Friday, May 5, 2017

WPFD 2017/Khabarera

विश्व प्रेस स्वतन्त्रता दिवस, २०१७

संवेदनशील समयका लागि संवेदनशील विचार

धर्मेन्द्र झा

प्रत्येक वर्षजस्तै यस वर्ष पनि विश्वभरि मे ३ अर्थात आजका दिन बाइसौं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालमा पनि मे ३ का दिन यो दिवस मनाउने चलन सुरु भएको डेढ दशक वितिसकेको छ ।  यसै दिनको अवसर पारेर संचार र पत्रकारितासँग सम्बन्धित विभिन्न संघ संस्थाले विविध कार्यक्रमको आयोजना गर्दैछन ।  संयुक्त राष्ट्र संघको आव्हानमा यो दिवस विश्वभरि नै मनाउने गरिन्छ । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्दछ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ र अन्य राज्य तथा नागरिक संघ संस्थालाई वहसमा आधारित गतिविधि संचालन गर्न प्रोत्साहित गर्दछ । यसपटक युनेस्कोले क्रिटिकल माइन्डस फर क्रिटिकल टाइम्स भन्ने नारा तय गरेको छ । नेपाल पत्रकार महासंघले यस नारालाई नेपालीमा संवेदनशील समयका लागि संवेदनशील विचार भनेर अनुवाद गरेको छ । नेपालका सन्दर्भम यसपटकको नारा अत्यन्त सामयिक ठहरिएको छ । नेपाल साँचचे संवेदनशील मोडमा छ र यसको सम्बोधन संवेदनशीद विचारमार्फत् नै गरिनु आवश्यक छ ।  नेपाल महाभूकम्पको प्रभावको महाविपत्तिसँग अझै जुधिरहेको छ भने दुई दशकको अन्तरालमा हुन गइरहेको पहिलो स्थानीय तहको चुनावमा होमिएको छ । यसको सोझो सम्बन्ध लोकतन्त्रलाई संस्थागत गर्ने र राज्य पुनर्संरचनालाई टुंगोमा पुर्याउने कुरासँग पनि छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस  हामी यसै सेरोफेरोमा मनाउन गइरहेका छौ ।


पत्रकारिता (मिडिया)लाई समाजको ऐना भनिन्छ । निश्चितरुपमा यो मान्यताले पत्रकारिता वा मिडियाको वर्तमानसँग जोडिएको महत्वको व्याख्या गर्दछ । युनेस्कोको यस वर्षको नाराको विश्लेषण गर्ने हो भने सूचनाको समुचित प्रयोग गरेर मानिसलाई अधिकारसम्पन्न बनाउन आश्वस्त गर्न खोजेको अर्थमा बुझ्न सकिन्छ र यसका लागि संवेदनशीलता आवश्यक छ भन्ने तात्पर्य निकाल्न सकिन्छ । नेपालको वर्तमानको सकसपूर्ण अवस्था हेर्ने हो भने पनि नेपाली मिडियाले यसै आधारमा आफ्नो भूमिका खोज्नु र निर्वाह गर्नु अपेक्षित छ । प्रेस स्वतन्त्रता अपरिहार्य छ । युनेस्कोले आफ्नो स्थापनाकालदेखि नै यस तथ्यलाई स्वीकार गरेको छ र यसैअनुकूल आफ्ना गतिविधि  संचालन गर्दै आएको छ । आजको विश्वमा युनेस्को प्रेस स्वतन्त्रता र प्रेस र पत्रकार सुरक्षाका क्षेत्रमा चिन्ता गर्ने र तदनुरुप क्रियाशील रहने सबैभन्दा महत्वपूर्ण संस्था हो भन्दा फरक पर्दैन । यसपटकको नाराबाट पनि यो कुरा बुझ्न कठीन हुँदैन । प्रेस स्वतन्त्रताको अभावमा प्रेस न त व्यवशायिक हुन सक्छ न त नैतिक नै न त जिम्मेबार नै । सुरक्षा महत्वपूर्ण कुरा हो । सुरक्षाको अभावमा प्रेस स्वतन्त्र हुन सक्दैन, यो सत्य हो ।  सत्यको उद्घाट्नका लागि स्वतन्त्र प्रेसको प्रत्याभूति आवश्यक छ ।

नेपाल र नेपालीको अबको दायित्व भनेको संवेदनशील भएर नव नेपालको निर्माणमा जुट्नु हो । अबको समय पुनर्निर्माण र राज्य पुनर्संरचनाको हो । विकासको नयाँ यात्रा गर्ने हो ।  यसमा प्रेस र पत्रकारको दायित्व निकै महत्वपूर्ण हुन्छ । भावी नेपालको नक्सा कोर्न र नयाँ राज्य संरचना एवं निर्माण कार्यको अनुगमनका दिशामा नेपाली मिडियाको निर्णायक भूमिकाको खोजी हुनुपर्छ । यस सन्दर्भमा पनि युनेस्कोको नारा विश्लेषण गर्न सकिन्छ । यस सन्दर्भमा हामीले एउटा कुरा के विर्सन मिल्दैन भने विकासको सम्बन्ध भौतिक संरचनाको निर्माणसँग मात्र छैन यो मानवको जीवनस्तरको वृद्धिसँग पनि जोडिएको छ । जब जब स्वतन्त्र प्रेसको सन्दर्भको उठान हुन्छ सँगसँगै अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भ जोडिएर आउने गर्दछ । सिद्धान्ततः विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति भएको लोकतान्त्रिक वातावरणको अभावमा प्रेस स्वतन्त्रताको कल्पना गर्न सकिदैन । यसैले यहाँनिर हामीले प्रेस स्वतन्त्रताको सुनिश्चितताको चर्चा गरिरहँदा विचार तथा अभिव्यक्ति स्वतन्त्रता स्वतः प्रत्याभूत छ भन्ने बुझ्नु जरुरी छ । निश्चित पनि हो, सुन्दर र समृद्ध भविष्यका लागि वर्तमानमा सुन्दर र सुदृढ विकास सुनिश्चित हुनुपर्दछ । यसका लागि आवश्यक छ, प्रेस स्वतन्त्रता  । विचार तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रता कतिसम्म आवश्यक छ भने यसको अभावमा विकासका कार्यहरुले सार्थक आकार ग्रहण गर्न तथा सार्थक लक्ष्य हासिल गर्न सक्दैनन् भन्ने तथ्य पछिल्ला दिनमा राम्रैसँग प्रमाणित भइसकेको छ । अहिलेको विश्वमा विकासको प्रमुख बाधक भनेकै अपारदर्शिता, सूचनामा नागरिक पहुँचको अभाव, जनसहभागिताको कमी, भ्रष्टाचार र सरकारी क्षमतामा कमी हो । नेपाली प्रेस खवरदार गर्ने भूमिकामा सशक्तरुपले उभिनु जरुरी छ । यसका लागि वैचारिक संवेदनशीलता आवश्यक छ, जो सूचनाको संवेदनशील विश्लेषणका आधारमा मात्र सम्भव छ ।

युनेस्कोको नारा नेपाली संचारकर्मी र पत्रकारिताका लागि मननीय छ । नेपालको राजनीति यतिखेर संक्रमणको अवस्थामा छ । नेपाली जनतालाई अहिले स्थानीय निर्वाचनको चटारो छ । पहिलो चरणको निर्वाचन कार्यक्रमअन्तर्गत हिजो मंगलबार म्मिेदवारी मनोनयन दर्ता गरिएको छ । स्थानीय सरकारको परिकल्पनाका आधारमा हुन गइरहेको यो पहिलो निर्वाचनले प्रेस तथा अभिवयक्ति स्वतन्त्रताका दृष्टिले निकै अर्थ राख्दछ । यस्तो अवस्थामा नेपाली पत्रकारहरु आज प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छन् । विधानतः नेपाल पत्रकार महासंघले आफ्नो महाधिवेशन आयोजना गर्ने तिथि पनि हो आज । तर यही स्थानीय तहको निर्वाचनका कारण महाधिवेशन केही पर धकेलिएको छ । निश्चय नै पत्रकारिताको सम्बन्ध सुशासन प्रवद्र्धन गर्ने र जनताको जीवनस्तर सुधार्ने कुरासँग पनि छ । मिडियाले विकासलाई दीगो बनाउँछ भन्ने मान्यता नयाँ होइन । मिडियाले प्रभावकारी र दीगो विकास र सुशासन प्रवद्र्धनका लागि पारदर्शिता, जवाफदेहिता र उत्तरायित्वजस्ता अवयवको अनिवार्यतामा जोड दिन्छ । वास्तवमा यी सबै सुशासनका तत्व हुन जसको प्रवद्र्धनमा मिडियाको निर्णायक भूमिका रहन्छ । यसका माध्यमले भ्रष्टाचार न्यूनीकरण, जनताको उल्लेखनीय सहभागिताको वृद्धि र प्रभावकारी एवं जवाफदेही सरकारको अभ्यासलाई सवल बनाउँछ । हाल हुन गइरहेको राज्य पुनर्संरचना अर्थात् स्थानीय सरकार गठन प्रक्रियाले यस मान्यतालाई वल पुर्याउने विश्वास गर्न सकिन्छ ।  लोकतन्त्रको लक्ष्य पनि यही हो, स्थानीय स्तरमै व्यक्ति र समुदायको सर्वोत्तम विकास एवं शान्तिको प्रत्याभूति । वस यसका लागि समयको संवेदनशीलतालाई बुझी विचारको संवेदनशीलतालाई आकार प्रदान गरिनु आवश्यक छ ।
खवरइरा डट कम ः २०७४ वैसाख २०, ३ मे २०१७





No comments:

Post a Comment