? समाजमा अन्तर्घुलनका पक्षपातीहरु सदैव जीवित हुन्छन । अझ जनकपुर त यसै आधारमा सदैव निर्देशित हुँदै आइरहेको छ । त्यसो नहुँदो हो त संविधानसभाको दोस्रो निर्वाचनपछि पनि लछुवा र हरिप्रसादहरुको हालीमुहाली कायमै रहन्थ्यो । आन्दोलनताका र त्यसपछि मौलाएका राजनीतिका पसलहरुको कारोवार बढेकोबढेकै हुन्थ्यो । तर त्यसो भएको छैन । स्थानीय समाजको चक्काजाम खुलिसकेको छ । आश गर्न सकिने प्रशस्त ठाउँ छन । एउटा अर्को कुरा पनि, आन्दोलनका केही सकारात्मक पक्ष पनि छन—विगतमा महत्व पाउन नसकेका मुद्दाले वहसको रुप धारण गरेका छन ।
संग्रहको अर्को महत्वपूर्ण रचना हो—गनाएको गनायै छ । सँगसँगैको पहिलो पाइलाको रुपमा समेटिएको यो रचना द्वन्द्वोत्तरकालीन प्रवृत्तिको अर्को विरुप खुलासा हो । मरेको कुकुुरको सीनो सडकमा अझ ढोकाअगाडी नै छ । कैयौं दिन भइसक्यो । उठाउने कोही पनि छैन । मरेको कुकुर गनाएको गनायै छ । छिमेकी र टोलमा बस्नेहरु जिम्मेवारी पन्छाउँछन मात्रै, कोही पनि अग्रसर भएर समस्याको समाधान गर्दैनन । बरु नाक थुनेर बस्न सबैलाई सह्य छ तर आफूलगायत सार्वजनिक हीतका पक्षमा कोही पनि क्रियशील हुन आवश्यक देख्दैनन । कथा यतिमात्र हो । तर यसको भाव बडो व्यापक छ । विगतको संविधानसभाको अवसान र हालको संविधानसभाको हविगतसँग यस कथाको तुलना गर्न सकिन्छ । सबै अरुकै कमजोरीमात्र देख्छन र आफू ओभानो देखिन खोज्छन । परिणाम सबैका सामु छ—जनताले संविधान पाउन सकिरहेका छैनन, ठीक त्यसरी नै जसरी मरेको कुकुर वस्तीबाट फाल्न सकिएको छैन । कथाको अर्को पक्ष पनि छ— सहरिया जीवनप्रति निकै कठोर व्यग्ंय पनि हो यो कथा । सबै आफैमा मस्त छन । कसैलाई फुर्सद छैन । एकैठाउँमा बसेर पनि अपनत्वको भावनाको विकास हुन नसक्नु सहरको कठोर यथार्थ हो । यसअर्थमा त राजधानी काठमाडौको अवस्था झनै विरुप छ । कथाकारले यहाँ पनि लीला गरेका छन । कथा पठनीय बनेको छ । अर्को कथा उत्तरोत्तर प्रगति पनि महत्वपूर्ण छ । द्वन्द्वपछिको आर्थिक गतिविधि, फाइनान्सको व्यपार र रोजगार, सामाजिक प्रतिस्पर्धा, वैदेशिक रोजगारीका नाममा ठगी, ज्येतीषको अवैध कारोवारलगायतका सहरी जीवनका विकृतिमाथि एकैपटक सगोलमा प्रहार गर्न सक्नु निश्चय पनि कथाकारको सफलता हो । यसका अतिरीक्त संग्रहमा थ्यांक्यु एसरा, बन्दुक बिसाइपछि, भोटको के कुरा कथा समावेश छन । संग्रहको अन्तिम कथा सँगसँगैमा कथाकार तुलनात्मक रुपमा आशावादी देखिएका छन । विगतको द्वन्द्वले बनाएको घाउ पुर्ने प्रयत्न गरेका छन । निश्चय पनि यो सकारात्मक छ । तर फेरि पनि प्रश्न उठ्न सक्छ यो कल्पना हो कि यथार्थ ? पुरै संग्रहमा यो कथामार्फत पहिलोपटक समाधान लिएर प्रस्तुत भएका कथाकारको यो विकल्पको कार्यान्वयन सम्भव छ ? बुझ्नुपर्ने हुन्छ, कल्पना निकै सुन्दर हुन्छन र यथार्थभन्दा फरक पनि ।
जे होस, यस्तो विषम र चरम निराशापूर्ण सामाजिक अवस्था देखाएर पनि कथाकारले सहयात्रा र सहकार्यको उद्घोष गर्न बिर्सेका छैनन । यही उदार स्वरले संग्रहलाई शक्तिशाली बन्न बल प्रदान गरेको छ । साधुवाद छ रत्न ।
कान्तिपुर कोसेली, २०७१ मंसीर ६
No comments:
Post a Comment