लेख्नैका लागि भए पनि...........
लेख्न त लेखिरहेको छु, तर मन थामिएको छैन । खै के लेख्ने हो ? थाहा छैन । अनपेक्षितरुपमा बीचैमा भौतिक जीवन चुँडिएको शान्ता पौडेलको यो लेखोटको धागो पनि बीचैमा चुँडिएको छ, माजाविहीन लट्टाइको धागो अर्को माजा लगाएको धागोले काटेर चंगा चेटभए जस्तै । शान्ताजीको यो कृति मैले पुरै पढेको हुँ एक वसाइमै अझ एक साँसमै । पढदा अक्षरहरुमा मैले शान्ताजीलाई अनुभूत गरिरहेँ । यो अनुभूत शाश्वत थियो । कृति पढिरहँदा शान्ताजी मसँगै गफ्फिदै हुनुहुन्छ जस्तो अनेकौपटक लागेको थियो । यो अर्को सत्य थियो–उहाँ मेरासामु हुनुहुन्थिएन । कसैका सामु पनि भौतिक रुपमा उपस्थित हुनुहुन्थिएन । रामप्रसाद (शान्ताजीका पति) दाईका सामु पनि ।
मैले माथि लेखोट भनेको कृति शान्ताजीका शायद अन्तिम शब्द–संरचना हुन । यसमा उहाँका भावना छचल्किएका छन । जीवनको कटु यथार्थ पोखिएको छ र सत्य जो प्रायः तीतो हुन्छ आत्मसात गरिएको छ । उहाँका यी शब्द–संरचनालाई रामप्रसाद दाईले पुस्तकाकार रुपमा प्रकाशन गर्ने निधो गर्नुभएको छ । म दाईलाई धन्यवाद दिन चाहन्छु । दाईले आफ्नो निर्णयका बारेमा जानकारी गराउँदै मलाई कृतिका बारेमा केही लेखिदिन आग्रह गर्नुभएको छ । म किमार्थ यो आग्रह पन्छाउन सक्ने अवस्थामा छैन । मित्र विपुलले पनि यस कृतिका बारेमा लेख्न मलाई पटक–पटक घचघच्याउने काम गरे । म दुवैजनप्रति अनुगृहित छु । उहाँ दुवैजनाले दिएको जिम्मेवारी मैले स्वीकार गरेको छु । तर म दुख व्यक्त गर्न चाहन्छु, मसँग यो कृतिका बारेमा केही पनि लेख्ने सामथर््य छैन । म लेख्नै सक्दिन । यो कृति पढिसक्दा मेरा अभिव्यक्तिहरु मेरा आँखाका बाटो हुँदै कतिपटक तातो थोपा बनी बगे मलाई हेक्का छैन । प्रस्तुत कृति समग्रमा शान्ताजीको भावना हो । जीवनसँग संघर्षको कथा हो । जीवन पल–पल मृत्यु बन्दै गएको यथार्थको डायरी हो । यसैले मैले लेखोट भनेको हुँ । यसमा साहित्य पस्कने कुनै रहर छैन । शब्दका कुनै बान्गी बुन्ने तयारी पनि छैन र कृतिलाई मूल्यांकन तथा समीक्षाको मोह पनि छैन । यस्तोमा यो कृतिका बारेमा कसरी लेख्न सकिन्छ र ? शान्ताजीलाई त शायद यो कृति प्रकाशित हुुन्छ भन्ने जानकारी पनि छैन । तर शान्ताजीलाई उहाँले के लेखिरहनु भएको छ भन्ने थाहा छ । उहाँ क्षण–क्षण जीवन साँच्ने प्रयासमा शब्दमा प्रस्तुत हुने प्रयासमा हुनुहुन्छ । उहाँमा उत्साह छ । जीवन बाँच्ने उत्कण्ठा पनि छ । संघर्षको चेत पनि छ । तर हृदयको कुनै कुनामा थोरै निराशा पनि छ । यो निराशा भोतिकताप्रतिको हो । उहाँ महिला हुनुमा गौरव गर्नुहुन्छ, यो सत्य हो । महिला भएकै कारणले उहाँले आफ्ना पीडा समयमै व्यक्त गर्न सक्नु भएन यो अर्को सत्य हो । जीवनको अन्तिम समयसम्म उहाँले पारिवारिक जिम्मेबारी सम्पूर्ण ढंगले निर्वाह गरेको मलाई थाहा छ । नेपाली समाजमा पारिवारिक रुपमा महिलाले पटक–पटक वलिदानी दिने सन्दर्भमा शान्ताजीको नामा पनि दरिएको छ भन्दा असंगत ठहर्दैन ।
शान्ताजीलाई मैले कैलेदेखि चिने मलाई थाहा छैन । तर जुन दिनदेखि चिने निकै राम्ररी हामी चिनियौं भन्ने मेरो ठम्याइ हो । दाईलाई शायद मैले पहिलोपटक २०५३ मा भेटेकोे हुँ । त्यसपछिको कुनै वर्षमा मैले शान्ताजीलाई चिनेको हुँ । मैले शान्ताजीलाई रामप्रसाद दाईको भन्दा पृथक अस्तित्वमा चिनेको हुँ । मैले त धेरैपछि मात्र थाहा पाउन सकेँ उहाँहरु पति–पत्नी हुनुहुँदो रहेछ । मैले दाईको साइनो लगाएर उहाँलाई कहिल्यै भाउजु भन्न सकिनँ । परिचय स्वतन्त्र जो थियो । पछि आलम्वित हुँदै गयो । हाम्रो सम्बन्ध दाजु–वहिनीको रह्यो । तर मैले शान्तालाई वहिनी भनेर पनि शाव्दिक रुपमा सम्बोधन गरिनँ । यसको कुण्ठा मलाई आजीवन रहनेछ । मैले शान्तालाई प्रारम्भमा चिनेको एक पत्रकारका रुपमा हो । जुन सम्बन्ध पछि झांगिदै पारिवारिक हरन पुग्यो । लोकत्रन्त्रप्रति सदैव समर्पित जुझारु पत्रकारका रुपमा शान्ताप्रति मेरो सदैव उच्च सम्मान रह्यो र रहनेछ । एक पत्रकारका रुपमा दाईको भन्दा फरक परिचय स्थापित गर्न सफल शान्ताको पत्रकारितामा ठूलो भूमिका छ । मोफसलमा बसेर पत्रकारिताका माध्यमबाट गाम–ठाम र लोकतन्त्रको सवलीकरणका दिशामा अहोरात्र सक्रिय शान्ताले अफ्ना कलमका माध्यमबाट महिला हक–हीतका सन्दर्भमा पनि प्रभावशाली वकालत गरेको म यतिखेर सम्झन्छु ।
उहाँलाई क्यान्सर भएको रहेछ । मैले सुन्दा पत्यार नै लागेन । त्यस्तो स्वस्थ्य व्यक्ति पनि क्यान्सरको शिकार हुन सक्छ र ? पत्याउन साँच्चै गाह्रो भयो । तर मैले नपत्याउँदैमा सत्य कहाँ वदलिन्थ्यो र ? उपचारका क्रममा काठमाडौ आउँदा पटक–पटक भेट भयो मेरो उहाँसँग । मैले कतै पढेको थिएँ–इच्छाशक्तिले रोगलाई पराजित गर्न सकिन्छ । मैले उहाँलाई सुनाएको थिएँ यो कुरा । मेरो कुरा सुनेर उहाँ हौसिएको म अझै सम्झन्छु । मैले साहित्यकार जगदीश घिमिरेको सन्दर्भको चर्चा गरेको थिएँ । उहाँले अन्तर्मनका कथा पुरै पढनुभयो । मैले अनुभव गरेको थिएँ–सबैझैं उहाँमा पनि बाँच्ने लालसा थियो । नेपाल पत्रकार महासंघको तात्कालीन नेतृत्वमा रहेको हैसियतले पनि म आत्मआलोचित छुँ, शायद उहाँलाई बचाउने प्रयास हामीबाट पनि सम्पूर्ण रुपमा हुन सकेन कि ? सम्पूर्ण पत्रकारको ध्यानाकर्षण हुन सकेन कि ? अथवा, हामी पत्रकार अलिकति संवेदनहीन पनि भयौं ? यी सबै फरक सन्दर्भका फरक कुरा हुन सक्छन । यसबारे अहिले विचार मात्र गर्न सकिन्छ । तर सत्य के हो भने हामीले एक होनहार पत्रकार गुमाएका छौं । एक योग्य नागरिक गुमाएका छौं । एउटा पत्रकारको जाय–जेथो नै के हुन्छ र ? सरकारको समुचित ध्यानाकर्षण गराउन पनि सकिएन, शायद । उपचार प्रारम्भ हुँदाको वखत उहाँ नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यसै अवधिमा युनियनको इटहरी महाधिवेशन सम्पन्न भएको थियो । उहाँको इच्छा थियो– मनोनित नै भए पनि एक कार्यकाल फेरि नेतृत्वमा बस्ने । यसले एक पोर्टफोलियो दिन्छ र उपचारमा राज्यको ध्यानाकर्षण हुन्छ कि भन्ने सोच्नु अस्वाभाविक थिएन । मैले प्रयास गर्छु भनेर पनि भनेको थिएँ । तर सकिएन । उहाँ विदा भइहाल्नु भएछ । मलाई यस कुराको आत्मग्लानि भइरहनेछ ।
शान्ताजी र म थुप्रै सभा सेमिनार र प्रशिक्षणमा सँगै सहभागी भयौं । ती सबै कार्यक्रममा उहाँको उत्साहप्रद प्रस्तुति मेरालागि सदैव प्रेरणाका रुपमा रहनेछन । शान्ताबाट जीवन जिउने सन्दर्भमा सिक्न सकिने थुप्रै कुरा छन । एउटा कुरा हो–उहाँको उत्साह त्यो पनि मुस्कानमिश्रित । उहाँलाई मैले जहिले भेटे जहाँ भेटे हाँसरिहेकै अवस्थामा भेटे । लाग्थ्यो, उहाँ मुस्कान छरेर स्वागत गरिरहनु भएको छ । उहाँको त्यो मुस्कान म अझै सम्झिरहेको छु । तर उहाँको यो लेखोट हेरेर मन अझै थामिएको छैन..........।
धर्मेन्द्र झा
मनोराज आकृति
वालकोट–१ भक्तपुर
होली–२०६९
मनोराज आकृति
वालकोट–१ भक्तपुर
होली–२०६९
No comments:
Post a Comment